भूमध्यसागरीय बयली हावाको षोडशी स्पर्शमा
जैतुनका फूलहरू झर्न थालेपछि
अप्रिल महिनाको इजरायली भुइँ
सेतो खैरो फूलतन्नाले ढाकिएपछि
बैशाखे न्यानो घाम हिमालपारि कल्पिँदै
नयाँ बर्षको नयाँ उमङ्ग
पुरानो सपनाको शहरभित्र कतै फूटपाथमा बिस्कुन राखेर
निमेकमा पसिना सटही गर्दा
भक्कानिएर मन यसरी डाँको छोड्छ ..
यो सग्लो हृदय कति ठाउँमा चिरा पर्छ
प्रिये!
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसँगको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने य निर्दोश पातपातले रुवाउँछ !
कसम! मलाई जैतुनको फूलले रुवाउँछ !!!
टहल्छु कतै तिमीलाई बिर्सन
हराउँछु उसै आँफैलाई बिर्सन
जब फुटपाथमा कालो बिरालोले बाटो काट्छ
कतै धूपीको टुप्पोबाट काग च्याँट्ठिन्छ
थाहा छ यो संयोग हुन सक्ला
थाहा छ यो केही सत्य नहोला
तर मनमा भुकम्पले धक्का दिन्छ
कि कतै तिमी दुख्यौ कि !
यो हेमन्तीय मग्मग सुवासले पिरोल्छ
यो सपना-शहरको हरेक रमझमले चिमोट्छ,
जब अक्टोबरको महिना क्लानितले रङ्गिन्छ
त्यो रङ्ग रङ्गले मलाई रुवाउँछ
त्यो हरएक पत्रपुष्पले मलाई हिक्का छुटाउँछ,
डलरमा साटेका हर सपना
तिनै कलानितका फिर्फिरे रातोपत्रमा लपेटेर
निलो आकाश हेर्दै टोलाउँदा
आँशु यसरी ओइरिदिन्छ,
हो प्रियतम!
मलाई कलानितले
तिम्रो निशानी सिम्रिक सम्झाउँछ
यो स्वप्नलोकको रमझमले
हाम्रा एकाँकीपलहरू सम्झाउँछ
उफ्फ्फ! मलाई यी हरएक झिलिमिलिले भक्कानो छुटाउँछ
यो बेफिक्री झुल्ने फूलपातले रुवाउँछ
साँच्चै,
मलाई सबथोकले रुवाउँछ
हरेक बर्ष आइदिने यो नयाँ दिनले रुवाउँछ कि
म गन्न वाध्य हुन्छु हाम्रो बिछोड
यो हरेक पटकको गिन्तीले
चूरचूर बनाउँछ
मलाई यो सबथोकले रुवाउँछ ।
