Skip to content

कल्ले भन्छ विदेशमा

कल्ले भन्छ विदेशमा

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहाँ त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिऊँ ओढेका छन्

कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहाँ त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ

कल्ले भन्छ विदेशमा जो कोही हराउँछ
आफ्नो आफन्त भुली एक्लै रमाउँछ
यहाँ त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउँबेशी दु:खेका छन्

नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्
विचरी सताईएकी विधवा चेली
वेहुली बनाई अन्माएका छन्

यस्ता रमाइला खुशी सुन्दा
विदेश मै पनि लालीगुराँस फुल्छ
घडीको सुइ सँगै घुम्दा घुम्दा
एकैछिन मनले थकाई भुल्छ

कल्ले भन्छ विदेशमा नेपाली जन्मिदैन
पुर्खाको रगत नशा नशामा बग्दैन
यहाँ त पितृको आशिक शिरमा थाप्ने छन्
नेपाली सन्तानले डाँडाकाडाँ ढाक्ने छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *