ठाडो घाट जङ्घारमा, छोडी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
दोबाटोमा यात्रा अन्तै, मोडी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
पिरतीको चिनो भनी, रोपेका थ्यौं फूल्को बोट, फुल्ने बेला हुँदै थियो
फुल्नै अघि जरैदेखि, गोडी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
स्वयंवरको घुम्टो पनि, बाहनामा फ्याँकी दियौ, जे जे गर तिम्रै खुशी
पराईको जुठो घुम्टो, ओढी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
सयौं सयौं जुनीसम्म, तिम्रै हुँ म भने पनि, झुठो रै’छ उन्को कुरा
यता हैन उता नाता, जोडी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
भगवान साक्षी राखी, बाँचा गरी तोड्ने सँग, कस्को के नै लाग्दो रै’छ
गरेका ती बाँचा सबै, तोडी जाने निर्मोहीको, याद्ले किन सताउँछ ?
अज्ञात पाल्पाली
