Skip to content

प्रभुको जो इच्छा

  • by


पुण्यप्रसाद ब्राह्मण सकारी अड्डामा “नास्ता पानी” का नामले परिचित छन् । बिहानै सेतो धोती र कमिजमा खाली खुट्टा पशुपतिनाथको दर्शन गर्न जान्छन् । कपाल मुडुलो, लामो टुप्पी, नाकबाट माथि ललाट सम्म सेतो गोपिचन्दनको धर्कैधर्का भएको टीका लाउछन् । चार पाचवटा रुद्राक्ष र तुलसीका माला पनि लगाएका छन । बोली नै पिच्छे “हरि ओम” र “प्रभुको जो इच्छा” भन्छन् । कार्यालय आउदा कमिज सुरुवाल र चप्पलमा बिर्के टोपी लगाउछन् ।

उनी सरकारी कर्मचारी मध्ये सबै भन्दा बढी घूस लिने गनिन्छन् । उनले धेरै जसो कोड भाषाको प्रयोग गर्छन् । उनको अड्डामा कुनै काम गराउन आउने मानिसलाई नास्ता पानी गरेको छैन भन्दै गान्धी चस्मा नाकको टुप्पोमा राख्छन् र यसो आँखा झिम्काउछन् । अनि काम लिने मान्छेले नोटको बिटो झिक्नु पर्छ । उनी त्यो घूसलाई सिधै हातले पक्रदैनन् । जरिकोटको गोजी यसो थाप्छन् । कहिले काही शिरमा लगाएको बिर्के टोपी खोलेर उत्तानो पारेर राखी दिन्छन् । अनि नोटका विटा त्यही हाली दिनुपर्छ । हाकिमका कोठामा पसेर भाग बण्डा गर्छन् । कहिले काही सौचालयमा पसेर उनलाई अलिक बढी राखेर हाकिमलाई कम दिन्छन । हाकिमले के हो बाजे ! यो त भएन नि ! भन्दा प्रभुको जो इच्छा भन्छन् । हाकिमले बुझ्नु पर्छ कि “जति मिलेको छ त्यति मै चित्त बुझाऊ ।”

एक पटक घूसको भाग बन्डा निकै तल माथि परेकोले हाकिमले कड्किदै भन्यो, “बाजे नास्ता पानी अलिक बढी गर्नु पर्यो भन्या !”

पुण्यप्रसादले जवाफ दिए “… प्रभुको जो इच्छा ।” त्यसको अर्थ भाग्यमा जति लेखेको छ त्यति नै हुन्छ ।

एउटा कैया भन्सारको सामान छुटाउनालाई लाख लाखका नोटका विटा लिएर आयो । नोटका बिटाको सुइँको पाएर त्यही काम गर्ने पियन हीरामाया हेर्दै बसिरही । बाजेलाई नोट लिन गार्हो भएपछि हीरामायातिर चस्माबाट आँखा बाहिर निकाल्दै आखा झिम्काए “पाहुनालाई जल ग्रहण गराउनुपर्छ ।”

हीरामाया भित्र पानी लिन पसेपछि हतार हतार कपडाको झोला थप्दै, “भगवानलाई जति धेरै प्रसाद चढायो उति नै फल मिल्छ” भन्दै हरि ओम भने ।

अर्को पटक घूस लिदा लिदै पक्राउ खाए र हनुमान ढोकामा ठिन्गुरा ठोकिए । दुई दिनसम्म नास्ता न पानी भएर भोकले अतालिएका बाजेले हवल्दारसँग भने, “हवल्दार साहेब यसो नास्ता पानी गर्न पाए हुने थियो, सारै गार्हो पो भयो ।”

आर्थिक मन्दीको चपेटामा लेटिएको हवल्दारले काला ओठ लेप्र्याउदै दुई चड्कन गालामा बर्सायो । पुण्यप्रसादले तोरीका फूल देखे । टुक्रुक्क भुईमा बसेर गाला छाम्दै भने “प्रभुको जो इच्छा, हरि ओम ! …”

एल एन सुवेदी “हस्ती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *