प्रिय महाशून्यजी,
आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।
महाशून्यजी, तँ पनि बडो गजबको छस् । म तँलाई खुब मन पराउँछु । तँ आकारमा होस् या प्रकारमा होस् बडो अचम्भको छस् । तँ कसैसँग गाँसिन जाँदैनस् । सारा तँसँग जोडिन आइपुग्छस् । तँलाई माया गर्ने मालामालमा पर्छ । तँलाई घृणा गर्ने मनरोगीको सिकार हुन्छ । हिजो पनि थिइस्, आज पनि छस् । भोलि पनि रहने पूर्वाभाष मलाई दिलाइसकेको छस् । तँ रहस्यमयी छस् । साराको भलो होस् भन्ने चाहन्छस् । बिगार गर्ने तेरो गुण छैन । सप्रनै पर्छ भन्ने तेरो अडान छैन । भूल गर्नेहरू पश्चात्तापको आँधी लिएर तेरो छहारीमा आउँछन् । तँ शरण दिन्छस् । शान्त मन पारेर रहन्छन्, तँ साथ दिन्छस् । भूल गरेर पनि नगरेझैँ गरी ताउरमाउर गर्नेहरू समेत सयौँ छन् । तिनीहरूप्रति तेरो गहिरो दृष्टि छ । तँ हेरिरहेको छस् । चुपचाप नियालिरहेको छस् । सबैको आदि, सबैको अन्त्य तेरै काखमा हुन्छ । जो पनि अवश्य तँ नजिक आउँछ र सांसारिक लोक विचरण गर्छ । अन्ततोगत्वा चाहेर होस् या नचाहेरै होस् तँकहाँ फर्कन्छ । आएकै ठाउँमा पुनः फर्कनु सबैको वाध्यता हो । त्यो वाध्यता गलाको पासो हो । आजसम्म गलामा लागेको पासो चुँडाल्ने कसैको हिम्मत पुगेन । कतिपयले सांसारिक लोकबाट तँलाई चिनेका छन् । तँकहाँ फर्कनै पर्छ भनेर होस् राख्छन् । जताततै तेरो ख्याल भइदिएको भए यस्तो अनिष्ट बेहोर्नु पर्दैनथ्यो कि !
बस् महाशून्यजी, तँलाई नचिनेरै कतिपयले भूल गर्छन् । म भने चिनेर नै भूल गर्दै छु । तेरो नजिक भएर पनि तँदेखि टाढिएको छु । म जालमा बेरिँदै छु । म अर्थहीन दिशान्नोमुख हुँदै छु । म जति पाइला अघि बढाउँदै छु, उत्ति धरती तल भासिँदै छ । अर्को पाइला राख्ने इँट अझ टाढिँदै छ । लामो फड्को मार्नुपरेको छ । जति कोसिस गरे पनि राख्न खोजेको ठाउँमा पाइला पुग्दैन । अन्तै हिलोमा पर्छ । धोइवरी सुकिलोमुकिलो बन्छु । फेरि पाइला सार्ने महाअभियानमा सरिक हुन्छु । गन्तव्य देखिरहेछु । त्यहाँ पुग्ने बाटो पनि नियालिरहेछु । अरूहरू गएको देखिरहेछु । प्रतिस्पर्धात्मक दौड भइरहेछ । फुतुफुतु निस्कने निस्कँदा छन् । फटाफट हिँड्ने हिँड्दा छन् । म दर्शक मात्र बनेर रहन सक्दिनँ । प्रतिस्पर्धी नबनी सुख नभएको निष्कर्षमा पुग्छु । पाइलो अघि सार्छु । पुनः हिलोमै पर्छु । धुन्छु, सुकिलोमुकिलो हुन्छ । फेरि–फेरि निरन्तर एकै किसिमको वृत्तमा घुमिरहन्छु । त्यही वृत्त अघि सर्दै हिँड्छ । एउटा वृत्त छाडी अर्को वृत्तमा फड्को मार्नुछ । यसै गरी जीवनका विविध वृत्तहरू एकएक गरी पार गर्दै जानुछ । देखिरहेछु, नियालिरहेछु– वृत्त घुम्दा छन्, म फड्किने दाउमा छु, कतै न कतै वाधा आइरहन्छ, वाधा टरेको बखत आँट गर्छु । गर्दागर्दै पुनः व्यवधान तेर्सिदिन्छ । जसोतसो हिम्मत गरेर फड्किन्छु, फ्यात्तै हिलोमा थेच्चारिन्छु । लामो समयदेखि कठोर तवरले कोसिस गरिरहेछु । त्यो दिन आइपुगेको छैन, त्यो अवसर आइसकेको छैन जसमा एकै वृत्तमै वरपर मात्र नघुमूँ, म वृत्तलाई फड्को मार्दै जाऊँ, अघि बढूँ र गन्तव्य चुमूँ ।
भन् त महाशून्य, म तँझैँ नाङ्गिन सकिनँ । तँझैँ तटस्थ रहन सकिनँ । तँझँै दाता ठहरिन सकिनँ । तँझैँ म हुनै सकिनँ । म न आफूजस्तो बनँे न तँजस्तो भएँ । मैले अरूजस्तो हुन खोजेँ, फलतः आफूजस्तो हुन सकिनँ । आफूजस्तो छु, त्यस्तै हुन सकेको भए मेरो पकडमा संसार आउँथ्यो । यी चार दशक म तेरै परिक्रमा छु । घुमिफिरी एकै ठाउँमा पटकपटक आउँदा पनि मेरो चेत खुलेको छैन । ठक्कर खाँदाखाँदा खाने ठाउँ नै छैन । शरीर थङ्थिलो छ । चोटका लागि स्थान छैन । हम्मरलाई पनि कहाँ ठोकूँ भन्ने लाग्दो हो । शरीरमा कतै खाली छ कि भनेर नियाल्दो हो । जताततै खतैखत, चोटैचोट देखेर वाक्क हुँदो हो । अन्तमा यी दुई चर्म चक्षु चोखै रहेको थाहा पाउँदो हो । त्यसैलाई चोटको तारो पारूँ भनेर उजिँदो हो । त्यसै अवस्थामा सम्झँदो हो– ‘मैले यो कर्म कि सुरुआतमै गर्नुपथ्र्यो कि अन्ततिर गर्नुपर्छ । जीवनको मध्य भागमा यस्तो कर्म गरियो भने अन्यथा हुनेछ । मेरो सम्मानमा प्रश्न चिह्न लाग्नेछ । प्रश्नैप्रश्नले घेरिएको जिन्दगी खै के जिन्दगी ! म चोट दिन अग्रसर हुन्न । बरू चोट खानै पर्नेहरू मकहाँ स्वयम् हुत्तिन्छन् । जो जसरी हुत्तिन्छ, त्यसले त्यत्ति नै मात्रमा चोट पाउँछ । चुपचाप, केवल चुपचाप महाशून्यमा विलीन हुनेहरू मकहाँ धाउनैपर्छ भन्ने छैन । जो जसरी हिँड्छ, हिँडोस् । मैले व्यवधान खडा गर्नुछैन ।’
म बच्छु, आँखा फोडिनबाट । मसँग बचेका यी दुई रत्न त छन् नि । मेरा गोडाले काम गरेनन् । मेरा हात काम लागेनन् । मेरो बोली प्रिय भएन । मेरो कलमी खेती अस्विकार्य भयो । मेरो मन त मसँग रहेन । मलाई अरूझैँ बन्ने भूत सवार भयो । आखिरमा न म अरूजस्तो बन्न सकेँ, न त आफूझैँ हुन सकेँ । बाँकी यी दुई चर्म चक्षुले नै संसार नियालिरहेछ, नानाभाँतीका कामकुरा देखिरहेछु । मेरो पौरखले, मेरो बोलीले, मेरा गोडाले, मेरा हातले अरूहरू उक्सिरहेछन्, महलहरू ठडिरहेछन् । नदी पार गइरहेछन् । गन्तव्य उन्मुख भइरहेछन् । म बूढो माझी नाऊ खियाइरहेछु, नदी तारिरहेछु ।
भन् त महाशून्य ! म अरू अग्लिने काँध बनेँ । अरू सप्रिने हात बनेँ । अरू उभिने खुट्टा बनेँ । अरू कुर्लिने बोली बनेँ । अरू हिँड्ने पाइलो बनेँ । म सबैका लागि सबै थोक बनेँ । यद्यपि आफ्ना लागि केही पनि बनिनँ । मैले यस्तो नियति किन भोग्नु प¥यो ? आखिर मैले त्यस्तो के बिराएँ ? म आफूझैँ बनेर किन संसारमा घुसिनँ । म किन अरूका इसारामा उनीहरूकै अनुकूल भइदिने पात्र भएँ । मसँग के थिएन र ? अरूलाई जगाउने, अरूलाई अग्ल्याउने, अरूलाई सपार्ने, अरूलाई तार्दिने, अरूलाई गन्तव्य देखाउने सामथ्र्य भएकाहरूसँग के हुन्न ? किन म स्वयम् जाग्न सकिनँ ? किन म स्वयम् अग्लिन सकिनँ ? किन मैले गन्तव्य पक्रिन सकिनँ ? प्रश्नैप्रश्नको घेराभित्र छु र आज तेरो शरणमा लम्पसार परेको छु । दे, जवाफ दे महाशून्य ! म तेरै प्रतीक्षामा कुरेर बसेको पनि ठ्याक्कै दुई दशक वित्न लागेछ । बाँकी दुई दशक त म बेहोसमै थिएँ । दुई दशकदेखि होस्मा आए पनि स्वयम्का लागि अझै बेहोसमै रहेँछु । मलाई होस्मा ल्याई दे । प्रार्थना गर्दै तेरै अगाडि छाती पिट्दै छु । म दयाको लागि भीक्षापात्र फैलाउँदै छु । दे, मलाई जवाफ दे । शरण परेकालाई मरण नगर्ने तेरो धर्म हो । आफ्नो धर्म निर्वाह गर । मलाई सन्तुष्ट जिन्दगी दे । मेरा हात मेरा लागि पनि थोरै रहून् । मेरा गोडा मेरा लागि पनि थोरै होऊन् । मेरो कमाइ स्वयम्का लागि पनि थोरै रहोस् । बस् यत्ति नै ।
भन्नेहरू धेरै छन् । गन्तव्यमा पुग्यौँ भन्नेहरू भन्छन्– ‘तँ खालि अरूजस्तो भइस् । तँ आफूजस्तो रहिनस् । तँ आफ्नै मौलिकताले बाँचिनस् । कृत्रिमतालाई राम्ररी अङ्गाल्न पनि सकिनस् । तँ समयको गतिसँगै हिँडिनस् । तँ निकै पछि छोडिइस् । तेरा हातबाट अवसर खुस्के । तैँले गोडा टेक्ने स्थान टाढियो । तैँले बोल्ने बोली मलिन भयो । तैँले लेख्ने कुरामा रस रहेन । तैँले सोचेको संसार अब रहेन । तँलाई कसैले दया गर्दैन । तँभित्रको कुरा सबैले लिन्छन् तर त्यो तेरो हो भन्दैनन् । मेरो आफ्नै हो भन्छन् । तँ बिक्री भइस् । तेरो मोलतोल हुन्छ । तर, याद गर ! तँलाई सबैले बचाउँछन् । तँ बाँच्न मात्र पाउँछस् । जाग्न पाउँदैनस् । तँबाट अरू धेरै कुरा लिनुछ । त्यसैले तैँले अहिले नै मर्न पाउँदैनस् । न जन्म तेरो हातमा छ, न मृत्यु नै तेरो बस्मा छ । तँ त सिलिङ्गको पङ्खा होस् । कसैको इसारामा फनफनी घुमिदिनुपर्छ । अरूहरूलाई आराम दिनुपर्छ । आफूले भेटेको ताप आफूभित्रै दमन गर्नुपर्छ ।
त्यसैले त महाशून्यजी, पहिचानसहितको हुन नसक्नेहरू तेरै शरणमा जान्छन् । म पनि तेरै शरणमा परेको छु । सुन्दा र बुझ्दा आश्चर्य लाग्न सक्छ । म पनि तँजस्तै बन्न चाहन्छु । तँसँग सबैको सम्पर्क हुन्छ । आफ्ना लागि कसैसँग सम्पर्क गर्दैनस् । स्वार्थको डालो थाप्दैनस् । भ्रमबाट पार छस् । आफ्नै पहिचानसहितको छस् । मैले पनि चाहेको त्यही हो । ‘मेरो, मेरो’ भन्दै जति बाँचेँ, बाँचेँ, फेरि नबाँच्ने निर्णयमा पुगेको छु । अन्ततोगत्वा मेरो हातमा शून्य रहने रहेछ । किनभने मैले ल्याएको त्यही नै थियो । मैले कमाएको जे छ त्यो मेरो हैन, त्यो त्यसकै हो जुन जहाँबाट पैदा हुन्छ । म यहाँ रूप फेर्छु, गुण फेर्छु । अस्तित्व लिन सक्दिनँ । लिनैपर्छ भन्ने पनि छैन । लिएर नै कुनै फलिफाब छैन ।
मेरो मनमा तँप्रति आदर, सत्कार र प्रेमको भावना जन्मेको छ । म टुलुटुलु हेरिरहेको छु । मन–मनमा गुनिरहेको छु । म असहज परिस्थितिबाट छुटकारा पाउन चाहन्छु । कृत्रिम श्वास फेर्दा फेर्दा थाकिसकेँ, भित्रभित्रै पाकिसकेँ । प्राकृतिक ढाँचामै श्वास फेर्न चाहन्छु । किनभने म सर्वश्रेष्ठ प्राणी कहलिएको छु । सर्वश्रेष्ठ काम गर्न रुचाउँछु । बोलीमा जादु हैन, व्यवहारमा जादुमय भाव राख्न मन पराउँछु । संसारबाट सूचना लिन्छु, ज्ञान आफूभित्रै छ । त्यसलाई हर्दम कोट्याउँछु । त्यसलाई व्यवहारमा क्रियाशील पार्न चाहन्छु । बाकसमा बन्द भएर रहेका सुन, चाँदी, जवाहरातले के सौन्दर्यता दिन्छन् र ! सुन्दर मनुष्यको कायामा सुन्दर तवरले सुशोभित नभई तिनीहरूले मूल्य पाउँदैनन् । हो, त्यस्तै मेरो मस्तिष्कको भण्डारमा कोचिएर रहेको विवेकलाई खुकुलो पार्दै सांसारिक जगत्मा छर्ने काम नगरे त्यसको मतलव के नै हुँदो रहेछ र ! अतः त्यसलाई सांसारिक जगत्मा ल्याउन मैले कसरत गर्नैपर्छ । मैले तेरो भर पर्नैपर्छ । म तेरो दास हुनैपर्छ ।
महाशून्यजी, म तेरो सेवक बन्न हृदयतः तयार छु । म कहिल्यै तँ बाहिर अस्तित्व देख्दिनँ । जब म तेरो पाउ मोल्न थाल्छु, जब म तेरो सेवामा सम्पूर्णरूपले समर्पित हुन्छु, आफूलाई अर्कै सम्झन थाल्छु । मुखले लोकाचार गर्न जान्दिनँ, जान्नु परेको पनि ठान्दिनँ । तेरो लोकबाट फर्केपछि पुनर्जन्म भएको आभाष पाउँछु । त्यसपछि मेरो मनमा विचार तँछाडमछाड गर्दै आउँछन् । भावनाको वेग तीव्र हुन्छ । ती विचारलाई लिपिबद्ध गर्न हम्मेपर्छ । यदि ती सबै विचारलाई कागजमा उतार्दै जाने हो र व्यवहारमा रूपान्तरित गर्दै जाने हो भने धर्तीमा फेरि रातपर्ने छैन । संसारमा फेरि कर्कश ध्वनि सुनिनेछैन । ‘भलो’को खोलो उर्लनेछ । ‘अन्योलता’ले कुलेलम ठोक्नेछ । तेरो कीर्तनले नै सारा असन्तुलन सन्तुलित हुँदै जानेछ । तँभित्र पस्न गाह्रो छ, तेरो आशीर्वाद पाउन साह्रो छ । फेरि तैँले दिएका कुरा जोगाएर राख्न अझै कठिन छ । मान्छे साना कुरा सम्झन्छन् । म भने यसभन्दा ठूलो कुरा अरू केही देखिरहेको छैन ।
म तँजस्तै बन्न चाहन्छु । म सुवास निकाल्न चाहन्छु । म हरियाली डाक्न रुचाउँछु । म हाँस्छु अनि हँसाउँछु । रोएर हँसाउन्नँ, हाँसेर रुवाउन्नँ । नाचेर नचाउँछु, रमेर रमणीय तुल्याउँछु । महाशून्यजी, तेरो कृपादृष्टि भेट्टाएँ भने म मेरो वर्तमान अस्तित्वलाई कायापलट गराउँदछु । अनि मात्र, सर्वश्रेष्ठ प्राणीको पगरी गुथ्छु, गुथाउँछु । तँप्रति कृतज्ञ हुन्छु, हुन लगाउँछु । धन्यवाद !!!
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
सम्पर्क: ९८४२८२९२०६

तँजस्तै म
निक्कै प्रभावित छु।
धन्यवाद।
Thanks/majherile dherai janmayo
This g,
man bharinda pokhieko matra ho.
Khas tyasto ta 6aina hola.
….
Majherile dherailai janmae6 sahitya sansarma.
Sadhubad bhannupar6.
…
Hijo Rajbirajko eka sahityik karyakramka bakta bhandai thie…..
Lekhak bade padhak ghate.
…..
Maile bhani die……
Lekhak nai pathak banidine bhae aru pathakko khancho tyatti naparla …
…..
Sanket matra….
वाह !
वाह !!!
“लेखकनै पाठक भए, अरु पाठकको खाँचो त्यति नपर्ला…”
सहमत छु!
धन्यवाद!