प्रीतको सयरभित्र थियौं औंशी रात नि सफेद थियो
वर-पीपल झैं जोडी रम्ने वर-पीपलकै फेद थियो ।।
प्रत्येक रंगीन साँझदेखि माथमा शीत झर्दासम्म
शब्द, वाक्य मात्र हैन प्यारकै अनुच्छेद थियो ।।
दृष्टि, धड्कन, भावनाले एकमा अर्को विलिन हुँदा
पवित्र ती एक एक वाणीभित्र वेद थियो ।।
चिनेनथ्यौं रगत कसको दुवै लड्दा भन्ज्याङ्गमा
हाम्रो मिलन तोड्ने कथित जात र धनको विभेद थियो ।।
