समयका छालले चोइटिएका मनका किनाराहरू
झूटो आश्वासनले भत्किएका प्रेमका मन्दिरहरू
कुनै अन्वेषकको प्रतीक्षामा छरपस्ट छन्
यत्रतत्र छरिएका छन् मनको कुनै कुनामा ।
प्रेमका मीठा शब्द बोल्ने ओठहरूमा
कलेटी पारेको छ वियोगका टुसारोहरूले
तिम्रो प्रतीक्षामा नथाक्ने आँखाहरूमा
अँध्यारो छरेको छ ढल्दो सूर्यास्तले ।
बढ्दो समय र घट्दो उमेरसँगै
तिम्रा यादहरू पनि धुमिल हुँदैछन्
तिम्रा मिठा बोलीहरू कानमा गुञ्जिन छाड्दैछन्
काम नलाग्ने बिग्रेका थोत्रा ग्रामोफोनसँगै ।
फर्केर आउ तिमी फेरि यो मनमा
याद राख प्रतीक्षामा जलेको छैन म
अझै दुःख देउ, रुवाउ, रहन्छु म
याद राख वियोगमा पनि गलेको छैन म ।
युवामञ्च २०६८ चैत्र
