मेरो अस्तित्वको
अविर्भावसँगै जननीसँग
मैले गर्भको राप माँगे
ममतामयी काख माँगे
आँतको प्यास मेट्न
छातीको धार माँगे॥
बिस्तारै बामे सर्दै
बाबासँग मैले
नाना माँगे, चाचा माँगे
थिगिर-थिगिर गर्दै
सहाराको हात माँगे,
सुरक्षित काख माँगे॥
पाठशालाबाट उद्गत भै
बिश्वबिद्यालयसम्म,
अचेतनको कालो मेट्न
जिज्ञाशाको तिर्खा मेट्न
गुरुजनहरुसँग मैले
चेतनाको मोति, ज्ञानको ज्योति माँगे॥
जवानीको आँगनमा पाउ राख्नासाथ,
जिवनमा नया रमझम आयो,
एउटा नौलो नशा छायो,
जवानीको मौनता बिथोल्न
प्रेयसीसँग मैले प्रेमका बात माँगे
मायालु साथ माँगे, यौवनको मात माँगे॥
बिस्तारै बुढ्यौली आयो
जिवनमा नैराश्य छायो
सन्ततिसँग मैले सहाराको भीख माँगे
अझ जीर्ण हुँदै जाँदा,
ईश्वरसँग मैले
मृत्युको बिष माँगे॥
यसरी जिवनका हरेक मोडहरुमा
मैले फगत माँगिरहें, माँगिरहें
र ऐले मलाई भैरहेकोछ
मेरो आफ्नै अस्तित्वबोध
कि म सिर्फ एक मगन्ते रहेछु,
कि म फगत एक भिखारी रहेछु॥
