एउटा मानिस
एउटा जीवन बोकेर
एउटा संसार जित्ने सपना देख्छ
सुखको खोजीमा मानिस स्वयमले पीडा रोप्छ
पीडा बाँड्दछ, पीडाकै ओछ्यानमा लम्पसार परी
पीडा मार्ने औषधि सेवन गर्छ
आगमनको पीडा भुलिसकेको उसले
प्रस्थानको पीडामा आँशु झार्छ
मानिसको अर्को नाम पीडा पनि रहेछ
हेर्छु म यो सत्य
हिंस्रक जन्तुभन्दा धेरै गुणा बढी
आज मानिस मानिसबाट नै त्रसित छ
मानवले मानवलाई नै पीडा दिने कस्तो दुर्भावना
चित्कार आशु र छटपटाई भित्र मानिस
सत्ता भत्ता खोज्छ
अर्को मानिसको कमजोरीभित्र मानिस
कुत्सित नियत थोपर्छ
अनि मानिस आफ्नो विजय हाँस्छ
एउटा मानिस एउटा जीवन बाच्न
कल्पनाभन्दा बाहिर खोइ के के पो जे पनि गर्छ
कतै भान हुन्छ मानिस एउटा सिंगो पीडा हो
जो जन्मदा आमालाई,
स्वार्थ पुरा गर्न मित्रलाई घात गर्छ
पल पलको हिसाब राख्छ
शब्द शब्दको अर्थ राख्छ
नाफा नोक्सानको अंक कोर्छ
त्यहि हासो र रोदन्, उत्साह र निरासाको
गोरेटो सुरु गर्छ
हिसाब किताबको मिलानमा
घात् प्रतिघातको नियम लागु गर्छ
सुख र खुसीको पछि लागेर
घाम पानी आँधी सबै सहन्छ
पीडा दिएर रमाउछ
बिजयी भन्छ हर्षोत्सव गर्छ
शक्तिको दम्भ देखाउछ
लाग्दछ गाउ बस्ती जंगल खरानी हुन्छ
मानिसले एउटा जीवन हार्ने युद्ध गरिरहेछ
धेरै युद्ध निमत्याई सक्यो निमत्याई रहन्छ
मानव सम्वेदनशीलता र सार्थकता
म मेरोको भ्रमित परिभाषा बोकी
एउटा मानिस ठिङ्ग उभिएको छ
एउटा कोलाहल सिर्जना गरेर
एउटा अस्त व्यस्तता बोकेर
एउटा भयाबह युद्ध रचेर
एउटा शान्त सागरमा सुनामी हुलेर
परिबर्तनको जामा पहिरिन्छ मानिस
तर उही वृक्ष उही फूलको सुगन्ध
उही प्रकृतिको अन्न पानिको रस्वादन गर्दै
संसार जित्ने भ्रम छर्छ मानिस
एउटा मानिसको आबिस्कार सलाई
हेर कति खरानीको थुप्रो बन्यो
एउटा मानिसको आबिस्कार हो
मानवतालाई गिज्याउने गोली
बम बारुद बन्दुक र मिसाइल बनाउनेहरू
बिषादी पदार्थ बनाउनेहरू
सुर्ती र नसालु पेय अनि लागु औषध उत्पादक
सपना अनि दुस्परिणाम व्यहोर्ने नि मानिसहरू
दम्भ र पाखण्डपनको प्रतिस्पर्धामा
गार्हो पर्दैछ मानवियताको परिभाषा गर्न
कहिले बाध्यताको कहिले पश्चातापको
बिटुलो आशु झार्छ मानिस अनि स्वार्थ खोज्छ
पद प्रतिष्ठा र पैसाको अति भोको मानिस
जीवनभर दौडि रहन्छ आशक्ति बोकेर
अन्तमा सबै बिर्सेर
मात्र शान्ति शान्ति खोज्दै छटपटिन्छ मानिस
तर त्यो दुर्लभ र अर्थहीन बन्छ
एउटा मानिस एउटा जीवन भोग्छ
लालच आशक्ति सपनामा डुबेर
र सुन्य सुन्य मात्र सुन्यमा सकिन्छ
खरानी बनेर
मात्र सपनाहरूको अन्त गरेर ।
शेखर ढुंगेल
