मिथ्याको महाजंगलमा हङकङका नेपाली

  • by


हङकङको नेपाली समुदायमा अविस्वासको पहाड उठेको छ । कसले कसलाई विस्वास गर्ने पत्तो छैन । विस्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विस्वास अड्ने एउटै खम्बा छ अविस्वास । हामी मात्र होइन, विश्व नै यसरी उभेको हुनुपर्छ र त एउटा राष्ट्रले भनेको अर्को राष्ट्रले विस्वास गर्दैन र युद्ध हुन्छ । विन लादेन, सद्दाम, कदाफिहरू मारिन्छन्, ट्वीन टावरमा हवाइजहाज छिराइन्छ । नेपालमा बन्दै गरेको संविधान बीचमा तुहाइन्छ ।

वास्तवमा मान्छेको बनौट यसरी बनेको छ—केही भ्रमले, केही शंकाले, केही विस्वासले । यस्तै यस्तो मानवीय गुण, गुणको अभिव्यक्तिले । अभिव्यक्ति मौलिक छन्, गुण मौलिक छन्, र त्यसलाई ग्रहण गर्ने, बुझ्ने, चेतना, ज्ञान आ—आफ्नै ‘रोल मोडल’ का हुन्छन्, ‘सिद्धान्त’का हुन्छन् र ‘अध्यात्म’का ।

मैले कानुनी कारिन्दा भएर ‘मेसी एण्ड क्लेमेन्ट’ ल फर्ममा काम गर्ने सिलसिलामा साह्रै नजिकबाट स्पर्श गरेका मेरा आफ्नै अनुभूति, ज्ञानका सानो ‘समाज शास्त्र’, ‘मानव शास्त्र’, मनोविज्ञान मात्र हुन् यी शब्दका उड्दै गरेका परेवाहरू ।

अविस्वासको भुप्रोमा विस्वास जल्नु स्वाभाविकै छ । हेर्दाहेर्दै हाम्रा विस्वासका घरहरू अविस्वासको दन्किन्दै गरेका आगोमा बलिरहेका छन् र हामी रोमका निरोहरू बाँसुरी बजाउँदै हेरिरहेका छौँ जलिरहेको रोम । हो हाम्रो हङकङको नेपाली घर यस्तै छ । महान चित्रकार पाब्लो पिकासो श्रीमतीहरूलाई छल्न एउटीलाई एउटा ढोकाबाट निकाल्थे, अर्कीलाई अर्को ढोकाबाट भित्र पसाउने कलाकारिताजस्तै । कुनै एउटा मान्छेलाई यस्तै एउटा अविस्वासबाट छिराएर अर्को अविस्वासबाट निकाल्ने अविस्वासको व्यवशाय भैरहेको छ हङकङमा । अविस्वासहरूको हानाहान छ, अर्को अविस्वासले अर्को अविस्वासको हत्या गर्छ, बलात्कार गर्छ । मैले भरखरै गर्न थालेको कानुनी पेशामा यसको साम्राज्यवादी र विस्तारवादी मौलाउँदो नीति रहेछ । हङकङमा यसको प्रयोग पनि बाक्लै भएको पाइन्छ । यही अविस्वासमा खेती गरिरहेछन्, अन्न उमारिरहेका छन् अविस्वासका कृषकहरू । जताततै यसको बिगबिगी छ । अविस्वासलाई नै सत्यको उडिरहने चङ्गा सम्झेर मान्छेहरू चङ्गा टिप्न दौडिरहेका छन् । अविस्वासै अविस्वास बोकेर विस्वास भेट्न दौडिएका हामी, विस्वासको नाममा अर्को अविस्वास भेट्छौँ र विस्वासको बखान गर्छौ । यक्ष प्रश्न यही छ । किन उठ्छ अविस्वासै अविस्वास ? यसको प्रमुख कारण विस्वासको सफा मास्कमा अविस्वासिलो मान्छे । चिन्न गाह्रो छ, कसको मास्क सक्कली, कसको मास्क नक्कली । एकछिन अगाडि सक्कलीजस्तो देखिएको मान्छेले केही समय पछाडि थाहै नपाई अर्को नक्कली अनुहार देखाउँछ । एकछिन अघि आफूलाई विस्वासिलो लागिरहेको मान्छे, एकैछिन पछि कसैले कुरा लगाइदिएपछि आफ्नै विस्वासको गला घोट्न तयार हुन्छ । एकछिन अघि आफन्त भन्दै पछिपछि कुद्दै जाँदा बीच बाटैमा पराइ भइदिन्छ र ‘सोक्पा खुट्टा’ ले पछाडि फर्किनुपर्छ । यसरी फर्किन्दा गुमिसकेको हुन्छ, केही परिश्रम, केही द्रव्य । त्योभन्दा ठूलो कुरा चिनेजानेदेखिको विस्वास, गाउँघर देखिको विस्वास । आफन्तको छानामा छोपिएको विस्वास । म आफै पनि घुम्दै यही ‘रुम्जाटार’ मा आइपुगेको छु । मप्रतिका जनविस्वास हल्लिन्दै, पहेलिन्दै गरेको स्पष्ट देख्न थालेको छु । मैले बनाएको विस्वासको खम्बा सुनै सुन देखिने पोखरीमा छिर्नासाथ हल्लिन थालेको छ । यो मेरो व्यक्तिगत कमजोरी भन्दा पनि पेशाले बोकेको चरित्र हो । पेशामा अल्झेको चरित्र हो । यो पेशा नै ग्राहकले बाँचेको पेशा हो । विस्वास र अविस्वासले बाँचेको पेशा हो । यसलाई मिथ्याको महाजंगलमा चलिरहेको हावाले हल्लाउँछ । मैले देखिरहेको छु फोहरमा डुबेको सुनको महल । अविस्वासमा अडेका यसका हल्लिने खम्बाहरू । अनि मान्छे भुमरीमा घुम्न थाल्छन्, कुन सक्कली कुन नक्कली । भन्दा सबैले आफूलाई सक्कली बताउँछन्, इमान्दार बताउँछन्, धेरै ज्ञान भएको बताउँछन् । शंकर लामिछानेले “एब्स्ट्रयाक्ट चिन्तन र प्याज” पुस्तकमा प्याजका पत्रहरू छोडाउँदै लग्यो, नयाँ पर्त देखा पर्छन् । ती पनि उप्किन्छन् र बाँकी रहन्छ अर्को पत्र भनेर लेखेझैँ अविस्वासका पनि पत्रैपत्र हुन्छन् । कोट्याउँदै जाँदा पत्रै पत्र निस्किने । एउटा कुरा मान्नैपर्छ, सबैका मास्क हटाउँदै जाँदा पत्र निस्किन्दै जान्छन् । तर कति राम्रो पत्र निस्किन्छन् कति कुहिएको । भित्रपट्टिको कुहिएको पत्र बाहिरबाट थाहा पाउन सकिन्दैन, त्यसैले मान्छे घुम्छन्, भ्रममा सत्य भन्दै । यस्तो हङकङका तपाई हामीमा मात्र हुने होइन, विश्वको दर्शनमा पनि यस्तै हुन्छ । पश्चिममा ४०० बि.सी.तिर दर्शनको शुरुवात भयो, त्यो पत्रलाई पछि धर्मले छोप्यो । लामो समय धर्मले दर्शन छोपेपछि १४ सौँ शताब्दीबाट पत्रैपत्र गर्दै, दर्शन, विज्ञान, धर्म आए र सबैले सत्य भने । फेरि पनि मान्छेहरू भ्रममा परेर घुमिरहे । यस्तै एक ठाउँमा प्लेटो सामान्य सांसारिक मानिसको तुलना यस्तो मानिससँग गर्छन्, “जो जन्मैदेखि एउटा गुफामा जंजीरले यसरी जकडिएर कैद भएका छन् कि अगाडिको पर्खालसिवाय उनीहरूले केही देख्दैनन् । यो अगाडिको पर्खालमा केही छायाँ बन्छ । कैदी यही छायाँलाई सत्य ठान्छन् र यसैको लालसामा जिन्दगी बिताउँछन्, तर यसमा कुनै—कुनै ज्ञानी पनि हुन्छन्, जो पछाडि फर्केर वास्तविकता देख्न सक्छन् कि जेलाई सत्य मानेका थिए त्यो सत्यको आभासमात्र हो, सत्य पछाडि छ । पर्खाल पछाडि बलिरहेको आगोको कारण छायाँ देखिएको थियो । यस्ता मानिस जब गुफा बाहिर निस्किन्छन् तब सूर्यको उज्यालोमा उनीहरूले अझ धेरै सत्यको साक्षात्कार गर्छन् र उनीहरू वस्तुको वास्तविकतालाई बुझ्न सक्छन् । तब फेरि छायाँले उनीहरूलाई मोहित गर्दैन ।”

यस्ता अविस्वास, विस्वास, सत्य, असत्य हाम्रा अगाडि घुमिरहेका छन् । समाउन नसकिएका, भेट्न नसकिएका । तर त्यसैको पछाडि हामी कुनै बालकले चङ्गा जुधाइमा काटिएको चङ्गा भेट्न हेर्दै दौडिएका जस्तै दौडिरहेका छौँ । समाजमा बेइमान छ, ठगि छ, अविस्वास छ । यो हामीले पछाडिबाट भोगेको अनुभूति, कष्ट, भय मात्र हुन् । पृथ्वीको पछाडि हे¥यो भने छायाँ मात्र देखिन्छ । समाजको पछाडि हे¥यौँ भने ढाँड मात्र देखिन्छ । ढाँडबाट समाजको अनुहार देखिन्दैन । यदि हामीले घुमाइघुमाइ हे¥यौ भने पृथ्वी होस, समाज होस, अँध्यारोभित्र उज्यालो देख्छौँ । हाम्रो सभ्यता यसको साक्षी हो । हामीले भोगिरहेको उच्च जीवन यसको प्रतिफल हो ।

हङकङको नेपाली समाजमा असत्य र बेइमानको मात्र राज्य छैन । केही अपराधिक गतिविधिलाई हेरेर नेपाली समाज अँध्यारो समाज भनिहाल्ने पक्षमा म छुइनँ । कानुनी व्यवशायबाट मन मारेका धेरै मान्छे भेट्छु, कुनै कुनै कुहिन लागेका फलमा भँमराजस्तै झुमिरहेका मान्छे पनि देख्छु । एउटा सत्य कुरा के हो भने अँध्यारोलाई अँध्यारोले छेक्दैन । अँध्यारोलाई उज्यालोले छेक्छ । अँध्यारो देखिन उज्यालो चाहिन्छ । हामीले देखिएको सामाजिक, कानुनी अँध्यारो उज्यालोको उत्पादन हो ।

जसरी हङकङको नेपाली समाज मिथ्याको महाजंगलबाट गुज्रिन्दै छ, यसले ‘सुनामी’ ल्याउने संकेत गरिरहेको छ । जुन ढंगले असत्यहरू पकडेर हामी कुदिरहेका छौँ, नराम्रो प्रवृत्तिलाई राम्रोको ढकनीले छोपिरहेका छौँ, यो धारिलो बन्चरोले अन्तोत्वगत्वा कालिदासको खुट्टा काट्दैन हाम्रो खुट्टा काट्छ । अहिले त अलि अलि चोट लागेको छ र नै अलि अलि दुःखिरहेको छ—विशेष गरी अध्यागमन, क्षतिपूर्तिको मुद्दामा । यही प्रवृत्ति बढेर गयो भने अवश्य सुनामी आउँछ । खुट्टा काटिन सक्छ । सुनामी आएपछि कसरी खुट्टा जोगाउन सकिन्छ यही जिउँदा प्रश्न हाम्रो मथिङ्गगलमा ताण्डव गरिरहन्छ ।

वैज्ञानिकहरू विभिन्न किसिमका यन्त्र, प्रविधि बोकेर चारैतिर खतराको सिकार गरिरहेका हुन्छन् । सामुद्रिक सुनामी आउने बाटो छेकेर बसिरहेका हुन्छन् । फेरि पनि सुनामीले वैज्ञानिकका अत्याधुनिक आविष्कार, सुत्रहरू ‘घोडे लात’ हान्दै पछारेर अगाडि जान्छ । वैज्ञानिकहरू लाटाले पापा हेरेको जस्तै हेरिरहन्छन् । यस्ता घटना गत वर्ष मात्र जापानमा भयो, सात वर्ष अगाडि इण्डोनेशियामा भयो । हेर्दाहेर्दै गाडी बगे, पुल बग्यो, घरहरू लेदोमा मिसिएर बग्न थाले । संसारका वैज्ञानिकहरूले केवल रमिता हेरे, सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण ग¥यो । तर कसैले रोक्न सकेनन् । यो त भयो वैज्ञानिकको कुरा ।

महाजंगलको कुरा बेग्लै छ । मिथ्याको महाजंगल हामीले बनाएका हौँ । यसलाई व्याख्या हामीले गरेका हौँ । यसको पछाडि हामी कुदेका हौँ । मिथ्यालाई सत्य हामीले भनेका हौँ । मिथ्यामा हामी आफैँ सशक्त पात्र भइरहेका छौँ र घुमाउने झारले छुएको जस्तै घुमिरहेका छौँ । त्यसैमा हामी आरोपलाई प्रत्यारोपले हान्छौँ । प्रत्यारोपलाई ब्रम्हा अस्त्र भनौला, अग्नि वाण भनौला । पौराणिक कालमा शिवजीले विष पिएपछि गोसाईकुण्ड गएका थिए सेलाउन । हामी पनि सेलाउन सक्छौँ हाम्रा मिथ्या, अविस्वास, विस्वास कुनै सितल छहारीमा बसेर, सोचेर, विमर्श गरेर । तर हामी त्यसो गर्न चाहन्दैनौँ, आगोको छायाँले देखेको कुरालाई प्लेटोले सत्य देखाएझै सत्य भन्दै बसेका छौँ । त्यसैले हामी मिथ्याको महाजंगलमा हराएका छौँ । समयमा कान पकडेर उठबस गरेनौँ भने यही हाम्रो समाजबाट सुनामी उठ्न सक्छ, भोल्कानो उठ्न सक्छ र एकदिन हामी अस्तित्व गुमाएर, अधिकार हराएर, पहिचान गुमाएर “तीन वटा बाँदर”जस्तै नराम्रो सुन्दिन, नराम्रो हेर्दिन, नराम्रो बोल्दिन भनेर कुनै भित्तामा सजिएका हुन सक्छौँ ।

म कानुनी व्यावशायमा लागेपछि अनौठा अनुभूति गर्दैछु । अहिलेसम्म नदेखेको संसार देख्दैछु । कहिले नभोगेको अनुभूति गर्दैछु । विस्वास गरेका मान्छेको मास्कभित्रको अनुहार हेर्दैछु । काँडा छन्, फूल छन्, रूखको पछाडिबाट लुकेर वाण हान्ने ‘बाली’ छन् । मित्र भएर पनि सत्रुको पक्षमा उभिन्ने रावणका भाइ ‘विभिषण’ छन् । निर्दोष मान्छे अन्यायमा परेको हेरिरहने ‘धृतराष्ट्र आँखा’ छन् । म धृतराष्ट्रजस्तो हेरेर बस्न पनि सक्दिनँ, ‘शकुनी’को पासा पनि खेल्न सक्दिनँ । प्रमाणपत्र विहीन मसित एउटा बोली छ, म ‘बाय’ पाएर अगाडि बढेको यस खेलको खेलाडी हुँ, न मसित कुनै शिक्षा छ, न अनुभव । तर पनि यही बोलीले मिथ्याको महाजंगलमा ‘आवाज’ फालिरहेको छु । ठूलो ल फर्ममा काम गरेको हुनाले समस्याका समस्याहरूले मसित पनि आश राख्नु स्वाभाविकै हो । हुन सक्छ मसित केही जीवित विस्वास छ । तर मरिसकेका कानुनका बाटाहरू न मैले खोल्नु सक्छ न कसैले । मात्रै जीवित बाटाहरूमा बोलीले होस, विचारले होस, पानी छर्किन सकिन्छ । बस म त्यति मात्र गर्न सकिरहेको छु । मिथ्याको यस महाजंगलमा मिथ्याबारे केही बोल्ने प्रयास गरिरहेको छु । सुनामीका संकेतहरू भूकम्प नाप्ने सिस्मोग्राफ यन्त्रजस्तै बताइरहेको छु । फेरि पनि यहाँ विस्वास हुन सक्छन्, अविस्वास हुन सक्छन् । हामी फेरि पनि मिथ्याको महाजंगलमा पसेर हराउन सक्छौँ, हराइरहेका छौँ । यही क्रम चलिरहेको छ, बाँचिरहेको छ, बचाइरहेको छ ।

देश सुब्बा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *