जसले जे-जे भने पनि साक्षी प्रज्ञा हरि नाम हो
जसले जे-जे गरे पनि साथी आफ्नो अन्तर्दृष्टि हो ।
भन्ने मुखलाई थुन्न सकिन्न, भनी राखुन सहन्छु म
गर्ने हातलाई रोक्न सकिन्न, गरिराखुन् सहन्छु म ।
मैले राम्रो गरे पनि उसलाई नै थाहा हुन्छ
मैले नराम्रो गरेपनि उसलाई नै थाहा हुन्छ ।
दण्ड दिनु पर्दैन उसले नै दिन्छ मलाई
मूल्याङ्कन गर्नु छैन, उसले नै गर्छ मलाई ।
माफी माग्न परे पनि उसैसँग माग्छु म
छाती थाप्नु परे पनि उसैसँग थाप्छु म ।
कता जान्छु के-के गर्छु उसलाई नै थाहा हुन्छ
के-के भन्छु के-के खान्छु, उसलाई नै थाहा हुन्छ ।
बोल्ने मुखहरु खुला छन्, जे बोल्दा नि पाइन्छ है
बोल्ने मुख छन् भन्दैमा, ताल्चा राम्रो चाहिन्छ है ।
बिचार असल भयो भने, कर्म असल बन्छ होला
कर्म कुशल भयो भने नतिजा राम्रो हुन्छ होला ।
बोल्ने मुख छ भन्दैमा सोचेर बोल्नुपर्दछ कि
चल्ने कदम छ भन्दैमा सोचेर चाल्नुपर्दछ कि ।
जो छ जसको स्रष्टा उसको नै अधिन छ
जो छ जसको द्रष्टा उसको नै स्वाधिन छ ।
बिचार कारण बन्दछ साधना त्यसको जति
दुर्गुणीले बनाउँछ सद्गुणीको दुर्गति ।
दुर्गुणको निवारण सद्गुणले गर्छ नै
सुबिचार भर्नुपर्छ मन फुल्छ-फुलाउँछ है ।
जे गरे नि थाहा हुन्छ यदि सच्चा दृष्टि भए
जे भने नि सहन्छु म यदि सच्चा दृष्टि भए ।
जीवनभरी बगैँचामा फूल हजारौं फुल्दछन्
वारी-पारी हेर्ने गर्नु भुल धेरै हुन सक्छन् ।
म बाहिर हेर्दिन है, भित्र-भित्रै हेर्ने गर्छु
म बाहिर चाहार्दिन भित्र-भित्रै चाहार्दछु ।
लमजुङ्ग, चन्द्रेश्वर ८
