Skip to content

मुसाको अन्तिम हाँसो


नदीमा बिध्वंसी उफान आउँदा वरिपरिको सबथोक बढारेर लैजान्छ । शक्तिशाली भूकम्पले सारा जग हल्लाइदिन्छ । बिपत्ती चुपचाप आउला तर एक्लै आउँदैन । त्यस्तै भयो त्यहाँ पनि ।

सुडानमा मच्चिएको उत्पात र भाँडभैलोले निम्त्याएको बिकराल भोकमरीले उसको देशलाई पनि छोडेन । हुन त उसको देशले पश्चिमी छेउबाट छुस्स छोएकोसम्म हो सुडानलाई भौगोलिक मापनको हिसाबले । तर सँगैका अरु छिमेकी (इथियोपिया, जीवुटी) पनि उस्तै पछौटे मुलुक न परे उसोर गरिबीको मार उसको देशले पनि उतिकै खेप्नुपर्यो । खेपिरहेकै छ ।

सुडान, इथियोपिया र जबुटी बीचको एक गरिब देश एरित्रेयामा ऊ जन्मेको थियो आजभन्दा ४१ वर्ष पहिले । जहाँ जुन माटोमा उसले पहिलो पाइला टेक्यो त्यसलाई आफ्नो देश भनेर चिन्यो र त्यहीँको एक अति बिपन्न गाउँ ‘ढुँकार’को एक स्याउले झुप्रोलाई उसले जीवनमा पहिलोपटक आफ्नो घर भनेर चिन्यो र मान्यो । ६ भाइबहिनी, एक बाउ-२ आमा, दुई हजुरबाउ-हजुरआमा गरी जम्मा ११ जानाको परिवारमा ऊ जेठो सन्तान थियो । गरिबी कस्तो थियो, कैयन छाक पानी र सातुले टारेको उसको सम्झना ताजै छ । अलिअलि भएको सामल घरका असक्त र चिचिलाको पेटमा पहिले पुर्याउनुपर्ने मानवीय सम्वेदना र जिम्मेवारीको मारमा बाउआमासँग बीचमा ऊ सग्लो र हट्टाकट्टा मानिएको छोरा धेरै छाक दुई मुट्ठी सातु र पानीले आन्द्रा भरेर बाँकीका पेटमा रोटी र माछाका टुक्रा पुर्याउने गर्थे सकेसम्म ।

जिन्दगी हो जसरी पनि चल्दोरहेछ भन्छ ऊ । जिन्दगीमा कहिल्यै नरम गद्दामा सुत्ने सपना देखेन उसले । टकल्ल टल्कने जुत्ता मैले ज्यादै नजिकबाट देखेको केही वर्ष पहिले मात्रै हो भन्छ । आफ्नो बाल्यकाल सम्झँदा निकैबेर टोलाउँछ एउटा झरिलो ड्याफ्फोडिलको झुप्पा हातमा खेलाउँदै । खानेकुराभन्दा पनि पिउने पानीको सारो चिन्ता हुन्थ्यो, मुखतिर भत्किसकेको थोत्रो बाल्टीमा निकै पर पुगेर पानी ल्याउनुपर्थ्यो । त्यो पनि छल्किएर असाध्यै थोरै पानी घर आइपुग्थ्यो, यसो भनिरहँदा उसका चम्किला आँखा रसिला हुन्छन् ।

मैले अघिनै बनाएर दिएको कालो ‘साय’ (चियालाई साय भन्छ उसले) हातमै सेलाइसक्यो ऊ बेखबर देखिन्छ सायप्रति । उसको कामको मालिक जेबिक च्याँट्ठिन्छ छिटो साय पिएर काममा लाग्न । ऊ नसुनेजस्तो गरी अटेर बसिरहन्छ । निकै थाकेको छ । कालो रङ्गको टिशर्ट मैलोले खैरो देखिन्थ्यो । तर यतिबेला फेरि कालो कालै देखिएको छ पसिनाले निथ्रुक्क भिजेर । गर्मीमा मोही पिए जस्तो घट्घटी चिसो भइसकेको साय पिउँछ र फेरि फर्किन्छ आफ्नै वालवयमै । अलिअलि बुझ्ने भएदेखि कताकताबाट उसले बिकसित देशका भव्यता र सभ्यताबारे सुन्न थाल्यो । उसलाई कहिले ती सपनाका लोकमा पुगेर रंगिन पखेटा फर्फराउँदै भुर्भुर उड्नु जस्तो लाग्थ्यो ।

कहिलेकाहीं आमा खातुना भन्ने गर्थिन्,”के गर्छस् रहर गरेर ? यस्तै गरिब देशमा यस्तै बिपन्न परिवारमा जन्मिस् । धन र सुखको सपना देखेर के गर्छस् त्यो सबै तेरो हाम्रो तक्दिरमा लेखेकै छैन ।”

उसलाई गरिब परिवारमा जन्मेकोमा कहिल्यै गुनासो भएन । आफू धनी परिवारमा जन्मिन पाएको भए !भन्दा मेरा परिवार धनी भइदिएको भए ! भन्ने चाहिँ लाग्थ्यो रे बरु । तर गरिब देशमा जन्मिएकोमा उसलाई निक्कै निक्कै दु:ख लाग्थ्यो रे । यो गरिब अफ्रिकामाभन्दा, यो गरिब एरित्रेयामाभन्दा अमेरिका युरोपतिर जन्मिन पाएको भए ! भनेर कल्पिंदा थोत्रो बाल्टीको पानी छचल्किएर पोखिसकेको पत्तै हुँदैनथ्यो रे । कतिपटक म भागेर जान्छु भन्दै घुर्क्याउँदा उसका बा हकार्थे रे,”यही तेरो देश हो । अर्काको देशमा गएर भतुवा हुने रहर गर्छस् !”

यस्तो बिपन्न अनिकाले देश हुनु र नहुनुमा के फरक छ र भन्ने लाग्थ्यो रे उसलाई ।

==========

ओहो ! निकै समय घर्किसकेछ । मालिक जेबिकले खानै लाग्यो अब त कराएर । ऊ साय सकिएको रित्तो ग्लास फूलको बोटमुनी राखेर काम गर्न थाल्यो । कतिबेला गार्डेनरहरू फर्केछन् काम सकेर । ऊ पनि गार्डनमा झार उखेल्ने काम गर्छ । उसको कथा सकिएको छैन । मैले अर्को दुई हप्ता पर्खिनुपर्छ उसको बाँकी कथा जान्न ।

संसार नै द्वन्दमा फसेको छ । दुनियाँभर हाहाकार फैलिएको छ । अनेक कारण र बहनामा मान्छे संसारको एक कुनाबाट अनेक कुनामा फैलिने क्रम द्रुत छ । वास्तवमै यो समय भनेको डायस्पोरिक समय हो । पहिचान बन्ने, मेटिने, मिसिने र खोजिगर्ने काम एकैसाथ भद्रगोल चलिरहेको यो एक अचम्मको गज्याङ्गुजुङ युग हो । यस्तै डायस्पोरिक धुक्धुकी बाँच्ने यो सिङ्गो संसारको एक सानो अँश हो ऊ । यो दुई हप्ता बीचमा मैले अन्य धेरै काम गरिसकेँ । केही निबन्ध, कविता र गजल कोरिसकेँ । अब केवल एउटै लेख अधुरो छ । मलाई छिट्टै नै यो अधुरो लेख पुरा गर्नुछ ।

=======

“गूड् मर्निङ्ग !”

जेबिक होइन खेजी (गार्डेनरहरूको नाइके) आएछ । शायद गार्डनमा काम धेरै होला । कामको बेसी चाप हुँदा खेजी आउँछ कामदारहरूलाई चिच्याई-चिच्याई काममा जोत्न । गुट मर्निङ ! एरित्रियनको आवाजले म खुशी भएँ । सबै आफ्ना काममा लागे, म आफ्नै काममा लागेँ । घाम जतिनै चर्के पनि यिनिहरू तातो कफी चिया पिउन छोड्दैनन् । उसले आज पनि कफी होइन साय नै पिउँछु भन्यो । त्यही सायको ब्रेक टाइममा गफिने मौका म चुकाउन्न सकेसम्म ।

“अनि तिमी कसरी एरित्रेयाबाट यहाँ आयौ त ?” मैले प्रश्नको बहानामा कुरा सुरु गरेँ ।

“तिमी पत्रकार हो ?” आँखा खुम्च्याउँदै सोध्यो ।

म कुनै पत्रकार होइन । वास्तवमा म पनि एक गरिब देशको गरिब नागरिक हुँ । यसैकारण मलाई दुनियाँका गरिबहरूकै यथार्थबारे दिलचस्पी छ । मैले यति भनेपछि ऊ सायको सुर्कोसँगै हराउन पुग्यो उही बिपन्न अतितमा । जति नै प्रश्न गरे पनि उसले आफ्नो शैक्षिक योग्यता बताउन चाहेन । खोइ किन हो ! मैले पनि उस्तो कर गरिन । अँग्रेजी असाध्यै थोरै शब्द मात्र बुझ्छ र त्यसको अति न्यून अंश बोल्छ ।

“मिठो खाने राम्रो लाउने रहर कस्लाई हुन्न र ? त्यस्तै रहरले आज म यहाँ छु । मेरो आफ्नो भन्ने देशले मिठो त के नमिठो पनि भरपेट कहिल्यै दिएन । कमसेकम आज पराईको माटोले मलाई यति त दिएको छ कि मेरी अवेली (उसकी स्वास्नी)ले केही राम्रा लगाउन पाएकी छे । मेरा बच्चाहरूले भरपेट खान पाएकाछन् । यसैमा मन बुझानु पर्यो नि । अब भेट त खोइ कहिले होला कि नहोला अवेलीसँग ।”

यतिभन्दा उसका काला खोपिल्टा आँखा टिल्पिलाए आँशुको उफानसङै । दुनियाँ जति विभेद र कर्कसले भरिएको भए पनि प्रकृतिले दिएको आँसुमा कहीँ कुनै भेद छैन । उसका आँखा अहिले उसै गरी रसाएका छन् जसरी म रुन्छु या त अर्को कोही । हाँसोमा भिन्नता होला, खुशीमा उन्मादमा फरकपन भेटिएला तर आँसु र बियोगमा केही फरक नहुने रहेछ । पीडाको ज्वालाले सबैलाई उस्तै समान पोल्दो रहेछ । यतिबेला उसको आँसुसँग मैले आफ्नै परिवार र सन्तान सम्झेँ । उसका आँसुमा मैले आफ्नै बिछोड र दूरी नाप्न चाहेँ ।

बढ्दी जिम्मेवारी र चरम अभावको भार थेग्न नसक्दा ढुँकार गाउँका थुप्रै लोग्नेमान्छे झुण्डका झुण्ड दश दिशातिर भासिने क्रममा उसले पनि एक बिहान ढुँकार छोड्यो, उसको स्याउले झुपडी छोड्यो । उसले आफ्नो भन्नु माटो र देश छोड्यो प्यारी अवेलीको पोल्टामा ५ लालाबाला र तीन बाउआमा अनि पार गर्यो एरित्रेयाको बोर्डर र टेक्यो इजिप्टको सिन्हाइ । २३ जनाको झुण्ड सिन्हाइ पुग्दा १५मा झरेको थियो रे । खोइ कहाँ र कसरी साथीहरू छुटे या कतै अल्मलिए उसलाई थाहै भएन रे । केही महिना सिन्हाइको बगरमा भौँतारिएपछि उसको झुण्ड कसोकसो सफल भयो इजरायलभित्र छिर्न त्यो पनि मरुभूमि इलाकामा रहने वेदुइमहरूलाई खल्तीमा भए जति नगद बुझाएपछि सन् २००८मा । त्यसपछि पनि कम्ती सास्ती भोगेन उसले । इजरायली सरकारको शरणार्थी र भगौडाबारे पटकपटक फेरिने रणनीतिसँग लुक्दै भाग्दै र छेलिँदै गर्दा कतिकति रात पार्कको कुनामा बितायो उसले । तर खान भने भोकै रहनुपरेन रे । इजरायलीहरूले डस्ट्बिनमा फालेकै खाएर पनि पेट भने भरियो । सुरुका दिनमाभन्दा उसको मुहारमा कुनै ग्लानि या बिस्मात झल्केको थिएन । त्यही सालको जाडोमा ढुँकार देखिनैसँगै आएको एक साथी जाडोले कक्रिएर बिहान पार्कको कुनामा लडिरहेको र त्यसपछि कहिल्यै नउठेको हृदय बिदारक घटना सम्झिएर भने उसका आँखा निकैबेर रसाइरहे ।

===================

यतिन्जेल उसको सायको ग्लास सुकेर कट्कटिसकेको छ । सँगैको आइसवाटरले ओठ भिजाएपछि अनुहार केही उज्यालो पार्छ । तर मनमा भने बिषादको अँध्यारो ब्याप्तै छ अँझै पनि । निकै पछि कसोकसो गरी यु एनको पहल र इजरायली सामाजिक हितका संस्थाहरूको पहलमा शरणार्थीको लाममा उभिएर दर्ता हुने सौभाग्य मिलेपछि भने लुक्नु भाग्नु या इमिग्रेशनका प्रहरीको भ्यानमा कोचिनु नपरेको खुशी सुनाउँदा उसको निखुर कालो अनुहार बीचको सेतो दाँत झनै बेसी चम्केको भान हुन्छ । उसका अनुसार प्रत्येक ३, ३ महिनामा उक्त दर्तालाई नविकरण गरिरहनुपर्छ रे । त्यो बीचमा कसैको भनसुन र पहलमा कतै काम पाए गर्यो । त्यसबाट आफू खायो, बचेँको पैसा घर पठायो । त्यो पनि सजिलो छैन तर जसोतसो गर्नुपर्छ । शरणार्थीमा दर्ज भइसकेपछि त्यसको छिनोफानो नहुन्जेल फर्केर आफ्नो देश जान मिल्दैन । त्यो छिनोफानो हुने कहिले हो त्यो पनि थाहा छैन । घर जान नपाएको र जान कहिले पाउने त्यस्को टुङ्गो नभए पनि यति बेला अवेलीका नाङ्गा खुट्टालाई ढुँकार गाउँको ढुँगाले दर्फर्याउँदैन । शायद पानी ओसार्ने बाल्टी पनि नयाँ नै किनेकी होली । छोराछोरीहरूले माछाका टुक्रासँग भरपेट रोटी र कहिलेकाहीँ भेडाको मासु पनि खाँदा हुन् । यो बीचमा सौतेनी आमा र बाउ मरिसके । तर उसकी बुढी आमाको पेट खाली नहुँदो हो ।

“तिमीलाई इजरायल मन पर्छ ? तिमी मुस्लिम अनि इजरायल यहुदी देश । तिमीलाई कस्तो लाग्छ ?”

तुरुन्तै जवाफ दियो,”इस्रैल बेरी गुट !”

उसको अनुसार इजरायली सामाजिक संस्थाले खाना लत्ताकपडा दिन्छ रे । त्यसबाट आफ्नो दैनिक खर्चमा निकै कटौती हुन्छ । काम पायो भने घण्टाको १८ या २० सेकेल पाइन्छ । यहाँ त खानेकुरा निकै सस्तो हुन्छ त्यसोर कमाएको पैसा बचाउन सजिलो छ । तैपनि काम गर्न सजिलो त हुन्न । राम्रो कुरा के हो भने काम गरेबापत इजरायलीले एक पैसा पनि ठग्दैनन् । सबै दिन्छन् । परिवारसँग अब भेट कहिले हुने हो थाहा छैन । तर परिवारको भरपेट र खुशीसँगै बस्दैमा कहाँ पाइन्छ त ? उस्को तर्क गलत होइन । आखिर यसरी परिवारको पेट भर्न कै खातिर दश दिशामा भासिने आज अरबौँ मान्छे होलान् । केही पाउन केही गुमाउनु त पर्छ नै यो कुरा उसले पनि राम्रो बुझेको छ । उसका कुरा सुनिरहँदा पढेलेखेको जस्तो लाग्छ उसका तर्क र विचारले ।

“तिमीलाई इजरायल यति धेरै मन परेको भए किन आफ्न सन्तानलाई यतै बोलाउँदैनौ त ?”

उसको अनुहार केही बेर खुम्चियो ।

“म त बाध्यताले भगौडा भएँ । मेरो देशमै यतिको काम र अवसर भएको भए किन अर्काकोमा आउनु ?”

उसको विचार यस्तै थियो । अनिश्चित गन्तव्य पर्खेर उसले जे गरिराखेको छ त्यसको उद्देश्य सन्तानको पेट भर्नु त हुँदै हो भोलि उसले जस्तै सन्तानले पनि भगौडा जीवन बाँच्न नपरोस् भन्ने कामना पनि हो । भूगोलमा आफ्नो देश हुनुको महत्व संसारका हरेक सचेत मान्छेलाई हुने रहेछ । उसको सोचाइ पनि त्यस्तै नै रहेछ ।

============

असाध्यै मैला लुगा लगाए पनि फाटेका भने छैनन् । भन्छ इजरायलीले फालेका लगाएरै पनि फाटेका भने लगाउनुपरेको छैन । थाहा छैन कहिलेसम्म यो शरणार्थी जीवन बाँच्नुपर्ने हो, लामो सुस्केरा हाल्दै जुरुक्क उठ्यो र बाँकीको काम गर्न थाल्यो । उसले फुलेका फूल बाहेक बिरुवा फूल कुनै चिन्दैन । त्यसैले काम गर्दा धेरै बिरुवा उखेलेर गाली निकै खाँदो रहेछ । म सुन्छु हप्की खाए पनि बार बार “सरी ! सरी !” भन्न छोड्दैन ।

काम सकिएछ सबै गार्डेनर हिँड्न लागेछन् । म चिया-कफीका कप टिप्न गएँ । उसले धन्यवाद दियो ।

हतारोमा सोधेँ – “तिम्रो नाम चाहिँ के हो नि ? माइकल नै हो ?”

फिस्स हाँस्यो ।

“मेरो असली नाम त मुसा हो । तर यहाँ सबैले माइकल भन्छन् । आज हतारो छ मलाई काम नै गर्न मन छैन । दुई महिना भयो घरमा पैसा पठाएको छैन । अवेली रिसाउँछे अब । आज छिट्टै गएर अलिकति पैसा जसरी पनि पठाउनुछ ।”

घर र अवेलीको नाम लिँदा उसको अनुहार झरीपछिको आकाश जस्तो छ्याङ्ग लाग्थ्यो । हाँस्दै ‘साय’को लागि धन्यवाद ! भनेर बाटो लाग्यो अरु सङ्गै एउटा थोत्रो जीपमा कोचिएर ।

===========

झन्डै दुई अढाइ महिना गार्डनर आएनन् । फूल बिरुवा बढेर गार्डन गार्डन कम, घाँसे मैदान बेसी लाग्न थालेको एक बिहान गेट खुट्रुक्क गर्यो । आएछन् । जेबिक, खेजी, एमाल सबै आएछन् । माइकल उर्फ मुसा आएन ।

‘आज माइकल आएन ?”

जेबिकले न्याउरो जवाफ दियो – “माइकल त अस्ति यहीँ काम गरेको दिन पैसा पठाउन भनेर जाँदैगर्दा उसकै साथीहरूले होला शायद पैसा लुटिदिएछन् । त्यही निहुमा झगडा पर्दा बोतल हानाहान भएपछि अरु दुइजना घाइते भएछन्, हस्पिटल लैजादैगर्दा माइकल चाहिँ बाटैमा मरेछ नि !”

मेरो मन भाउन्न भएर आयो । परिवारको पेट पाल्ने, खुशी देख्ने र भोलि सन्तानले आफू जस्तै देश छोडेर भासिन नपरोस् भनेर कामना गर्ने एक प्रतिनिधि गरिब पात्र, अफ्रिकी मुलको त्यो बिपन्न अधबैँसे मुसा अनजान माटोमा आफ्नै साथीहरूको हातबाट मारियो !

उता पैसा पर्खेर बसेकी अवेलीको साथ त अब कहिले भरिने छैन नै हात पनि सदासदाको लागि रित्तो रह्यो ।

अनेक कोणबाट मुसामा मैले आफैलाई पाएँ । ठिक म जस्तै एक गरिब परदेशी मुसाको अन्तिम हाँसो र अवेलीको नाम मेरो मानसपटलभरि उद्देलित नाचिरह्यो नाचिरह्यो । एक नमेटिने दृष्य बनेर ।

दीप्स शाह

3 thoughts on “मुसाको अन्तिम हाँसो”

  1. साह्रै मार्मिक कथा !
    नेपाली साहित्यफाँटमा बिभिन्न धरातलीय रचनाहरू देखा पर्न थालेका छन् । डायस्पोरिक साहित्यको अर्को सकारात्मक पक्ष मान्नुपर्छ । मार्मिक कथाको लागि धन्यवाद छ ।

  2. बिचरा माइकल यानेकी मुसा
    बिचरा माइकल यानेकी मुसा साच्चै मारिएकै हो त ? धन्यवाद दिप्स जी मार्मिक हिर्दय बिदारक कथा को लागि /

  3. Interesting
    साह्रै रोचक लाग्यो । एउटा अर्थ बुझिएन= नदीमा बिध्वंसी उफान आउँदा वरिपरीको सबथोक बढारेर लैजान्छ …. yo तुफान होकी उफान नै हो?
    शुक्लपक्ष

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *