आफू जन्मी-खेली हुर्किएको बाग झैँ लाग्ने ती बस्ति आज जीवनको उत्तरार्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी ब्यक्त गरौँ यी समाज र ढडेन झैँ लाग्ने मेरो मनको कथा व्यथा । हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौँ जीवन । जहाँ कुनै फूलहरू मुस्कुराउँदैनन् । तर, तर सबै भोग्न, हेर्न अनि बाँच्न विवश छु ।

१५ औं बसन्त पार नगर्दै मेरो बैबाहिक जीवन शुरुवात भो । बैशालु उन्मात र लाली नपोतेको स्थितिले होला म त्यतिखेर फिक्का थिएँ न कुनै रुप रंग नै थियो न कुनै ज्ञान नै । थियो त मात्रै चंचलता । शायद दिन बित्दै जाँदा ऋतुहरू फेरे झैँ मेरो सम्पूर्णता फेर्दै गयो क्यारे । १४, १५, १६ हुँदै ममा नयाँ रुप रंग र रहरहरूले बास गर्दै गयो । जन्मिएको घर र कर्म घरको दुरी ३ घण्टा पैदल यात्रा लाग्थ्यो । उमेरले म १४ बर्षको भए पनि मलाई एक २५ बर्षे केटोसँग विवाह गरिदिनुभएको थियो मेरा बाउ आमाले । पहाडी क्षेत्र एउटा जमिन्दारको छोरासँग विवाह गर्न पाउनु नै मेरो बाउ आमाको अहोभाग्य हो सम्झिनुभो क्यारे मेरो बाबु आमा निक्कै खुशी हुनुहुन्थ्यो । ६ कक्षामा पढ्दै गरेको अवस्थामा कसैको दुलही बनेर सोह्र शृङ्गार गरेर चिटिक परेर जान पाउँदा म नि खुशी नभएको कहाँ हो र !

कुरा आजभन्दा २५ बर्षको हो । क्षेत्री जातिको परम्परा अनुसार मेरो विवाह धुमधाम हुने भयो, जुन बेला ममा विवाह के हो र केको लागि गरिन्छ भन्ने ज्ञान समेत थिएन। त्यसैले त होला म दसैं तिहार आए झैँ रमाउथे अनि सेलरोटी र मासु भात खान पाउने सपना मनमा साँच्दै बसेको थिएँ । मेरै विवाहको लागि पोलेको सेलरोटी चोरेर मैले कति पटक खाएँ खाएँ । कति पटक त डोल्मोलाई नि दिएँ ।

एकदिन त झन् मेरो विवाहको लागि बाउले किनेर ल्याउनु भएको नयाँ सारी चोली जानी नजानी लाएर एक्लै नाचेको थिएँ कोही नभएको मौका छोपी । अनि आमा बाउलाई नभन्ने सर्तमा डोल्मोलाई पनि सुनाएका थिएँ । नौमती बाजा सहित मलाई लिन पारी बतासे डाँडाबाट जन्तीको लस्कर मेरो घरतर्फ आउँदै गर्दा शायद अरुलाई भन्दा मलाई नै हतार थियो होला, त्यो जन्ती कहिले यहाँ आइपुग्ला भनेर । अन्तत जन्ती नि आइपुग्यो ।

रामे, सुन्तली, डोल्मो र बीर्खे हाम्रो घरको माथिल्लो गह्रामा बसेर हेर्दै थिए । म चाहिँ माथि चोटाको आँखीझ्यालबाट चियाएर हेर्दै थिएँ । मलाई पनि उनीहरूसँग गएर हेर्न मन नलागेको कहाँ हो र ! पारीको सन्तराम दाइकी बुढी र आमाले “तिमी त दुलही हो । त्यसरी बाहिर जानु हुन्न, पाप लाग्छ । अनि तिम्रो राम्रो लुगामा फोहोर लाग्छ,” भनेकोले म चोटैमा बसेका थिएँ । कालो चस्मा लगाएर डोली माथि बसेको दुलाहालाई देखेर म खित्का छाडेर हाँसे। किनकि घाम पानी केही नपर्दै किन दुलहाले छाता ओडेको होला भनेर…………।

एकदिन अगाबै घरको आँगनीमा जगिया तयार पारिएको थियो। त्यही नजिकै आँगनीमा नौमती बाजा घन्काउदै जन्तीहरू नाच्दै थिए । जन्ती पर्सिनलाई मेरो बाउ हतार हतार गर्दै गरेको मैले देखें । अनि पर्साई सकेपछि दुलाहलाई स्वागत गर्न दुलाही नि चाहिँदो रहेछ ।त्यसैले मलाई लिन जन्तरी आमा आउनु भो । म सकी नसकी सारीको सप्को समाउँदै हतार हतार भर्याङबाट तल ओर्लें । बल्ल बल्ल त्यो जन्तीहरूलाई राम्री हेर्न पाउने हुँदा मन मनै मलाई खुशी लाग्दै थियो । दुलाहालाई माला लगाएर स्वागत गर्नु पर्ने रहेछ मैले लगाई दिएँ। त्यति खेर झनै मलाई हाँस्न मन लाग्यो र हाँसी पनि दिएँ । किनकि दुलहाले अँझै छाता ओडदै थियो भने दुलाहाको जुँगा पातलो र मसिनु । तर मेरो बिरालोको जुँगा जस्तै पहिलो लामो लामो थियो ।

रातैभरि पण्डित बाको कथा सुन्यौं हामीले दुलाहा दुलहीको खेल पनि खेल्यौं । मलाई निक्कै रमाइलो लाग्यो । नाच्नेहरू नाच्दै थिए, गाउनेहरू गाउँदै थिए । बिहानको १० बजे थियो मेरो अन्माउने साईत । १० पनि बज्यो सहनाई रोयो, मलाई नि डोलीमा चढाईयो । त्यतिखेर आमा बुबा सबै रुँदै हुनुहुन्थ्यो भने जन्तरी आमा मेरो ढाडमा सुम्सुम्याउदै “यस्तै हो छोरीको जात” भन्दै सम्झाउदै हुनुहुन्थ्यो । तर मैले त्यस्तो केही नरमाईलो महशुस गरिन । बरु कहिले डोलीमा चढेर जान पाउला झैँ लागिरह्यो ।

डोली चडेपछि जगियामा फन्फन्ती घुमाईयो । बुबा अघि अघि लाग्नुभएपछि म चढेको डोली तेर्सियो बतासे डाँडातिर । घरको अलिक यता बाँसको झ्याँङमा पुर्‍याउनुभएपछि बुबा फर्किनु भो, आँखामा अलिकति आँशु लिएर। म चाहिँ लच्चक लच्चक डोली माथि बस्दै आमा बुबालाई हेर्दै थिएँ। रमाईलो नि लाग्दै थियो। खै रातभरिको निन्द्राले होला सपना हो कि बिपना झैँ लाग्यो। अनि केही दिन अघि मृत्यु भएको डोल्मोकी आमालाई सम्झिन पुगेँ । डोल्मोकी आमालाई पनि मलाई झैँ गरेर लामाले ढ्यांग्रो र शंख बजाउदै यही बाटो बतासे डाँडा हुँदै माथि चिहान घारीमा लागेको थियो । मनभरि अनेकौं कुराहरू खेल्न थाले। मलाई डोल्मोकी आमाको मृत्यु हुँदा मेरो विवाह हुदाँको वातावरण एउटै खालको लागिरहेको थियो।डोल्मोकी आमालाई पनि मलाई जसरी नै जगियामा घुमाएर सबैजना रुवावासी गरेर उसै गरी बतासे डाँडातिर पठाएको थियो ।

अघिल्लो साल तिहारमा रोटे पिंग खेल्न डोल्मो, रामे अनि रामेको आमाहरू सँगै पुग्नु बाहेक कहिले नआइपुगेको ठाउँ राम्चेमा मलाई ल्याई पुर्यायो । जस्ताले छाएको घर पनि दुई तले रहेछ । आमामामा…….घर पनि कति ठुलो। हाम्रो त खरले छाएको त्यो पनि एक तलाको मात्रै । त्यत्रो घरमा हर्के मेरो लोग्ने, सासू ससुरा मात्रै बस्नु हुँदो रहेछ । हर्केजीकी दिदी काठमान्डौ बस्नु हुन्छ रे । आफ्नो छोरीलाई जस्तै मेरो ससुरा टाँकाबहादुरले मलाई माया गर्नु हुन्थ्यो । सासू चाहिँ अचाक्ली कचकच मात्रै गरी रहनुहुन्थ्यो। जे काममा पनि बचन लाउने उहाँको बानी नै थियो । नयाँ दुलही बनेर गएपछि म हर्केजीसँगै बस्नु पर्थ्यो, सुत्नु पर्थ्यो । म सधैँ एक्लै सुत्थें घरमा । त्यसैले विवाहपछि पनि एक्लै सुत्छु भनेर रोईकराई गरेपछि मेरो ओछ्यान हर्केजी आमाको ओछ्यान छेउमा लगाईएको थियो। हर्केजीको ओछ्यान चाहिँ चोटामा थियो । हामीले यसै गरी ५, ६ महिना अलगै सुतेर बितायौं ।

हर्के मेरो पति जस्तो लाग्दैनथ्यो, त्यसैले म जे मन लाग्थ्यो त्यही गर्थें र भन्थें। उहाँ ठुलो ठुलो किताब पढेर बस्ने गर्नु हुन्थ्यो आफ्नो ओछ्यानमा । मलाई जुन बेला मन लाग्थ्यो त्यति बेला चोटामा उक्लेर हर्केजीको किताबहरू हेर्ने पढ्ने र यत्र त्यत्र छरिदिन्थें। त्यो देखेर हर्केजीले पिट्ला झैँ गर्नु हुन्थ्यो, म भाग्थें। आमा चाहिँलाई नि कुरा लाउनु हुन्थ्यो । आमा चाहिँले प्यार प्यार कराउनुहुन्थ्यो ससुराबाउ चाहिँ हाँस्दै “यो सानै छे, पछि बुझ्छे,” भन्नु हुन्थ्यो र सम्झाउनु हुन्थ्यो ।

विवाहको ८ महिनापछि सासू ससुरा सासूको माइती स्याउली बगर जानु भो घरमा हर्केजी र मलाई मात्रै राखेर । खाना दुवै मिलेर पकाउँथ्यौं, जुठो भाँडा म माज्थें भने हर्केजीले पानीको पाइप समात्दै पानी हाल्नु हुन्थ्यो। यस्तै क्रममा हर्केजीले एक साँझ आमा सुत्ने ठाउँमा भुत आउछ र तर्साउँछ भनेर डर देखाउनु भो । मलाई निक्कै डर लाग्यो। त्यै दिनको भोलि पल्ट मैले थाहै नपाउने गरी उचालेर हर्केजीले मलाई आफ्नो ओछ्यानमा लगेर सुताउनु भएछ । बिहान बिउँझिना साथ मैले हर्केजीलाई सोधेँ, “म यहाँ कसरी आइपुगेँ ?” भनेर ।

“खै म पिसाब फेर्न जाँदा तिमी त पिढिंमा सुतिरहेकी रहेछ्यौ । शायद भूतले लगेर सुताको होला त्यसैले मैले उचालेर यहाँ ल्याएको,” वहाँले सुनाउनु भो ।

एकाबिहानै डरले म थुर थुर काँपे । अनि रात कहिल्यै नपरोस् झै लाग्न थाल्यो । दिनपछि रात यो त प्रकृतिको नियम नै हो । त्यो रातदेखि हामी सँगै सुत्ने भयौ । तर पनि हाम्रो ओड्ने अलग अलग थियो। मैले मेरै विवाहको रातो पछ्यौरी ओडें, हर्केजीले सिरक ओड्नु भो। लाग्दैनथ्यो। तर त्यस रात मलाई खपिनसक्नुको पिसाब लाग्यो। हर्केजीलाई भन्न नि लाज लाग्यो । रातको १ बजेको हुँदो हो । बाहिरको जूनको मन्द मन्द प्रकाश झ्यालको काप कापबाट देख्न सकिन्थ्यौ। रात निकै सुन सान ..। म चुप चाप त्यही झ्यालतिर अघि बढें । अनि सुस्तरी झ्याल खोलें । अनि आँखा चिम्लेर त्यहीबाट पिसाब फेरिदिएँ । जूनको प्रकाशमा केही देखिएला भन्ने डरले आँखा चिम्लेकोले पिसाब कहाँ खस्यो र कहाँ पुग्यो भन्ने कुरा त थाहा भएन तर मज्जाले चुइंकेर..झरना झैँ गरी खसेको कानले प्रष्टै सुनिन्थ्यो ।

पिसाब फेरिसकेपछि हत न पत्त बिरालोको चालमा ओछ्यानतिर फर्कें । बाहिर भूतको डर थियो भने भित्र हर्केजीले थाहा पाउला भन्ने डर र लाज थियो । म पाइला अघि बढाउन खोज्थें तर पाइला सर्न मानि राखेको थिएन । ओछ्यान त पुग्नै पर्यो नत्र भूतले समाउला भन्ने डरले जबर्जस्ती पाइला अगाडि बढाएको मात्रै के थिए बढेमाको अजिंगार माथि टेक्न पुगे झैँ लाग्यो । मेरो मुटुले ठाउँ छोड्यो । म थरथरी कामे र चिच्याएँ । भुतमाथि नै पो टेक्न गए झैँ लाग्यो । तर त्यो कुनै भुत नभई उही मेरो पति हर्केजी पो हुनुहुँदो रहेछ । उहाँ मेरो सारा चर्तिकला हेरेर, देखेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो भने म चाहिँ लाजले रोइदिएँ । ‘आइ मुतुवा’ भन्दै जिस्काउनु हुँदा झनै लाजले क्वाँ क्वाँ रोइ दिएँ । अति नै रोएपछि शायद माया पनि लाग्यो क्यारे अंगालोमा बेरेर मेरो टाउको सुमसुम्याउदै ‘त्यसरी रुन हुन्न नत्र भुत आउछ’ भन्दै दन्त्य कथा सुनाउदै मलाई फकाउनु भो । मलाई नि उहाँप्रति माया र बिश्वास लाग्न थाल्यो । यसरी नै उहाँप्रतिको माया र बिस्वासले गर्दा त्यो रातपछि हर्केजी ओछ्यान जानु भन्दा अगाबै मै गएर पल्टिसक्थेँ । किनकि हर्केजीले एउटा छोरीलाई झैँ माया गर्नुभएको मैले आभास गर्न थालेकी थिएँ ।

“सधैँ घिउ र भात कहाँ नानी” भन्ने उखान झैँ कति दिनदेखि हर्केजीले कुण्ठित पारि राखेको यौन चाहना ममाथि पोखाउन आईपुग्नुभयो कुलोमाथि पहाड घोप्टे झैँ गरी । मैले छुट्टिन धेरै जोड गरें, चिच्याएँ कराएँ, तर मेरो केही लागेन । सायद उहाँ स्खलित हुनुहुदाँ म त्यो पीडा सहन नसकी बेहोस भैसकेकी थिएँ क्या रे। जब म बिउँझें, बिहानीको मिरमिरेले झ्यालको काप कापबाट चियाउँदै थियो । ज्यान भारी भएको महसुश गरेँ। अलि अलि ज्वरो पनि आए जस्तै लाग्यो । कम्मरदेखि तलको भाग हलचल पनि गर्न नसकिने गरी दुखेको थियो । उता हर्केजी कुनापट्टि फर्केर मज्जाले घुर्दैहुनुहुन्थ्यो । सायद उहाँलाई आफ्नो विवाहको आफ्नो विवाहको सुहागरात भर्खरै मनाउन पाउनुभएकोले होला निन्द्रादेवीको काखमा मजाले निदाईरहनुभएको थियो। म सुस्तरी उठ्न खोजें तर उठ्न सक्ने अवस्थामा थिइन । आफू माथि हर्केजीले गरेको…मानसपटलमा नाच्न थाल्यो । विश्वास नै लागेन । अनि बिस्तारि दायाँ हात गुप्ताङ्गतिरतिर बढाई छाम छाम छुम छुम गरेर आँखा सामु ल्याएर हेरें । ए…आमा…….रिंगटा चल्ने खालको काँचो रगत देखें । विश्वास लागेन, फेरि पनि बायाँ हात उसै गरी गुप्ताङ्गमा पुर्‍याई फेरि हात आँखा सामु ल्याइ हेरें उफ् त्यो पनि रगतै रगत देखेपछि मैले मन थाम्न सकिन । त्यसैले रोएँ कराएँ । हर्केजी नि उठ्नु भो । गुप्ताङ्गको रगताम्य हातले आँशु पुछ्दै रुदाँ आँशु सँगै रगत बगेर मेरो गालाभरि लागेछ क्यारे हर्केजीले तन्ना तानेर मेरो गालामा आँशु पुछिदिनुभयो र फकाउन थाल्नुभयो ।

मैले पिसाब फेर्छु भने सी हर्केजीले मलाई बोकेर भर्‍याङबाट तल ओराल्नुभयो । अनि घरको कुनापट्टि कुलासोमा राखिदिनुभयो। पिसाब फेर्दा फेरि रगत देखें। म झनै त्रसित भएँ जसको कारण म फेरि वेहोस हुन पुगेछु। हर्केजीले पानी छ्याप्नुभएपछि म होसमा आईछु । त्यतिखेर भने हर्केजी पनि रुँदै हुनुहुन्थ्यो। । म दबाई लिएर आउँछु भनेर हर्केजी मलाई चोटामा पुर्‍याईराख्नुभै तल ओर्लनुभयो । खै कता कता गायब हुनु भो । एक छिनपछि दबाई होइन २ वटा चाउ चाउ र १०, १२ वटा ल्याक्टो चकलेट लिएर आउनु भएछ । उहाँ निक्कै थकित मुद्रामा देखिनुहुन्थ्यो। अनि मलाई सम्झाउदै हुनुहुन्थ्यो, ‘विवाहपछि सबैलाई यस्तो हुन्छ त्यसैले नरुनु अनि कसैलाई नभन्नु ल !’ भनेर ।

त्यो दिन हर्केजीले नै सबै तन्ना र सिरकको खोलहरू धुनुभयो । जुन रगतले भिजेको थियो । खाना पकाउनेदेखि लिएर मलाई नुहाईदिने सम्पुर्ण काम आफै गर्नु भो। त्यो देखेपछि मलाई पनि सायद बिहेपछि यस्तै हुन्छ क्यारे भन्ने लाग्यो र हर्केजीको साह्रो माया लाग्न थाल्यो । त्यसपछिका रातहरूमा पुन उही कृयाकलाप दोहरिन थाल्यो । जुन् म चुपचाप सहन विवश थिएँ ।

त्यसको दुई चार दिनपछि सासू ससुरा पनि फर्किनुभयो ।

उहाँहरू निक्कै खुसी देखिनुहुन्थ्यो । सायद छोराको चर्तीकला सबै थाहा पाउनुभयो र सोच्दै हुनुहुन्थ्यो होला कि अब म पुर्ण रुपमा उहाँहरूको बुहारी भएँ। विवाह भएको २२ महिनापछि मैले छोरा बलेलाई जन्म दिएँ । जति खेर मेरो उमेर १६ पुग नपुग थियो । त्यसै गरी छोराछोरी जन्माउने क्रम जारि रह्यो ५ सालसम्म । त्यति खेरसम्म दुई छोरा र दुई छोरी भै सकेको थियो भने मेरो उमेर २१ बर्षको थियो । केही बर्ष अघि मात्र सुनसान देख्ने टाँकाजीको घरमा वर्षौटी बच्चाहरूको बथान बढ्दैथियो । कोही रुने कोही कराउने कोही खाने त कोही सुत्दै गरेका । धन्न आर्थिक रुपले सु सम्पन्न थियो र मात्रै ।

हर्केजीलाई जागिरको लागि काठमाण्डौं पठाउने निधो गर्नु भो सासू ससुराले । बालबच्चा र वृद्ध बुबा आमालाई छाडेर लाग्नुभयो हर्केजी काठमाण्डौं । बाल बच्चा भर्‍याङबाट खस्ने डरले हाम्रो र सासू ससुराको सुत्ने ओछ्यान साटिएको थियो। उहाँहरू चोटामा सुत्नु हुन्थ्यो भने हामी तल । लस्करै आधा दर्जन बच्चाहरू सँगै सुते पनि हर्केजीको अभाब कता कता खट्किरहन्थ्यो । उसो त त्यहाँ भूतले सताउछ भनेर मलाई चोटामा सुताउन हर्केजीले गरेको त्यो चलाखीलाई सम्झेर हाँसेँ पनि । अनि ती बितेका स्मृतिलाई पल्टाउँदै पल्टिन्थें, रात बिताउथें अनि त्यही हर्केजीको कसिलो अंगालोमा कसिने रहर भित्रैदेखि जाग्थ्यो । आर्थिक रुपमा सम्पन्न हुनाले मेरो काम त्यही बाल बच्चालाई स्याहार गर्ने मात्रै हुन्थ्यो । ससुराले त्यसै गर्नु भन्नु हुन्थ्यो भने सासू चाहिँ उहिले म बुहारी हुँदा यसो गरेको थिएँ उसो गरेका थिएँ भन्दै कचकच मात्रै गरी रहनु हुन्थ्यो ।

समय बित्ने क्रममा हर्केजी काठमाण्डौ लागेको ३ बर्ष बितिसकेको थियो सासू आमाले धर्ती छाड्नु भो । यो खबरले मर्माहत बनेर हर्केजी रातारात आउनु भो तर आमालाई घाटमा मात्रै भेटाउन सक्नु भो । २४ बर्षको त्यो उमेरमा मनैभरि लोग्नेसँग बस्ने चाहना हुँदा हुँदै पनि उहाँको आमाको शोक र उहाँको जागिरले ले गर्दा हामी बिच अनेकौं इच्छा आकांक्षा हुदाँ हुदै पनि हामी खुलेर कुनै संसर्गमा रमाउन सकिरहेका हुदैनौं । एकातिर सासूको शोक अर्कोतिर लोग्नेसँगको बिछोड हुनुपर्ने कुराले मेरो मन अमिलो भयो। केही दिनपछि हर्केजी काठमाण्डौं फर्किनुभयो । जहाँ पहिरो जान्छ त्यहाँ गइरहन्छ भन्ने उखान झैँ सासू बितेको केही दिनमा नै ससुरा बा परलोक जानुभो ।

हामीमाथि निकै ठुलो बजर्पात पर्‍यो। आफ्नो बुबाले झै आँट र ढाडस दिने ससुराको मृत्युले म साँच्चै नै विक्षिप्त हुन पुगें । उहाँको निधन लगतै हर्केजीले जागिरै छाडेर आउनुभएछ । जति खेर छोराछोरी सबै हिड्न सक्ने भैसकेका थिए भने जेठो छोरा बले स्कुल जान थालिसकेको थियो । एकतिर आमा बाउको शोक अर्कोतिर भएको जागिर छोडेकोले उहाँ निक्कै तनाबमा देखिनुहुन्थ्यो। सँधै गम्भीर मुद्रामा देखिने हर्केजी एक साँझ बोल्दा बोल्दै बसेको ठाउँ अगेना छेउ मै ढल्नु भो । म आत्तिएँ र काखको कान्छी छोरी च्याखुरीलाई भुइमा राखेर उहाँलाई सम्हाल्न खोजें तर उहाँको जिउको आधी भाग नै नचल्ने र लाटो भयो भन्दै सुस्तरी पानी माग्नु भो । एकाएक उहाँको मुहार नै फेरियो । हे भगवान ! मलाई के दशा आइलाग्यो । एकातिर सानु सानु नानी बाबु अर्कोतिर सासू ससुराको शोक त अर्कोतिर लोग्नेको यो बिजोग ? उफ् !

२६ बर्षको उमेरमा म यी सब बेहोर्दैथें। जतिखेर ममा आफ्नो कुमारीत्व गुमाउनुको पीडा भर्खरै बिर्सेर लोग्नेको कस्सिलो अंगालोमा बेरिने चाहनाले वास गर्दैथियो। तर त्यसको ठिक विपरित म लोग्नेको मलमुत्र सोहर्दैथें । त्यतिबेला अहिले जस्तो गाउँमा स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचार कहाँ पाइनु अनि सदरमुकाम नै लानु पर्ने । तर त्याहाँ पनि भने जस्तो दवाई र उपचार् पाउन मुस्किल हुन्थ्यो ।

गाँउघरमा भने सासूससुराको मृत्यु पश्चात चुईयाँ बाहुनको घरमा जानु हुन्न भनेर कोही आउँदिनथे । त्यसैले मैले चिनेको धामी झाँक्रीहरूलाई बोलाएर झारफुक गर्न लगाएँ। उसो त ती झाक्रीहरू हर्केजीको लागि भन्दा पनि मेरो वैशंमा र्‍याल काढेर आउने गर्थे । एक दिन त एउटा झाक्रीले मुखै फोरेर भन्यो, “कठै !बाटुली नानीको जिन्दगी त्यसै खेर जाने भो । अब हर्के त बाँच्ला जस्तो छैन। त्यसैले बेलैमा विचर गर्नु है। यिनी त यसै मर्छन् तिमी आफ्नो जोवनलाई किन मार्छयौ ? त्यसो त तिमीहरूको जोडी पनि कहाँ मिलेको हो र । टाँकाजीले यस्तो कलिलो बुहारी ल्याएर पापै गरेका हुन् ।”

त्यसो त रिठ्ठे झाक्रीले पनि दक्षिणा दिदाँ नजनिँदो पाराले मेरो हात नसमाएको कहाँ हो र ? तर म यी सब सहन बाध्य थिएँ। सास हुन्जेल आश भने जस्तै म हर्केजीको स्वास्थ्यमा सुधार आउँला भनि म आशावादी थिएँ। तर बिडम्बना दैवको लेखान्तलाई टार्न सकिन मैले र शितकालिन पुषको बिहानीमा घामले धर्ती नटेक्दै ४३ वर्षको उमेरमा हर्केजीले यो धर्ती छाड्नुभो । म मर्माहत भएँ। एउटा भएको सहारा पनि त्यसरी दैबले लुटेर लैजादाँ म टुलुटुलु हेर्न बाध्य थिएँ । हो म ३० बर्ष मै बिधुवा बनेँ । साउने भेलले भिजेको, निभेको चुल्हो झैँ जिन्दगी भए पनि मैले छोराछोरीको लागि भएनी बाँच्नु पर्थ्यो । त्यसैले मैले । जीन्दगीका धेरै उतारचढावहरूसँग मुकाबिला गरेर बाँच्न सिकें।

त्यो उमेरमा म विधुवा बन्नुपरेको पीडाले आहत थिएँ नै त्यसमाथि गाउँकै जान्नेमान्ने बुजुर्कहरूले म माथि भेदभावपुर्ण व्यबहार गर्दै आफ्नो गिद्दे दृष्टि लगाउनाले म झनै घाईते भएँ।

समाजको नजरमा म अलच्छिना साबित भएँ। कतै शुभ काममा जाँदा होस् वा एकाबिहानै पानी थाप्न धारामा जाँदा होस् सबैले मलाई नमिठो वचनले रोप्न थाले ।

मुटु दुख्थ्यो यस्तो व्यवहारले । मनमनै रुन्थें । उता एकान्तको मौका पारेर कसैले आफ्नो अस्मिता लुट्ला भन्ने डर यथावत नै थियो । यस्तैमा जीवनका हरेक काँडा पन्छाई ठूलो छोरो बलेलाई एस एल सी गराईछाडें ।

कान्छा छोरा देउ सिंग ८ पढ्दै थियो । ठुली छोरी आइती माया ७मा र कान्छी प्याकुली ५मा पढ्दै थिइन्। शायद मभित्रको पीडालाई जेठा छोराले बुझ्यो क्यारे । पारीको काजी राम, सूर्यहरूसँगै पैशा कमाउन अरब जान्छु भन्यो। जेन तेन ऋण गरेर नि पठाएँ । अरब कमाउन लागेको छोराको खबर नपाउदा ब्याकुल हुँदै थिएँ । तीन महिनापछि खबर आयो छोरा बले सुतेको ठाउँमै सुतेको सुतै भयो रे। यो खबरले म कत्तिखेर वेहोस भएछु थाहै भएन । पछि छोराको लाश बक्समा बन्द भएर आउँदा म लिन एयरपोर्ट पुगें। सायद यो खप्नै नसक्ने पीडाले होला म पागल हुन थालेछु । मेरो पागलपनादेखि बच्चाहरू पनि डरले बहिनीकहाँ गएछन् । कसो कसो फेरि म विहोस भएछु । म बिउँझिदाँ आफ्नो वरिपरि कोही भाला कोही हँसिया, कचिया लिएर उभिएका मान्छेहरूको हुल देखें, “यो बोक्सी हो। यसले सासूससुरा, लोग्ने हुँदाहुँदा आफ्नै छोरा पनि खाई आज । यसलाई दिसा खुवाउनुपर्छ। जिउँदै जलाउनुपर्छ ।”

ममाथि खनिनेहरूको जमात देख्दा म आत्तिएँ। उनीहरूको खुट्टा समातेर मैले आफ्नो जीवनको भिख मागें तर मेरो कुरा सुन्ने कोही थिएन । अचम्म त मलाई यो लाग्दैथ्यो कि कहिले फर्केरै न आउने मेरो आमाजू पनि त्यतिखेर आगोको ज्वाला बोकेर काँप्दै गरेको देखें, “यसैले हो मेरो बाबु आमा खाएको । यसलाई नमारी हुन्न । यो बोक्सी हो ।”

आमाजूको उक्साईमा गाउँका जान्ने बुझ्ने जो आफूले भने जस्तो नहुदाँ अझ भनु मेरो अस्तित्व हरण गर्न नपाउँदा क्रुद्द भएकाहरूले मेरो शरीरभरि आगो दाग्न थाले। म जीवन रक्षार्थ सहयोगको लागि गुहार्दै दौड्न थालें तर त्याहाँ त सबै पशु सरहका मानिसहरू थिए । कसैले मेरो बिन्ती सुनेनन्। अनन्त म भागेर आफ्नो माइती पुगें।

म मेरो घाईते शरीर लिएर माईत पुग्दा त मेरो आमा बुबाले पनि यो धर्ती छाडिसक्नुभएको पाएँ। आजभोलि म त्यही मक्किएको घरमा बस्दै आएकी छु। कुनै बेला त लाग्छ साँच्चिकै म बोक्सी हुन पाए त मलाई आरोप लगाउनेहरू सबैलाई म मार्थें अनि सबै पीडित नारीहरूलाई बोक्सी सिकाएर ती समाजका राक्षसहरूको बध गर्न लगाउँथें। तर यी सब त भ्रम त हुन्। कहाँको बोक्सी हुनु ? यदि यहाँ बोक्सी हुदोँ हो त के ती बोक्सीको आरोपमा मारिने र घाईते पारिनेहरूले ती जलाउनेहरूलाई त्यसै छाड्थे र? तन्त्र मन्त्र गरेर सबलाई मार्थेँ होला ।

राजेश रुम्बा लामा ‘अतृप्त’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *