प्रिय महाशून्यजी,

आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।

महाशून्यजी, तँ पनि बडो गजबको छस् । म तँलाई खुब मन पराउँछु । तँ आकारमा होस् या प्रकारमा होस् बडो अचम्भको छस् । तँ कसैसँग गाँसिन जाँदैनस् । सारा तँसँग जोडिन आइपुग्छस् । तँलाई माया गर्ने मालामालमा पर्छ । तँलाई घृणा गर्ने मनरोगीको सिकार हुन्छ । हिजो पनि थिइस्, आज पनि छस् । भोलि पनि रहने पूर्वाभाष मलाई दिलाइसकेको छस् । तँ रहस्यमयी छस् । साराको भलो होस् भन्ने चाहन्छस् । बिगार गर्ने तेरो गुण छैन । सप्रनै पर्छ भन्ने तेरो अडान छैन । भूल गर्नेहरू पश्चात्तापको आँधी लिएर तेरो छहारीमा आउँछन् । तँ शरण दिन्छस् । शान्त मन पारेर रहन्छन्, तँ साथ दिन्छस् । भूल गरेर पनि नगरेझैँ गरी ताउरमाउर गर्नेहरू समेत सयौँ छन् । तिनीहरूप्रति तेरो गहिरो दृष्टि छ । तँ हेरिरहेको छस् । चुपचाप नियालिरहेको छस् । सबैको आदि, सबैको अन्त्य तेरै काखमा हुन्छ । जो पनि अवश्य तँ नजिक आउँछ र सांसारिक लोक विचरण गर्छ । अन्ततोगत्वा चाहेर होस् या नचाहेरै होस् तँकहाँ फर्कन्छ । आएकै ठाउँमा पुनः फर्कनु सबैको वाध्यता हो । त्यो वाध्यता गलाको पासो हो । आजसम्म गलामा लागेको पासो चुँडाल्ने कसैको हिम्मत पुगेन । कतिपयले सांसारिक लोकबाट तँलाई चिनेका छन् । तँकहाँ फर्कनै पर्छ भनेर होस् राख्छन् । जताततै तेरो ख्याल भइदिएको भए यस्तो अनिष्ट बेहोर्नु पर्दैनथ्यो कि !

बस् महाशून्यजी, तँलाई नचिनेरै कतिपयले भूल गर्छन् । म भने चिनेर नै भूल गर्दै छु । तेरो नजिक भएर पनि तँदेखि टाढिएको छु । म जालमा बेरिँदै छु । म अर्थहीन दिशान्नोमुख हुँदै छु । म जति पाइला अघि बढाउँदै छु, उत्ति धरती तल भासिँदै छ । अर्को पाइला राख्ने इँट अझ टाढिँदै छ । लामो फड्को मार्नुपरेको छ । जति कोसिस गरे पनि राख्न खोजेको ठाउँमा पाइला पुग्दैन । अन्तै हिलोमा पर्छ । धोइवरी सुकिलोमुकिलो बन्छु । फेरि पाइला सार्ने महाअभियानमा सरिक हुन्छु । गन्तव्य देखिरहेछु । त्यहाँ पुग्ने बाटो पनि नियालिरहेछु । अरूहरू गएको देखिरहेछु । प्रतिस्पर्धात्मक दौड भइरहेछ । फुतुफुतु निस्कने निस्कँदा छन् । फटाफट हिँड्ने हिँड्दा छन् । म दर्शक मात्र बनेर रहन सक्दिनँ । प्रतिस्पर्धी नबनी सुख नभएको निष्कर्षमा पुग्छु । पाइलो अघि सार्छु । पुनः हिलोमै पर्छु । धुन्छु, सुकिलोमुकिलो हुन्छ । फेरि–फेरि निरन्तर एकै किसिमको वृत्तमा घुमिरहन्छु । त्यही वृत्त अघि सर्दै हिँड्छ । एउटा वृत्त छाडी अर्को वृत्तमा फड्को मार्नुछ । यसै गरी जीवनका विविध वृत्तहरू एकएक गरी पार गर्दै जानुछ । देखिरहेछु, नियालिरहेछु– वृत्त घुम्दा छन्, म फड्किने दाउमा छु, कतै न कतै वाधा आइरहन्छ, वाधा टरेको बखत आँट गर्छु । गर्दागर्दै पुनः व्यवधान तेर्सिदिन्छ । जसोतसो हिम्मत गरेर फड्किन्छु, फ्यात्तै हिलोमा थेच्चारिन्छु । लामो समयदेखि कठोर तवरले कोसिस गरिरहेछु । त्यो दिन आइपुगेको छैन, त्यो अवसर आइसकेको छैन जसमा एकै वृत्तमै वरपर मात्र नघुमूँ, म वृत्तलाई फड्को मार्दै जाऊँ, अघि बढूँ र गन्तव्य चुमूँ ।

भन् त महाशून्य, म तँझैँ नाङ्गिन सकिनँ । तँझैँ तटस्थ रहन सकिनँ । तँझँै दाता ठहरिन सकिनँ । तँझैँ म हुनै सकिनँ । म न आफूजस्तो बनँे न तँजस्तो भएँ । मैले अरूजस्तो हुन खोजेँ, फलतः आफूजस्तो हुन सकिनँ । आफूजस्तो छु, त्यस्तै हुन सकेको भए मेरो पकडमा संसार आउँथ्यो । यी चार दशक म तेरै परिक्रमा छु । घुमिफिरी एकै ठाउँमा पटकपटक आउँदा पनि मेरो चेत खुलेको छैन । ठक्कर खाँदाखाँदा खाने ठाउँ नै छैन । शरीर थङ्थिलो छ । चोटका लागि स्थान छैन । हम्मरलाई पनि कहाँ ठोकूँ भन्ने लाग्दो हो । शरीरमा कतै खाली छ कि भनेर नियाल्दो हो । जताततै खतैखत, चोटैचोट देखेर वाक्क हुँदो हो । अन्तमा यी दुई चर्म चक्षु चोखै रहेको थाहा पाउँदो हो । त्यसैलाई चोटको तारो पारूँ भनेर उजिँदो हो । त्यसै अवस्थामा सम्झँदो हो– ‘मैले यो कर्म कि सुरुआतमै गर्नुपथ्र्यो कि अन्ततिर गर्नुपर्छ । जीवनको मध्य भागमा यस्तो कर्म गरियो भने अन्यथा हुनेछ । मेरो सम्मानमा प्रश्न चिह्न लाग्नेछ । प्रश्नैप्रश्नले घेरिएको जिन्दगी खै के जिन्दगी ! म चोट दिन अग्रसर हुन्न । बरू चोट खानै पर्नेहरू मकहाँ स्वयम् हुत्तिन्छन् । जो जसरी हुत्तिन्छ, त्यसले त्यत्ति नै मात्रमा चोट पाउँछ । चुपचाप, केवल चुपचाप महाशून्यमा विलीन हुनेहरू मकहाँ धाउनैपर्छ भन्ने छैन । जो जसरी हिँड्छ, हिँडोस् । मैले व्यवधान खडा गर्नुछैन ।’

म बच्छु, आँखा फोडिनबाट । मसँग बचेका यी दुई रत्न त छन् नि । मेरा गोडाले काम गरेनन् । मेरा हात काम लागेनन् । मेरो बोली प्रिय भएन । मेरो कलमी खेती अस्विकार्य भयो । मेरो मन त मसँग रहेन । मलाई अरूझैँ बन्ने भूत सवार भयो । आखिरमा न म अरूजस्तो बन्न सकेँ, न त आफूझैँ हुन सकेँ । बाँकी यी दुई चर्म चक्षुले नै संसार नियालिरहेछ, नानाभाँतीका कामकुरा देखिरहेछु । मेरो पौरखले, मेरो बोलीले, मेरा गोडाले, मेरा हातले अरूहरू उक्सिरहेछन्, महलहरू ठडिरहेछन् । नदी पार गइरहेछन् । गन्तव्य उन्मुख भइरहेछन् । म बूढो माझी नाऊ खियाइरहेछु, नदी तारिरहेछु ।

भन् त महाशून्य ! म अरू अग्लिने काँध बनेँ । अरू सप्रिने हात बनेँ । अरू उभिने खुट्टा बनेँ । अरू कुर्लिने बोली बनेँ । अरू हिँड्ने पाइलो बनेँ । म सबैका लागि सबै थोक बनेँ । यद्यपि आफ्ना लागि केही पनि बनिनँ । मैले यस्तो नियति किन भोग्नु प¥यो ? आखिर मैले त्यस्तो के बिराएँ ? म आफूझैँ बनेर किन संसारमा घुसिनँ । म किन अरूका इसारामा उनीहरूकै अनुकूल भइदिने पात्र भएँ । मसँग के थिएन र ? अरूलाई जगाउने, अरूलाई अग्ल्याउने, अरूलाई सपार्ने, अरूलाई तार्दिने, अरूलाई गन्तव्य देखाउने सामथ्र्य भएकाहरूसँग के हुन्न ? किन म स्वयम् जाग्न सकिनँ ? किन म स्वयम् अग्लिन सकिनँ ? किन मैले गन्तव्य पक्रिन सकिनँ ? प्रश्नैप्रश्नको घेराभित्र छु र आज तेरो शरणमा लम्पसार परेको छु । दे, जवाफ दे महाशून्य ! म तेरै प्रतीक्षामा कुरेर बसेको पनि ठ्याक्कै दुई दशक वित्न लागेछ । बाँकी दुई दशक त म बेहोसमै थिएँ । दुई दशकदेखि होस्मा आए पनि स्वयम्का लागि अझै बेहोसमै रहेँछु । मलाई होस्मा ल्याई दे । प्रार्थना गर्दै तेरै अगाडि छाती पिट्दै छु । म दयाको लागि भीक्षापात्र फैलाउँदै छु । दे, मलाई जवाफ दे । शरण परेकालाई मरण नगर्ने तेरो धर्म हो । आफ्नो धर्म निर्वाह गर । मलाई सन्तुष्ट जिन्दगी दे । मेरा हात मेरा लागि पनि थोरै रहून् । मेरा गोडा मेरा लागि पनि थोरै होऊन् । मेरो कमाइ स्वयम्का लागि पनि थोरै रहोस् । बस् यत्ति नै ।

भन्नेहरू धेरै छन् । गन्तव्यमा पुग्यौँ भन्नेहरू भन्छन्– ‘तँ खालि अरूजस्तो भइस् । तँ आफूजस्तो रहिनस् । तँ आफ्नै मौलिकताले बाँचिनस् । कृत्रिमतालाई राम्ररी अङ्गाल्न पनि सकिनस् । तँ समयको गतिसँगै हिँडिनस् । तँ निकै पछि छोडिइस् । तेरा हातबाट अवसर खुस्के । तैँले गोडा टेक्ने स्थान टाढियो । तैँले बोल्ने बोली मलिन भयो । तैँले लेख्ने कुरामा रस रहेन । तैँले सोचेको संसार अब रहेन । तँलाई कसैले दया गर्दैन । तँभित्रको कुरा सबैले लिन्छन् तर त्यो तेरो हो भन्दैनन् । मेरो आफ्नै हो भन्छन् । तँ बिक्री भइस् । तेरो मोलतोल हुन्छ । तर, याद गर ! तँलाई सबैले बचाउँछन् । तँ बाँच्न मात्र पाउँछस् । जाग्न पाउँदैनस् । तँबाट अरू धेरै कुरा लिनुछ । त्यसैले तैँले अहिले नै मर्न पाउँदैनस् । न जन्म तेरो हातमा छ, न मृत्यु नै तेरो बस्मा छ । तँ त सिलिङ्गको पङ्खा होस् । कसैको इसारामा फनफनी घुमिदिनुपर्छ । अरूहरूलाई आराम दिनुपर्छ । आफूले भेटेको ताप आफूभित्रै दमन गर्नुपर्छ ।

त्यसैले त महाशून्यजी, पहिचानसहितको हुन नसक्नेहरू तेरै शरणमा जान्छन् । म पनि तेरै शरणमा परेको छु । सुन्दा र बुझ्दा आश्चर्य लाग्न सक्छ । म पनि तँजस्तै बन्न चाहन्छु । तँसँग सबैको सम्पर्क हुन्छ । आफ्ना लागि कसैसँग सम्पर्क गर्दैनस् । स्वार्थको डालो थाप्दैनस् । भ्रमबाट पार छस् । आफ्नै पहिचानसहितको छस् । मैले पनि चाहेको त्यही हो । ‘मेरो, मेरो’ भन्दै जति बाँचेँ, बाँचेँ, फेरि नबाँच्ने निर्णयमा पुगेको छु । अन्ततोगत्वा मेरो हातमा शून्य रहने रहेछ । किनभने मैले ल्याएको त्यही नै थियो । मैले कमाएको जे छ त्यो मेरो हैन, त्यो त्यसकै हो जुन जहाँबाट पैदा हुन्छ । म यहाँ रूप फेर्छु, गुण फेर्छु । अस्तित्व लिन सक्दिनँ । लिनैपर्छ भन्ने पनि छैन । लिएर नै कुनै फलिफाब छैन ।

मेरो मनमा तँप्रति आदर, सत्कार र प्रेमको भावना जन्मेको छ । म टुलुटुलु हेरिरहेको छु । मन–मनमा गुनिरहेको छु । म असहज परिस्थितिबाट छुटकारा पाउन चाहन्छु । कृत्रिम श्वास फेर्दा फेर्दा थाकिसकेँ, भित्रभित्रै पाकिसकेँ । प्राकृतिक ढाँचामै श्वास फेर्न चाहन्छु । किनभने म सर्वश्रेष्ठ प्राणी कहलिएको छु । सर्वश्रेष्ठ काम गर्न रुचाउँछु । बोलीमा जादु हैन, व्यवहारमा जादुमय भाव राख्न मन पराउँछु । संसारबाट सूचना लिन्छु, ज्ञान आफूभित्रै छ । त्यसलाई हर्दम कोट्याउँछु । त्यसलाई व्यवहारमा क्रियाशील पार्न चाहन्छु । बाकसमा बन्द भएर रहेका सुन, चाँदी, जवाहरातले के सौन्दर्यता दिन्छन् र ! सुन्दर मनुष्यको कायामा सुन्दर तवरले सुशोभित नभई तिनीहरूले मूल्य पाउँदैनन् । हो, त्यस्तै मेरो मस्तिष्कको भण्डारमा कोचिएर रहेको विवेकलाई खुकुलो पार्दै सांसारिक जगत्मा छर्ने काम नगरे त्यसको मतलव के नै हुँदो रहेछ र ! अतः त्यसलाई सांसारिक जगत्मा ल्याउन मैले कसरत गर्नैपर्छ । मैले तेरो भर पर्नैपर्छ । म तेरो दास हुनैपर्छ ।

महाशून्यजी, म तेरो सेवक बन्न हृदयतः तयार छु । म कहिल्यै तँ बाहिर अस्तित्व देख्दिनँ । जब म तेरो पाउ मोल्न थाल्छु, जब म तेरो सेवामा सम्पूर्णरूपले समर्पित हुन्छु, आफूलाई अर्कै सम्झन थाल्छु । मुखले लोकाचार गर्न जान्दिनँ, जान्नु परेको पनि ठान्दिनँ । तेरो लोकबाट फर्केपछि पुनर्जन्म भएको आभाष पाउँछु । त्यसपछि मेरो मनमा विचार तँछाडमछाड गर्दै आउँछन् । भावनाको वेग तीव्र हुन्छ । ती विचारलाई लिपिबद्ध गर्न हम्मेपर्छ । यदि ती सबै विचारलाई कागजमा उतार्दै जाने हो र व्यवहारमा रूपान्तरित गर्दै जाने हो भने धर्तीमा फेरि रातपर्ने छैन । संसारमा फेरि कर्कश ध्वनि सुनिनेछैन । ‘भलो’को खोलो उर्लनेछ । ‘अन्योलता’ले कुलेलम ठोक्नेछ । तेरो कीर्तनले नै सारा असन्तुलन सन्तुलित हुँदै जानेछ । तँभित्र पस्न गाह्रो छ, तेरो आशीर्वाद पाउन साह्रो छ । फेरि तैँले दिएका कुरा जोगाएर राख्न अझै कठिन छ । मान्छे साना कुरा सम्झन्छन् । म भने यसभन्दा ठूलो कुरा अरू केही देखिरहेको छैन ।

म तँजस्तै बन्न चाहन्छु । म सुवास निकाल्न चाहन्छु । म हरियाली डाक्न रुचाउँछु । म हाँस्छु अनि हँसाउँछु । रोएर हँसाउन्नँ, हाँसेर रुवाउन्नँ । नाचेर नचाउँछु, रमेर रमणीय तुल्याउँछु । महाशून्यजी, तेरो कृपादृष्टि भेट्टाएँ भने म मेरो वर्तमान अस्तित्वलाई कायापलट गराउँदछु । अनि मात्र, सर्वश्रेष्ठ प्राणीको पगरी गुथ्छु, गुथाउँछु । तँप्रति कृतज्ञ हुन्छु, हुन लगाउँछु । धन्यवाद !!!

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
सम्पर्क: ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “तँजस्तै म”

  1. Thanks/majherile dherai janmayo
    This g,
    man bharinda pokhieko matra ho.
    Khas tyasto ta 6aina hola.
    ….
    Majherile dherailai janmae6 sahitya sansarma.
    Sadhubad bhannupar6.

    Hijo Rajbirajko eka sahityik karyakramka bakta bhandai thie…..
    Lekhak bade padhak ghate.
    …..
    Maile bhani die……
    Lekhak nai pathak banidine bhae aru pathakko khancho tyatti naparla …
    …..
    Sanket matra….

  2. ठिस बुढा

    वाह !
    वाह !!!
    “लेखकनै पाठक भए, अरु पाठकको खाँचो त्यति नपर्ला…”

    सहमत छु!
    धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *