बैंसालु रारा र कान्तिहीन मुगाली

  • by

राराको महिमागानबाट विकट, कष्ट र अपमानका घाउहरू लपक्कै छोपिएको ‘मुगु’ जिल्लासँग साक्षात्कार गर्ने मौका मिल्यो यसपालि। कुनै सडक यातायातले नछोएको यो जिल्लाको एकमात्र विमानस्थलको दुर्दशा हेरेर यात्रा शुरु भयो। मुगुका सांसद चन्द्रबहादुर शाहीको जोडबलमा ड्रागन एयरले नेपालगञ्जबाट हामीलाई ताल्चा विमानस्थल पुर्‍याएको थियो। पहरालाई छुने–छुने गरी जहाजले विमानस्थलको उवडखावड र ढुङ्गासँग तर्कदै अवतरण गर्नुपर्दो रहेछ। र, अलिकति गडबड हुँदा डिलबाट बाँदर खेल्ने भीरतिर जाने खतरा रहेछ। सुनियो, हामीलाई ओह्रालेर फर्केपछि पाइलटले उक्त विमानस्थलमा फेरि नजाने कसम खाएछन्।

२०३० सालतिर निर्माण थालिएको उक्त विमानस्थल २८ वर्षसम्म ठेेकेदार र इन्जिनियरको दुहुनोगाई बनिरह्यो। ०५८ मा ठेक्का रद्द गराएर स्थानीय जनताको सक्रियतामा तीन महिना लगाएर त्यत्तिको हालतमा बनेको रहेछ विमानस्थल। पञ्चायतबाट शुरु भएर अहिलेसम्म निरन्तर रहेको हाम्रो केन्द्रीय योजना र विकेन्द्रित शासनशैलीको एउटा नमूना थियो त्यो।

विमानस्थलमा फूलमालाले हाम्रो स्वागत गरियो। त्यो माला व्यङ्ग्यको काउछो झैँ एकछिन घाँटीमा असरल्ल झुण्डियो। काठमाडौँबाट केही दिनका लागि विकास र आश्वासन बाँड्न जाने विकासे कार्यकर्ता र नेताहरूको लाम जस्तै हामी पनि गनियौँ कि भन्ने आत्मग्लानिले स्थानीय साथीभाइको मीठो स्वागत पनि बोझिलो लाग्यो।

त्यसपछि हामी लाग्यौँ रारातर्फ। भयानक कष्ट व्यहोरेर बसेका मुगालीहरू तिनका कडा र सीपयुक्त परिश्रममा फलेका अन्नबाली हेर्दै, गाउँ र वस्तीहरू हँुदै त्यहाँ पुग्दा थाहा भो यातायातको अभाव र प्राकृतिक संरक्षणका नाममा लगाइएको अवरोधले रारा उदास बनेको रहेछ। चारैतिरबाट पहाडले घेरिएको, ती पहाडका फेदीमा हरियो जङ्गलको घेरो, कतिपय ठाउँमा विशाल खाली चरनहरू (जसलाई होटल, रेस्टुरेन्ट, खेलमैदान, सुटिङ्ग स्थल र मनोरञ्जन पार्क पनि बनाउन सकिन्छ) र अत्यन्त फटिक सङ्लो पानी भएको रारा देख्दा को मोहित नहोला? त्यसलाई झण्डै पूरै चक्कर लगाउँदा भेटियो जम्मा ५/७ जना पाहुुना पाल्न सक्ने एउटा सानो रैथाने होटल।

राज्यले हवाई यातायातका लागि केही करोड मात्र खर्च गर्दा पनि आधा मुगालीको जीवनस्तर उकास्ने प्रचुर सम्भावना बोकेको राराको त्यो सुन्दरता त्यसै ओइलाइरहेको छ। जुनेली रातमा तालको टल्केको पानी हेर्दै माननीय सुभाष कर्माचार्यले पोलेको सेकुवा र स्थानीय साथीभाइको देउडासँग रमाउँदै रात काटियो। भोलिपल्ट शान्तिको आशा गर्दै मेजर खनालको चिया खाजाको सत्कार ग्रहण गरेर झरियो गमगढी।

गमगाढ खोलो र कर्णाली नदीको दोभान माथि झण्डै २३ सय मिटरको उचाइमा रहेछ गमगढी। राज्यको सदरमुकाममा एउटा अन्तरक्रिया कार्यक्रम थियो। मानवअधिकारवादी कृष्ण पहाडी, लेखक खगेन्द्र सङ्ग्रौला, युवा नेताहरू चन्द्र भण्डारी र प्रकाश ज्वालासँग स्थानीय अगुवाहरूले काठमाडाँैतिर धारेहात लगाउँदै आफ्ना कथा, व्यथा र विचारहरू सुनाए। तिनको भनाइको सार एउटै थियो, मुगु प्राकृतिक स्रोत र साधनले आफैँ सम्पन्न छ। विकट र दुःखकष्ट भए पनि यहाँको उत्पादनले खान पुग्छ। हाम्रै जडिबुटी र काठले आम्दानी गर्न सकिन्छ।

ारालाई उपयोग गर्न सके पैसा फलाउन सकिन्छ। हामीलाई खाँचो छ त केवल यहाँको विकास गर्ने अधिकार र केही पूँजीगत तथा प्राविधिक सहयोगको। त्यसैले अब बन्ने संविधानले कर्णालीलाई स्वायत्त क्षेत्र बनाओस्।

मुगुका जनसाधारणको जीवन भोगाइ, तिनका लवाइखुवाइ, तिनका शारीरिक बनोट, कान्तिहीन अनुहार, पत्तै नपाई बैँस सकिएका महिलाहरू, केही गर्छु भन्दाभन्दै बूढा देखिने पुरुषहरू, पोषणहीन अवस्थामा हुर्केका नानीहरू हेरेर, विकास र अधिकारका नाममा काठमाडौँले आजसम्म गरेको ठगी देखेर मलाई रुन मन लाग्यो। मैले तिनका आँखामा आँखा जुधाउन पनि सकिनँ। काखमा महिना दिन पनि नपुगेका नानी बोकेर खाद्य डिपोमा पाँच किलो चामल लिन एकदिनको बाटो, कहाली लाग्दो उकालो ओह्रालो गरेर आएका आमाहरू देखेर पनि कसरी हाँस्न सकिन्थ्यो र?

गएको वर्ष जिल्लामा शिक्षाको लागि झण्डै १६ करोड लगानी भएको रहेछ। एसएलसीमा पास भए २३ जना। गमगाढ खोलामा २०६० मै सम्पन्न गर्ने गरी विद्युत् योजना थालिएको रहेछ। तर २० प्रतिशत पनि काम भएको छैन। जिल्लामा १३० वटा ठूलासाना आइएनजीओ छन्। जम्मा २४ गाविसका ७,३५९ घरमा बस्ने ४३,९,३७ जनसङ्ख्याका लागि उनीहरू काम गर्छन्। जम्मा ९० किमि बाटो गमगढीबाट पूर्व उत्तर लगे तिब्बतको सीमा पुगिन्छ। तर गमगढीवासी हेलिकप्टरबाट सुर्खेत–नेपालगञ्ज हुँदै काठमाडौँ र खासा पुग्नुपर्ने बाध्यतामा छन्।

माओवादी विद्रोहको ठूलै प्रभाव रहेको छ जिल्लामा। माओवादीले तीनको ज्यान लिए अहिलेसम्म भने माओवादीका नाममा ६७ जना मुगाली राज्यबाट मारिए। चर्पी बनाउन लगाएर, रक्सी खाने र छोट्टी बस्ने (दोहोरी देउडा गाएर तरुनी वा अर्काकी श्रीमती तान्ने र जारी तिर्ने प्रथा) चलन नियन्त्रण गरेर माओवादीले ग्रामीण भेगमा जनसमर्थन बटुलेका छन्। माओवादी सदरमुकाममै अफिस खोलेर बसेका भएपनि राज्यसँग आपसी समझदारी विकास गर्नेतिर पहल भएको छैन।

कार्यक्रम सकेर फर्कन हेलिकप्टर कुर्न थाल्यौँ। जम्मा ३० वटा सर्किटमा १५० लाइन टेलिफोनको भरमा बाहिर सम्पर्क गर्नै मुश्किल। सरुवा भएर पुगेदेखि अर्को सरुवाको दिन पर्खेर ओइलाउँदै बसेका कर्मचारी। १८/२० वर्षभन्दा बढी मुगुमा पढाएर चाउरिएका थकित अनि बिहानैदेखि बिजुली सर्वतको सङ्गत गरेका शिक्षक साथीहरू। कर्णालीको चिसो पानीका माछा र रातो (मार्सी) चामलको मीठो रैथाने भात। यस्तैसँग सङ्गत गरेर काटियो दिन। मौसमको गडबडीले सामान ओसार्ने स्काई ट्रक तीन दिनपछि आइपुग्यो।

चढ्न पाए हुन्थ्यो भन्ने थुप्रै मान्छे थिए वरपर। हामी विशेष पाहुना टोली भएकाले ‘आरक्षण’ गरिएका सिट लिएर ट्रकमा प्रवेश गर्‍यौँ। त्यहाँबाट फर्कँदा मेरो मनमा एउटै प्रश्न थियो– मुगु अथवा सिङ्गो कर्णाली अञ्चल गोर्खाली शासनको दयामा कहिलेसम्म बाँच्ने होला?

हिमाल खबरपत्रिका १८०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *