धान्दैन ज्ञानले मात्रै
जिन्दगी जीउने कला
खोज्दै आधार नासिन्छन्
आधा जीवनका पला
खोल्छन् आदर्श धेरैले
जुक्ति हुन्न कसै सित
बेसहारा बँचाईमा
मुक्ति हुन्न कदाचित
जो जन्मै दीर्घ रोगी छ
विपन्न गरिवी जग
सक्तैन जिन्दगी हाँक्न
दोस्छ भाग्य भयानक
पसारी हात नाता वा
कुटुम्ब माझ धाउँदा
नीरिहता सधैं जाग्छ
ज्ञान ध्यान कताकता
कष्टले चढेका कक्षा
मात्रा धेरै बढेपनि
हुन्न सीप प्रतिस्पर्धी
मौका ज्यादै भएपनि
शिक्षाको नीति हो मात्रै
उछिन्नु साथ सङ्गति
सिकेकै सीपले बाच्ने
बन्दैन किन पद्धति ?
आयु काँटा सधैँ चल्छन्
बर्ष थप्तै निरन्तर
सक्तैन जिन्दगी कुद्न
रुन्छ देखी अभिन्तर
दोश यो युगको हैन
हैन दोस कुमार्गको
स्वयं वा श्रृष्टिको हैन
दृष्टि वा भूल स्वार्थको
दोसी हो राष्ट्रको नीति
कार्यभार समाजको
नेतृत्व राज्यको बोक्ने
व्यावस्थापक काजको
शिक्षाको स्वाथ्यको राम्रो
प्रवन्ध गाँस बासको
सुरक्षा रोजगारीको
शान्तित्व र कपासको
गर्दैन राज्यले जैले
प्रबन्ध राज्य भित्रको
जल्नेछ दुखको राँको
युवाका मन भित्रको
शक्तिहो राज्यको यौटै
युवा हो चम्किलो धन
निचोरी राज्यले चुस्यो
नेपाली जनको धन ।
प्रकाशोन्मुख कविता संग्रह “जन्मभूमि”बाट एक कविता
चुङमाङ ४, धनकुटा
हालः दमक, झापा
