अँधेरी रात थियो, जुन्किरीहरू तँछाड मछाड गर्दै पिलपिल बत्ती बालेर उँडिरहेका थिए । सुनसान सन्नाटालाई चिर्दै बेला बेला झ्याउँकिरीहरू कानै खाने गरी कराउँथे अनि सिरिसिरी बतास चल्दा मकैको पातले पनि संगीतको धुन बजाए झैं भान हुन्थ्यो । पुरै गाउँ निदाएर चकमन्न थियो तर सरीता र उत्तमको आमा मात्र निदाएका थिएनन् । सरीता ढोकातिर हेर्दै बत्ती कातिरहेकी थिइन् । निकै बेरपछि उत्तमकी आमाले सरीतालाई भनिन्, “हेर दुलही काममा गएको मान्छे कतिखेर आउने हो उसलाई कुरेर साध्य हुँदैन, यसरी भोकै नबस जाऊ खाना खाएर सुत ।”
सासूको कुरा सुनेपछि सरीताले भनिन्, “टाढा जानु भएको होइन आइहाल्नु हुन्छ नि । बरु हजुर सुत्नुस म वहाँलाई कुर्छु “।
चकमन्न रात बेला बेला कुकुर भुकेको मात्र सुनिन्थियो । यत्तिका बेलासम्म उत्तम घर नआउँदा सरीताको मनमा चिसो पस्न थालेको थियो । काल जमाना पनि ठिक छैन किन यसरी राति-राति काम गर्नु परेको होला । अब उप्रान्त म वहाँलाई यसरी रातिसम्म काम गर्न दिन्न । बरु कमाइ नभए पनि नहोस, भनेर मनमा अनेक कुरा खेलाउँदै उत्तमको बाटो हेरिरहिन् । तर उत्तमको भने अझै अत्तो पत्तो थिएन ।
सरीता र उत्तम एक आदर्स जोडी थिए । उनीहरू एक अर्कालाई धेरै माया गर्थे । उत्तमले ठेक्कामा खेती गरेको थियो । त्यसैले ऊ दिलो ज्यान दिएर खेतीको काममा लागेको थियो । उसको पानीको पालो रातिको परेकोले पानी लागाउन खेत गएको थियो । उसले रोपेको खेत घरदेखि करीब बीस मिनेटको दुरीमा थियो । निस्पट्ट अँध्यारोमा सानु टर्चको सहायताले खेतका गरा पानीले भरिएपछि समाहा मिलाएर उत्तम रातको एक बजेतिर घर फर्कंदै थियो । त्यही बेला उसले अलिक पर मान्छेहरू गुन गुन गरेको आवाज सुन्यो । उसलाई कता कता डर लागेर आयो र ऊ छिटो छिटो हिंड्न थाल्यो । ती मान्छेहरू हुल बाँधेर उसकै पछिपछि आए जस्तो लागेर ऊ झन् दौडन थाल्यो । बिचरा सास न वास हुँदै बल्ल घर आइपुग्यो र ढोका ढक्ढक्यायो । उसलाई कुरेर बसेकी सरीताले पनि झट्टै ढोका खोलिन् । तर ढोका बन्द गर्न नपाउँदै एक हुल मान्छे घरभित्र पसे । बत्तीको उज्यालोले हेर्दा पो थाहा भयो उनीहरू त नेपाली सेना रहेछन । तिनीहरूले उत्तमलाई पाखुरामा समाएर लाछ्छार पछ्छार पार्दै “कहाँ मिटिंग बसेर आइस ? तँ देशको शत्रु माओवादीलाई यहीं मार्छौं । होइन भने कुन ठाउँमा मिटिंग बसेर आइस त्यो ठाउँको बारे हामीलाई बता ।”
उत्तम डरले काम्दै भन्यो, “हजुर म खेतमा पानी लगाएर आउँदैछु । बिस्वास गर्नुस म माओवादी होइन ।”
त्यो अकल्पनीय दृश्य देखेर सरीता रुन थालिन् । घरमा खल्ली बल्ली सुनेकोले उत्तमकी आमा पनि ब्युँझिएर आइन र “यो के गरेको तिमीहरूले कुरै नबुझी ?” भन्दै छोरालाई उनीहरूको हातबाट छुटाउन गइन् । तर एउटा सेनाले बुढी आमालाई “तिमी उता जाऊ” भन्दै धकेलिदियो । बिचरा तागत नभएकोले बुढी आमा भुइँमा ढलिन । उनी भुइँबाट उठ्न नपाउँदै सेनाले उत्तमलाई बाहिर आँगनमा लगेर गोली हानी मारिदिए ।
सन्तान मर्दा मर्दा बल्ल बाँचेका दुई छोराहरूलाई उत्तमकी आमाले धेरै दुख गरेर हुर्काएकी थिइन् । पहाडबाट मधेश झर्दा चिचिला छोराहरू उत्तम र रमेशलाई डोकोमा बोकेर ल्याएकी थिइन् । उत्तमका बाबाले झोडा फाँडेर एउटा सानो छाप्रो बनाएका थिए । त्यही छाप्रोमा नाबालक छोराहरूसँग उनलाई एक्लै छोडेर आरा काट्न भनी बुढा मान्छे असाम गएका थिए तर एक वर्षपछि आरो काट्दा काट्दै मुढाले किचेर उतै मरेको खबर आयो । त्यसपछि दुई छोराहरू हुर्काउन उनलाई धेरै गारो भयो । त्यही भएर ठुलो छोरा उत्तमले चाहिं पढ्न सकेन, घरको गर्जो टार्न आमालाई सघाउने गर्थ्यो । आफूले पढ्न नपाए पनि उत्तमले भाइ रमेशलाई भने पढाएको थियो । रमेशले एस एल सी पास गरेर बिराटनगरमा केटा केटीलाई ट्युशन पढाउँदै कलेज पढ्न थालेको थियो । उत्तमकी दुखियारी आमालाई अलिकति मात्र भए पनि सुखको दिन आउन लागेको थियो । तर देश र जनताको सुरक्षाको जिम्मा लिएकाहरूलेनै उनको आँखा अगाडि जवान छोरालाई मारिदिएर बिहे गरेको चार महिनामै बुहारी सरीतालाई त्यो रहर लाग्दो कलिलो उमेरमा बिधवा बनाइदिए । अनि सरीताको गर्भमा हुर्कंदै गरेको बच्चालाई पनि गर्भे टुहुरो बनाइदिए ।
एक जना छिमेकीले चोकबाट फोन गरेर घरमा परेको आपतको खबर रमेशलाई सुनाए । सपनामा पनि नसोचेको कुरा दाजु मरेको खबरले रमेश विछिप्त भयो । घर आइपुग्दा एकातिर आमा बेहोश र अर्कोतिर भाउजूको बेहाल देख्यो । डरले होला गाउँका धेरै मान्छेहरू त्यहाँ आएका थिएनन् मात्र दुई-चार जना छिमेकीले उत्तमको लासलाई रुँघेर बसेका थिए ।
तिनै छिमेकीको सहयोगमा दाजुको दाह संस्कार गरेर रमेश घाटबाट घर फर्कियो । रमेशको टाउकोमा अब दुखको पहाडले थिचेको थियो । एकातिर आमा र भाउजूको जिम्मेवारी अनि अर्कोतिर पढाई थियो । त्यसैले ऊ दोधारमा परेर केही सोच्न सकिरहेको थिएन । आज भोलि भन्दा भन्दै उत्तमको काम सकिएको पनि महिना दिन भैसकेको थियो । रमेश भने कसैसँग केही नबोली त्यसै टोलाएर बसिरहन्थियो । रमेशको त्यो अबस्था देखेर आफ्नो मनलाई दरो बनाउँदै उसको आमाले उसलाई भनिन् “बाबु तिम्रो पढाई धेरै छुटिसक्यो । अब तिमीले पढ्न जानु पर्छ । आखिर पिर गरेर मात्र केनै हुन्छ र ? यस्तै रैछ बाबु हाम्रो भाग्य !”
आमाको कुरा सुनिसकेपछि पनि ऊ निकै बेर चुपलागेर बस्यो । धेरै बेरको सोचाईपछि कलेज नगएर घरमै बस्ने निर्णय गरेको कुरा रमेशले आमालाई सुनायो । तर आमाले र भाउजू सरीताले उस्को प्रस्ताबलाई स्वीकारेनन् र जसरी तसरी उनीहरू आफैंले घर अनि खेती सम्हाल्ने हिम्मत राखेर रमेशलाई कलेज जान अनुरोध गरे ।
रमेश फेरि कलेज गयो । अब भने घरमा शुन्यता र अन्धकारसँगै बिपत्ति मात्र छाएको थियो । उँड्दा उँड्दै धागो चुँडिएर कतै बुट्यानामा अल्झिएको चंगा जस्तै भयो सरीताको जिन्दगी । जति सुकै विछिप्त भए पनि गर्भको बच्चाको लागि उनले बाँच्नु थियो । त्यसैले सकी नसकी खेतीको काम सम्हाल्न थालिन् । भने जस्तो स्याहार सम्हार नपुगेर होला जति फल्नु पर्ने थियो त्यति धान फलेन । साहुलाई बुझाउँदा ठिक्क भयो । एक महिना पनि खान नपुग्ने अन्न मात्र घर भित्रियो । दुखेसो गर्दा गर्दै सातौँ महिना बितिसकेछ । सरीताको छोरी जन्मी, सन्तानको जिम्मेवारीसँगै उनको अगाडि सिंगै जीवन एउटा मरुभूमि पहाड बनेर उभिएको थियो । रमेशले धेरै दुख गरेर अलि अलि पैसा घर पठाउँथे र त्यही पैसाले जेन तेन घर चलिरहेको थियो ।
दु:खले पनि जहाँ धेर त्यहीँ हेर भने जस्तै गर्दो रहेछ। सरीता र उनको सासू माथि फेरि अर्को बज्रापात हुन गयो । आखिर जस्तो परे पनि मान्छेले सहनु नै पर्दो रहेछ । एउटा दियो निभे पनि अर्को दियोले घरमा धिप-धिपे उज्यालो दिईरहेको थियो । तर त्यो दियो पनि अनायासै नसोचेको हुरीले सदाको लागि निभाइदियो ।
भतिजीको मुख हेर्नलाई बल्ल तल्ल फुर्सद मिलाएर घर जान भनिरमेश बस चढ्यो । घर पुग्नलाई गाडीबाट ओर्लेर करीब आधा घण्टा जंगलको बाटो हिंड्नु पर्थ्यो । रमेश ओर्लने स्टेशनमा पुग्दा रातिको दस बजिसकेको थियो । त्यो बाटोमा राति हिंड्न डर हुने भएकोले ऊ छिट्टो छिट्टो हिंडिरहेको थियो । घर पुग्न लाग्दा केही जमातले पख पख भनेको सुनेर रमेशको हंसले ठाउँ छोडे जस्तै भयो त्यस्सैले ऊ दौडन थाल्यो । ती मान्छेहरू पनि उसकैपछिपछि आए । घरको आँगनमा पुगेर अत्तालिंदै रमेशले गुहार भनेर करायो । उसको गुहार शब्दले झस्किएर आमा र सरीता बाहिर निस्कँदा उनीहरूले भयाभय दृश्य देखे त्यो देखेर बिचराहरूको सात्तो गयो । त्यति बेला ती मान्छेहरूसँग हात जोडेर रमेशले भनिरहेको थियो “विश्वास गर्नुस म नेपाली सेनाको सुराकी होइन ।”
ती राक्षसी मन भएकाहरूले रमेशको कुरालाई पत्याएनन । “तँ सुराकी नभए किन यसरी राति घर आउँथिस” भन्दै उसलाई बन्दुकको कुन्जाले हिर्काउन थाले ।
“रमेशले सुराकी गरेको छैन उसलाई छोडिदिनुस्” भन्दै आमा र सरीताले पनि उनीहरूसँग धेरै बिन्ति गरे पनि उनीहरूको ढुंगा जस्तो मुटु पग्लिएन । अन्त्यमा रमेशलाई “तँ हाम्रो लागि खतरा बन्न सक्छस् । त्यसैले तैंले यो संसार छोड्नै पर्छ ।” भन्दै गोली हाने ।
रमेश आँगनमा ढल्यो । अनि रमेशको बुढी आमा पनि बेहोस भईन । त्यतिखेर कठैबरा सरीताले रुँदै र चिच्याउँदै गुहार मागिन । तर गाउँलेहरू कोही पनि डरले त्याहाँ आएनन्। भोलि बिहान एक जना छिमेकीले प्रहरी लिएर आए । प्रहरीले सोधपुछ गरिसकेपछि लास उठाउन अनुमति दिए त्यसपछि गाउँलेहरूले नै रमेशको दाह संस्कार गरे ।
अब त सरीताको जिन्दगी झन् दल दलमा भासियो । घरको छानो पनि मक्किएर चुहिन थालेको थियो । दस महिना भित्रमा दुई छोराको मृत्युले सरिताकी सासूलाई रोगी बनाएको थियो । यस्तो बिपत्तिको भारी पिठ्युमा बोक्दै दुधे बालख छोरीलाई घरमै छोडेर सरीता दिनभरि बनी गर्न जान्थिन । कहिले नानी बिमारी पर्ने, कहिले सासू बिमारी पर्ने फेरि काम नगरी हात मुख जोर्ने सम्भ नै थिएन । त्यसैले सरीतालाई अतिनै सास्ती भैरहेको थियो । त्यति मात्र नभएर उनको रुप र एक्लोपनमा गिद्दे नजर लाउनेहरू पनि कम थिएनन्, जुन कुराले उनी धेरै विछिप्त हुने गर्थिन ।
यति धेरै समस्याको भुमरीमा रुमलिंदा रुमलिंदै सरिताकी छोरी पनि दुई बर्षकी भइसकेकी थिई । छोरीको अनुहार बाबाको जस्तै थियो । त्यसैले कामबाट फुर्सद भएपछि श्रीमानको सम्झनामा त्यो छोरीलाई सुम्सुम्याउँदै मनभरि रुने गर्थिन । यसो गर्दा गर्दै सरीता धेरै शिथिल भईसकेकी थिइन् । उनलाई निकै मलिन र गलेको देखेर उनको सासूले भनिन् “दुलही तिमी बिरामी छौ एक दुई दिन आराम गर । जे होला होला ज्यान रहे सबै हुन्छ ।”
सरीताले केही उत्तर दिईनन । नभन्दै सरीतालाई ज्वरोले थला पारिसकेको थियो । पैसा नभएकोले उपचार गर्न सकेकी थिइनन् । उनलाई बिमारले दिन दिनै झन् च्याप्दै गएको थियो त्यसैले । सरिताकी सासू सकी नसकी साहुकोमा ऋण माग्न गईन । तर पैसा मात्र चिनेको साहुले बिचरी बुढी मान्छेलाई रित्तो हात फर्काइदियो । रोगले थिचेको बुढो शरिर लिएर छिमेकीहरूसँग गुहार मागिन । त्यहाँ पनि एक दुई जना छिमेकीलेभन्दा बाहेक अरुले सहायताको बदला उनको समस्यालाई रमिता मानेर हेरे ।
सरीतालाई टाईफाईट भएको रहेछ । बेलैमा उपचार गर्न नसकेकोले दुई बर्षकी बालाख छोरी छोडेर सरीताको प्राण पखेरु पनि यो संसारबाट उँडेर गयो । उनको काज क्रिया गर्नलाई घरमा केही पनि थिएन । दुई छोराको शोकले गर्दा सरिताकी सासूको आँखामा आँसु सुकिसकेको थियो । त्यसैले नातिनीलाई च्यापेर सरीताको लासलाई टुलु टुलु हेरिरहेकी थिइन् । एकछिनपछि एक जना छिमेकी आइपुगिन ्जस्ले सरीतालाई असाध्य माया गर्थिन । तर उनी पनि दुखियारी नै थिइन् । त्यसैले चाहेर पनि सरीतालाई भने जति सहयोग गर्न नसकेकोमा गुनासो गर्दै उनले सरीताको सासूको काखबाट त्यो अभागी बच्चालाई लिएर “स्वर्गको बास होस् सरीता तिम्रो” भन्दै रुन थालिन् ।
उनको कुरा सुनेर सरिताकी सासूले भनिन् “हो बा हो मेरी दुलहीको स्वर्गकै बास हुन्छ, उनले कसैको केही बिगारेकी छैनन्, सारै गुणी र सोझी थिइन, सबैको भलो चिताउने अनि औधि नै दयालु पनि थिइन् ।”
अब चाहिं भक्कानिदै बिलाप गरिन्, “दुलही, जाऊ बा जाऊ । राम्ररी जाऊ, खोल्सा खोल्सी तर्दा काँडाले बाटो छेक्यो भने पन्छाउँदै जाऊ । यति सानी छोरी मेरो काखमा सुम्पेर तिमीले दुखै लुकायौ । म बुढीले के पो गर्नु होला अब ? तिमी त भाग्यमानी रहिछौ । त्यसैले यो संसारिक मोहबाट मुक्ति पायौ । यो हाम्रो समाजको संस्कार पनि कस्तो अचम्मको हो । जिउँदो छउन्जेल आँग ढाक्न एक जोर गतिलो कपडा भएन । तर डढाएर फाल्ने कात्रो चाहिं नयाँ चाहिने अरे । आज यो अन्त्यष्टिको लागि चन्दा दिनेले हिजो त्यहीँ पैसा सापट्टी दिएको भए मेरी बुहारी बाँच्ने थिइन् । यो बालख अनाथ र मेरो यो हबिगत हुने थिएन । म अभागीले अझै कस्तो कस्तो दिन देख्नु पर्ने हो र यो अबस्थासम्म बाँचिरहेकीछु । अब यो बालाखलाई कसले उद्दार गर्ला ?”
बुढी आमाले लासमा फूल अबिर चढाएर सरीतालाई सदाको लागि बिदा गरिन् र नातिनीलाई काखीमा च्यापेर धर्खरिँदै घरभित्र गइन ।
लक्ष्मी पोखरेल
काठमाडौं, कपन
हाल इज्रायाल
