Skip to content


सम्पादन, व्यवस्थापन, मार्केटिङ, वितरण आदि बुझेकाले सञ्चारमा लगानी गरे हुन्छ।

बाघ पाश
लेखकः कपिल काफ्ले प्रकाशकः रत्न पुस्तक भण्डार
पृष्ठः १६७,
मूल्यः रु.१७५

लामो समयदेखि पत्रकारितामा रहेका कपिल काफ्लेले आफ्नो दोस्रो उपन्यास बाघ पाश मार्फत सञ्चारगृहहरूको अन्तरकथालाई उजागर गरेका छन्। उपन्यासमा साहित्यलेखन र समाजसेवामा रहेकी प्रभा श्रेष्ठको दैनिक पत्रिका प्रकाशन र पत्रकारिता पढाउने चिरञ्जीवी शर्माले सम्पादक बन्न गरेको षड्यन्त्रको तानाबुना छ। कलम भन्दा तरबार बलियो ठान्ने अज्ञात समूहको प्रेस विज्ञप्तिबाट शुरु हुने उपन्यासका खलपात्र चिरञ्जीवी पत्रिकाको कार्यकारी निर्देशक, सम्पादक हुँदै प्रकाशक/सम्पादक बन्न सफल हुन्छन् भने व्यावसायिक पत्रकारिता गर्न कस्सिएकी प्रभा पाँच वर्ष पुग्दानपुग्दै अमेरिका पलायन हुन्छिन्। विज्ञापनको विषयमा सञ्चारगृहको व्यवस्थापन र सम्पदन कक्षबीच चल्ने सनातन द्वन्द्वलाई उपन्यासमा महत्वका साथ उठाइएको छ।

सञ्चार क्षेत्रमा सम्पादन, व्यवस्थापन, मार्केटिङ, वितरण आदि बुझेको लगानीकर्ताले मात्रै सफलता पाउने काफ्लेको निष्कर्ष छ। सञ्चारगृहलाई केन्द्रबिन्दु बनाएर लेखिएको भए पनि उपन्यास टेक्निकल जार्गनहरूबाट मुक्त छ। बरु विभिन्न पात्रमार्फत आधुनिक सूचनाप्रविधिको भरपुर उपयोग गरिएको छ। उपन्यासमा शर्मा, श्रेष्ठ, आले, झा, थापा जस्ता समावेशी पात्र छन्। हतारको साहित्य लेखनमा अभ्यस्त काफ्ले फुर्सदको लेखनमा जमेको भने देखिँदैन। बाघ पाश की मूल पात्र प्रभाको तस्बिर मोन्टाज गरेर कसले पठाएको भन्ने नखुली नै उपन्यास सकिन्छ। बुढेसकालमा भएको हृदयघात बाहेक बाँकी सबै परिस्थिति खलपात्रको पक्षमा देखिन्छ। खुल्ला प्रतिस्पर्धाबाट सम्पादक बनेका जीवन थापाको भूमिका उपन्यासको शुरु र अन्त्यमा मात्रै देखाइएको छ। २०६८ मा प्रकाशित पुस्तकको भूमिका र लेखकीय २०६६ को छ, तर यसो हुनुको कारण पुस्तकमा खुल्दैन।

सन्त गाहा मगर

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २०
पूर्णाङ्क ३०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *