Skip to content

दोधार
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ
नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ
साँगीतिक साँझ सिनेमामा रमाउँदै
पार्टी डिजेमा कम्मर मर्कायौँ
सेलिब्रेटिजहरुको शहर यो
ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ
खितितिति खित्का रमाइलो गफै
विकसित देशमा चाला अर्कै
को भन्दा को कम हामी जम्मै
कस्तो कस्तो हेर फेशन आम्मै
एकादेशका राजकुमार राजकुमारी जस्तै
गगनचुम्बी महल हामी मस्तै
चिप्लिने कारमा आइफोन जोडी
हाइ हेलो ह्वाट्स अप बडी

कोठामा आएँ मस्त निदाएँ
सपनीबीच कता कता हराएँ
झुम्रो बेरी झुप्रो भित्र
अन्योलमा परेका करोडौँ मित्र
कुप्रो परी तोक्मा टेक्दै
सकी नसकी डोको बोक्दै
खुइय्या लामो सुस्केरा हाल्दै
बाढी पहिरो भीर छिचोल्दै
फाटेको कछाड पसिनै पसिना
सुत्केरी स्वास्नी लालाबाला मसिना
भोक खप्न नसकी केटाकेटी रोको
केवल एक पेट खाने धोको
घेरा फाट्या ढाका टोपी
दर्द वेदना छातीभित्रै छोपी
आँसुका ढिका डिलमै रोकी
हिँड्दैछन् झिनो आशा बोकी
टण्टलापुर घाम हत्केलाले छेक्दै
माथी आकाशमा टुलुटुलु हेर्दै
चिलगडी चिलगडी भन्दै कराइ
नाङ्गो पाखाभरी धेरै भरिया दाइ
कठै ! कति दु:ख मनै बिझाइ
बररर आँशु झर्यो मुटु चह-याइ

करोडौँ नेपालीको अनुहार उस्तै
एउटा एउटा मुहार हाम्रै जस्तै
आश गरी हामीलाई हेरेजस्तो लाग्यो
हाम्लाई पनि नबिर्सनु भनेजस्तो लाग्यो
एउटै मुहान एउटै रगत किन हामी भिन्न
नेपालीले नेपालीलाई गाह्रो माने चिन्न
कोही साथी नाङ्गो पाखामा
कोही साथी लस् एन्जेलसमा
झल्याँस्स बिउँझिएँ
परेँ म दोधारमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *