पेटमा बढी समय पालेर
तन्नेरी सन्तान जन्माउने होइन मैले
गर्भाधानको अवधि
पाठेघर
पाठेघरको द्वार
सबै सबै ख्याल गर्नुपर्छ आमाले ।
डाक्टर !
पेट भद्दा नपार्न
अङ्कुराउनासाथ
बच्चा जन्माउँछु भनेको होइन मैले
समय बुझेरै
मुख खोलेको हुँ
दुगुना समय
गर्भ बहन गर्न सक्तिनँ म
पाठेघर नै ध्वस्त बनाई
सन्तान पाउन सक्तिनँ म ।
डाक्टर !
लिङ्ग छान्नु छैन मलाई
भ्रूणहत्या गर्नु छैन मलाई
स्वस्थताको चाहना छ
सक्षमताको कामना छ ।
डाक्टर !
तिमी आफैँ
आमाले कम्मरमा गाग्री बोक्दा
गाग्रीको पिँधले
भ्रूण कुच्चिएको कुरा गर्छौ
तिमी आफैँ
रिसको जलनले
ज्वालामुखी मानव जन्मिएको कुरा गर्छौ
पाठेघरमा भ्रूण
दुगुना समय बस्दा
उसलाई कति सकस भएको होला ?
भ्रूणको नङ्ग्राले पोठेघर च्यात्दा
मलाई कति सकस भएको होला ?
डाक्टर !
तिमी के काममा व्यस्त हो र यतिसारो ?
घडेरी विस्तारको विवाद !
सम्पत्ति भोगचलनको माथापच्चिसी !
चेक खोसाखोसको जात्रा !
पछि गरे हुँदैन र ?
अरूलाई थुन्ने/मुक्का हान्ने काम
पछि गरे हुँदैन र ?
स्टेथेस्कोप भिरेका तिमी
सेतो गाउन लगाएका तिमी
किन हो हूलहुज्जतमा ?
सदैव घम्साघम्सीमा !
डाक्टर !
एकै शरीरमा
प्राणान्त हुँदै छ दुई प्राणको
त्यही जोगाउन
विद्या सिकेका होइनौ र तिमीले ?
तिम्रो बेवास्ताको कारण
आफ्नै भ्रूणले
लात हानिरहेछ मलाई
आफ्नो मृत्युपूर्व
पलपल मारिरहेछ मलाई
समयमै ब्याउन सकेर
नजन्मिँदै मैले सन्तान मार्नु
पाल्नुपर्ने सन्तानले
नजन्मिँदै मातृहत्याको उद्यम गर्नु
कस्तो लाग्छ तिमीलाई ?
‘हामी दुवैको परमार्थ’ ?
‘आफ्नो भूमिकाको रंग’ ?
नेपाल साप्ताहिक ४९४
