Skip to content


ए ढ्वागको बुख्याँचा बुनेर
कति दिन सताउँछौ
मान्छे र उसले अरूप्रति गरेको
असल शोचलाई
ए कति दिन गिज्याउँछौ
आफ्नै अहंको रागमा
अरूको निश्छल
अमुर्तताबोधी सरलतालाई

सबै मान्छेलाई
भ्रमको तराजूले जोख्नु
तिम्रो बेइमानी हो
सही र गलतको दायरालाई
निर्क्यौल नगरी अविस्वासले
घेराबन्दी गर्नु तिम्रो आशक्ति हो

एउटा कटू सत्य कुरा
राम्रो बोल्दैमा
सबै मान्छेका मनहरू
कुरुप हुदैनन्
एउटा बुझ्नु पर्ने यथार्थ
कसैको सच्चा कामको
प्रशंसा गर्दैमा
शब्द र अक्षरहरू
घाइते हुदैनन्

कस्तै हुरी चलोस
कहिले पनि अहंकारले
अरूप्रति गरिने माया प्रेमको
गहिराइ पुरिँदैन
कस्तै आधि बेहरी आओस
कहिले पनि आडम्बर र आक्रोशले
अरूले अरूप्रति गरेको विश्वासको
जग हल्लिदैन

त्यसैले तिमी पर्ख र हेर
तिमी शोच र अध्ययन गर
के इतिहासले देखाएको छैनर !
हेपेको, थुकेको, टालेको, फाटेको, बिर्सेको चिज
कालान्तरमा गएर पुज्य बनेको कुरा
के समयले दृष्टान्त छोडेको छैनर !
सताइएको, नगनिएकाले पनि
एक दिन मान्य हुन पाएको कटु सत्यता

मान्छेको बिलाक्षणताको कशी त उसको
बिनम्रतामा मात्र हुन्छ
मानिसको मापन त उसले
अरूलाई मान्ने सस्कारमा मात्र हुन्छ
किनभने
पलाश होइन मान्छेको जीवन
जाही जूहिको मिठो सुवास हो
शंकाको चल खेल होइन मान्छेको स्वभाव
अटल महासागर र आस्थाको सगरमाथा हो ।

अस्तु :

बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *