यहीँनेर उनीसँग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरू छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्षअघि लोग्ने गुमाएकी हुन् । आतंककारी विस्फोटमा उनका लोग्ने मारिएका थिए ।

म पनि मायाको लाइनमा नै छु । तर, म पालो पर्खिरहेकी छैन ।उनीहरू लामबद्ध भएर मसम्म आइपुग्छन् र मैले उनीहरूलाई उनीहरूको भागमा परेको माया उपलब्ध गराइदिनुपर्छ । एक अर्थमा म माया बाँडेर बसेकी छु । कस्तो अचम्म माया पनि बाँडिने चीज हो? बाँडेको पनि के भन्नु? लाइनमा बसेर माया पाइन्छ? कस्तो उदेकलाग्दो । तर, यहाँ भएको छ यस्तै, म उनीहरूलाई उपलब्ध उनीहरूले ठान्ने गरेको माया वितरण गरिरहेकी छु । मायाको अधिकृत बिक्रेताजस्तो । अधिकृत वितरक, त्यो पनि सित्तैँमा ।

काठमाडौँनजिकै धादिङको मुरलीभञ्ज्याङमा जन्मिएकी म । विवाहपछिका पाँच वर्ष काठमाडौँमा बिते । यतिखेर म नाइजेरियामा छु । र, नितान्त एक्ली छु । ऊ छैन मसँग ।

रोगी हजुरआमाको इच्छा पूरा गर्न काठमाडौँको खानदानी केटासँग मेरो कन्यादान भएको थियो । आमा थिइनन् । बाबु र काका-काकीले कन्यादान गरे । मलाई लिएर आउने त्यो पुरुषसँग काठमाडौँ आएदेखि नै राम्रो भएन । राम्रो होला कि भन्दा भन्दै पाँच वर्ष बित्यो । कुर्नु र नपाउनुको नियति भोग्नैपर्‍यो मैले । सम्झौता नगरेको कहाँ हो र? मेरो जीवनको अत्यधिक कष्टकर र दुर्भाग्यपूर्ण समय सजिलै बिर्सन सक्दिनँ म ।

विवाह गरेर मात्र सम्बन्ध जोडिनु भनेको एउटा अप्ठ्यारो बोकेर छुट्टिने तयारी मात्र रहेछ भन्ने लाग्छ । सम्बन्ध त प्रेमले बनाउने रहेछ, सम्बन्धले कहिल्यै प्रेम बनाउन सकेन, हामीहरूबीच । अरूले जोडिदिएको सम्बन्धका आधारमा प्रेमको निर्धारण गर्नु निकै गाह्रो कुरा हो । चिन्नु न जान्नुको मान्छेसँग एकाएक प्रेम उत्पत्ति हुँदैन पनि, थाहा छैन मान्छेहरू त्यसरी जोडिएको सम्बन्धमा कसरी पूरै जिन्दगी बिताउन सक्छन्? एकअर्काबीच माया र सम्मान नभएको सम्बन्ध असफल सम्झौताभन्दा बढ्ता अरू केही होइन ।

उसको र मेरो सम्बन्धमा न माया थियो न सम्मान । हरेक पल कष्टकर रहेको त्यो सम्बन्ध कुनै पनि बेला टुट्न सक्छ भन्ने लाग्थ्यो, मनमा । कति सहनु मैले मात्र? सम्झाएकै थिएँ पटक-पटक उसलाई र आफ्नो मनलाई पनि, “चित्त नबुझेको कुरामा हामी छलफल गरौँ । केही कुरा तिमी मान केही कुरा म मान्छु । मिलेर बस्नुपर्छ । जिन्दगी लामो छ । मुख कालो बनाएर कसरी जिन्दगी बिताउनू?” भनेकै हुँ हरेक असहमतिहरूमा ।

तर, उसले मेरो कुरा कहिल्यै सुनेन । “मेरो सल्लाह मान्छौ भने तिमी र म झगडा नगरौँ । तिमीलाई मन लागेको तिमी गर । मलाई मन लागेको म गर्छु ।” सम्झौताको हदमा पुगेर मैले सल्लाह दिएकी थिएँ । मेरो सल्लाहले उसको पुरुष अहंमा ठेस पुग्यो सायद । त्यो साँझ अरू साँझभन्दा ज्यादा कुट्यो मलाई । अरू साँझझैँ चुपचाप सहेर बस्न्ा मन लागेन त्यो साँझ र उल्टै उसैको हात समातेर उसलाई भकुरेँ ।

भोलिपल्ट उसका भाउजू र आमा आएर मलाई गाली गरे । मलाई मात्र होइन, मेरी मरसिकेकी आमाका बारेमा पनि केके भने । आफूले गर्दै नगरेको गल्तीमा आमाको समेत नाम मुछिँदा मलाई नमीठो लाग्यो । सहनै सकिनँ र म अदालतको शरणमा पुगेँ ।

१५/२० दिन लाग्यो । त्यसपछि ऊसँगको बेस्वादिलो साइनो र कष्टकर सम्बन्धबाट म मुक्त भएँ । अदालतबाट डिभोर्स पेपर हातमा लिएर र्फकंदा म फूलझैँ हलुँगी थिएँ । कति प्रिय लाग्दो रहेछ एउटा उन्मुक्त जीवन, त्यतिबेलै बुझेँ । असहज सम्बन्धलाई घाउजस्तो टाँसेर हिँड्न नहुने रहेछ । काटेर फाल्नु नै उत्तम ।

“किन विवाह गर्न खोजेको?” मैले सोधेँ ।

उनले मलाई पुलुक्क हेरिन् । गोरो अनुहारमा कालो आँखा र आँखाभरि असरल्ल छरिएका दुःख । “मलाई बच्चाको बाबु चाहिएको छ । म चाहन्छु मेरा बच्चाले टुहुरो हुन नपरोस् ।”

“तिमीलाई लोग्ने चाहिएको छैन?” मैले सीधै सोधेँ । मेरो काम नै उनीहरूलाई लोग्नेस्वास्नी जुराइदिने भएको छ, यतिबेला ।

“मेरो जीवन म जसरी पनि बिताउँथेँ । तर, यो आतंकमा मेरो बच्चालाई एक्लै जोगाउन गाह्रो छ,” उनले काखमा च्यापेको बच्चातिर हेर्दै भनिन् । उनले बताए अनुसार उनका दुई बच्चा रहेछन् । यति कलिली नाबाहानी उस्मानका दुई बच्चा? उदेक लाग्छ । ‘यी मुस्लिमहरू बच्चा जन्माउनका लागि मात्र बिहे गर्छन् कि क्या हो?’ मनमनै सोच्छु ।

नाइजेरियाको उत्तरी भागमा पर्ने कानो सहर, जहाँ म छु र मसँगै छन् मायाको लाइनमा बसिरहेका नाबाहानी र दर्जनौँ महिला । उनीहरू सबै पुनः विवाह गर्न चाहन्छन् । नाइजेरिया सरकारले शान्ति ल्याउन सहयोग पुग्ने आशाका साथ आरम्भ गरेको विवाह कार्यक्रममा सामेल हुन उनीहरू लामबद्ध छन् । विवाह गर्नुलाई उनीहरूले मायासँग जोडेका छन् र यसलाई उनीहरूले मायाको लाइन भन्ने गरेका छन् । कति सरल बुझाइ अनि कति सहज मन । के विवाह र माया एकै हुन सक्छ?

विवाह र माया एकै हुँदो हो त म यसरी यहाँ किन आउँथेँ? किन मेरा विवाहित पुरुष मेरो मायाको भागमा पर्न सकेनन्? नमीठो लाग्छ मलाई, माया महसुस गर्न नसकेको त्यस सम्बन्धका सम्झनाले ।

गैरसरकारी संस्था भ्वाइस अफ विडोज, डाइभोर्सिज एन्ड अर्फान्स अफ नाइजेरिया हिसबाहमा कार्यरत छु, यतिबेला । हिसबाहले कार्यक्रम संयोजकका रूपमा मलाई कानो सहरमा खटायो । सम्बन्ध तोडेर हिँडेकी म सम्बन्ध जोड्न बसेकी छु । आश्चर्य लाग्छ, जीवनको परपिाटीभित्र परेको मान्छेको जिउने प्रक्रिया, प्रेम नबुझेकी मैले सम्बन्ध कसरी बुझ्नू?

सहरबाहिरको यस्तै शिविरमा लामबद्ध पुरुषलाई छानेर हाम्रा साथीहरूले यहाँ ल्याउँछन् र यहाँ लामबद्ध महिलासँग छुट्टाछुट्टै भेट गराइन्छ । उनीहरूको कुरा मिल्यो भने हिसबाहले नै उनीहरूको बिहे गराइदिन्छ ।

इस्लामी सरिया प्रहरीको सहयोगमा सञ्चालित यस कार्यक्रमबाट नाइजेरियाको अस्थिरता कम हुने हिसबाहको विश्वास छ । यसले विधवा र पारपाचुके गरेका महिलालाई उपलब्ध पुरुषसँग विवाह गराइदिन्छ । इस्लामिक समूह बोकोहरामका कारण नाइजेरियामा हिंसात्मक गतिविधि अत्यधिक हुने गरेको छ । जसबाट हरेक महिना ९० जनाभन्दा बढी विधवा हुने गरेका छन् । थाहा छैन, यस किसिमको मायाको लाइन अर्थात् सामूहिक विवाह कार्यक्रमले स्थिर घर तथा परिवार उपलब्ध गराएर सामाजिक सम्बन्ध विस्तारमा सहज हुने र हिंसात्मक गतिविधि कम हुने नाइजेरयिन सरकारको अपेक्षा कति पूरा हुन्छ ।

तर, नाइजेरिया आएपछि अभाव, आवश्यकता, बरोजगारीका दिक्दारीभन्दा प्रेम ठूलो नहुँदो रहेछ भन्ने शिक्षा पाएकी छु मैले । अभावको हिंसाभन्दा ठूलो हिंसा नहुँदो रहेछ प्रेमको । हिंस्रक बनेका यहाँका युवाहरूलाई यस्ता कार्यक्रमले हिंस्ााबाट केही रोकेको अनुभूति पनि भएको देखिन्छ । बालबालिकाले आमा तथा नयाँ पितासँग स्थिर जीवन बिताउन पाउँछन् । उचित शिक्षादीक्षा र स्याहारले उनीहरू सामाजिक बन्न प्रेरित हुन्छन् । मान्छेको भावुकताभन्दा पहिला जीवनरक्षा नै भौतिक सत्य रहेछ ।

मैले नाबाहानीलाई इस्माइल इब्राहिमसँग भेटाइदिएँ । दुवैले केहीबेर कुरा गरे । दुवै खुसी बने ।

“हामी अब बिहे गर्न चाहन्छौँ,” इस्माइलले भने ।

“यस विवाहलाई दिगो बनाउन सक्छौ?” मैले इस्माइललाई सोधेँ ।

“कतैबाट मारिएनौँ भने हामी छुट्टदिैनौँ,” इस्माइल मुस्कुराए । नाबाहानीले मायालाग्दो गरी इस्माइललाई हेरी । वर्षौँदेखिका प्रेमीप्रेमिकाजस्ता उनीहरू एकअर्कालाई हेरिरहेका थिए ।

विवाहका दिन नाबाहानीले मेरा दुवै हात समातिन्, “भोलि बेलुकाको खाना हामीकहाँ है?”

मैले ‘हुँदैन’ भनेँ । इस्माइल पनि नजिकै आए र दुःखी अनुहारमा भने, “कानो सहरमा हामीसँग हाम्रो बच्चाबाहेक अरू कोही छैनन् । तपाईंले हामीलाई भेटाइदिनुभयो । हामी तपाईँलाई धन्यवाद भन्न चाहन्छौँ ।”

नाबाहानीले आँखाभरि आँसु पारेर मलाई हेरिन्, “हामी दुःखी छौँ, गरिब छौँ, आफ्नै देशमा असुरक्षित छौँ । तर, हाम्रो पनि मन छ म्याडम ।” मलाई कता कता दुख्यो । भावुकता त रहेछ नि यहाँ पनि! सम्झौता गरे सम्बन्ध प्रेम पनि बन्दो रहेछ, यस्तै लाग्यो । तर, म सम्बन्धहरूबाट भागेकी स्वास्नी मानिस । मलाई उनीहरूसँग जोडिनु छैन । सम्बन्धले दुःखबाहेक केही दिँदैन भन्ने मलाई लाग्छ । भर्खरै जोडिँदै गरेका उनीहरूलाई यो सब कसरी बताउनू?

मैले ‘भोलि बेलुकाको खाना तिमीहरूकहाँ पक्का’ भनेपछि उनीहरू खुसी भएर गए ।

बिहानै नाबाहानीले फोन गरिन्, “बिर्सिनुभएको त छैन नि?” म हाँसे, “आउँछु ।”

केही मिठाइ र बच्चाका लागि कपडाहरू लिएर उनीहरूको घर इकाबिला रोडमा पुगेँ । बच्चालाई लेख्न सिकाइरहेका इस्माइल हाँसेर ढोकामा आइपुगो । अल्लाहको मन्त्र लेखिएको पोस्टर टाँसिएको भित्तामुनि रहेको काठको कुर्सीमा म बसेँ । खाना पकाउँदै गरेकी नाबाहानी पनि मुस्कुराउँदै नजिकै आइन् ।

साँझको सात बज्न लागेको थियो । इस्माइल घरबाहिर निक्लिन लागे ।

“किन?” मैले सोधेँ ।

“दही लिन,” नाबाहानीले जवाफ दिइन् । कानो सहरको इकाबिला रोडमा अवस्थित उनीहरूको घर बजारनजिकै थियो । मस्जिदनजिकैको बजार मिठाइ र दहीका लागि चर्चित थियो ।

“ड्याम्म… ।”

इस्माइल बाहिर निक्लेलगत्तै आएको ठूलो आवाजले हामी तर्सियौँ । आवाज बम विस्फोटनको थियो । एक्कासि कोलाहल सुनियो । मानिसहरूको भागदौड मच्चियो । प्रहरीका भ्यान र एम्बुलेन्सहरू दगुरेको आवाज पनि सुनियो । नाइजेरियाका प्रहरीहरू मलाई लिन आए, “सुरक्षा अवस्था बिग्रिएको छ, तपाईँ छिट्टै होस्टेल हिँड्नूस् ।”

मैले नाबाहानीलाई हेरेँ । उनको अनुहारको रंग एकाएक अँध्यारो भयो । प्रेम र आदरसाथ उनले मलाई खाना खान बोलाएकी । खाना नखाई म कसरी जानू?

म केही नबोलेको देखेर प्रहरी अधिकारी रसिाए, “बाहिर अवस्था बिग्रिएको छ । छिटो हिँड्नूस् । विदेशी पाहुनाको सुरक्षा हाम्रो पहिलो दायित्व हो ।”

इस्माइल अझै फर्किएका थिएनन् । म हिँड्नुअघि नाबाहानीले मेरो हात चपक्क समातिन् । मैले उनलाई अँगालो मारेँ र निस्किएँ । रातभर निन्द्रा लागेन । इस्लाम फर्किए कि फर्किएनन्, नाबाहानीले के गरिन् होला? सोचिरहेँ ।

भोलिपल्ट मन नलागी नलागी म फेरि विवाह शिविरमा गएँ । सधैँजस्तै मायाको लाइनमा दर्जनौँ महिला लामबद्ध थिए । ती दर्जनौँ विधवा महिलाको भीडमा मैले पुनः नाबाहानीलाई देखेँ । उनी अँध्यारो मुख लगाएर पुनः मायाको लाइनमा उभिएकी थिइन् ।

नेपाल साप्ताहिक ४९८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *