प्रिय लेखकज्यू,
सप्रेम सम्झना !
यत्तिखेर म तपाईं च्याँच्याँ र म्याँम्याँ गरेको क्षेत्रमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रही शिक्षण पेसामा आबद्ध भइरहनुभएको सु-समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ । पत्रमा मेरा बारेमा त्यहाँ थाहा पाएका दर्जनौँ कुरा समेट्नुभएको रहेछ । म पनि तपाईंका बारेमा मैले यहाँ थाहा पाएका एकाध कुराहरू समेट्ने जमर्को गर्दै छु ।
‘पहाड भत्कियो- फेसन र जाँड-रक्सीले’ भन्नुभएको रहेछ । बदलामा म भन्दै छु- ‘तराई भत्कियो-दाइजो र भोजभत्तेरले’ अर्कातिर ‘हमर बेटाके निक नाम ताकि दिअ’ समेत भन्नुभएको रहेछ । भाषा-साहित्यकै खेती गरेर बाँचेको हुनाले नामाकरण गर्न मलाई गाह्रो छैन । यस सन्दर्भले मलाई ५/६ वर्ष अघिको ‘बेहुला बजार-मुर्दावाद’ शीर्षकको तपाईंको लेखको सम्झना भयो । पहिले त्यसै लेखका कुराहरू अघि सार्छु अनि मात्र नामाङ्कितको लहरो तानौँला । ‘बेहुला बजार-मुर्दावाद’ लेखका लेखक भएकोले मैले यहाँ ‘मोहनराजजी’ भनेर सम्बोधन नगरेको हुँ । यो नामभन्दा लेखक निकै माथिल्लो हैसियतमा पर्छ ।
अँ त लेखकज्यू ! तपाईं मोहनराज देव, बी.बी.एस. सिद्धयाएर शिक्षण पेशामा स-परिवार पहाडी इलाकामा पुग्नुभएको जागरुक युवक ! तपाईं हिम्मतिलो मान्छे ! मनमा जे छ त्यो रिठ्ठो नबिराई ओछ्याइदिने मान्छे ! दूधको दूध र पानीको पानी छुट्याउने मान्छे ! ‘जे बोल्छु, त्यही गर्छु र जे गर्छु, त्यही लेख्छु’ भन्ने मान्छे । मनमस्तिष्कमा ज्ञान-विज्ञान र खेलकुदका बारेमा विशाल जानकारीको भण्डार भएको मान्छे ! समाजमा हुने गन्दे खेल विरुद्ध दाह्रा किटेर लाग्ने मान्छे ! समाजमा अक्षम्य अपराधकर्म गर्ने व्यक्ति आतङ्ककारी भएको ठहर गर्ने तर अरूले आतङ्ककारी भन्दैमा त्यसलाई सो विल्ला भिराउन अस्विकार गर्ने मान्छे ! राजनीतिलाई असफलहरूको गन्तव्यहीन खेलका रूपमा चित्रण गर्ने मान्छे ! त्यही प्राकृतिक अविवाहित मनस्थितिअनुकूल तपाईंको कलम बोल्यो- ‘मेरो समय त्राहीमाम छ । मान्छेबाट डराएको छ । व्यापारबाट तर्सिएको छ । मान्छेले मान्छे किन्ने दासप्रथाको झैँ चलन दिनदिनै मौलाएको छ । पशुहटियामा जम्मा पारिएका पशुहरूको मोलमोलाइझैँ वरपक्षले कन्यापक्षलाई तौलन्छ । कन्यालाई मात्र तौले त ठीकै भन्नु, उसका मातापिताको आर्थिक स्थिति समेत ढकतराजुले तौलन्छ । र, दाइजो दिनुपर्ने नगद एवम् जिन्सीको लामो सूची थम्याउँछ । कन्या पक्ष पनि तौलन्छ, वरलाई मात्र तौलदैन, कुन चाहिँ कम दाइजो लिने खान्दान छ, त्यसैलाई छोरी सुम्पन्छ । कम दाममा काम भयो भने बढी किन तिर्ने ! हाकाहाकी मोलतोल हुन्छ । माग र पूर्तिको दरो र खरो अन्तरक्रिया हुन्छ । ठ्याक्कै मिलनविन्दु फेला पर्छ । नपरे केटाले केटी रुचाए पनि, केटीले केटा मन पराए पनि विवाह हुन्न । त्यही अनुरूप नानाभाँतीका प्रपञ्च रचेर एउटाले छोरी पठाउँछ, अर्काले भित्र्याउँछ । भोजभत्तेरहरूको कहिरन गरिरहनुपर्दैन । त्यसैका लागि त ठूलो जनसङ्ख्याले जन्म-विवाह-मृत्युजस्ता संस्कारलाई चासोको विषयका रूपमा लिन्छ । पठाउने र भित्र्याउने यी दुई कामका लागि सयौँ जनाले दुःख पाउँछन् । दुईचार दिन दुःख पाउनु त सामान्य कुरा हो । कन्याका मातापिताले कति दिनदेखि जोहो गरेर राखेको धन क्षणभरमै स्वाहा हुन्छ । त्यसको सही उपयोग भए त ठीकै छ । छोरालाई मात्रै होइन, छोरीलाई समेत अंश दिइयो भनेर चित्त बुझाउनू ! सही उपयोग विरलै हुन्छ । लुटको धन, फुपूको श्राद्धजस्तो ठानेर सित्तैको धन यताउता गर्दागर्दै त्यत्तिकै उड्छ । अझ भनेजस्तो जिन्सी र चाहे जति नगद पाएनन् भने त्यसकै निउँमा दुलहीहरूको जीवन रछ्यानको जुठाभाँडाकुडासरह हुन्छ । छोरी जन्मनासाथ शिर निहुर्याउनु र छोरा पाउनका लागि तीर्थ-ब्रत, पूजापाठ गर्नु यहाँको एउटा पूरातनवादी शैली छ । समय हिँडेबमोजिम मान्छे हिँडेका छन् तर उनीहरूको सोच भने पुरानै छ । आमूल क्रान्तिको आवाज बुलन्द नगरी भएको छैन । छोरो बिक्री गर्ने बाउ- मुर्दावाद ! वर किन्ने ससुरो- मुर्दावाद ! दुई मनको पवित्र मिलन- जिन्दावाद, प्रगतिशील विवाह- जिन्दावाद !’
लेखकज्यू ! तपाईंको लेखका सबै शब्द यिनै हुन् भन्न सक्दिनँ तर आशय भने शतप्रतिशत यही हो भन्ने ठोकुवा गर्छु । त्यस बेला मलाई तपाईंजस्तो जागरुक र चेतनशील युवकले पक्कै नवीन क्रान्तिको उद्घोष गर्नुहुन्छ भन्ने लागेको थियो । परिवर्तन गर्नुछ भने आफैँबाट शुरु गर्नुपर्छ भन्ने भनाइ तपाईं पूर्णरूपेण लागू गर्नुहुन्छ भन्ने आश जागेको थियो । समाज अग्रगतिको दिशातिर उन्मुख भएको हेर्ने रहर थियो । नयाँ पिँढीले पुराना पिँढीका कमीकमजोरी सुधार्छ भन्ने लागेको थियो । त्यसो त के-के लागेको थियो, थियो । ती सम्पूर्ण कुराहरू बेलुन फुटेझैँ एकाएका फुटे । विचारले बाँधिएका सारा बन्धनहरू चुँडिए । आशा निराशामा परिणत भयो । तपाईंको चित्त शुद्ध थियो । त्यही शुद्धतामा द्रव्यमोहले वास गरेछ । घरेडी जोड्दा ऋण लागेछ । त्यही ऋण चुक्ता गर्न विहे गर्नु भएछ । अरू मान्छेलाई विहे गर्दा ऋण लाग्छ तर तपाईंलाई भने विहे ऋण चुक्ता गर्ने अवसर भएछ । मोटो नगद र आधुनिक सुविधाका जिन्सी सामग्रीले घर भर्नुभएछ । गाँठे ! तपाईं त विश्वासघाती हुनुहुँदो रहेछ । तपाईंभन्दा अर्को खेलाडी यताउता विरलै होलान् ।
लेखकज्यू ! तपाईं कस्तो लेखक ! मन नभए अक्षरलाई किन दुःख दिनु ! बोलीलाई व्यवहारमा परिणत गर्न नसके भावना किन सार्वजनिक गर्नु ! आफू भएर बाँच्न र रहन सकिन्न भने किन ‘मोहनराज हुँ’ भनेर कुर्लनु ! ‘म दाइजोराज हुँ’ भनेर कुर्लंदा भइगयो नि । भ्रमको वीज छरेर समाजलाई दुषित पार्ने अधिकार तपाईंलाई छैन । तपाईंले ससुराको धन त पाउनुभयो तर मन गुमाउँनुभयो । हाम्रो मित्रता त पाउँनुहुन्छ तर विश्वास गुमाउँनुभयो । तपाईंको देखिने जिब्रो एक होला तर व्यवहार गर्ने जिब्रो अनेक रहेछ ।
लेखकज्यू ! तपाईंले विहेपश्चात् स्पष्टीकरण दिनुभएको थियो- ‘समाजले जे भन्छ, मान्नै पर्यो । लिन्छु भनेको हैन । दिनेलाई कसले रोक्न चाहन्छ । लिन्नँ भनेर बाह्र हात पछि सर्ने कायर पनि परिएन । दिए त उनीहरूकै छोरीको सुखका लागि दिए । मैले त्यसलाई दुरुपयोग गर्ने कुरा आउँदैन । मलाई ल्यापटप, कम्प्युटर, मोटरसाइकल, फ्रिज, पलङ्ग आदित्यादि चाहिएकै थियो । विराटनगरमा दुई कठ्ठा घरेडी जोड्नु नै थियो । ती कुरा सम्पन्न गर्दा मलाई ऋण लाग्थ्यो । म ऋणमा डुब्नु भनेको उनीहरूकी छोरीले समेत दुःख पाउनु हो । त्यही बुझेर होला स्वेच्छाले जे दिए, मैले पनि त्यस सम्मानलाई उचित कदर गर्दै लिएँ । यहाँ मैले के बिराएँ । मैले मोलतोल गरेको छैन । म माग र पूर्तिको अन्तरक्रियामा सामेल छैन । म लेनदेनको माध्यमबाट विहे हुनुपर्छ भन्ने विचारको हिजो पनि विरोधी थिएँ, आज पनि छु र भोलि पनि यही अडानमा रही रहनेछु ।’
हो लेखकज्यू ! तपाईंका कुरा मीठा छन्, गुलिया छन् । आखिरमा तपाईं लेखक न पर्नुभयो । लेखकसँग शब्दरूपी जादुको छडी हुन्छ, त्यत्तिकै भनेको रहेनछ । अझ त्यो स्थिति सिर्जना गर्न के-कस्तो भूमिका खेलियो होला भन्ने वारेमा समाजले सहजै अनुमान गर्न सक्छ । मुलुकी ऐनका नियम/उपनियमबाट आफू चोखिने कति राम्रो काइदा ! फाइदाका लागि दिमाख लगाउन के कम हुनुहुन्थ्यो ! जे भयो, भइ गो ! मैले अब भनेर केही हुन्न । सबैलाई सबै कुरा थाहा छ । नीतिनिर्माता र संरक्षकहरू नै दलाल छन् । देखाउने दाँत एक किसिमको छ, चपाउने अर्कै किसिमको छ । मुखमा राम-राम जपिन्छ तर बगलीमा छुरा रहन्छ । गन्थन धेरै गरियो । मनमा आघात पुर्याइयो । चाहेर हैन, तीतो-सत्य केलाउँदा यस्तै हुँदो रहेछ ।
लेखकज्यू ! अब भने वास्तविक प्रगतिको कुरा गरौँ । संसारको रीति बसाल्न सक्नुभएछ । छोरो जन्माउनुभएछ । मलाई नामाङ्करण गर्दिनु पर्यो भन्नुभएको रहेछ । आजकल नयाँ-नयाँ नाम राख्ने फेसन चलेको छ । पूर्वीय संस्कृतिअनुरूप नाम नराखेर पाश्चात्य जगत् चहार्ने चलन चलेको छ । म न यताको हुँ न उताको हुँ । कतै न कतैको हुँ । हुँ त सबैतिरको हुँ । हुइनँ त कतैको पनि होइन । म कसैको नामाङ्करण गर्दै हिँड्ने पेशेवर पण्डित पनि होइन । म नाम राखेर आफूलाई ठूलो मान्छे बनाउन चाहन्न । तर, तपाईं मित्र भएको नाताले नेपालीपन झल्कने नाम राखिदिन आग्रह गर्नुभएको रहेछ । मसँग नामको लामो सूची छ । अहिले पनि मसँग गोडा पाँचेक शब्दकोश छन् । तीनमा लाखौँलाख शब्द छन् । नामवर्गमा मात्रै हजारौँ शब्द छन् । त्यसमा त सबैभन्दा बढी शब्द छन् । एउटा नाम मज्जाले राख्न सकिन्छ । आफूले राखेको नाममा आफैँ सन्तुष्ट हुनसक्नुपर्छ । पछि छोरो बुझ्ने भएपछि प्रतिकार गर्न चाहेछ भने चाहिँ छुट दिनुपर्छ । आफूलाई कुन नामबाट सम्मानित गराउने, त्यो वैयक्तिक मामलाको कुरा हो । तापनि तपाईंको आग्रह र विश्वासलाई हृदयदेखि नै स्वागत गर्दै एउटा शब्दमा मेरो ध्यान खिचिएको निवेदन गर्दछु ।
शरभ- ना. (सं.) हिमालमा हुने सिंहभन्दा पनि बलियो मानिएको, धेरै माथि उफ्रन सक्ने पुराण प्रसिद्ध कल्पित आठखुट्टे पशु । यस सन्दर्भमा मेरो महत्वाकाङ्क्षाको मूल्य छैन । म मेरो विचार लेख्दै छु । अन्तिम निर्णय तपाईंको हो । विनाहस्तक्षेप अन्तिम निर्णय लिनुहोला । म चाहिँ तपाईंको छोरोले बाबुले बिराएको बाटो सपारेर नवीन अध्याय सुरुआत गरोस् भन्ने चाहन्छु । उसले महोत्तरीको मुसहर्नियामा बसेर सोलुखुम्बुको ओलाङ्गचुङगगोलामा प्रभाव जमाओस् । ऊ अपूर्व मौलिक विलक्षणले युक्त होओस् । न्यायको मार्गबाट अन्यायलाई दबाओस् । आफू जेजस्तो छ, त्यस्तै मौलिक बन्नमै रमाओस् । अरूको देखासिकी गर्ने र आफ्नोपन मारेर परतन्त्र स्विकार गर्ने बन्दै नहोस् । आफ्नो हृदय खोल्न सकोस् । आफूभित्रको कुरा जगत्लाई देखाओस् । ऊ ऊध्र्वगामी पथमा फड्को मार्ने मान्छे बनोस् । सानातिना-झिनामसिना बाधा-व्यवधानबाट नअलमलियोस् । जटिल र कराल पर्खालको भेद खोल्न सकोस् । त्यसको कमजोर भागबाट कोतर्दै मुटु-कलेजो हात पार्न सफल रहोस् । दृढ विश्वासले पाइला अघि बढाउन सकोस् । इच्छ्याएको गन्तव्य सहजै चुमोस् । बस् यत्ति नै ! यिनै कुरालाई सम्पन्न गर्न तपाईंको पुत्ररत्नको नाम हुनुपर्छ- शरभ । यसले पूर्वीय संस्कृतिलाई पनि समेट्छ र पाश्चात्य अनुरागलाई पनि आत्मसात गर्छ । समग्रमा पूर्वीय र पाश्चात्य जगत्को सेतु हो- शरभ ।
अन्तमा, लेखकज्यू ! यस पत्रले उठाएका तीता-टर्टा भावनालाई मीठो मानेर ग्रहण गर्दिनुहोला । सुदामाको कोसेलीमा आएको कनिका कृष्णका लागि अमृतसमान भएको थियो । मेरा यी शब्दोपहार समेत हृदयतः स्वीकार्य रहनेछन् भन्ने आशामा छु । अस्विकार गरिँन वाध्य हुनुपर्दाको दुःखद महसुसका लागि क्षमा प्रार्थी छु । धन्यवाद !
०६९.०१.०१
