समयका छालले चोइटिएका मनका किनाराहरू
झूटो आश्वासनले भत्किएका प्रेमका मन्दिरहरू
कुनै अन्वेषकको प्रतीक्षामा छरपस्ट छन्
यत्रतत्र छरिएका छन् मनको कुनै कुनामा ।

प्रेमका मीठा शब्द बोल्ने ओठहरूमा
कलेटी पारेको छ वियोगका टुसारोहरूले
तिम्रो प्रतीक्षामा नथाक्ने आँखाहरूमा
अँध्यारो छरेको छ ढल्दो सूर्यास्तले ।

बढ्दो समय र घट्दो उमेरसँगै
तिम्रा यादहरू पनि धुमिल हुँदैछन्
तिम्रा मिठा बोलीहरू कानमा गुञ्जिन छाड्दैछन्
काम नलाग्ने बिग्रेका थोत्रा ग्रामोफोनसँगै ।

फर्केर आउ तिमी फेरि यो मनमा
याद राख प्रतीक्षामा जलेको छैन म
अझै दुःख देउ, रुवाउ, रहन्छु म
याद राख वियोगमा पनि गलेको छैन म ।

युवामञ्च २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *