त्यसो त उपन्यासकार रमेश उप्रेतीले २०६८ चैतको दोस्रो सातामा आएर ‘बहुलानन्द’ नामक उपन्यास प्रकाशनमा ल्याएका हुन् तर बहुलानन्द सार्वजिनिक गर्नुसँगै उनले पाहुनाहरूको हातमा आफ्ना अन्य तीन उपन्यासहरूसमेत थमाए । ‘आधुनिक बुद्ध र यसोधरा विखण्डित’ ‘चेतनाहरूको एउटा आन्दोलन’ र ‘प्रियाको वर्तमान’ शीर्षकीय तीन उपन्यास प्रकाशन गरिसक्दा समेत त्यति विघ्न प्रचार र चर्चामा नआएका उपन्यासकार उप्रेतीको चौथो उपन्यास बहुलानन्द सार्वजनिकीकरण क्रममा धेरैले स्वीकारे यहाँ लेखेर मात्रै नहुँदो रहेछ ।

लेखन साधना हो कि सौख ? अथवा व्यापार -कारोवार हो कि स्वान्त -सुखायको बाटो ? यस्ता प्रश्नहरूको सूची बनाएर उत्तर खोज्ने हो भने अनेकन् टिप्पणी पाउन सकिन्छ तर उपन्यासकार उप्रेतीले भने आफ्ना चार/चार उपन्यास प्रकाशन वावजुद उनका क्रियाकलाप, सोच, शैली र विचार हेर्दा साधनाको सत्प्रयासमै उन्मुख भइरहेको प्रमाणित हुन्छ । खासगरी उपन्यासकार उप्रेती जागिरे क्रममा पशुपति क्षेत्र विकास कोषमा कार्यरत भएको थाहा लागेपछि त झन् उनी धर्म, दर्शन र संस्कृतिका सिद्धान्त बमोजिम लेखन जस्तै जीवनशैलीमा प्रतिवद्ध भएको कुरामा शङ्का देखिँदैन । यसै दृष्टिले विवेचना गर्ने हो भने बहुलानन्द उपन्यासकार उप्रेतीको पाशुपत क्षेत्रकै भोगाइ, सोचाइ र देखाइकै त्रिकोणमा संरचित भएको हो भन्नैपर्छ ।

आमनागरिक जो भौतिक सुखसुविधा, प्राप्ति-अप्राप्ति नाफा-घाटा आदि इत्यादिको तुलोमा जसरी जोखिन तयार हुन्छ, त्यो भन्दा पृथक् साधुसन्त र महन्थहरू लिनभन्दा दिनमा नै रमाउने विम्बलाई हरेक कोणबाट बहुलानन्दमा प्रष्ट्याइएको छ किञ्चित लोभ, मोह, लालसा र आत्मकेन्दि्रत सञ्जालहरूभन्दा परको आध्यात्म संसारको उहापोहलाई केलाइएको छ । बहुलानन्दलाई केन्द्रीय पात्र बनाएर ।

राजनीतिक बेइमानी फटाइँ तुच्छ स्वार्थी प्रवृत्ति एवम् विकारको चिरफार उपन्यासको अर्को सुन्दर पाटो हो राजनीतिभित्र प्रजातन्त्र वा लोकतन्त्रको खोल ओढेर घ्यू खाने प्रचलनमाथि सटिक डाँट-फाट्कार गर्न उपन्यासकार चुकेका छैनन् । साम्प्रदायिक मतभेद र मनभेद औसत नागरिकहरूका दैन्दनीय, धार्मिक विधिविधानका विसङ्गत परिवेश अनुष्ठान एवम् अनुकम्पाका नाममा गरिने कृत्रिम क्रियाकर्म लगायत सूक्ष्मभन्दा सूक्ष्म घटनाक्रमका औपचारिक संरचनामा उपन्यासकार उप्रेतीले बहुलानन्दको चरित्रमा संसार खोतल्ने प्रयास गरेका छन् । वास्तवमा नै एउटा उपन्यासकारका अर्थले मात्र नभएर

नैतिकवान नागरिक एवम् आदर्श राष्ट्रसेवकका दृष्टिले समेत उनको यो सत्प्रयासलाई सराहना गर्नेपर्छ । अरूणा उप्रेती पाठकद्वारा प्रकाशित यस उपन्यासको मूल्य १५० मात्र राखिएको छ । सान्दर्भिक र सुन्दर आवरणको संयोजन सञ्चारकर्मी दिलभूषण पाठकले गरेका छन् ।

मधुपर्क जेठ, २०६९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *