Skip to content

अनुसन्धानात्मक रिपोर्टिङ सँगालो

  • by


पत्रकारिता सिक्दै गरेकाहरूका लागि पठनीय पुस्तक।

पत्रकार प्रज्ज्वलराज चापागाईले विभिन्न पत्रपत्रिकामा प्रकाशित राजनीति, शिक्षा, शहरीकरण, स्वास्थ्य, सञ्चार जस्ता बिटका आफ्ना २१ वटा रिपोर्टको सँगालो हिँड्दा हिँड्दै प्रकाशित गरेका छन्। पुस्तकमा रिपोर्टिङको विधि, अवस्था र समस्याहरू उतारिएको छ। हिमाल खबरपत्रिका, राजधानी, स्पेसटाइम लगायतका पत्रिकामा प्रकाशित भइसकेका कतिपय रिपोर्ट अहिले पनि सान्दर्भिक छन्।

सूचनाको स्रोतसम्म पुग्न सिकाउने यो पुस्तक पत्रकारिता सिक्दै गरेकाहरूका लागि पठनीय छ। पाठकहरूले पुस्तक पढ्दा समाचार सामग्री जुटाउँदा कत्रो तयारी र मिहिनेत गर्नुपर्दोरहेछ भन्ने जानकारी पाउँछन्। लेखक चापागाईले यी सब कुराको बेलिविस्तार लगाएका छन्। पत्रकारितामा प्रवेशताका रेडियो नेपालको त्यतिबेलाको चर्चित कार्यक्रम घटना र विचार मा काम गरेका लेखकले सरकारी सञ्चारमाध्यममा हुने राजनीतिक हस्तक्षेपलाई पनि छर्लङ्ग पारेका छन्। आफूमाथि ढुङ्गामुढा गरेर प्यूठानमा आमसभा गर्न नदिएपछि नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन गृह तथा सञ्चारमन्त्री योगप्रसाद उपाध्यायको राजिनामा मागेको घटनालाई घटना र विचार ले महत्वका साथ प्रसारण गरेको थियो। सञ्चारमन्त्रीकै विरुद्धमा प्रसारित यो सामग्रीले रेडियो नेपालको त्यो समाचारमूलक कार्यक्रमलाई सुरुआती दिनमा लोकप्रियता आर्जन गर्न सघाएको थियो। त्यसपछिका दिनमा सरकार परिवर्तन हुनासाथ आफू अनुकूल सञ्चारकर्मीको टिम ल्याउने कसरत चल्न थाल्यो, त्यहाँ। यो रोग बढ्दै जाँदा अहिले घटना र विचार कार्यक्रमले श्रोता नै गुमाउन पुगेको छ।

घटना र विचार सम्बन्धी यो सामग्री मार्टिन चौतारीद्वारा प्रकाशित रेडियो नेपालको सामाजिक इतिहास २०६१ मा प्रकाशित रिपोर्ट हो। घटना र विचारको नालीबेली भनिए पनि लेखक आफैँ संलग्न भएको यो कार्यक्रमको इतिहासलाई अपूर्ण बनाइएको छ। २०५६ को संसदीय चुनावपछि घटना र विचार मा आएको पत्रकारहरूको नयाँ टिमबारे चापागाई बेखबर देखिन्छन्।

काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथ निर्माण सम्बन्धी चापागाईको खोज रिपोर्ट गहिरो सम्पादनका साथ हिमाल खबरपत्रिकामा प्रकाशित भयो, जसबाट चित्त नबुझेर हाकाहाकी मासिकमा जस्ताको तस्तै छपाएको चापागाईले उल्लेख गरेका छन्। जबकि, पत्रकारहरूले एउटा पत्रिकामा प्रकाशित भइसकेको सामग्री सामान्यतः अर्को पत्रिकामा पठाउँदैनन्। यद्यपि, सार्वजनिक सरोकारका विषयमा गरिएको कतिपय रिपोर्टिङलाई तिनका सान्दर्भिकताले आज पनि नयाँ जस्तै पठनीय बनाएको छ।

रामजी दाहाल

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २०
पूर्णाङ्क ३०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *