Skip to content


खुम्चिएर आफ्नै हृदयको कुना कुनाबाट
दुखेर आफ्नै कोलाजहरूबाट
सुक्दै पलाउँदै जीवनको आँकुरामा
ऋहिले समय पल प्रतिपल सुनामी सपनाको झापड हानिरहेछ
खोजेर विश्व यातनाशिविरका तनावहरू
इतिहासका गर्तहरूबाट
ब्ाासी दुर्गन्धित चेतनाका हरक उतारेर
घाइते मर्महरूमा डसिरहेछ पला-पला
तूफानका चक्रवाती मुस्लाहरू
अन्धो आवेगमा उडिरहेछ आफैंबाट
जोखाना हेरेर प्रगतिको
दोवाटो भुलेको यात्रीजस्तै
भङ्गालोबाट छुट्टिएको नदीको धार
गन्तव्य उवाउने चेष्टा बगिरहन्छु छालहरूमा
कहिले छालहरू सुक्छु बगरहरूमा
कहिले बगरहरू सीमा मिचेर बग्छु आफूभर
छातीको भूगोलमा फैलिरहेको सग्लो सुनामी यात्रा
गन्तव्य यात्राको गीत हो
गन्तव्य जीवनको गति हो
यात्राका अवरोधहरूको तातो सुनामी पचाएर
बैशको उन्माद छेकिरहेकी युवती मेरो/ देश, मेरो समय
पचाउन सक्दैन गतिहरू
उधिन्न सक्दैन सञ्जीवनीहरू
अक्करमा झुण्डिएको समय चक्रको अवरोध
छिचोल्न नसक्ने नामर्दको शिकार भएपछि
कहिले रोदनका हिक्काहरू
कहिले उद्बोधनका झिल्काहरू
उछिटि्टँदैनन् अचेल राँको बनेर
देखिरहेछु
करङ्भाटाहरू गल्दै सड्दै
कर्कलाका लुला डाँठ थुप्रिरहेको विधायक
क्षितिज उचाल्ने सपनाको बरखी बारेर
त्यही अपशकुनको विष्फोटले
चुहान बनेको छातीको कुहर
दिलको भूगोलमा नमिठो चोट
बासी सपनाको जलनमा
चिसो धँुवा पुत्पुताइरहेछ
तिमीदेखि मसम्म ।

अक्षर आवास, धादिङ्बेसी

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *