Skip to content


सन्त्रास रात अनि अनिदो निद्राझैं जीवन
वेदनाका स्वरहरू, कृत्रिम फलझैं
जेलिएको, अल्झिएको वा अल्झाइएको कृत्रिमझैं जिन्दगी
तर प्राकृतिक सहवासको कामना
हिलोमा फुलेको कमलको फूलझैं
अनि काँडाबीच झ्याङमा टिप्न नसकिने फलझंै
कोही घेरिएको परिवन्दबाट
स्वतन्त्रताको आवाजले फलामको नेललाई तोड्दै
मात्र अन्धकारमा रुमलिएको
र कोलाहलमा दविएको स्वर लिएर
भत्किएका बाटाहरूमा, हराएको बैशाखी खोज्दै
स्वतन्त्रताको एउटा आवाज गुञ्जिरहेछ …..
शब्दको वाणहरूको प्रतिकार घेराहरूलाई चिर्दै
लोलाएको ओठहरूबाट
वर्तमानको तिरस्कार सहदै
दलित नामको पगरी फाल्दै
स्वतन्त्रताको ओढ्नेमा
गुटमुटिन खोज्छ
अनि चार जात छत्तीस वर्णको
फुलबारीमा मिसिएर फुल्न खोज्छ
धमिलिएको नदीमा
ऊ एक्लै कर्मठ डुङ्गा चढेर
इमानदारीको नाउ खियाउदै
एक्लै फलाक्दैछ…………..मुक्ति…………मुक्ति
स्वतन्त्रता मुक्ति……….. स्वतन्त्रता ।

– जामुनगाछी ६, विराटनगर

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *