तातोपानी तताएर उसले त्यसलाई नुहाइदिन्छ । जस्तोतस्तो होइन, उच्चस्तरको स्याम्पु लगाएर मलीमली नुहाइदिएर सफा रुमालले पुछिदिन्छ । कौसीको घाममा गद्दा ओछ्याएर बसालेपछि ऊ त्यसका लट्टा काइँयोले बिस्तारै कोरिदिन्छ । अत्यन्त सावधानीका साथ उसले आफ्नो काम गरिरहेछ, किनकि एकजोडी आँखा उमाथि पहरा दिँदैछन् । धाराको चिसो पानीले हातमुख अलिअलि धोएर उसले भिजेका कपडा खोली ओभाना कपडा लगाउँछ । ती कपडा पानीमा पखालेर कौशीको भित्तामा झुण्ड्याएर हतारिँदै भान्सामा पुग्छ र तात्तातो मासुभात ल्याएर ऊ त्यसलाई दिन्छ ।

यतिबेला त्यसलाई अरू कसैले मुसार्दैहुन्छ । ऊ आफ्नो लागि छुट्टै पकाइएको मोटो चामलको भात, पातलो दाल, बासी तरकारी अनि दुईचार टुक्रा हाड बज्ने मासु थालमा राखेर भुइँमा टुक्रुक्क बसेर खान थाल्छ । उमेरले बाह्रतेह्रको होला ऊ । खाइसकेर एक डङ्गुर भाँडा माझ्छ, चुलो-भान्सा सबै पुछपाछ गरेर भित्ताको घडीमा आँखा लगाउँदै झस्किन्छ । कपाल कोर्न भनी छिँडीमा रहेको आफ्नो कोठामा पस्छ । चिसो र अँध्यारोले उसको स्वागत गर्छ । उसको कोठा कस्तो छ त्यो त बत्ती नबाली थाहा हुँदैन । फेरि यस्तो लोडसेडिङमा बत्ती…..? बानी परिसकेको छ उसलाई त्यो अँध्यारोको । त्यो भने टन्न खाएर बैठक कोठाको सोफामा घुरिरहेको छ । ऊ चाहिँ सानो मालिक आउने बेला भयो भन्दै उसलाई लिन बस स्टपसम्म पुग्छ । उसको झोला बोकेर त्यहाँसम्म पुर्‍याउने र ल्याउने जिम्मा पनि उसैको हो । त्यसलाई अहँ ! कुनै डर-चिन्ता-हतार, छैन । उसलाई भने सधैँको डरत्रास । यी दुईको मूल भिन्नतामा एउटा कुकुरको छाउरो हो भने अर्को मान्छेको छाउरो ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *