Skip to content


ने.रा.प्र.प्र. को वृहत् नेपाली शब्दकोशमा रोदीको अर्थ यसरी गरिएको छ – ‘विशेषत : गुरुङ जातिमा प्रचलित राति निश्चित ठाउँमा ठिटाठिटीहरू भेला भएर गीत गाउने ख्याल ठट्टा गर्ने आदि मनोरञ्जन कार्यक्रम ।’ त्यस्तै रोदीघर भनेर ‘रोदी बस्न वा उत्सव मनाउनका लागि तोकिएको घर वा थलो’ भनिएको छ तर कोशकारले रोदी शब्दको व्याख्या दिएका छैनन् । यसको कारण के हुनसक्छ भने गुरुङ भाषाको व्याकरण बनिनसकेको अवस्था । कुनै पनि भाषाका शब्द वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको व्यवस्थालाई व्याकरण भनिन्छ । त्यसैको भाषा शुद्ध नभए पनि रोदीको प्रचलित शाब्दिक अर्थ यसप्रकार बुझ्ने गरिएको छ :- रो-सुत्ने, दी-घर अर्थात् सुत्ने घर । यसबाट पनि राम्रो अर्थबोध नहुनु त्यही व्याकरणको अभाव हो । हामी रोदी घरलाई नाचगान मनोरञ्जन गर्ने आराम गर्ने घर भन्न सक्छौं । लमजुङतिर रोधी भन्छन् भने स्याङ्जातिर रोदी भनेर उच्चारण गर्छन् । मगरको ‘दी’ पानी हुन्छ भने गुरुङको ‘दी’ घर ।

गण्डकी अञ्चलका जिल्लाहरूमा (पर्वतमा पनि) प्रचलित गुरुङ समुदायको मनोरञ्जनात्मक कार्यक्रम हो रोदी या रोधी । रोदीका निम्ति गाउँको बीचमा एउटा छुट्टै सामुदायिक घर हुन्थ्यो जसमा साँझ परेपछि सबै जम्मा भएर नाचगान गरिन्थ्यो । विशेष पाहुनाको स्वागतका लागि पनि रोदीको आयोजना गर्ने परम्परा छ । सेलरोटी पकाउने, अचार बनाउने, सबै मिलेर खाने पिउँने, नाचगान गर्ने यो एक प्रकारको सांस्कृतिक कार्यक्रम नै हो ।

त्यति भएर पनि रोदीको आफ्नै विशेषता छ । त्यो के भने-रोदीमा बाबुआमा, दाजुभाइ, दिदीबहिनी, छोरीबुहारीबाहेक अरू नाता बाहिरका ठिटाठिटीसमेत जम्मा भएर गीत गाउँछन्-नाच्छन् । गीतको गेडो लोग्ने छोराले निकाल्ने र स्वास्नी मानिसले लेघ्रो तानेर मसिनो आकर्षक स्वरमा छोप्ने गर्छन् । त्यसमा सवाल जवाफमा (दोहोरी) गीत पनि गाइन्छन्, तापनि परम्परा देखिको…… सालैजो….. गीत नै प्रख्यात छ ।

रोदीकै क्रममा गीत गाउँदा गाउँदा अथवा ठुवा खेल्दाखेल्दै जित्नेले केटी लाने चलन पनि सुनिन्थ्यो । गुरुङहरूकै संसर्गबाट होकि कुन्नि, रोदी मगरहरूमा पनि प्रचलित छ । रोदी गीत गाउँका केटा र केटीबीच अनेक रङ्गीन छेडखान र मायाप्रीतिका कुरा पनि हुने भएर पछिपछि विकृति बढ्न थालेको बुझेर होला, रोदीमा बूढापाका आमाबाबुसमेत सामेल हुने भएपछि बढी छिल्लिने र बरालिने सम्भावना कम भएको मानिन्छ । रोदीमा दोहोरी खेल्दाखेल्दै हारजित नभएसम्म निरन्तर चल्ने हुँदा कहिलेकाहीँ चारपाँच रातसम्म पनि गाइरहने र अन्त्यमा बिहे नै गर्ने पनि हुन्थ्यो । हिजोआज त्यस्तो छैन ।

‘रोदी’ गण्डकी अञ्चलका विशेषता मध्येको एक प्रमुख विशेषता हो, यसप्रकारको कार्यक्रमको परम्परा अन्यत्र थिएन र भए पनि अरू नै किसिमको हुँदो हो । आज हरेक क्षेत्र र पक्षमा विकृतिले प्रवेश पाएजस्तै ‘रोदी’ को पवित्र परम्परामा पनि विकृतिको प्रवेश भइसकेको छ । आफ्नो सांस्कृतिक परम्परा र विशेषताको संरक्षणमा सबै चनाखो हुनैपर्छ ।

‘रोदी’ गुरुङ जातिको कार्यक्रम भनिए पनि व्यवहारमा सबै जातिको साझा थियो र छ । चाहे साकेवा चण्डीनाच होस् या सत्यनारायणको पूजा इन्द्रजात्रा अथवा रोदी सबै जातका साझा पर्व र अवसरका रूपमा सबै सामेल भएर मनाउँदै आएको हाम्रो सामाजिक आस्थालाई हामीले धान्नैपर्छ । यस्ता पर्व सामाजिक एकता र परम्पराको प्रेमका प्रतीकका रूपमा ग्रहण गर्दै आएको इतिहास छ । हाम्रा रीतिथिति, चालचलन, व्यवहार साह्रै उदात्त छन्, सङ्कुचित छैनन् । यही हामी सबै नेपालीको सम्पत्ति हो, पहिचान हो ।

हामी नेपाली हौँ, राम्रो राष्ट्र नेपाल हो, त्यसको संस्कृति नेपाली संस्कृति हो । त्यसभित्र हाम्रा अनेकथरि उपसंस्कृति भए पनि जुनसुकै मान्छे पहिले नेपाली हुन्छ, अनि मात्र ब्राह्मण क्षत्री, गुरुङ, मगर, नेवार, राई, लिम्बु, यादव, धानुक, थारू, दनुवार, मुसहर आदि हुन्छ । यही हो हाम्रो चिनारी । यसैबाट हाम्रो राष्ट्रिय एकताको गाँठो बलियो हुन्छ र हामी बलिया हुन्छौं ।

– चिलाउनेबास-७, स्याङ्जा ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *