किनारमा छु रगते आहालको !

सधैँ त काठमाडौँ छोडेर घरै पुग्थेँ दसैँ मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मनले । थच्चिएँ यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दसैँ हेरौँ ! यसको पोल्टामा थच्चिनेका दसैँमा मिस्सिउँ र मनाउँ आफैँ पनि ।

नौरथाको अन्तिम दिन हो यो ।

नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी । बाटाको जाम, भीडभाड अनि दोहोरीलत्ता मान्छेले सजिलै पुग्न दिए पो ! पुगियो, गनिमत भो यै ।

बाटैदेखि भेट्छु एकतमासको मार हनाइ ।

बटुल्न आएको छु शान्ति, चकमन्न, मौनता र सुनसानले दिने ज्ञानको अर्थ । मूर्तिमा लिपिएको रङ, मूर्तिमा खिपिएको कला र मूर्तिमा ओर्लिएको चरित्रले दिने दीक्षा जान्न आएको छु । मेरानिम्ति धर्म त्यै हो, अध्यात्म त्यै हो र दर्शनको गहन तरङ्ग त्यै हो ।

धेरैबेर नमन गरेँ दक्षिणकालीलाई ।

‘हाम्री कुलकी आमा हुन् दख्खिन कालीमाई । तिनलाई बर्सेनी गएर भेट्नु !’

सम्झन्छु आमाले भनेको ।

हाम्रो पुर्खाको मान्यता यस्तै शक्तिको सेरोफेरोमा रहँदैआएको छ । त्यो उपासनाले बलशाली बनायो र भनिरह्यो-‘तिमी अघि बढ !’

थाहा छैन-त्यो मौनतामा मानिसले कति शक्ति पायो, कति ऊर्जा सङ्कलन गर्‍यो र कति तागत बिस्तार गर्‍यो । हो, शक्तिपीठ पुग्नेक्रम रोकिएको छैन अद्यापि ।

बसेको छु आँखा चिम्म गरेर ।

मानिसहरू घन्ट बजाइरहेका छन् । कल्याङमल्याङ बढिरहेको छ बेस्सरी । धूपको बास्नाले नाकलाई लाछलुछ पारिरहेकै छ । नशामा नौलो भावको लुकामारी हुन छोडेको छैन । भीडभाडमा मन थिचिन्छ धेरै खेप ।

हेर्दाहेर्दै नयाँ परिवेश उम्लिरहेछ ।

आँखाले रगतका बाछिटामा नुहाइरहेका छन् घरिघरि ।

आजैको दिन किन रोजेको हुँला मैले ? यो रगताम्मे दिनै किन खोजेको हुँला मैले ? यो रगतपच्छे दिनै किन छानेको हुँला मैले ?

बोका, कुखुरा, पाडा र हाँसका रगतले आहालमय छ मैले टेकेको मन्दिरको पटाङ्गिनी । रगतले बोकेको रातोभित्रको रङमा अरू जम्मै रङ बिलाएका छन्, हराएका छन् र समाहित छन् । यी घोलिएका रङले मलाई आफ्नो अर्थ र मूल्यका चौरऔँला ठड्याएको देख्छु म पटकपटक ।

जुत्ता, धेरै पर खोलेर आएथेँ मैले ।

खुट्टाका घुँडासम्म रगतका सिर्का र बाछिटाले लत्पताएका छन् । जताततै रगतका टाटा र थोप्लाथोप्लीले एउटा दिगमिगभित्र आउने सबैखाले विचारको चित्र आउँछ, शब्द आउँछ र तर्कना आउँछ । भुँवरी उठ्छ पटकपटक ।

हजार दृश्य नपढी भएकै छैन एकजोर आँखाले ।

त्यसो त यो नौ दिनभरि देशका शक्तिपीठमा निरन्तर छ रगतलीला । त्यो पढेको वा झिल्काझिल्कीले छोएकै हो छातीमा । अहँ, यसरी आँखैले देखिएको थिएन भने नि हुने-यसअघि ।

यो पीठको सबै सत्तलमा निधार रङ्गाएका बाहुनहरू चण्डी भट्टयाइरहेका छन् । दुर्गासप्तशती पढ्नेका घोक्रा सुकिसकेका देखिरहेछु म । देवी भागवत पढ्नेका चिमचिमे आँखामा तलमाथि गर्छ चस्माको डन्डी ।

यी हरेक घामपानीमा दृष्टि पुर्‍याइरहेकै छन्् मेरा आँखाले ।

रगतबाहेक क्यै नभएको पटाङ्गिनी ! ठाउँठाउँमा गाडिएको छ मौलो । धेरै ठाउँमा मौलो गाडिन सक्छ भन्ने अनुमानमै पनि मार हानिएको छ । रगतले देखाइरहेको छ-कम भो मौलोको सङ्ख्या !

एउटा जुल्फेले आफ्नै उमेरको पाडोको घाँटी मुनिको किल्किले समाएर चुप्पीले काट्यो स्वाट्ट ! अनि पाडोको लामो कण्ठनली तानेर वरिपरिका मूर्ति पखाल्यो रगतको धारोले । शरीरमा रगतको अभावले जिउँदो पाडो ढल्यो गल्र्याम्म । उता निर्जीव मूर्ति रक्तस्नानले उज्यालियो झन्झन् ।

ढुङ्गाले तरबार चम्काउनेहरू थिए । चुप्पी, खुँडा र चुलेसीमा साँध लाउनेहरू थिए । तिनका अनुहारमा रगतको उम्लाइ थियो त्यत्तिकै चमकदार । बालुवा, ढुङ्गा र चकमकले टलक्क टल्केका खुकुरीका धारमा आफ्ना अनुहार हेरेर ती भन्थे-‘आज चैँ ढालिन्छ !’

कुखुराका भाले रेटिरहेका देखिन्थे किशोरका हुल । तिनका शरीरमा पुसंत्वको एउटा बिरुवासम्म उम्रिएको थिएन-तर ती मार हान्न र भाले रेट्न खुब डटेका लाग्थे । मृत्यु र जीवनको-एकदमै नमिल्ने खोलो बगिरहेथ्यो त्यहाँ ।

टाउको छुट्टयाइएका कुखुराका मुख एकातिर देखिन्थे प्याकप्याकी पारिरहेका । अर्कोतिर छटपटाइरहेका हुन्थे गिँडिएका ज्यान । कुनैकुनै त दशहात परसम्म उछिट्टिएर गई उफ्रिरहेका हुन्थे । गति भनेकै त्यही । टाउको र ज्यान छुट्टँिदा त त्यो ऊर्जा छ भने-सिङ्गो जीवनमा कति धेरै हुँदोरहेछ सामर्थ्यको लय !

मैले हेरिरहेँ रगत ओकलिरहेका कुखुराहरू ।

रगतको खोलो छ वरपर । आहालजस्तो ठाउँ, रगतको आहाल । रगत आफँै जमेर दलदल छ । जम्न नसकेको तह बगेको छ खोलाको धारमा । हँड्याइलो रङ बोकेर छेवैको नदी कुदेको छ तल….तल…।

एउटी युवती कसोकसो हुत्तिएर परी रगतको भासमा । ऊ आत्तिएर कराई र ओठबाट रगतका विरुद्ध भुत्भुताई केही शब्द । त्यो आवाजमा धर्म र पापको विवेचना कति आयो ? पूजा गर्न मन्दिर आएकी नारीसँग कुनै प्रश्न गर्ने साहस बटुलिनँ मैले ।

घन्टी बजाउँछु म ।

रगतको टाटोले रालो नै लाटो छ घन्टीको । बोल्न सकिरहेको छैन ऊ । आवाज थुनिएको छ रगतको लतपतले । घन्टीलाई पूरै छेकबार लाएजस्तो-रगतको छिटा र लेस्याइलो स्पर्शले । टड्कारो आवाज रगतले निलेछ घन्टीको-लोसे र सुस्त स्वर आउँछ मुस्किलले टिनिन्न…. ।

मन्दिरमा चढाइएका हरिया पात छन्-रातै पल्टिएका । फूलमा अरू रङ चढेको छ रगतको । हरिया पातले मौलिकता गुमाएर रगतको रङमा हाँसेका छन् ती ।

रगतपच्छे मौसममा उम्रेका पो थिए कि ती ?

पटाङ्गिनीपूर्व बोका लिएर उभिनेहरू छन् लामबद्ध । हातमा डोरी लिएर रगतका आँखा, मन र संवेदनामा उभिएको हुनुपर्छ तिनले । धमाधम मार हानिन्छ । एक, दुई र अन्त्यमा एकको पछाडि दुई शून्य हालेर पनि पुग्दैन । झण्डै चार वा पाँच अङ्क उभ्याएर अरू त्यस्तै सुन्ना नहाली धरै पाइन्न । मारको सङ्ख्या गन्न नि समय खर्चिनुपर्ने हुन्छ ।

असरल्ल टाउका देख्छु बोकाका ।

आँखा हेरिरहेका, खुल्ला । ट्वाल्ल, आकाश हेरिरहेका । जिब्रो टोकिरहेका र कान हल्लाएका एकाधले । ज्यान र टाउका अलग पार्नेका कुइनेटादेखि कम्मरसम्म रगतको धोइधाई छ । छिटा देखिन्छ मुखभरि । कान, नाक, जर्नी वा आफ्नै गर्धनसम्म । रगतले पुछपाछ गरिएका तिनका अनुहारले रगतमा पौडिएर आएको प्रमाणपत्र देखाउँछन् हामीलाई ।

सिरिङ्ग हुन्छ मनको हरेक कुनाकाप्चा ।

तलबाट घाँटी रेट्नेले रगत भेला पार्छन् थाल, कचौरा र बटुकामा । अनि पातमा रगतका तीनचार थोपा मन्साएर ढोग्छन् । उता ढलिसकेको हुन्छ एउटा जीवन त । रगतको आहालमा अरू थोपाथोपी थपिएर अग्लिएकै हुन्छ दलदल ।

एउटा केटो आउँछ कुद्दैकुद्दै ।

उसले समाउन खोजेको चङ्गा मेरै अगाडिको रगतको दलदलमा खस्छ स्वाट्ट । चङ्गा लिएर रगते भासबाट बाहिरिएपछि खिन्न हुन्छ ऊ । एकातिर चङ्गा हात परेको विजयी मुस्कान त छ नै । फेरि रगतले लत्पतिएको चङ्गा उडाउन खोज्दा नउडेपछि-भएको खिन्नताले उसलाई विरक्त तुल्याउँछ । ऊ घरीघरी टकटकाउँछ रगतलाई । कागजमा टाँसिएको रगत पनि गरुँङ्गै हुँदोरहेछ हावाका लागि । लत्पतिएको चङ्गा क्यै गरी उड्दो रहेनछ ।

‘बेइमान रगत ….!’

चङ्गा नउडेपछि सराप पायो रगतले, किटोबाट ।

कान, आँखा, नाक र मन गतिमान छन् मेरा यतिखेर ।

नजिकै कुखुरा, बोका पोलेको चर्को गन्ध मेरा आँखाको बाटो भएर पुग्छन् नाकसम्म । त्यसपर अर्को शक्तिशाली इन्दि्रयले यी सबै दृश्यलाई रेखा दिएर, आकार दिएर र रङ दिएर लेखिरहेको छ फटाफट । अनि पो मलाई उतार्न सजिलो भएको छ यतिखेर ।

बढिरहेको छ घाम ।

दिनसँगै बढिरहेको छ रगतको आहाल । त्यो हुनुको अर्थ हो-मानिसहरू थपिए यहाँ । चहलपहल बढ्यो । अरू हानिए तरबार । खुकुरी, चुलेसी र खुँडाहरू अरू चले । निकै धारिला हतियारको प्रयोग छिटोछिटो भएको हुनुपर्छ ।

बाक्लिएको छ रगते दलदल । कम भएको भने होइन । तरल सुक्दा बाक्लो हुन्छ नि, थोरै भएको भन्ने कसरी ?

‘मलाई मेरो मने चाहिन्छ !’

एउटी सानी केटी भक्कानिएर रुँदै बोली ।

मने अलिक अघि उसको बाबुले छिनालिसकेथ्यो । सानाको खुसीभन्दा ठूलाको सन्तुष्टिले जित्ने ठाउँमा त्यो ‘मने’ को अर्थ थिएन ।

हो, छेवैको रगते आहालमा थपिएथ्यो एक तह । म हेर्छु-नजिकै परेवाका साना बच्चाहरू रगतमा लत्पतिएर कुनाकाप्चामा गरिरहेछन् चिउँचिउँ । प्वाँख उम्रेका परेवा नि रगतमा टाँस्सिएका चामल, तिल र जौका गेडा सक्तैनन् टिप्न । हेर्छन् मात्र । तिनलाई लाग्दो हो-यी दानामा जीवन छैन, बरू छ मृत्यु ।

शरीरका पहेँला भुत्लामा उडानको वेग भरिनु त कहाँ हो कहाँ ! रगतको लतपतले ती कलिला परेवा थच्चिएका छन् बरू ।

ऐनाजस्ता टलक्क टल्केका खुँडा घरीघरी धोइन्छन् रगतका सिर्काले । चारै कोणमा उठेका छन्- खुकुरी र खुँडा । साना, लामा, छोटा वा मझौला अनेक आकारका छन् ती हतियार तर सबैले बोलेको भाषा उही छ, सबैको उपस्थिति उस्तै छ र हरेकको मूल्य एकै छ ।

रगतको थलथल !

मैले यतिखेर उपत्यकाभित्रका मैतीदेवी, म्हेपी, नरदेवी, नक्साल, वसन्तपुर, भद्रकाली सम्झेँ । जहाँ यही दृश्य र चरित्रका उस्तै चहकिला तस्बिर देख्न पाइन्छ ।

ओहो, कति छिटो आउँदोरहेछ मृत्युको चाल !

अलिक अघि मात्र बासिरहेको रातो भाले दुईतिर छुट्टइिसकेछ कति चाँडै । भर्खरै भित्तामा सिँगौरी खेलिरहेको जखमले बोको दुईतिर बाँडिइसकेछ कति छिट्टै । केही अघिसम्म पात ठुँगिरहेको कलेजी रङको हाँस दुईतिर बाँडिइसकेछ कति हतारमा ।

रगतका आहालमा टेकेर वल्लो र पल्लो छेउ गरिरहेका आइमाई र केटाकेटीको भीड छ चौपट्टै ।

आहालमै उभिएर मन्त्रोच्चारण गर्नेका अनुहार पढिरहेँछु म । आहालमै टेकेर फूल छर्कनेका आवाज सुन्छु म । आहालमै फड्को मारेर बत्ती बाल्नेका ओठमा छरिएका खुसी र सन्तोष पढ्छु म ।

रगतले घेरिएको सानो पटाङ्गिनीमा युवतीका गोरा पैतालामा टाँसिन्छ डरलाग्दो आलो रगत । तिनका आँखामा कति प्रतिशत अँध्यारो र कति प्रतिशत उज्यालो ओर्लियो यतिबेला ?

रगतले अर्थ्याएको भाषा हुँदोरहेछ एउटै ।

एउटी अधबैँसेले मूर्तिलाई चढाएको स्याउ गुडेर खस्यो रगतकै लतपते दलदलमा । त्यसलाई नाकनिक गर्दै टिपी उसले । अनि निकै पटक पुछी सप्कोले । फेरि धोई तलको खोलामा गएर । मास्तिरकै रगत बगेथ्यो खोलामा पनि त । निकै पुछपाछ गरी उसले । खोई, उसको मनले मानेन । कर्‍याम्म टोक्न ओठसम्म ल्याएकी त्यो स्याउ तलै राखी । त्यत्तिक्कै रह्यो त्यो । रगते आहालबाट उडेर आएका झीँगाले घेरिएको छ त्यो स्याउ, अब त !

म धेरै बेरदेखि हेरिरहेको छु-रगतको उकालीओराली । मान्छेको चाप थपिएको छ झन् । भीड कति धेरै ! भीडभाड बढेको यो पनि हो-अब खुँडा र तरबार चलेका अनि बोका ढलेका खुब देख्न पाइन्छ ।

अलिक अघिसम्म एकै हातले मार हानिरहेको त्यो जुल्फे पनि थाकेर अहिले त दुई हातले छप्काइरहेछ बोका । थकाइबाट जानिन्छ बगेको रगते नालीबेली ।

उसले गरेको गफ सुन्छ–‘म एकै हातले छप्काउँथे पैला । बिहानभरि त एकै हातले छिनालेकै हो नि !’

जे होस्, रगतको आहालमा थपिएको छ केही अरू ।

एउटी सानी केटी निकै अघिदेखि परपर सिँढीतिर केही खोजखाज गरिरहेकी देखिन्थी । उसको टाउकोमा थियो सानो मजेत्रो । उसले निहुरेर टाकनटुकन पैसा खोजेकी लागिहेथ्यो मलाई ।

कुनबेला-कुनबेला ऊ उभिएकी रहिछे मेरा छेउमा ।

उसले दसतिर आँखा घुमाएर पैसाका कन्चाकन्ची भेला पारिरहेकी प्रष्ट भो ।

‘दाइ, पैसा दिनु न !’

ऊ उभिइरही मेरो अघिल्तिर ।

मेरो छेवैमा थिए धोती फेरिरहेका वृद्ध ब्राह्मण । उनले आफ्नो कमीजबाट झिके एक रुपियाँको डबल । डबल केटीको हात परेन । गुड्दै गएर लत्पतियो रगतमा ।

ऊ अँध्यारिएर दगुरी डबल लिन ।

रगतमा चोबलियो डबलको एक भाग । ऊ सिन्काले तानिरहिछ पैसा तर डबल त झन्झन् गाढिन्छ रगते दलदलमा । ऊ त्यो डबल झिक्न चारैदिशा घुमिसकी ।

औँलाले पैसा छुन डराइरहेकी त्यो केटीका पिँडुलाभरि रगतका छिटा र दलदलले छोइसकेको छ तर उसले झिक्न सकेकी छैन डबल । उसको कन्चट र नाकेडाँडीमा चिट्चिट् छ पसिनाको । आक्रोश, आकुलता र आशाले घेरा हालेको छ उसको अनुहारमा ।

मैले पूर्वपट्ट िदेखेँ, बलियो बाबु आफ्नो किशोर छोरालाई सिकाइरहेछ कुखुराको भाले रेट्न । भालेले पहिला त केटालाई ठुँगेर बच्न खोज्यो तर हतियारका सामु रगत नबग्ने कुरै भएन ! खुट्टा समाई अँठ्याइदियो बाबुले । छोराले टाउको राख्यो खुकुरीमा अनि गर्धन दबायो ढुङ्गाले । मूल हड्डी भाँच्चिएपछि छोराले छिनाल्यो भाले । उसले रिसले भालेको रगतले छेउछाउका सबै मूर्ति पखाल्यो ।

मरेको भाले झुण्ड्याएर र्फकंदा किशोर बोलिरहेको थियो-‘साला, तेरो सारा फूर्ति यो रगतै त हो नि !’

रगत खाएर अघाइसकेका थिए सबै मूर्तिहरू । रगत पिएर सबै मूर्तिहरू तृप्त भइसकेका थिए ।

बिहानको दस-एघार बजेको हुनुपर्छ अहिले । जुन वेग, जुन तीव्रता र जुन आँधीसाथ रगतको भेलबाढी आएको छ-यो ठाउँ मात्र होइन सारा देशकै मूर्तिहरू परिपूर्ण भइसकेका हुनुपर्छ ।

‘ढाडिएर बसेका होलान् !’

मूर्तिहरू हेर्दै मनको उत्तर फर्काउँछु म ।

जुँगाको रेखी बसेको एउटा युवकले बोकालाई छप्काउन खोज्यो । खुकुरी गर्धनमा परेन, पर्‍यो खुट्टामा । बेस्सरी करायो बोका ।

‘ए खानका काल, देवीले बोकाको खुट्टाको रगत खाँदिनन् । गर्धनकै रगत चाहिन्छ !’

झ्वाँक्कियो कन्पारा फुलेको छेवैको मान्छे ।

ऊ अब भगवान्लाई चढाउने गर्धन छिनाल्न लागिपर्छ । एक पटक, दुई पटक, तीन पटक । उफ् ……बल्ल चार पटकमा छिनालिन्छ बोका । यसबीचमा बोका कराएको र हल्लीखल्ली मच्चिँदा वातावरणमा उत्तेजना फैलिन्छ बेस्सरी । हारजितको प्रतिक्रिया हरेकको ओठमा झुन्डिएको देख्छु ।

एकै छप्काइमा बोका नछिनेको वेदनामा तन्नेरीको अनुहारमा आएको प्रहारको तूफान देखेर धेरै वृद्धका छातीमा कम्प छुटेको हुनुपर्छ । म त हिंसाको ठूलो हुण्डरी आएको अनुभूतिमा परेँ त्यस घडी । छ्याक्छ्याक् भएको गर्धनबाट रगतको मुस्लो पनि बग्यो छरिएर मूल फुटेको बगरजस्तो ।

गन्जागोल थपिएको छ पटाङ्गिनीमा ।

रगत सुक्ने र थप्नेक्रम निरन्तर छ । पटकपटक रगतका छिर्का थपिन्छन् । स-साना खोल्सी भएर आफ्नो नयाँ रूप बनाएको देखिरहेको छु म यहाँ । नदी बन्छन्, सुक्छन् र फेरि अनौठो रूपमा यो दलदलले आकाश निर्माण गर्छ ।

सानो कालो पाठीलाई पछाडि दुई खुट्टा समाएर बसेको वृद्धले भन्या–‘ए केटा, पाठीलाई पर्सी-पर्सी !’

खुकुरी समाएकै केटाले कचौराको पानीले पाठीलाई छर्कियो । पाठी त मौन । कहिले कहिलेदेखि होस गुमाइसकेको छ उसले । गर्धन तन्काएर बसिरह्यो ।

‘ए केटा, पाठी चल्मलाइन त । मार नहान् । भगवान्ले नै नमानेजस्तो छ !’

उनीहरू खुकुरी दापमा राखेर चुरोट खान थाले ।

मसँग आज रगतको हिसाबकिताब मात्र पो भो’ त ! आधादिन चैँ रगते आहालको किनारले दिएको तस्बिरले मेरो मन भरिए टम्म । कान त्यसैले भरियो । आँखा त्यसैले छोपिए । मनभरि यी रगतका गीत, सङ्गीत र स्वरमा थल्लिएँ म ।

मेरो छेउमा एउटा जखमले गनाउने बोको ठीक पारिएको रहेछ छिनाल्न । म पर-परका हाँस, कुखुरा, पाडामा आँखा फालिरहेथेँ । छेवैको रगत लीलामा बेखबर रहेछु म त ।

‘लौ बाबु, बोका पर्सी-पर्सी !’

सानो केटाले पानीले छ्याप्यो । बोकाले आङ हल्लाएर पानी फाल्यो, गर्धन हल्लाएर जीउ चलायो र कान हल्लाएर पट्पट् पार्‍यो ।

‘लौ, भगवान् माने । अब खुकुरी चला !’

चलि त गो खुँडा, बोकाका गर्धनमा ।

मैले हेरिरहेँ, रगतका अरू धेरै सिर्का खसे । थोपा-थोपामा जीवन थियो । संसारले बोकेको जीवन थियो । यो संसारमा सबै खालका चरित्र थिए तर अब थोपा भएर सुक्छ कट्कटिँदो, कक्रिँदो र रातो टाटो !

गर्धन तन्काएर बसेका बोकाका लाम छन् । उठेका छन् खुँडा । तरबार हावामा टल्केर भुइँतिर बज्रिन तम्तयार छन् ।

घ्वाप्प ! छ्वाक्क !! यत्ति दुई आवाजमा बोका, पाडा वा कुखुराका गर्धन छिनालिन्छन् ।

रगत बग्दा त आवाज नहुने-बगिसकेपछि पो होहल्ला । संसार यही प्रतिक्रिया दिन बसेको छ । गर्धनमा तरबार पुगिसकेर आउने आवाजपछि नै बोल्दोरहेछ संसार ।

धेरै बेरदेखि तरबार छेउमै रहेँ म ।

खुँडा र चुलेँसीका धार हेरीहेरी बसेँ । खुकुरीका सेता चम्चमाइ र रगतले लत्पतिएका धार छेउमा रहेँ । सङ्ख्या गन्न थालेपछि गुण बिर्सिंदो रहेछ । रगते आहालमै थिएँ । हेर्न र तरङ्गित भइभई कतिन्जेल समय फर्काउन सकिन्छ र ?

भगवान्लाई बलि चढाइएको थियो । पशुलाई मार हानिएको थियो । देउतालाई भोग दिइएको थियो ।

यी सबै प्रमाण मेरै अघि भएथ्यो ।

साक्षी थियो रगते आहाल !

मैले आँखा खोल्दै, बन्द गर्दै सबै कुरा हेरिरहेँ । हरेक तरबार चलाइ हेरेँ । खुँडा उठाइ हेरेँ । खुकुरी हनाइ हेरेँ ।

निकै अघिदेखि अनेक कौतुक अनुहारमा एउटा खैरो रङको विदेशी जताततै तस्बिर खिचिरहेको देखिरा’छु म । ऊ हतास छ, व्यग्र छ । कताकताबाट आइपुग्यो मेरो छेउमा ।

रगतको ठूलो खोलो यहीँ भएकैले यता तानिएको हुनुपर्छ ऊ । फटाफट क्यामेरा चलाएर एकछिन मौन बस्यो ।

तीनचार पातमा रगतका थोपा चढाइरहेको एउटा बूढोतिर फर्केर विदेशीले सोध्यो- ‘यो के गरेको ?’

बोकाको रगते छिटाले मुख पोतिएको युवकले मुख खोल्यो ।

‘धर्म गरेको !’

‘पाप चैँ के त ?’ विदेशीले क्यामेरा तेस्र्याएर सोध्यो ।

सोध्नेले सोधेका कुरा सुन्ने मान्छे फेरि अर्को बोकालाई छिनाल्न उठाइरहेथ्यो खुँडा । म गुनिरहेथेँ उसका कुरा । प्रश्न गर्ने बाटो लागिसकेथ्यो ।

मन्दिरछेउ थामिएनन् खुकुरी !

मधुपर्क जेठ, २०६९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *