अवस्था, एउटा अमूर्त चित्रकला अथवा डाक्टरले खुट्याउन नसकेको रोगजस्तै भइरहेछ। मनमा जुन गहिरो पीडा छ, त्यो अमूर्त छ। कविहरूले धेरै कविता लेखे ‘देश दुखिरहेछ’। हो, यस्तै दुखाइ छ मनमा। कहाँ दुख्छ देश? देशको मुटु कहाँ छ? देशको हात, खुट्टा, शिर कहाँ छ र दुखिरहेछ? समष्टिमा यो कविको दुखाइ हो। उसको दुखान्त अवस्थाको अनुभूति हो। किरण मानन्धरको सुन्दर रङ-रेखाका भावहरूलाई शब्द र अक्षरले कहाँ व्यक्त गर्न सक्नु र! विद्यालयमा पढ्दा देखेको घर, जनावर, भिखारी, मादल, बादल आदि हाम्रो दिमागमा वर्षौंदेखि बसेको चित्रकलाबाट एकैपटक किरण मानन्धरका रङहरूको भाषामा मात्र व्यक्त हुने अमूर्त अर्थमा कुनै स्वरूप, कुनै स्थुल आकार खोजेर कला बुझिनँ भन्नुजस्तै भएको छ। दुखिरहेछ तर दुखिरहेको अंग अमूर्त छ र दुखिरहनुको अवस्था अव्यक्त छ। त्यस्तै देखिरहिएको छ तर दृश्य के हो खुट्याउन सकिँदैन।
हाम्रो विद्यमान अवस्था यही हो। अर्थ शब्दमा होइन, भावमा पोखिएको हुन्छ, संकेतमा परिभाषित भइरहेको हुन्छ। तर, यस गम्भीरतालाई बुझिदिन कोही तयार छैन। अन्धाले छामेर हात्तीलाई खुट्याउने कोसिस गरेजस्तो अथवा ईश्वरवल्लभको ‘आगोका फूल हुन्, आगोका फूल होइनन्’ को शाब्दिक व्याख्या केलाएर कवितालाई बुझ्न कोसिस गरेझैँ, हामी यथार्थलाई निजत्वको अपव्याख्यानमा, अनर्थमा र अज्ञानतामा बुझ्न खोजिरहेछौँ। हामी सानो आँखीझ्यालबाट समग्र भूमण्डल र नवग्रहहरूलाई नियाल्ने प्रयत्नमा छौँ। वल्लभका शब्दशिल्प पारखी गायक-संगीतज्ञ नारायणगोपालले भने, “ईश्वरवल्लभको गीत बुझ्न, पहिला ईश्वरवल्लभलाई बुझ्न सक्नुपर्छ।” तर, एक पंक्ति गीत या कविता बुझ्न कविका जीवनका सम्पूर्ण पाटालाई पढ्ने, खोतल्ने र बुझ्ने कष्ट कसले गर्ला? कोसित यति समय होला? असम्भव छ। किनभने, साह्रै हतारमा ओखती किन्न हिँडेको मानसिकतामा बाँचिरहेछ आजको मान्छे र त्यही मान्छे भन्छ- मैले वल्लभको ‘मेरो बेहोसी आज’ बुझिनँ।
हरेक पीडा जब चरममा पुग्छ, त्यो व्यक्त हुन सक्तैन, अमूर्त हुन्छ। त्यसैले ‘मेरी आमाले आत्महत्या गरेको देश’ गहिराइमा पुगेर बुझ्न खोज्ने हो भने ईश्वरवल्लभलाई नबुझी धरै छैन। उनकी आमाको अवस्थाको जानकारी नलिई पूर्णता प्राप्त गर्नै सकिँदैन। त्यस कालखण्डलाई बुझ्नुपर्छ, जहाँ उनका प्रकाण्ड विद्वान् पिताका कारण निरीह आमा आत्महत्या गर्न विवश भइन्। अनि, तिनै आमाको आत्महत्याको पीडाबाट जन्म्यो ईश्वरवल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’। यो कविता पाठकका लागि फगत एक कविता हो। विद्वान् अध्यापक-प्राध्यापकहरूले अर्थ जे लगाए पनि हुन्छ। विद्यार्थीले सोहीबमोजिम परीक्षामा उत्तर लेख्छन्। कापी जाँच्ने परीक्षकले पनि यसभन्दा बढी बुझेको हुँदैन। उसले पनि कवितामाथिको सतही व्याख्यालाई नै बढी अंक दिन्छ। यसरी विद्यालय र विश्वविद्यालयका अध्यापक-प्राध्यापकहरूले पुस्तौँपुस्तादेखि वल्लभकी ‘आमाको आत्महत्या’लाई सरलीकृत अर्थमा शब्दलाई मात्र केलाएर व्याख्या गर्दै आएका छन्। शब्दहरूको थुप्रोमा उधिन्दा अर्थ जे भेटिन्छ, वाक्यहरूको सरलरेखामा दृष्टि डुलाउँदा भाव जे बुझिन्छ, त्यही हो वल्लभकी आमाले आत्महत्या गरेको देश। किनभने, तिनका गुरुले पनि त्यसरी नै बुझाए, उनीहरूले आफ्ना चेलालाई पनि त्यसरी नै बुझाउँदै आए। कारण, हाम्रा विद्वान्हरूको ज्ञानले श्राद्धमा बिरालो बाँध्ने प्रवृत्तिको फड्को मार्न सकेनन् कहिल्यै।
रटाएर सत्य बुझ्न असम्भव छ। सत्यको नजिक पुगेँ भन्ने भ्रममा बाँच्नचाहिँ यतिले नै पुग्छ तर सत्यलाई बुझ्ने हो भने घटनालाई स्पर्श गर्नैपर्छ। ‘मेरी आमाले आत्महत्या गरेको देश’को सत्य बुझ्न किशोर ईश्वरवल्लभलाई बुझ्नुपर्छ। उनकै अघि खुकुरीले सेरिएर मरेकी रगताम्य राममाया र त्यसलाई हेरिरहेको हतप्रभ किंकर्तव्यविमूढ छोराको मनस्थितिलाई बुझ्नुपर्छ। त्यस घटनासम्म डोरिएर आएका अनेकौँ घटना-उपघटनाको शृंखलाको डोब पहिल्याउँदै आउनुपर्छ।
चन्द्रशमशेरले कांग्रेसमा लागेको अभियोगमा उनका पिता पण्डित मुरलीधर भट्टराईलाई छ/सात वर्ष जेल हाले। कष्टसाध्य थियो परििस्थति। उनकी आमा राममायाले त्यस कालखण्डमा ठूलो कष्ट सहिन्, ऋषिकेश शाहका पिताजीको घर बनाउन गिट्टी कुटेर तीन छोरालाई लालनपालन गरिन् र पढाइन् तर पिताजी जेलबाट निस्केपछि त्यसभन्दा ठूलो कष्ट पाइन्। चन्द्रशमशेरले मुरलीधरलाई दिएको सजायभन्दा ठूलो सजाय मुरलीधरले राममायालाई दिए। एउटी नारीका लागि सौता हाल्नुभन्दा ठूलो सजाय के हुनसक्छ? पण्डित मुरलीधरले राममायामाथि त्यही अन्याय गरे र उनले नगरेको अपराधको सजाय दिए। अनि, एक दिन यही असह्य अपमान र पीडाबाट मुक्ति खोज्न एउटी स्वाभिमानी नारीले खुकुरीले सेरिएर आत्महत्या गरिन्।
मर्दै गरेकी आमाको छटपटी र त्यस असह्य पीडाको द्रष्टासाक्षी ईश्वरवल्लभले त्यस पूर्वदृश्यलाई कति वर्षसम्म मुटुमा गाँठो पारेर मन्थन गर्दै हिँडे? (ईश्वरवल्लभले यस लेखकसँग १२ साउन ०६३ मा गरेको लामो कुराकानीमा यस घटनामाथि प्रकाश पारेका हुन्।) यस कोणबाट ईश्वरवल्लभलाई कसैले बुझेनन्, बुझ्ने कोसिस पनि गरेनन्। अन्ततः उनकी आमाले आत्महत्या गर्नुको पीडान्त छटपटी उनको हृदयमा बस्न नसकी बाफिएर कविता भएर कागजका पन्नामा तपतपी चुह्यो। लामो समय लाग्यो, उनको छटपटी बाफिन। त्यो बीभत्स क्षण, मुटु हल्लाउने त्रासद दृश्य। ईश्वरवल्लभ आमाको छटपटाइरहेको शरीर, सेरिएको घाँटी र रगताम्य खुकुरीलाई पालैपालो हेरिरहन्छन्। उनका आँखाबाट आँसु पनि फुट्न सक्तैनन््। उनी डाँको छोड्दै भक्कानिएर रुन पनि सक्तैनन्। समय टक्क रोकिएजस्तो त्यो क्षण अथवा ठूलो भुइँचालो भर्खरै गएजस्तो वातावरण। ईश्वरवल्लभले घटनाको तात्पर्य र परिणामको भुमरीमा रन्थनिइरहँदा छेउमा आफूसँगै टाँसिएर बसेको शिशु भाइ विश्ववल्लभका निर्दोष र पीडाहीन अबोध आँखालाई नियाले र फेरि एकपटक उनी कहालिए।
वर्षौंसम्म उनका स्मृतिमा, उनका सपनामा र उनका संवेदनामा यी दृश्य दोहोरइिरहे, दोहोरइिरहे र बारम्बार, हजारौँपल्ट दोहोरिए। अनि, एक दिन फेरि उनी बेस्सरी कहालिए। उनीभित्र ठूलो भुइँचालो गयो। फेरि एकपल्ट वर्षौंअघिझैँ उनी भक्कानिए। प्रसवपीडाले कहालिएकी आमाजस्तै भए अनि यसपटक डाँको छोडेर रोए। पुरानो घाउ एक्कासि बल्झिएर उनको मन दुख्यो। उनको पूर्वस्मृतिमा मातृवियोगको घटना सिनेमाको रलिजस्तै घुम्यो र फेरि एकपल्ट जीवन्त भएर सलबलायो। उनका आँखा वषर्ात्को पोखरीझैँ रसाए तर यसपल्ट आँसु नुनिलो पानी बनेर खेर गएन। उनको क्रन्दन आँधीमा उडेन। उनको विषाक्ति एउटा युगको साक्षी भएर मानवीय संवेदनालाई हल्लाउने कवितामा पोखियो- ‘मेरी आमाले आत्महत्या गरेको देश’।
नाघ्न नसकिने पहाडजस्तो, तर्न नसकिने भेलजस्तो, गाउन नसकिने रागजस्तो या भनौँ पुग्न नसकिने गन्तव्यजस्तो। बेलाबेला जीवन यस्तै मोडमा थामिन पुग्छ। फर्किनु, फेरि तिनै कहालीलाग्दा बाटा, गल्ली, गल्छेँडा र कुइनेटाहरू भएर। एकै रातमा ‘पागल’ लेख्दा देवकोटा अपमानबोध र तिरष्कारले क्षणक्षण जति रन्थनिए, उनको सिंगो रातले जसरी विद्रोह कुल्र्यो, वल्लभका आँखाअघि त्यो हृदयविदारक घटना वर्षौं नाचिरहँदा, वर्षौंसम्म हरेक दिन स्मृतिहरू तिनै पुराना गल्लीमा पुग्दै फेरि फर्किंदै गर्दा उनी कति रन्थनिए, कति कहालिए होलान्? हो, फर्किनुको कुनै अर्थ छैन। वल्लभ पनि नफर्केका भए हुन्थ्यो तर मानिसको मनलाई, उसको भावनालाई गणितको जोडघटाउसँग सादृश्य गरी उत्तर खोज्ने प्रक्रियामा ढालेर ‘तँ यहाँभन्दा अघि बढिस् भने अथवा पछाडि पर्किइस् भने गलत उत्तर निस्किन्छ, फेल हुन्छस् …’ भनेर शिक्षकले रटाएको गणितको सूत्रमा बाँधेर राख्न कहाँ सम्भव हुन्छ? सबै शिक्षकले ज्ञान बाँड्दैनन्। धेरैले त उनीहरू पुस्तकसँग जोडिएको गणितका सूत्रमा ढालेर निस्केको शेषलाई बुझाउने प्रयत्न मात्र गर्छन्। किनभने, उनीहरू पुस्तकमा लेखिएका शब्द र वाक्यहरू बाहिर गएर अर्थ खोज्न असमर्थ हुन्छन्, सम्भव पनि हुँदैन। महाकविको गणितीय परिभाषामा चल्ने मानिस कहिल्यै सूत्रमा हिँड्दैन। ईश्वरवल्लभ सूत्रमा हिँडेनन्। उनी देवकोटाको शेषरहित गणितको मान्यतामा हिँडे। उनी स्रष्टा थिए। महाकविझैँ नयाँनयाँ सृष्टि गर्दै हिँडे।
जो सूत्रमा हिँड्छ, त्यसको जिन्दगी सूत्रमै अल्झिरहन्छ। उसका हातखुट्टा, उसका विवेक र ज्ञान सबै सूत्रको डोरीमा जेलिएका हुन्छन्। जेलमा ठिँगुरा ठोकिएको कुनै कैदी र उसमा कुनै तात्त्विक भिन्नता हुँदैन। मान्छे जब सूत्रका सारा बन्धन छिनाएर स्वतन्त्र हुन्छ, बन्धनमुक्त हुन्छ अनि ऊ देवकोटा र वल्लभझैँ नयाँ सिर्जनामा, नयाँ सृष्टिमा र नयाँ संसारमा उभिन पुग्छ। भलै, विद्वान् (मूर्ख)हरूले कसैलाई पागल भनून्, सन्काहा भनून् या अमूर्त भनून्।
आफूले बुझ्नुपर्ने भन्दा अरूलाई बुझाउन सजिलो कुरा हामी बढी खोज्छौँ। हामी सरलरेखी हौँ तर बुझ्नुपर्ने कुराहरू वक्ररेखी छन्। बुझ्नुपर्ने कुरा कोट्याएर, त्यसको जरासम्म पुगेर सत्यलाई बुझ्ने कष्ट किन गर्नू? किनभने, नबुझेरै पनि जीवन बाँच्न सकिने कुरा अझ धेरै छन्। सरल कुरामै रमाउन सजिलो छ। धेरै बुझ्ने प्रयत्न गर्नु सजिलो कुरा होइन। त्यसैले सरलरेखाको चिल्लो ‘पिचरोड’मा जीवनलाई हिँडाउन चाहनेहरूका लागि समस्या धेरै छैनन्। महाकवि देवकोटाको ‘दाल, भात, डुकु’मा मात्र रमाउनेहरू जिन्दगीलाई एउटै सरलरेखामा हिँडाएर पनि सुखपूर्वक बाँच्न सक्छन् तर थाहा छ, सरलरेखामा हिँड्ने मूर्ख विद्वान्हरू कहिले महाकविलाई ‘भेडो’ ठान्छन् र घाँस खुवाउने पौरख गर्छन् ! कहिले उनको भावुकता र साँचो कवित्वलाई नबुझेर ‘पागल’ घोषित गर्छन् र राँची पठाउँछन्। किनभने, उनीहरूसँग कुनै बेग्लै अर्थ हुँदैन, कुनै नौलो घोत्ल्याइँ हुँदैन र कुनै नवीन दृष्टिगोचर हुँदैन। भए पनि उनीहरू सबै स्थूल मात्र देख्छन्। जे शब्दले भन्छ र जे दृश्यमा देखिन्छ, त्यही सत्य हो सरलरेखीहरूका लागि। तर, महाकविले त शब्दलाई देखे, शब्दमा जीवनगीताको अनन्त दर्शन देखे। उनले दृश्यलाई सुने, आफ्ना अगाडि अहंकार र षड्यन्त्रका खुँडा उझाएर झम्टिन दाउ खोजिरहेका षड्यन्त्रहरूको नियतिलाई सुने। अनि, आफ्नो भद्रता र प्रतिभाको सुवास मगमगाइरहेका बेला ‘एलर्जी’ भएर नाक थुन्नेको घ्राणरोगलाई नजिकबाट चाखे।
त्यसैले भने :
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
साँचो अर्थमा जीवन बुझ्न अनेकौँ बक्ररेखालाई नाघ्दैनाघ्दै हिँड्न सक्नुपर्छ। अनि, बल्ल देखिन्छ, कतै जीवनबोधको जूनकीरी ज्योति। अनि, बुझ्न सकिन्छ देवकोटा र ईश्वरवल्लभलाई। अझ भिन्न अनुभूति, अझ भित्री रूप, अझ गहिराइसम्म बुझ्न सकिन्छ। अनि, स्वतः बुझिन थाल्छ, देवकोटाको पागलपनलाई, ईश्वरवल्लभकी आमाको आत्महत्यालाई। सिर्जनाभित्रको पीडा र यथार्थ बुझ्नलाई सर्जकको नाडी छाम्नैपर्छ। त्यसैले स्वरसम्राट नारायणगोपालले भने, “ईश्वरवल्लभको गीत बुझ्नलाई ईश्वरवल्लभलाई पनि बुझ्नुपर्छ।”
अमूर्त छन् सबै सृष्टि, सरलरेखीय दृष्टिले हेर्दा। घाम बिहानै किन झुल्किन्छ र अस्ताएपछि रातभरि कहाँ जान्छ? विज्ञानको सूत्रात्मक जोड-घटाउले यसको निष्कर्ष निकालेको छ। तर, महाकविको ‘यात्री’मा, शंकर लामिछानेको ‘एब्स्ट्रयाक चिन्तन प्याज’मा, ईश्वरवल्लभको ‘मेरो बेहोसी’मा, बीपी कोइरालाको ‘शत्रु’मा या आन्विका गिरीको ‘हिरोहोन्डा’मा दर्शन जुन रहस्यमा मन्थन भएर प्रस्फुटित भएको छ, यो बुझ्न कागजका पानामा भरिएका शब्द र वाक्यको बिस्कुन केलाएर मात्र सम्भव छ ! शब्दमा लेखिएको भन्दा गहिरो सत्य, देखिएको भन्दा छर्लंग यथार्थ, पुगेको गन्तव्यभन्दा हिँडेको बाटो किताबका पानामा सिँगारिएका अक्षरको मालाभन्दा अलग्गै- वास्ताहीन, महत्त्वहीन र उपलब्धिहीन बाँचिरहेका हुन्छन्। ती सत्य हुन्। यद्यपि, हामी पुस्तकको आवरण हरेरै भनिदिन्छौँ- ‘यसको तात्पर्य यो हो !’ तर, वास्तविक तात्पर्य बुझ्न त गणित होइन, सर्जकको सूत्ररहित जीवन र स्वभावलाई बुझ्न सक्नुपर्छ। नत्र कसरी थाहा हुन्छ, आन्विकाले हीरोहोन्डासँग विवाह गर्नुको रहस्य के हो? मदनमणि दीक्षितले राप्रउ पोखरेलको सुझावले माधवीजस्तो महान् कृति लेख्नुको स्वीकारोक्ति के हो?
त्यसैले शरीरका अवयवमा जस्तो देखिए पनि, नाक, आँखा र मुहारको समग्र बनावट हेरेर यो मान्छे फलानो हो भनेजस्तो सजिलो छैन जीवन बुझ्न। जीवन एउटा गुफामा बाँचेको हुन्छ। जो त्यस गुफाभित्र पस्न सक्छन्, तिनीहरूले जीवनलाई नजिकबाट बुझ्छन्। यो कुनै दर्शन होइन र रहस्य पनि होइन। पुग्न नसकेर या पुग्ने कोसिस नगरेर मात्र रहस्यमयी भएको हो। मानिसको मनभित्र पसेपछि त सबै अर्थ खुलस्त हुन्छन्। रहस्यलाई खोतलेपछि अझ नयाँनयाँ रहस्य प्रकाशित हुँदै जान्छन्। जीवनको रहस्य नै यही हो र यो बुझिनसक्नु छ।
(सांग्रिला बुक्सद्वारा प्रकाशोन्मुख घिमिरेको निबन्धसंग्रह …अर्थात् हामीको एक निबन्ध)
नेपाल साप्ताहिक ४८९

Thank you.
[ म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
साँचो अर्थमा जीवन बुझ्न अनेकौँ बक्ररेखालाई नाघ्दैनाघ्दै हिँड्न सक्नुपर्छ। अनि, बल्ल देखिन्छ, कतै जीवनबोधको जूनकीरी ज्योति। अनि, बुझ्न सकिन्छ देवकोटा र ईश्वरवल्लभलाई। अझ भिन्न अनुभूति, अझ भित्री रूप, अझ गहिराइसम्म बुझ्न सकिन्छ। अनि, स्वतः बुझिन थाल्छ, देवकोटाको पागलपनलाई, ईश्वरवल्लभकी आमाको आत्महत्यालाई। सिर्जनाभित्रको पीडा र यथार्थ बुझ्नलाई सर्जकको नाडी छाम्नैपर्छ। त्यसैले स्वरसम्राट नारायणगोपालले भने, “ईश्वरवल्लभको गीत बुझ्नलाई ईश्वरवल्लभलाई पनि बुझ्नुपर्छ।”]
NIshabda chhu yi shabdaharuko agaadi….