मुक्तिका सपना उनेर
क्रान्तिका लाल लाल झन्डाहरू निर्बाध फहराइए
तर कसले जान्दथ्यो
झण्डाको मुलायम किनाराले
योद्धाहरूकै घाँटी रेटिरहेथ्यो…रेटिरह्यो
चुपचाप … चुपचाप … ।
चेतनाका मसिना साङ्लाहरू
क्रमश:
सेन्थेटिक बन्दै गएर समय उल्टो चलिरहेथ्यो
र,
अझै चलिरहेछ
र त बिद्रोह र क्रान्तिको परिणती
उज्यालो ‘आज’ नभएर
भयानक अन्धकार ‘युग-युगान्तर’ साबित भइरहेछ
लगातार.. लगातार…।
म आँफैँले छिनाएका अनगिन्ती टाउकाहरू
मुर्कुट्टे सपना बनी
हररात सताउन आउँछन् नमिठो चित्कार बोकी
र जवाफ माग्छन्
ती को को सपूत थिए या कपूत!
सफाइ मागिरहन्छन्
ति को को क्रान्तियोद्धा थिए या देशद्रोही!
तलवारका पत्थरी ठेलाले
अरट्ठिएका हात कँपाउंदै म ढुँगा बन्छु
रगतले नुहाएको म आँफैँलाई थाहा छैन
कि म को हुँ?
बचेखुचेको एक चिम्टी साहस पनि
धेरै पहिले बन्दुकको नालसङै भाँचिसकेको छु क्रान्तिकै नाउँमा,
अब उप्रान्त म सदाको निमित्त
मात्र एक भूतपूर्व योद्धा,
योद्धा?
निरिहको टाउको गिँड्ने त्यो कुनै युद्द थिएन
तैपनी …. अँ …. हम्मम्म… हजुर!
म एक भूतपूर्व योद्धा।
