उमंगको रत्तिभर आभास
नभेटेर यो मन अत्तालिई रहेछ
कुन्नी किन हो ?
हर बिगत सालको सम्झना गर्दा
बिभत्स हत्याहरूको
चलचित्र आँखा वरिपरि
मण्डराउँछ,
अनि…………..,
बिभिन्न नाटकरुपी
अभिनयले भरिएका
कुकृत्यहरूको आकृतिको
छायाँ सल्बलाउँछ,
त्यसैले ……,
नयाँ सालको आगमनमा
हर्ष बिभोर बनुँ भने
कता, कता मुटु सन्देहको
ज्वालामा थर्थराउँछ,
कतै पुरानै ईतिहास नै लिएर त
आउँने होईन ? नयाँ साल पनि
भनेर ।
यस्तै उत्पीडनको खुसीयालीमा
यो मन आल्हादित छ
जसै पनि नयाँ बर्षको आगमनमा ।
देश उस्तै छ,
बरु घटनाक्रम परिवर्तित
रूप लिएर
घटिरहेछ हर समय,
मान्छे उस्तै छन्
बरु सोंच र बिचारमा
क्रुरताको कांडा मौलाईरहेछ
झ्यास्झ्यास्ती ।
यो सन्देहले राज गरेको
मनस्थितिमा नयाँ
बर्षको उल्लासमा कसरी
रम्न सकिने हो ?
तर….. आशा गरौं,
सधैं बिगतको अप्रिय
रोग मात्र लिएर नआउला
नयाँ बर्ष,
कतै परिवर्तित रूपको
रंगिन क्षितिज ओढेर
बेहुली झैँ लजाउँदै
आउला अवश्य नयाँ बर्ष
सबैको हृदयमा शान्तिको बिज
रोप्न उत्साहित बन्दै आउला
सुकुमारी २०६९ सालको
निस्कलंक कलिलो
नयाँ बर्ष……… ।
रचना – १२ /२६ /२०६७
(अमेरिका)
