Skip to content
BinaTamang-04


म उनको कोठामा गैइरहन्थेँ । हाम्रो कोठाहरू बीच मात्र एउटा लबीको दुरी थियो । विगत २ वर्षदेखि म त्यस घरमा बस्दै आएको थिएँ जहाँ उनी आफ्नो २ सन्तान र एक बहिनीसँग बस्दै आएकी थिइन् । चिम्सा चिम्सा आँखा, बाटुलो अनुहार अनि सुलुत्त परेको नाक ।

सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे । एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’ । उनको वास्तविक नाम चाहिँ छोईङ् रहेछ । घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।

बिहान उठेदेखि अफिस नजानुजेल उनको हातले थकाई मार्दैनथ्यो । हतार हतार खान बनाउ, खुवाउ, नानीहरू स्कुल पठाऊ, आफू तयार होऊ अनि दस बजेसम्ममा सुन्दरीजलको सिंहनाथ गणमा आफ्नो ड्युटी गर्न पुग्नु ।

यी सबै काम उनी बडो सतर्कता र निपुणताका साथ गर्थिन् । कुनै कसर नै बाँकी रहन्नथ्यो । उमेर यस्तै २७ पुगेकी हुँदो हो । बिहानभरि घरमा अनि दिनभरि अफिसमा त्यो पनि आर्मीपोष्टमा जोतिनुपर्दा बेलुका उनको अनुहार हेर्न लायक हुन्थ्यो । थाकेर गलत्तै हुन्थिन् । बेलुका भने बहिनीले भान्छामा सहयोग गर्थिन् । बिहान त कलेज गएकी हुन्थिन् । पहिले पहिले हाम्रो भेट कि त शनिवार हुन्थ्यो कि त कौसीमा कपडा सुकाउन जाँदा हुन्थ्यो । कहिलेकाँहि बरण्डामा हिड्दाँ उनले मिलाउने सलको सप्कोले लाग्दा एककिसिमको सुखानुभूति हुनेगर्थ्यो । हामीबीच संवाद हुन त्यस्तै ४, ५ महिना लागेको थियो । त्यो दिनको मलाई अझै सम्झना छ जुन दिन हामी काठ्माण्डौंको मस्त गर्मी छल्न बेलुकाको समयमा कौसीमा बसिरहेका थियौं । कपनको हाईटमा बनेको त्यो घरको छतमा प्राय हामी सबै कोठाबासी टहलिरहेथ्यौं । उनको ९ वर्षको छोरो पनि यताउता कुत्दै थियो । आँखाले भ्याएसम्म हामी काठमाण्डौंलाई निल्दैथियौं । एक्कासी उनको छोराको नाथ्री फुटेर ह्वाल्ह्वाल्ती रगत निस्कन थाल्यो । उनी आत्तिन थालिन् । के गर्ने कसो गर्ने भैइन् । सबै अलमल परे । मैले ह्त्तपत्त त्यो बाबुको नाक च्याप्प समातें अनि कोठामा पुर्याई पलङ्मा सुताएँ । केही छिन् पछि रगत बग्न छोड्यो । उनी घुँडा मारेर गुजुल्टिएर नजिकै बसेकी रहेछिन् । उनको त्यो भयमिश्रीत अनुहार देख्दा असिम माया पलाएर आयो । हृदयदेखिनै मायाका छालहरू उर्लेर आयो । यस्तो लाग्यो “किन डराएकी ?” भन्दै ग्वाम्ल्याङ्ग अंगालो मारुँ । तर त्यो उर्लेको छाल किनारमा नपुग्दै सुकिसकेका थिए किनकि उनी कसैको विधुवा थिइन् । हो उनी वास्तवमा द्द्वन्दकालमा माओवादीद्वारा मारिएका सैनिक जवानकी विधुवा थिइन् ।

“धन्यवाद तपाईँलाई ।” उनको मुखबाट निस्किएको शब्दहरू हावाको झोकासँगै विलिन हुन पुगेको थियो ।

“यसमा के को धन्यवाद जे जानेको थिएँ त्यही गरें ।” मेरो उत्तरले सायद उनी प्रभावित भैइन चिया पिएर जानको निम्ति प्रस्ताव आयो । मैले तुरुन्तै हुन्छ भनिदिएँ । त्यसदिन पछि उनी मसँग खुलेर बोल्न थालेकी थिइन् ।

जब बोल्दै गएँ उति उसलाई चिन्दै गएँ । उसको बिगत् बर्तमान सबै सबै मेरो अघि छर्ल्ङ्ग थियो । २०५८ सालमा माओबादीसँगको द्वन्दमा परी मृत्यु भएको उनको श्रीमान नेपाल आर्मीमा जागिरे थिए । खोटाङ घर बताउने उन्ले भागेर प्रेम विवाह गरेको चौथो वर्ष पूरा हुदाँ नहुदैं आफ्नो जीवन साथी गुमाउनुपरेको थियो । स्कूले जीवनमै माया बसे पछि भागेर विवाह गरेका रहेछन् उनीहरूलेआमा बाबुको स्वीकृति बिना नै । त्यसैले उनीहरू घरबाट स्वीकार नगर्दा आफ्नो खुट्टामा आफै उभिनको लागि देश द्वन्दको चपेटा आहत भैरहेको अवस्थामा पनि छुकीले भनेको नमानेर उनको श्रीमान नेपाल आर्मीमा भर्ती भएका थिए । त्यस्पछि उनको श्रीमानले उनीहरूलाई गाउँबाट झिकाएर काठमाण्डौंमा कोठा लिएर राखेका रहेछन् । विवाह भएको वर्षैमा छोरा र २ वर्ष पछि छोरी जन्मिएकी थिइ । सानोतिनो जागिरले घरपरिवार धान्दै आएकी थिए । खुसी थिए । आफूले रोजेको जीवन साथीसँग जीवन व्यतित गर्न पाउँदा दुबै दङ्ग थिए ।

खुसीले भरिएको त्यो सुन्दर संसार अचानक् आएर २०५८ मा भत्कियो । राष्ट्र सेवक भएर देश सुरक्षाका लागि लड्दै गरेका उनको श्रीमान सहित अन्य ७ जनाले मृत्यु वरण गरे ।

खबर सुनेर उनी बेहोस भैइ ढलेकी थिइन् । काठमाण्डौं जस्तो ठाउँमा एक्लै वेदनाको प्रसवमा उनी परिसकेपछि माईतीहरू आएर सान्त्वनाका शब्दहरूले बौराउने काम गरेछन् । जीन्दगी यस्तै रहेछ आफ्नो लागि नबाँचे नि ति साना साना लालाबालाको निमित्त बाँच्नु पर्छ भन्ने लागिरह्यो रे । श्रीमानको मृत्यु हुदाँ उनी भर्खर २३ वर्षकी थिइन् । मैले भेट्दा भने उनी २७ वर्षकी थिइन् ।

त्यसपछि नेपाल सरकारले उनलाई श्रीमानको सट्टामा नेपाल आर्मीमा भर्ती लिएछन् । त्यसपछि अनवरत रुपमा उनले नेपाली सेनामा आफ्नो सेवा प्रदान गर्दै आएकीथिइन् । काठमाण्डौं जस्तो महङ्गीले अक्रान्त शहरमै बसेर भए पनि आफ्नो प्रेमको निशानीहरूलाई शिक्षादिक्षा दिएर बस्दै आएकी थिइन् । एक्लैले नानीहरू स्याहर्न समस्या भएकोले बहिनीलाई काठमाण्डौं झिकाएकी थिइन् ।

साह्रै मेहनती अनि स्वाभिमानी नारी थिइन् ‘छुकी’ ।

वैशं छदैँ श्रीमानको मृत्यु भएपनि उन्मा त्यस्तो उन्मत्त र छाडापन केही देखिदैंन थियो । संयमित र लगनशिलता उनको बिषेशता थियो । हिमाल झै अटल अनि आत्मविश्वासी । आर्मीको जागिर भएकोले होला प्राय उनको रोजाईमा पेन्ट नै पर्थ्यो लवाईको सन्दर्भमा । छुकी त्यस्तो पहिरनमा उनी सहज महशुस गर्थी । मिलेको शरीर अनि ५’५ को उचाई । जस्तो कपडामा पनि बल्थिन् ।

कपाल कहिल्यै लामो राखिन । कुम कुम झर्थ्यो धेरै लामो भयो भने । झट्ट हेर्दा अविवाहित २४, २५ को तरुनी झै देखिन्थिन् । किन किन उनको कोठामा जाँदा मलाई आनन्द लाग्थ्यो । उनीसँग तीता मीठा कुरा गर्दा मन हलुङ्गो हुन्थ्यो । सायद उनी पनि त्यस्तै महशुस गर्थिन् । हामीबिचको मित्रता झाँगिदै जाँदा बिस्तारै बिस्तारै उनी प्रतिको आकर्षण पनि बढ्दै थियो ।

उनको हाउभाउ, बोल्ने शैली, सरलता यी सब यस्ता कुराहरू थिए जसले मलाई उनी प्रति आकर्षण गर्दथ्यो । हुन त म उनी भन्दा २ वर्षले भाई थिएँ । नबिल बैकंमा जागिरे म त्यति बेला एक्लै काठमान्डौंमा बस्दथेँ पढाईको शिलशिला जारी राख्नलाई ।

कस्तो चुम्बकीय शक्ति थियो छुकीमा म शैन शैन उनमा विलिन हुदैथिएँ । सायद मायामा यस्तै हुन्छ । त्यहाँ न रङ न रुप न जात न उमेरको हदबन्दी हुन्छ । साँच्चै म २६ वषीय लक्का जवानको अघिपछि धेरै केटीहरू आफ्नो बैँश ओच्छ्याउन तम्तयार थिए यद्दपी मेरो मन् भने छुकीमै गएर अट्किएको थियो ।

प्रेम अन्धो हुन्छ भन्ने सुनेको थिएँ तर अनुभव म पहिलोपटक गर्दैथिएँ । म उनलाई अन्धधुन्द माया गर्थेँ तर उनको सामु पोख्न असमर्थ किनकि छुकी स्वाभिमानी थिइ र म उनको स्वाभिमानीलाई लछार्न चाहन्थेँ । बरु भित्र भित्रै म जलिरहें । कुन हदसम्म माया गर्थेँ भने कुनै दिन उन्लाई देखिन वा भेटिन भने वेचैन हुन्थेँ । एककिसिमको छटपटी चल्थ्यो । म उनलाई ‘हजुर’ भन्थेँ र उनी मलाई ‘तिमी ‘भन्थी । ‘तिमी’ सम्बोधन् अत्यन्तै प्यारो लाग्थ्यो ।

छुकीसँगको स्पर्शको नाममा मैले औंलाहरूसम्म छुन पाएको थिएँ । त्यो पनि चियाको कप समात्दा । हैन भने हाम्रो बसाँई सधैं विपरित दिशामा हुनेगर्थ्यो अर्थात आमुन्ने सामुन्ने तर २, ३ हात पर । यतिमा पनि म त्यो सुगन्धित शरीर स्पर्श गरेको अनुभव गर्थेँ । मानिसहरू भन्ने गर्छन् नि प्रेममा चरम उत्कर्ष प्राप्त हुने भनेको यौनबाट हो । तर मलाई कहिल्यै त्यस्तो लागेन । मैले कहिल्यै उनीसँगको यौनको कल्पना गरिन सायद म त्यो भन्दा पनि पर पुगेर माया गर्थेँ । जे होस म उनलाई माया गर्थेँ । यो नै सत्य थियो ।

म छुकीसँग सिङ्गै जिवन बिताउन चाहन्थेँ । एउटा भिन्नै संसार सजाउन चाहन्थेँ । तर त्यसको लागि छुकी तयार हुनुपर्थ्यो जुन कुराबाट म अनबिज्ञ थिएँ । एक मनले भन्थ्यो छुकीलाई थाहा छ म उनलाई मन् पराउँछु अर्को मन् भन्थ्यो विचरा मैले कहिले भने र उसलाई थाहा हुन् । यस्तैमा रुम्मलिए निकै दिन् । अनि एकदिन् मुटु दरो पारेर निकै भावुक भएर “छुकी म हजुरलाई मन पराउँछु र बाँकी जीवन हजुरसँग बिताउन तयार छु । के हजुर मलाई साथ दिनुहुन्छ ? म यसको उत्तर जान्न चाहन्छु तर मेरो आशयलाई अपव्याख्या भने नगर्नुस् ल ।”

यति भनिसक्दा मेरो शरीर काँपिरहेको थियो । होसहवास उडेझै म फुङ्ग परेको थिएँ ।

मैले केही जवाफ चाहेको थिएँ । हुन्छ या हुन्न, यी मध्ये कुनै एक को अपेक्षा गरेको थिएँ । तर तर त्यस्तो केही भएन । मैले सोचे विपरित छुकी निकै शान्त थिइन् मानौ उनमा कुनै सवेंगनै थिएन । प्रतिकृयाविबिन त्यो अनुहारले मलाई भत्भती पोल्न थाल्यो । न हाँसो न रोदन न आक्रोश न माया न खुसी न दु:खी एक्दमै शुन्यभाव पढेंउनको मुखाकृतिमा । निकै बेरसम्म पनि उही जदवत शरीर अनि संवेगबिहिन अनुहार । म चुपचाप हारेको योद्दा झै बसिरहें । कतै मैले छुकीको मन् त दुखाईन? उनको भावनामा ठेस पुर्‍याएकी? यावत प्रश्नहरूले मलाई अपराधबोध गराइरह्यो ।

म निरुत्तर कोठामा ठिक उल्टो फर्किएँ जसरी गएँथेँ । त्यो दिन आलश्यता, औडाह र छटपटीमै बित्यो । छुकीले भने कसरी बिताईन पत्तो पाइन ।

भोलेपल्ट बिहानै छुकी अफिस गैछिन् । राती पनि अबेर मात्रै फर्किन् क्यारे मैले देखिन उनलाई । पर्सीपल्ट बिहानै घन्द्र्याङ् घुन्द्रुङ् आवाजले म ब्युँझिएँ । झ्यालको पर्दा बिस्तारै तानेर तल आँगनमा हेरें । उफ् ! छुकी भटाभट कोठाको सामानओसार्दै थिइन् । म छानाबाट खसेंझै भएँ । छुकी जाँदैथिइन् । मैले यति बुझें । मेरो त्यो धृष्टष्ताको सजाय छुकी मबाट अलग भएर दिदैँथिइन् सायद ।

मलाई रिङ्गटा छुट्यो । शरीर थरथरी काँप्यो । आँखाहरू त्यसै त्यसै रसाएर ताल बन्न थाल्यो । सम्हाल्नै गार्हो भो आफूलाई । : किन किन? छुकी किन? मलाई यति ठूलो सजाय दिदैँछौ ? मेरो प्रस्ताव मन् नपरे मलाई गालामा थपड लगाए हुन्थ्यो अथवा मेरो मुखमा थुके हुन्थ्यो । तर त्यो भन्दा पनि बढि चोट किन दिदैँछौ ?” प्रश्न सोध्न मन् लाग्यो । तर खुट्टाहरू जमे । पाइला सरेन ।

मलाई संसारै बिरानो लाग्न थाल्यो । बाँच्नुको सार्थकता देखिन । मेरै कारण कसैलाई यति धेरै चोट लाग्यो म साँच्चै अपराधी भएँ । म सजायको भागिदार छु । हो साँच्चै मैले आफैलाई सजाय दिने निर्णय गरें । आफैलाई सिध्याउने मन् भो । अब मैले आफूलाई त्यही कोठाको सिलिङ्मा झुण्ड्याउने निधोसहित फटाफट डोरी बाँध्न तालें ।

“ट्याक् ट्याक्” ढोकामा त्यतिनै बेला कसैले आवाज दियो । हतास मनले ढोका खोलें । बाहिर छुकी रहिछिन् । हातमा कागजको टुक्रासहित ।

उनको अनुहारको भाव पढें सायद अन्तिम बिदाईको हात हल्लाउन आईन् । मुटु झनै बटारियो । केही नबोली आँखाभरि टिल्पिल आँशु लिएर त्यो कागज मतिर बढाईन् । मैले सरक्क लिएँ । उनी बतास्सिएर गैइन् । म हत्प्रभत् रहें एकछिन्, केहीबेर पछि कोठाभित्र पसें । फेरि झ्यालाबाट चिहाएँ । छुकी गैसकिछिन् । बन्द मुटुले बन्द कागज खोलें । मलाई सम्बोधन् गरेर लेखिएको पत्र रहेछ ।

प्रिय सरोज

मलाई थाहा छ यतिबेला तिमी के सोच्दैछौ भनेर । तिमी यही सोच्दै छौ होला छुकी किन यति निष्ठुर भैइ भनेर । यति घमण्डी किन बनि?कि मेरो प्रश्नको जवाफ पनि दिईन ।

सरोज सायद तिमीलाई थाहा छैन होला जति तिमी मलाई माय गर्छौ त्यो भन्दा बढि सायद म गर्छु तिमीलाई माया । तिमीलाई थाहा छैन सरोज नोर्बुलाई मैले गुमाएदेखि जीवन निरश बनएको थियो । म उजाड थिएँ । रित्तो रित्तो थिएँ । जीवनलाई बुझ्न सकिरहेको थिइन । जुन दिनदेखि तिम्रो आगमन मेरो जीवनमा भयो त्यसदिनदेखि तिमीले मेरो मन्को नोर्बुलाई विस्थापित गरि जीवन रमणीय र स्वर्गीय रहेको आभास दिलायौ । साँच्चै तिमी मेरो मनमा छौ तर म प्रस्तुत गर्न असमर्थ छु । मलाई डर छ कि कतै ममा विचलन् आउने त हैन?मेरो यात्रा कति मोडिने त हैन? म कता जानुपर्ने? मसँगको मेरो साना नानीहरूको भविष्य कता डोर्‍याउने? कस्तो बनाउने?मेरो धृष्टताको परिणामले कतै तिम्रो सुन्दर जीवन तहसनहस त हुने हैन? हो म तिमीलाई माया गर्छु । ईश्वर साक्षी छ । तर यसको अर्थ यो हैन कि मैले तिमीलाई पाउनुपर्छ । तिमीसंगै जीवन बिताउनुपर्छ । मैले तिम्रो प्रस्तावलाई लत्यएकी हैन सरोज मात्र म हामी बिचको प्रेमलाई अ्अर अजर बनाउन चाहन्छु । त्यसैले हो त्यसैले म जावफहिन बनें । प्रेम प्राप्ती हैन यो तिमी पनि बुझ्छौ । यस अर्थमा म तिमीलाई नपाएर पनि सन्तुष्ट छु । प्रेम त्याग हो । यदि यसो हो भने मैले त्याग गरें मात्रै तिम्रो सुन्दर जीवन बचाउन । समाजको नजरमा म तिम्रो हैसियत खसेको हेर्न सक्दिन । तिमी क्षत्रीको छोरो म मङ्गोलियन त्यसमाथि २ सन्तानकी आमा । तिम्रो अगाडी एउटा उज्जव भविष्य हात पसारेर बसिरहेको छ । जाऊ चुम ।

तिमीले सोच्यौ होला नानीहरूम स्वीकार्थेँ । यो तिम्रो माहन्ता हो सरोज । तर जीबन त्यति सहज छैन सरोज जति हामी कल्पना गर्छौं । आवेशमा आएर गरेको निर्णयले भोली पश्चतापमा पार्न सक्छ । भावनात्मक कुरा र व्यबहारिक कुरामा आकाश पातालको फरक हुन्छ । जीवन रफ्तार सधै एकैनाश नहुन पनि सक्छ । त्यस्तोमा पछाडी फर्कन पनि सकिदैंन । त्यसैले सरोज म तिम्रो जीवनमा आउन्न । मलाई माफ गर । तिमीप्रतिको मेरो सम्मान सधै उस्तै रहनेछ आजिवन । तिमीली बाँच्नुपर्छ । समाजमा केही प्रगती गर्नुपर्छ । छुट्टै पहिचान बनाउनु पर्छ । उचाँईमा पुग्नुपर्छ । म अदृश्य रहेर पनि तिम्रो प्रगतीको गाथाहरू पढ्नेछु । यदि तिमी साँच्चै मलाई माया गर्छौ भने मसँग वाचा गर कि मैले गरेको अनुरोध मेरो सपनाहरू पूरा गर्नेछौ । र मलाई थाहा छ कि तिमी मलाई माया गर्छौ । यस अर्थमा मेरो सपना पूरा हुनेछ । म अज्ञात रहेर तिमीलाई सधै हेरिरहनेछु । माया गरिनै रहनेछु । अन्त्यमा जाँदा जाँदै मलाई नखोज्नु ल ।

उही तिम्रो’ छुकी ‘

सायद त्यतिखेर त्यो पत्र नपाएको भए मैले आफ्नो जीवन सकाईसक्थेँ तर त्यो पत्र पढिसकेपछि मैले प्रेमको परिभाषा बुझें । त्याग के हो? समर्पण के हो? बुझें । एककिसमको अनौठो आनन्दभूति गरें । हातहरू अनायसै कस्सिए । अठोट गरें । मनमनै “छुकी म तिम्रो सपना पूरा गर्छु । वाचाहरू निभाउँछु । म तिम्रो हर ईच्छा आकांक्षालाई साकार रुप दिनेछु ।”

सायद त्यसैको प्रतिफल होला आज ६ वर्ष पछि म आफै बैंक संचालक भएको छु । घर धन सम्पती सबै सबै छ मसँग । छैनौ त मात्र तिमी । तै पनि म खुसी छु । मलाई यति बेला लागिरहेछ तिमी यतै कतै मेरो नजिक छौ । अदृश्य नै सही मलाई हेर्दैछौ र आफ्नो सपनाहरूको महल देखेर दङ्ग पर्दैछौ । मेरो सफलतामा मेरो सफलतामा मलाई चुम्बन गर्दैछौ । म आभास गर्दैछु त्यसको । तिम्रो प्रेमको । साँच्चै छुकी तिमी मेरो मनभरि छौ आज पनि ।

बिना तामाङ ‘सुनगाभा’

3 thoughts on “छुकी”

  1. hi,lhasso nana.
    “छुकी “सामाजिक कथा वास्तवमै हृदय स्पर्स्शी मार्मिक बियोगन्त्मक कथा बनेको छ |कथा पढ्दै जाँदा शब्द -शब्दमा हराए …… यस्तै … भाव बिभोर ….. कुनै शब्दहरूले त गलानै अबरुद्ध पार्ने ……. || यो कथा बियोगान्तमक भए तापनि वर्तमान अवस्था र भविश्य का भावी पिडीलाई एक ज्ञान बर्दक राम्रो कथा बनेको छ| यो सामाजिक कथाको कथाकार ; विना थीङ तामाङ् नानालाई मेरो तर्फबाट हार्दिक बधाइ साथै साहित्तिक क्षेत्रमा यहाँको पाइला अझ तिब्र गतिले अगाडि बदिरहुन !!! यहाँको कलमलाई निरन्तरताको शुभ कामना !!! ल्हस्सो ,थुजेछे ||

  2. hi,lhasso nana Bina.
    “छुकी “सामाजिक कथा वास्तवमै हृदय स्पर्स्शी मार्मिक बियोगन्त्मक कथा बनेको छ |कथा पढ्दै जाँदा शब्द -शब्दमा हराए …… यस्तै … भाव बिभोर ….. कुनै शब्दहरूले त गलानै अबरुद्ध पार्ने ……. || यो कथा बियोगान्तमक भए तापनि वर्तमान अवस्था र भविश्य का भावी पिडीलाई एक ज्ञान बर्दक राम्रो कथा बनेको छ| यो सामाजिक कथाको कथाकार ; विना थीङ तामाङ् नानालाई मेरो तर्फबाट हार्दिक बधाइ साथै साहित्तिक क्षेत्रमा यहाँको पाइला अझ तिब्र गतिले अगाडि बदिरहुन !!! यहाँको कलमलाई निरन्तरताको शुभ कामना !!! ल्हस्सो ,थुजेछे ||

  3. keshab bhai tnx..
    धेरै धेरै धन्यवाद आले हजुरलाई मिठो अनि हौसलायुक्त प्रतिकृयाकोलागि।पक्कै पनि यहाँहरुको यस्तै साथ रहन्छ भने अगाडीको बाटोहरु खुल्ला देख्दछु र यात्रा सुचारु गर्न सहज हुन्छ गन्तव्यमा पुग्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *