Skip to content


मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्। तर, सबै राम्रा गीतले त्यस्तो संगीत र गला पाउँछन् नै भन्ने छैन। त्यसैले कागजमा पढ्दा वा एकान्तमा गुनगुनाउँदा शब्दहरू स्वतः लय र तुकबन्दीका सुरमा मिल्दै गए वा मानवीय भावनाका विशेष अभिव्यक्ति बने भने त्यस्तो लेखनीलाई पनि गीत मान्नुपर्छ। तर, गीतको नाममा तानतुन पारिएका सबै लेखनी भने गीत हुन सक्दैनन्।

गीत सिर्जनाको यो सामान्य मान्यताका आधारमा हेर्दा २०६८ जेठ र फागुनमा प्रकाशित गीति संग्रह जूनको बस्ती र संवाद लाई मध्यमकोटिका कृति मान्नुपर्छ। बैतडीको रिमका पद्मराज जोशी स्पन्दनले संवाद मा राम्रा सिर्जनाका बीच-बीचमा अपरिमार्जित रचनाहरू पनि राख्ने लोभ गरेका छन्। तैपनि, प्रहरी अधिकृत पनि रहेका गीतकारले जागीरको व्यस्तताका बीच रचेका धेरैजसो गीतमा सशक्त पंक्तिहरू छन्, जस्तोः

कोही किन जिस्किएर खोल्छ मनको ढोका
बिउँझी हेर्छु चारैतिर यी आँखालाई धोका।
(दोबाटोमा)
वैशाखका कोपिलामा पुतलीका हूल
किन फुल्छ मनबारीमा चाहनाका फूल?
(यो जुनीमा)

लामो बाटो हिँडिसकें भेटिएन फूलको बस्ती
केवल भेटें एकान्तमा जूनताराको गस्ती।
(जुनेलीमा)

जोशीले आफ्ना गीतहरू स्वदेशका पहाड-मधेशदेखि विदेशसम्म खटिएको बेला अनुभूत गरेको भावुक क्षणहरूमा सिर्जना गरेका छन्। तीन युगल गीतसहित २३१ रचना संग्रहित संवाद मा ८ देखि २० लाइनसम्मका र धेरैजसो १२ लाइनको सिक्वेन्सका गीतहरू छन्। यसअघि एक-एक वटा कविता संग्रह र गीति सँगालो तथा दुई वटा गीति अल्बम निकालिसकेका जोशीका गीतहरूमा भावको प्रचुरतासँगै शिल्पगत कमजोरी भने देखिन्छन्।

१०० गीत समेटिएको किराँत संस्कृतिकर्मी टीका चाम्लिङको जूनको बस्ती मा बाललहरीदेखि मजदूर जागरणसम्मका विषयवस्तु छन्। तीन वटा गीत संग्रह र दुई वटा अल्बमका सर्जक खोटाङ, नुनथलाका चाम्लिङका गीतहरू संगीत र गायन पक्षलाई ध्यानमा राखेर पर्याप्त होशियारीका साथ रचिएका छन्, जसमा पूर्वी पहाडको लोकलय त हुने नै भयो। २०६१ मा रेडियो नेपालद्वारा उत्कृष्ट गीतकार घोषित चाम्लिङका हरेक गीतका लय, ताल र तुकबन्दीले शब्दहरूलाई सहज रूपमा गेडी बनाउँदै लगेका छन्। जस्तोः

साँचु कसरी साँचु, खस्छ फूल भई यो मन
छाडुँ कसरी छाडुँ, बग्छ मूल भई यो मन।
(यो मन)
दुई किनार झै कहिल्यै नभेट्ने
तिर्खा बोकेर कहिल्यै नमेट्ने
आफ्नो खुशी आफैं लुट्दैछौं
ऐनासरी हामी यहीं फुट्दैछौं।
(अन्तिम समय)

काठमाडौंको केन्द्रीय संगीत उद्योगलाई ध्यानमा राखेर आएका पूर्वेली र सुदूरपश्चिमे गीतकारका यी दुई कृतिलाई समकालीन नेपाली गीति विधाको उपलब्धि मान्नुपर्छ। दुवै कृतिका भूमिकाले गीति विधाप्रति गीतकारद्वयको प्रतिबद्धता झ्ल्काउँछ। नेपाली गीति विधाले भविष्यमा दुवै गीतकारबाट थप उम्दा रचनाहरू पाउने आशा गर्न सकिन्छ।

जूनको बस्ती
लेखकः टीका चाम्लिङ प्रकाशकः धीरज केसी/ईश्वर गुरुङ
मूल्यः रु.२००,
पृष्ठः १२०+४

संवाद
लेखकः पद्मराज जोशी स्पन्दन
प्रकाशकः पल्लवी प्रकाशन,काठमाडौं
मूल्यः रु.१७५,
पृष्ठः २३१+१०

आनन्द पी राई

प्रकाशित मिति: १६-३० चैत २०६८

हिमाल खबरपत्रिका
वर्ष २२, अङ्क ०१
पूर्णाङ्क ३०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *