मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र प्रभावका लागि मान्छेलाई तुच्छ भुसुना सरी मान्नेको जमात ठूलो रहेको छ । समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय जीवनमा अस्तित्वपरक चुनौतीको थुप्रो रहेकाले छोटा एवं अल्प संन्तुष्टिको क्षणले बहुसङ्ख्यकलाई अकथनीय आनन्द प्रदान गर्न सक्दछ समाजमा । संसदवाद, माओवाद, समन्वयवादको अभिलक्षण र त्रिअङ्गी वैचारिक द्वन्द्व तथा अभिघातका संवेगले नेपाली राजनीतिक व्यवस्था एवं वैधानिक अन्तरविकास प्रभावित भइरहेको समयमा आधुनिकतावादी प्रवृत्तिले मानवीयकरण नियाल्ने स्रष्टाको जीवनदर्शन सराहनीय हुन्छ । गीता कार्कीले आधुनिक नेपाली कविता विधाको उन्नयनमा सापेक्षतया ऊर्जा थप्दै आएको देखिन्छ । पचासोत्तर र गणतान्त्रिक कालखण्डमा समसामयिक धाराको नेपाली कविता विधाकी सुकिली कवयित्री हुन् – गीता ।

“मलाई अँध्यारो नै चाहिन्छ (२०६२) तथा सालका ठुटा र एक टुक्रा घाम (२०६६)” जस्ता यिनका कविताकृति एवं विविध रचनाले जीवनजगतको मानवीय समस्या र साझा चुनौतीलाई समष्टिचेत ढङ्गमा रूपायित गर्न सकेको भेटिन्छ । थोरै लेखे पनि सर्जकले आफूलाई साहित्यिक संसारमा राम्ररी चिनाउन सकेकी छन् र यसबाट यिनको पृथक बौद्धिकताको गुणवत्ता प्रष्टिन्छ ।

कविता सँगालाको प्रारम्भिक विस्तारणमा ‘बेड नं. ६०७’ मा डरलाग्दो मेनिन्जाइटिसले थलिएर आफू टिचिङ हस्पिटलमा बस्दाका कटुमधु याथार्थिक समानुभूति छन् । सहचरी र सहचरका रूपमा जीवनसाथीलाई सडकको अलकत्रा र भुमरीमा अलमलिएको धुलाको विम्बप्रतीकको प्रस्तुतिलाई टिपिएको छ तथा यसमा प्रत्येक मान्छेको बेग्लाबेग्लै पारस्परिक जीवनसत्ता हुने सन्दर्भको प्रतिध्वनि छ । ‘नादहरूको रङ’ मा क्यानभासको चौघेरामा सारगर्भित मानवीय जीवनको विडम्बना र विविधतालाई छामिएको पाइन्छ । ‘जिजीविषाका ध्वनिहरू’मा जीवनलाई भुइँकुहिरो र आरूको फूलका रूपमा अन्तर्मनको आलापलाई विश्लेषण गरिएको छ । अर्थानेक रूपमा उद्घाटित जीवनपरक बहुदृष्टिको व्याख्या र गम्भीरता छ यहाँ । ‘बिहानीको प्रथम भेट’ मा आफ्ना प्रिय र आत्मीयलाई आँसु र कलमको प्रभातकालीन उपहार टक्र्याउने सदिच्छा समाहित छ । प्रणयपक्षीय सुकोमलता, प्रकृतिप्रेम र स्वच्छन्दतासूचक संवेगको औचित्य रचनामा पुष्पित देखिन्छ । ‘जन्मोत्सव र सालका ठुटामा पुनर्जीवित अस्तित्व’ मा आफ्नो जन्मदिनमा पहिल्याएको जीवनको नश्वरता र ठुटामा अङ्कुरित पर्णपुञ्जपरक लालित्यको बान्की सञ्चित छ । घटिरहेको अस्तित्वसत्तामा जीवनको प्रतिविम्बलाई मान्छे पुनः भोग्न र दोहोराउन चाहन्छ । त्यसको अनुशीलनयोग्य चाक्षुष विम्बात्मकता छ यस कवितामा ।

यसैगरी ‘वर्तमानको अवसानसँगै’ मा समयचक्रको परिवर्तनले प्रदान गर्ने आगतको झाँकी छ । अनन्त कोपिलाले नयाँ दिनको माध्यमले इतिहासको खाटोलाई पुर्न खोज्दछ । ‘अक्षरहरूको सङ्ग्राममा विजयधुनहरू’ मा शब्द, पद, वाक्य र कवितासित खेलाँची गर्ने कलमकर्मी सङ्क्रमणकालीन राजनीतिको दुर्दशाले अत्यधिक चिन्तित रहेको ब्यहोरा छ । ‘मान्छभित्रका मान्छेहरू’ मा सामाजिक वृत्तको सहबन्धन र आदर्शको चुलीको स्पर्शनको तीव्र व्यग्रता देखाइएको छ । जतिसुकै ध्रुवीकृत र विभाजित भए पनि परिचयको घेरामा मधुरता, उदारता र कमनीयताको प्रकाश यथावत राखांैँको मनोभाव छ यसमा । ‘समुद्र, लहर र फूलको रङ’ मा सागरले लहर भेट्छ कि लहरले सागर भनी समपूरक आधारशिला र जीवनको द्धिपक्षीय अन्तर्रङमा ध्यान दिइएको छ । जीवनसूचक अन्तरनिर्भरता, परावलम्बन र सानिध्यको विशेष महत्ता हुने कुरा यसमा अभिसूचित छ । ‘भीडहहरूमा एक्लो यात्रा गरिरहेकी नोरा’ मा प्रसिद्ध कृतिकार इब्सेनको ‘डल्स हाउस’ नाटककी प्रमुख पात्राको माध्यमले गत्यात्मक सोच प्रदर्शित छ र नोराको यात्राक्रमले समुदित अवस्थाको वस्तुबोध विश्लेषणीय छ । ‘सालको ठुटा र एक टुक्रा घाम’ को सिर्जनाक्रमका केही अंश यी हुन् –

(अदृश्य शक्तिसित अस्तित्वपरक जिज्ञासा)
बोहोताभरि चढाएर मन्दिरमा
जीवनका उमङ्गहरू
नसोध्नु कहिल्यै ईश्वरलाई
जीवन भुइँकुहिरो कि आरूको फूल
(जिजीविषाका ध्वनिहरू, पृ-२६)

(कतिपय विद्रूपताबीच खराबलाई राम्रो तुल्याउने प्रयास)
जीवनको ऐनामा
अँगार देखिए
ती अँगार मान्छेलाई ब्यूँताउँन
उमार्न खोजिरहेँ मैले
सृष्टिका व्याडहरूमा
मान्छे भित्रका मान्छेहरू
(मान्छेभित्रका मान्छेहरू, पृ-४०)

क्रमान्तरणको ‘आगमन-निर्गमन’ मा दार्शनिक रूपमा मान्छेको जीवनको उदय र विलय सदैव परिभाषेय रहेको जनाइएको छ । कतिपय भोगाइपरक यथार्थ बुझे पनि जीवनको यात्रा यथावत चलिरहने मानवीय इतिहास मुखरित छ कवितामा । विश्वसाम्राज्य, त्रिकाल र त्रिपुर हल्लाउने मानवीय क्षमता र दृष्टिकोण समयक्रमको अन्तर्सङ्घर्षमा खिइएको यथार्थ प्रतिविम्बित छ भावाभिव्यंजनामा । ‘राता रङको साम्राज्य’ मा धान कुट्दै गरेकी साहिँली र खेत खन्दै गरेका साहिँलाजस्ता कतिपय वर्गीय पात्रको यथास्थिति पूर्ववत रहे पनि परिवर्तनको निहितार्थ र निष्कर्ष सिर्जनामा अभिव्यंजित छ । ‘बाढीमा फूलहरू’ मा इराकमा आतङ्कवादीबाट दर्दनाक किसिमले अप्रत्याशित मृत्युवरण गरेका नेपाली स्वबन्धुप्रति समर्पित असीम पीडानुभूति छन् । देश र विदेशको कहीँको खबर ‘हेडलाइन’ बन्ने प्रक्रिया होस् त्यसको अमानवीय त्रासदी र बर्बरता त्याज्य रहेको यथार्थ प्रकटित छ ।

‘धुँवा ः आदिम सत्य’ मा थोरै व्यक्ति र सीमित आँखाहरूले सहर कैद गरेको विषय सर्जकलाई अप्रिय छ । विषाणु छर्ने र विषबृक्ष बन्ने खलनायकलाई जीवनको वैविध्य, आकस्मिकता र निरर्थकताप्रति सचेत गराइएको छ । ‘गन्तव्य हराएका बेला’ मा मान्छेको जीवनमा परिव्याप्त निरीहताको भावपूर्ण चित्रण छ । ‘च्यातिएका कविताका पक्ति’ मा विनष्ट गरिएका कविताको अंशझै जीवनमा समय समयमा दर्शिने अन्तरविरोधलाई स्पष्टसित खुलाइएको छ ।

यस्तै अन्य प्रकरणको ‘अलिखित कथा’ मा संवत् २०६३ को वैशाख २६ गते सुनसरी जिल्लाको झुम्काको चतरानहरूमा विद्यालयीय गाडी पल्टेर कालकवलित कलिला विद्यार्थीप्रति करूणाद्र संवेदना छन् । राज्य, प्रशासन र परिवेशपरक पंगुपन एवं अव्यवस्थाको स्मरण गर्दै कविताको माध्यमले स्वर्गवासीजमातप्रति मार्मिक श्रद्धान्जलि प्रकट गरिएको छ । नेता र राजनीतिले ती अबोध बालबालिकाको इतिहास बिर्सेकोमा कवयित्री अत्यधिक दुःखित छिन् । ‘म सहरको कुरा कसरी गरूँ’ मा महानगरीयवृत्तको आफ्नो कमीकमजोरी भए पनि सहर फूल झरेको नाङ्गो वृक्ष बनेकोमा यिनको खिन्नता बढेको छ । ‘सपनालाई बादलसँगै छोड्नू’ मा भावुक स्वप्नदर्शीलाई चेताउँदै अनावश्यक स्वप्न विचरण बाधक र घातक हुने यथार्थ सम्झाइएको छ । सपना र माकुराको जालोले मान्छेलाई दोसाँधमा पारेकोले प्रत्येक यथार्थवादीलाई विपनाप्रेमी बन्न यिनले सल्लाह दिएको भेटिन्छ । ‘एक बुँद पानी र एक दृष्टि जिन्दगी’ मा जीवनकालमा विमला राना बिरामी छँदाको उपचार प्रविधि र त्यसको हृदयस्पर्शी वृत्तान्त उपलब्ध छ । जीवनरक्षक जलविन्दुको थोपा थोपामा अन्तर्निहित मान्छेको आशा र लाचारी यस कवितामा अभिव्यक्त छ । ‘निलो गंगा’ मा मातृत्वरूपी भागिरथीको छहारीमा फूलको भाषा बोल्ने र सगरझै पोखिने लालसाको शब्दचित्र पाइन्छ । ‘चिहानमाथि चढाउको फूलको सुगन्ध’ मा हेमन्त र वसन्तको ऋतु महिमा गाउने गाथाकारको नैराश्यको प्रस्तुतीकरण छ । प्रगति उन्मुख व्यक्तिको उद्धेलन र दिक्दारीलाई गंभीर एवं विचारणीय ढंगमा सर्जकले यस रचनामा विवेचन गर्न सकेको भेटिन्छ । राजनीतिकदर्शनले माझिएको र शिल्पकलामा ओतप्रोत कविताप्रवाहका केही सुन्दर टुक्रा यस्ता छन्-

(अमानवीय गतिविधिले उजाडिएको बस्ती)
मान्छे ढुङ्गामा अनुदित भएपछि
मान्छे बगरमा रूपान्तरित भएपछि
बस्ती बगर बन्दो रहेछ
(रातो रङको साम्राज्यमा, पृ-५०)

(राज्य, प्रशासन र अव्यवस्थापनप्रति आक्रोश)
उर्लेको बाढीमा विलीन आवाज
न कुनै इतिहासमा लेखिए
न कुनै नेताका भाषण बने
तिनकै आँगनका भित्ताहरूमा
पोतिए अलिखित कथा
र डामिरह्यो तिनैका बाबुआमाको छातीमा
(अलिखित कथा, पृ-६०)

कवितापुञ्जको ‘निर्मला दिदी’ मा डुब्न र भत्किन लागेकालाई सद्भाव र ओत दिने प्रेरक, दयालु, ममतामयी र समाजसेवी यौटी नारीप्रति पोखिएका तरल आस्था छन् । ‘अँध्यारादेखि अँध्यारासम्म’ मा अन्धकारको सघनतामा दृष्टि पुर्‍याउने र खम्बामा बाँधी आफैले आफूलाई गोली ठोक्ने प्रपंचपीडितका माध्यमले विसंगतिको चुडान्तमा ध्यान पुर्‍याइएको छ । ‘अतीतः एउटा वृत्तचित्र’मा वर्तमानलाई शरीर र अतीतलाई छाँया मान्ने भ्रमबाट प्रत्येकले मुक्त हुनु पर्ने एक प्रकारको आहृवान छ कवितामा । वस्तुगत यथार्थलाई नचिन्ही विगतको वैशिष्ट्य बिर्सने मान्छेलाई धेरथोर कठोर व्यङ्ग्य छ यसमा । ‘सीमाहीन गन्तव्य’ मा वस्तुता, जागरूकता र प्रणय सौन्दर्यको संयोजनले वार्तमानिक ‘अन्तर्द्वन्द्वको पारिस्थितिकी’ प्रति दृष्टि पुर्‍याइएको छ । ‘आकाश, फूल र इन्द्रेणी’ मा सुइरो भएर अरूले दुःख दिँदा सबल नायक इन्दे्रणीमा परिणत भएको उत्सर्गको पाटो समन्वित छ । ‘शब्दहीन उच्चारण’ मा साइवरको नेटबाट नियमित विश्वसन्दर्भ बुझ्ने मान्छेले अरूको पीर र मर्का चिन्ने ल्याकत गुमाएकोमा क्षोभ पाइन्छ ।

यसैप्रकार ‘ढोका ः प्रारम्भ’ मा चन्द्रलोकबाट फर्किएका मान्छेको समुन्नतिको उचित पहिचान र शुभारम्भलाई सफल विजेताका रूपमा अर्थ्याइएको छ तथा भविष्यप्रति केन्दि्रत नुतन आशा जाग्रत छ । ‘एक अँगालो घाम’ मा प्रेमिल जोडीमा विविध कारणले समयान्तरमा न्युनीकृत पारस्परिक सौह्रार्दताको आभासितता भेटिन्छ । सहमति, समझदारी र सहभागिता बिना जीवनको आयामिकताको उर्वरता अवरूद्ध हुने दर्शन यसमा छ । ‘गुफाभित्रको आयतन’ मा मातृतुल्य वृद्धालाई बलात्कार गर्ने कुकर्मले बोधिवृक्षमा आगो लागेको सरहको गहन व्यथा देखिन्छ । आदिम गुफाबाट निस्केको मान्छे पुनः त्यही अँध्यारोमा पुगेको निरीहता प्रकटित छ कथनमा । ‘जँघारहरूमा साउती मार्दै’ मा खोलोझै आफू जीवनको दौडमा ठिक रूपमा बग्न नसकेको र अभरमा परेको गुनासो छ सारांशमा । वैयक्तिक इमान्दार अभिव्यक्ति, सहयात्रीसितको संलाप र अतीतावलोकनको उच्चता यस कवितामा पाइन्छ । ‘आकृतिविहीन सपना’ मा उज्यालो र गन्तव्य हराएकाले पुनः बिजुलीको पोलमुनि लक्ष्यप्राप्तिमा संघर्षरतका मनोयथार्थ छन् । ‘स्मृतिविम्ब’मा भावकको हृदयमा उत्कीर्ण विगतको चिरस्मरणीय सुन्दर रूपरेखा छ । सेल्मेट्याम्के, पिखुवा, सिक्तेलदोभान, सेता ढुङ्गा र सल्लाघारी जस्ता स्थानपरक दृश्यविम्ब र तिनको स्मरणले स्वयं आफू प्रकृतिमय बनेको कुरा खुल्दछ । पूर्वकालीन स्मृतिका रेखालाई छताछुल्ल ढङ्गमा पोख्दै अतीतजीवी (नोस्टाल्जिक) का रूपमा जीवनको पुरानो अध्यायलाई स्पर्श गरिएको छ ।

आफूले देखेको, जानेको, घुमेको र ठम्याएको राष्ट्रिय भूक्षेत्र र भू-विविधता (जीओ डाइभर्सिर्टी)को ज्ञात प्राकृतिक विम्बलाई हृदययाकर्षक यथोचित शीर्षक, विम्बसंयोजन, प्रतीकविधान, पद, पदावली एवं सरल शैलीको प्रयोगकलामा एक प्रकारले सर्जकलाई दक्षता प्राप्त रहेको लाग्दछ । शब्दब्रह्म र सहजीकरणलाई आफ्नो शिल्पपूर्ण सिर्जनाले विश्लेषण गर्न र त्यसमा ओज थप्न कवयित्रीमा प्रासङ्गिक उत्कण्ठा देखिन्छ । विश्व मानवजीवनमा संस्कृति, प्रशिक्षण र शिष्टाचार भन्नु विराट निधि र कुरो रहेछ । शिशुलाई शिक्षित र दीक्षित तुल्याई युवा एवं नागरिक दर्जामा पुर्‍याउने अनवरत प्रक्रिया चलेको हुन्छ सामाजिकीकरणमा । अशान्ति, हिंसा, दण्डहीनता, सुरक्षा संयन्त्रको फितलोपन र अराजकताले मातृतुल्य यौटी अतिवृद्धालाई नाति उमेरका एकजना तन्नेरीले बलात्कार गरेको समाचारले नारीसर्जकको मन र मथिङ्गलमा छाएको अकल्पनीय आँधी र वेहरीको मनोदृष्टि विम्बीकृत छ । तसर्थ मूल्य, मान्यता र आदर्शको स्खलन एवं क्षयीकरणले आदिमगुफातिर पुनः प्रवेशोन्मुख मानवीय पाशविकता जनाउन यिनी कम्मर कसेर लागेको देखिन्छ ।

सबैको आ-आफ्ना महत्त्व भए पनि सँगालाका बेड नं. ६०७, नादहरूको रङ, जिजीविषाका ध्वनिहरू, बिहानीको प्रथम भेट, जन्मोत्सव र सालका ठुटामा पुनर्जीवित अस्तित्व, अक्षरहरूको सङ्ग्राममा विजय धुनहरू, मान्छेभित्रका मान्छेहरू, सपनाको सङ्गीत, भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा, आगमन-निर्गमन, रातो रङको साम्राज्यमा, बाढीमा फूलहरू र गन्तव्य हराएका बेला जस्ता रचना विवेच्य छन् ।

यसै लर्कोका अलिखित कथा, म सहरको कुरा कसरी गरूँ, सपनालाई बादलसँगै छोड्नू, नीलो गङ्गा, निर्मला दिदी, अँध्यारादेखि अँध्यारासम्म, सीमाहीन गन्तव्य, शब्दहीन उच्चारण, ढोका ः प्रारम्भ, गुफाभित्रको आयतन, जङ्घारहरूमा साउती मार्दै, आकृतिविहीन सपना र स्मृतिविम्ब कविताका आफ्ना अन्तर्लय, अर्थालङ्कार र उत्तमता छन् ।

समग्रतः बेड नं. ६०७, जिजीविषाका ध्वनिहरू, जन्मोत्सव र सालका ठुटामा पुनर्जीवित अस्तित्व, मान्छेभित्रका मान्छेहरू, सपनाको सङ्गीत, आगमन-निर्गमन, रातो रङको साम्राज्यमा, गन्तव्य हराएका बेला, म सहरको कुरा कसरी गरूँ, सपनालाई बादलसँगै छोड्नू, अँध्यारादेखि अँध्यारासम्म, शब्दहीन उच्चारण, ढोका ः प्रारम्भ र जँघारहरूमा साउती मार्दै प्रभृतिलाई रसानुभूतिको हृदयोत्तेजक आयाम र विशिष्ट भाव भएको कवितामा हामी राख्न सक्छौं ।

‘आखिर ती सबै ढोकाहरू त हुन्, जहाँबाट मान्छेले आफूलाई प्रारम्भ गर्छ’ (ढोका प्रारम्भ, पृ- ८४) का रूपमा सर्जक चिरप्रतीक्षित विजयोन्मुख सिंहद्वारको समुद्देश्यमा रहेको यथार्थ क्रमिक रूपमा खुल्न पुग्दछ । यस्तै किसिमले ‘जँघारहरूमा साउती मार्दै बग्छौ माछा जस्तै, बग्दा बग्दै कहीँ भेटिन्छौ र छुटिन्छौ, छुटिन्छौ र कहीँ भेटिन्छौ’ (जँघारहरूमा साउती मार्दै, पृ-८९) कवितांशले अन्तर्क्रिया, आत्ममन्थन, सम्मिलन, ध्रुवीकरण र आत्मीयताको सघनतालाई सङ्केत गर्दछ ।

आठौँ दशक वरिपरिको काव्यिक सेवावधि भएका विभूतितुल्य प्रथम पद्यकार एवं राष्ट्रकवि माधव घिमिरेले सीमितले झैँ परम्परामा शिवभूमि नेपालको हिमाल, बादल, खोलानाला, वनजङ्गल, गुराँस, डाँफे, पशुपक्षी, गरा, जगरा, गोरखा तथा प्रकृतिमय सर्वाङ्ग्ाीण अपूर्व सौन्दर्यलाई स्वच्छन्दतावादी प्रगतिवादी आलोकको आफ्नो प्रवृत्तिसापेक्ष सिर्जनामा गहन ढङ्गले खिचेको अद्वितीय प्रेरक इतिहास सुरक्षित छ । उल्लिखित मनीषीले झै समर्पण र सम्प्रेषणको निजात्मक बौद्धिक अन्तर्वस्तुको परिपुञ्जले नवस्वच्छन्दतावादी चिन्तनपथमा गीता जस्ता केहीले धेरथोर सौन्दर्य थपेको पाइन्छ । संवत् २०३६ को युगावधिमा प्रवर्तित, विस्तारित र क्रमिक रूपमा परिपुष्ट समसामयिकतावादी संचेतनावादी धारको निर्णायक मोड र उपमोडका प्रकाश संवाहक (टर्च वेयरर) र सशक्त कवि विष्णुविभु घिमिरेलगायत उनका समवर्तीले सो अविच्छिन्न शृङ्खलाको समुज्ज्वलतामा श्रीवृद्धि गरे झै त्यही ‘मार्ग चित्र'(रोड म्याप) मा गीता प्रभृति एक दुई जनाले नवीन प्रयोग र प्रयोजनको मौलिक कित्ता जडेको स्पष्ट छ ।

समसामयिकतावादी नेपाली गद्यकविताको ‘विख्यात धारा’ लाई दशकको केही कविताकृतिले झैँ ‘सालका ठुटा र एक टुक्रा घाम (२०६६)’ ले सम्प्रेषणीय ढङ्गमा प्रतिनिधित्व गरेको देखिन्छ । अग्रगामी बौद्धिकता, सहअस्तित्वपूर्ण जीवनयापन, नारीवादको सस्थापन, उदार मानवता र शान्ति प्रक्रियाका खोजको नेपाली कविता विधाको हातेपुस्तक (अ ह्यान्ड बुक) का रूपमा सम्बन्धित कृतिलाई सम्मान प्रदान गर्न सकिने स्थिति छ । नेपालको बहुभाषिक सामाजिक जीवन, भू-संस्कृतिवाद, प्रादेशिक विविधता, वर्गीय अवस्था, जातीय मनोभूमि, सार्वभौमिक परिस्थिति, एकल सत्ता र सर्वसत्तावादको कुटिलता एवं आधुनिकतावादी सर्वसम्मत दृष्टिकोणलाई आफ्नो कवितात्मक प्रवृतिमा सर्जकले पहिल्याएको देखिन्छ । न्ावस्वच्छन्दतावादी विम्ब, प्रतीक र अलङ्कारहरूले केन्द्रीय कथनपद्धतिका रूपमा जीवनमूल्यको आराधना गरे पनि अस्तित्वपरक विसंगति, आलोचनात्मक यथार्थ र उत्तर आधुनिकतासूचक संचेतना (पोस्ट-मोर्डनिस्ट कनसाइन्स) को वृहत् फलकलाई टिपेर प्रत्यक्षतया कवयित्री गीता कार्कीले नेपाली सौन्दर्यशास्त्रीय चिन्तनको समुन्नतिमा श्लाघनीय ऊर्जा थपेको प्रमाण मिल्दछ ।

– वीरगञ्ज

हाल ः पाटन संयुक्त क्याम्पस

मधुपर्क जेठ, २०६९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *