Skip to content


जागिर खाएको बीस वर्ष भैसकेर पनि राजधानीमा न एउटा छाप्रो बनाउन सकियो न गोडा दुई आनाको भए नि घडेरी जोर्न सकियो । एसएलसी पास गरेपछि गाउँकै स्कुलमा पाँच वर्षसम्म मास्टरी गरेर एकोहोरो डस्टरी घोट्दासमेत सुकादाम जोड्न नसकेपछि हत्तु भएर सहर छिरेको हुँ । त्यसैले जे त होला भनेर पोको पन्तरो र दुईचार सय दाम बोकेर काठमाडौँंको शरणमा आएको थिएँ । सुरूका दिनमा बस्ने बास र सास धान्ने सामलका लागि कम्ता सास्ती खेप्नु परेन । जीवनमा क्यै गर्नैपर्‍यो भनेर डाँडामाथिका घामजस्ता बूढा बाआमा र अर्धाङ्गिनीलाई घरमै छाडेर आउनुपर्‍यो । त्यो मानसिक पिरलो आˆनो ठाउँमा छँदै थियो । त्यसमाथि सहर बस्दाको सास्ती भनीसाध्य र गनीसाध्य हुँदैनथ्यो, सहनै पथ्र्यो ।

चिनेका भनेका बाउतिरका काका न आमातिरका मामा कोइ थिएनन् । त्यसैले कति दिन त पाटी र धर्मशालामै व्यतित गरियो । कोठा खोज्न जोगीलेझैँ दस घर चहार्‍यो, हात लाग्यो शून्य हुन्थ्यो । यो पाटीको बासभन्दा आˆनै गोठ कटेरो ठीक जस्तो लाग्थ्यो तर भविष्य निर्माण गर्ने मीठो सपनाका आगे पुसको ठिही र जेठको धूपले पनि छोएन, सुत्नलाई सास्ती र खानेबेलामा नास्ती भए पनि चित्त बुझाइयो । डेराका लागि ज्याठादेखि जमलसम्म र भोटाहिटीदेखि मरुहिटीसम्म दिनको चारचोटि चहार्थेँ । हुँदा हुँदा क्षेत्रपाटीदेखि लाम्पाटीसम्म र गल्कोपाखादेखि ढल्कोपाखासम्म खुब चक्कर चलाइयो ।

भर्खरको ठिटो देख्नेबित्तिकै घरवाला साहू ‘एक्लै हो कि दुक्लै हो ?’ भन्थे । के हो यो ‘एक्लै दुक्लै’ भनेको ? भनेर सोध्यो भने, ‘बिहे गरेको छ कि छैन भनेको के !’ भनेर झपार्थे । बिहे गरेको छ भन्यो भने ‘भोलि स्व्ाास्नी लिएर आइज’ भन्थे । जता गए पनि बिहे गरे/नगरेको प्रश्न तेस्र्याइहाल्थे । कुरोको चुरो बुझे मरिजानु । डेरा सोध्न गएको प्रत्येक घरबेटीले बर्साउने पहिलो प्रश्न नै बिहेको कुरा सोध्ने । ‘ए बाबा ! यो के घाँडो आइलाग्यो’ जस्तो लाग्थ्यो । एक दिन त खाना खाने होटलवालाकोमा यही प्रश्न तेस्र्याएँ । बिहे गरेको छ/छैन किन सोधेको होला ? होटलवालाले जवाफ दियो- ‘धत्तेरीका लाटा ! घरमा तरुनी छोरी हुन्छन्, बिहे नगरेको पट्ठो तरुनोलाई कोठा दिन्छन् त ?’ अझै कुरो नबुझेर सोधेँ-‘किन र ?’ ‘ल, हत्तेरीका ! त्यस्तो पट्ठो तरुनोको मोहजालमा लट्ठो भएर छोरी भागिदिई भने बेइज्जत भएन ? अनि दिन्छन् त बिहे नगरेकालाई डेरा ?’ ए, बल्ल दिमागमा कुरो घुस्यो ! गाँठी कुरो बुझेपछि गाउँ गएर बाआमालाई सम्झाइबुझाई बाह्रखरी पास गरेकी श्रीमती लिएर आएँ ।

होटलको भाडा तिर्न गार्‍हो भएपछि क्यै महिनाका लागि ‘हाम्रो कर्मशाला’ यै हो भनेर धर्मशालामा बासको चाँजापाँजो मिलाएँ । भोलिपल्टबाट स्वास्नीलाई सँगै डोर्‍याएर डेराका लागि घरघर बिन्तिभाउ गरेँ । कतै ‘छैन’ भन्थे कतै ‘बिहे गरेको भए पनि छोराछोरी छन् कि छैनन् ?’ भन्थे । छैन भन्यो भने ‘हाम्रै घरमा सुत्केरी गराउँछु भन्ठान्या होला’ भनेर कोठा मिल्दैन भन्थे । कतै छिँडीको एउटा कोठा छ, ओर्लने सिँढी छैन, हाम्फाल्नुपर्छ भन्थे । कतै घरमा धारा, बिजुली र पानी छैन भन्थे । अनि ‘चर्पी गर्न काँ जाने त ?’ भन्यो भने कि ‘टङ्केश्वरी जानुपर्छ कि झङ्केश्वरी धाउनुपर्छ’ भन्थे । बत्ती नभए ‘के बाल्ने त’ भन्दा ‘भए मैनबत्ती बाल्ने नभए टुकीबत्ती बाल्ने नि’ भन्थे । ‘खानेपानी लिन कि सुन्धारा कि बालाजु बाइसधारा जानुपर्छ’ भन्थे । हरे दैव ! यो के हविगत भयो भनेर साँझमा धर्मशाला आइपुगेर खुइय ! गर्थें । कतै कोठा त दिन्छु तर तिम्रो श्रीमतीले हाम्रो खुर्सानी बारी खन्नुपर्छ भन्थे । डेरा भाडा तिरेपछि किन खुर्सानी बारी खन्ने त भन्यो भने त्यो त कोठा दिएबापतको ‘कमिसन’ हो नि भन्थे ।

चारचौरास चहारेको चार महिनापछि चिकंमुगलमा चरिकोटे चौलागाईंको घरको छिँडीमा चारहात बित्ताको कोठा पाइयो । त्यसरी छिँडीको कोठा पाउँदा पनि सुनको सिँढी चढ्ेभन्दा खुसी भएँ । धर्मशालाको बासबाट झिटिझाम्टा, पुराना राडीपाखी, थोत्रा डेक्ची, कराही, थाल-कचौरा ओसारियो । साँझबिहानको चुल्हो तताउने समस्या त आˆनो ठाउँमा छँदै थियो । जागिर हात परेको थिएन । गाउँबाट ल्याएको पैसो सकिन लागेर टाट पल्टिने अवस्था आयो । जागिरका लागि कम्ता धाइएन । मन्त्रीको पाउ पनि मोलियो, नेताको ताउ पनि मुसारियो । धेरै डाइरेक्टरको घर दैलो धाइयो तर माखो मर्दैनथ्यो । सबै जना ‘भोलि’ को रटान लाउँथे । त्यस्तो आश्वासनले एकछिनलाई त रसास्वादन नै गराउँथ्यो तर चुल्हो बन्द होला कि भन्ने चिन्ताले सताउँथ्यो । उतिबेलाका धेरै सङ्घसंस्था, कम्पनी, कर्पोरेसन र लिमिटेडका रिक्त पदमा दरखास्त हालियो । कति ठाउँमा लिखितमा त पास भइन्थ्यो, अन्तर्वार्तामा के विधि नपुगेर हो चिलिम फर्काइदिन्थे ।

राजधानी पसेको छ महिनापछि कसोकसो पानी अड्डाको खरदारमा नाम निस्कियो । नाक घिरौंला जत्रा, खुसीले भुइँमा खुट्टा भएनन् । त्यो वर्ष बूढीलाई बर्को र आफूलाई कमेज सुरवाल हालेँ । खरदार जागिर पाएको खुसीयालीमा चौलागाईं घरबेटीका चार जना छोराछोरीलाई चारपाउ जेरीस्वारी ‘फ्री’ मा खुवाइदिएँ । आफू बस्ने घरमा खानेपानीको धारो नभए पनि म पानी अड्डाको खरदार । पहिलो दिनको हाजिरी बजाउन नौ बज्दा नबज्दै पानी अड्डा पुगेँ । खरदारको नियुक्ति पाएका मसमेत आठ जना रहेछन् । गाउँबाट सहर पसेको म मनुवाबाहेक बाँकी सात जना राजधानीवासी रहेछन् । उनका ठाँटबाँठ देख्दा आफू त बिल्लीबाठ भएको मान्छे जस्तै ठहरिएँ । सुरूका दिन पानीअड्डामा ग्राहकको ढड्डा पल्टाउने काम पाएँ । मरुहिटीदेखि नारानहिटीसम्म र ठहिटीदेखि भोटाहिटीसम्मका खानेपानी ग्राहकका ढड्डा पल्टाउनुपर्ने । कैले कैले त टुसुक्क पनि बस्न नपाएर लुसुक्क भागौंजस्तो लाग्थ्यो ।

जागिर खाएको गोडा चारै वर्षपछि त्यो पानीअड्डामा ढड्डा पल्टाउने फाँटबाट उजुरबाजुर फाँटमा सारिदियो । अलिक सजिलो होला भन्ठानेको त्यो फाँट त झन् पुर्पुरो सेक्ने खालको पो परेछ बा ! सहरमा बसेर धारोको महसुल तिरेर पनि पानी खान नपाएर प्याकप्याक भएका ग्राहक दिनहुँ हूलका हूल अन्मरिन्थे । एक दिन कुन टोलका हुन् कुन्नि ! दस जना दादागिरी आएर मलाई सरक्क घेरा हाले । भुसतिघ्रे दादा देखेपछि मेरो हंसमंसले सरक्कै ठाउँ छाड्यो । ‘के भयो र भाइ हो ?’ भनेर सोधें । ‘ए खरदार ! पानीबिनाको धारा बाँड्ने तिमी घुस्याको झार्दिउँ बङ्गारा ?’ मेरा खुट्टा लगलग कामे । हूलमा एउटा छुचुन्द्रे खालको मुन्द्रे थियो । उसले फलामे औँठीलाको मुड्की उजाएर मेरो पुर्पुरोमा बजाउनै लागेको थियो अर्कोले छेकिदियो र ज्यान बच्यो । कोही रित्ता गाग्री लिएर आउँथे अनि कानैनेर आएर त्यो गाग्री बजाउँथे ।

‘म त उजुरबाजुर सुन्ने मात्र हो, निर्णय गर्ने त हाकिमहरू हुन्, मलाई किन थर्काउँछौ ?’ भन्यो भने ‘तँ आफैँ गएर हाकिमलाई भन्, हाम्रो धारामा पानी झर्नुपर्‍यो’ भन्थे ।

पानीअड्डाको उजुरबाजुर शाखाले आफ्नो बाँकी रहेको हुट्टिट्याउँको ज्यान पनि दादागिरीको मुक्काले हुक्का बन्ने डर भएपछि हाकिमलाई बिन्ति बिसाएँ – हे प्रभु ! मलाई यी बजियाहरूले न रातको निद्रा न दिनको भोक बनाए, त्यसैले उजुरी शाखाबाट बरु दर्ता चलानीमा सरुवा गरी पाउँ’ भनेँ। हाकिमले त्यो चाहिँ सुनिदिए । आज पन्ध्र वर्षदेखि यो खानु न खुट्नुको दर्ताचलानीमा छु । सहरको महँगीले शिर ठाडो पार्न सकेको छैन । छोराछोरीका बढ्दो पेट र डेरामा गाउँलेको आउजाउको भेटले टिक्न नसकिने भएको छ । श्रीमतीको सधैँको यो छैन र ऊ छैनको कचकचले जीउ आधाआधि भैसक्यो । मट्टीतेल ल्यायो चिनी छैन भन्छे । चामल दाल सकियो भन्छे । हरे दैव ! आफू सरहकाले राजधानीमा घडेरी जोडे, बैङ्क ब्यालेन्स बढाए, छोराछोरी वोर्डिङमा पढाए । आफू भने ‘कस्तो छ सम्धी उस्ताउस्तै’ भनेझैं भीरको चिन्डो न उँधोको न उँभोको भएको छु । यो बीस वर्षदेखि बबन्डरको हन्डर खाँदा खाँदा दिमाग पन्चर भएर अब राँची जाने बेला भैसके छ । त्यसैले यो सहरमा बसेर बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाइसकेको यो पत्तु मनुवा पानीअड्डाको खरदारी जागिर छाडेर अर्को महिना ‘ब्याक टु मङ्गलमान’ हुँदै गाउँ नै र्फकने निर्णयमा पुगिसको छु ।

युवामञ्च २०६८ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *