Skip to content

शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति

  • by


माया न्यायमा बस्नेहरुले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । तर प्रशाासन नचले पनि शैक्षिक क्षेत्र भने मायाले नै चल्छ किनकि त्यहाँ संसार नै नदेखेका र नचिनेका सानासाना नानीहरु भेला हुन्छन् । शिक्षा दिनेलिने परिपाटीले नै हामी दरिद्र हुन पुगेका छौँ । दार्शनिक ओशो गरिबीको बारेमा भन्छन्–‘गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’ हो, हामी शिक्षाका नाममा त्यही दुःखपूर्ण दृष्टि मात्र सम्प्रेषण गरिरहेका छौँ । भोलि अझ उज्यालो छ भन्ने भावना प्रेषणमा हामी कन्जुस्याइँ गरिरहेका छौँ अनि कसरी सकारात्मक विचार भएका जनशक्ति उत्पादन हुन्छन् त ?

बाहिरी रंगिचंगी तवरको श्रृंगारपटार, हातमा चक, डस्टर र कालोपाटीको ठाउँमा मार्कर र ह्वाइट बोर्ड हुँदैमा विद्यालय र विद्यार्थीको पढाइस्तर उक्सिँदैन । बालमनोविज्ञानसम्बन्धी शिक्षण तालिम लिएका शिक्षकहरु नभएमा शैक्षिकस्तर उकास्छु भन्नु दिवास्पना मात्र हुन्छ । विद्यार्थीले ध्यान दिए पनि नदिए पनि आफ्नो पाठ खरर पढाउने परम्परागत शिक्षण विधि गलत भइसकेको छ । विद्यार्थीको रुचि र सक्रिय सहभागितालाई ध्यान नदिई दिइने शिक्षाले कुनै प्रतिफल नदिने भएकोले शिक्षकले तालिम लिनु आवश्यक छ । बालमनोविज्ञान बुझेर बालमैत्री अध्यापन गर्नेबारे पूर्ण जानकारी भएमा मात्र सैद्धान्तिकभन्दा प्रयोगात्मक कक्षामा बढी जोड दिएर फलदायी शिक्षण गर्न सकिन्छ । आजका विद्यार्थीको रुचिलाई मात्र ध्यान दिएर नपुग्ने हुँदा पढाइतर्फ उनीहरुको संलग्नता पनि उत्तिकै आवश्यक हुन्छ । विद्यार्थीको संलग्नताका लागि समूहमा बाँडेर अध्यापन गर्नुपर्ने हुन्छ । यसो गर्नाले कमजोर विद्यार्थीले अरुबाट सिक्ने धेरै अवसर पाउँछन् र उनीहरुमा पनि म सक्छु भन्ने आत्मविश्वास बढ्छ । अरु बेला पढाइमा पटक्कै ध्यान नदिने विद्यार्थीमा उनीहरुको रुचिअनुसार समूहमा अध्यापन गर्दा धेरै सुधार आउँछ । विद्यार्थीको उमेर र रुचिअनुसार उनीहरुकै प्रत्यक्ष संलग्नतामा अध्यापन गर्नुपर्छ । शिक्षकहरु आफ्नो मुडमा चल्ने होइन । शिक्षकले आफ्नो मुड विद्यार्थीमा लाद्यो भने उनीहरुले पढाइमा झन् ध्यानै नदिने अवस्था आउँछ । कतिपय अवस्थामा शिक्षक नै विद्यार्थीको मुडमा ढल्न सक्नुपर्छ । विद्यार्थीहरु घरपरिवार र समाजको कारण विभिन्न चिन्तामा पर्न सक्छन्, दबाबमा रहेका हुन सक्छन् । विद्यार्थीको त्यही स्थिति बुझेर उनीहरुमा पढ्ने रुचि जगाउन शिक्षकले विभिन्न क्रियाकलाप गर्नुपर्छ । शिक्षकले पढाउने समय कम छ भनेर विद्यार्थीको मानसिक अवस्थालाई बेवास्ता गर्न मिल्दैन । कक्षाकोठामा भएका विद्यार्थीहरु पढ्ने मनस्थितिमा छैनन् भने उनीहरुको मनस्थितिलाई अतिरिक्त क्रियाकलापमार्पmत पढ्ने स्थितिमा ल्याउनुपर्छ । यसका लागि शैक्षिक सामग्री तथा अतिरिक्त क्रियाकलापले शिक्षकलाई धेरै मद्दत गर्छ । यसखाले शैक्षिक सामग्री विद्यालयमा पर्याप्त मात्रामा उपलब्ध हुनुपर्छ । नी शैक्षिक सामग्रीहरुको सही उपयोगमा ल्याउने ज्ञान शिक्षकमा पर्याप्त मात्रामा हुनुपर्छ ।

अब गम्भीर भएर एकै क्षण साना नानीहरुका वारेमा सोचौँ त । भर्खरै तीन, चार वर्र्ष पार पाएको उमेर समूहका विद्यार्थीहरु स्कूलमा भर्ना हुन्छन् । उनीहरुमा ठीक ठाउँमा गोडा चाल्न र स्पष्ट बोल्न सक्ने क्षमताका पनि हुँदैनन् । शारीरिक, मानसिक एवं संवेगात्मक हिसावले पनि उनीहरुमा विल्कुलै अपरिपक्वता देखिन्छ । स्कूल के हो ? त्यहाँ के गरिन्छ ? कुन र कस्ता नीति नियम पालना गर्नुपर्छ ? कस्तो भाषा बोल्नुपर्छ ? कुन भेषमा विद्यालय जानुपर्छ ? यी सम्पूर्ण कुराहरुबाट उनीहरु विल्कुलै अनविज्ञ हुन्छन् । घरमा आमा वा परिवारजनले खुवाएको खाने, भने अनुसारको गर्ने गर्दछन् । एक प्रकारले पूर्ण परनिर्भर जीवन विताइरहेका हुन्छन् । तिनीहरुले परिवारको कानुन विस्तारै सिक्छन् तर सामाजिक र विद्यालयको कानुनदेखि विल्कुलै अनविज्ञ रहन्छन् । त्यस्ता अबुझ बालबालिका विल्कुलै सादा मस्तिष्क लिएर कक्षा कोठामा छिर्छन् ।

हेर्छन् । अगाडि कालोपाटी छ । ठूल्ठूला डेक्स वेञ्च छन् । अबको करिव ६ घण्टा तिनै डेक्स वेञ्चमा बस्नुपर्छ । सुत्न त परै जाओस्, ढल्कन पनि सख्त मनाही छ । घरमा उफ्रेको बानी । जता पायो त्यतै थ्याच्च बसेको बानी । ढल्केर, सुतेर वा पलेटी कसेर आसन जमाई आपूmले मनलागे अनुरुपका काम गरेको बानी । कुर्सी, सोफा आदिमा बसे पनि क्षणिक समय मात्र बसेको बानी । जथाभावी दौडधुप गरेको, बोलेको र स्वतन्त्र रुपले आहारविहार गरेको बानी । त्यस्तो बानीका नानीलाई विल्कुलै मेल नखाने वातावरणमा शिक्षा दिन खोज्नु शिक्षाको नाममा कठोर सजाय होइन र ? हाँस्ने, खेल्ने, दौडने, उफ्रने, नाच्ने, गाउने गरेर रमाएका नानीहरुलाई बानी अनुसारकै तवरबाट बालमनोवैज्ञानिक रुपमा शिक्षा दिनु नै मण्टेश्वरी पद्धतिको शिक्षा हो । यसका लागि शिक्षक कठोरता लाद्ने दण्डनायक होइन, सहजता ल्याइदिने र सहयोगी सेविका हुनुपर्छ । आमाको काख र अभिभावकको साथ दुबैको संयुक्त भूमिका शिक्षक शिक्षिका (विद्यालय)ले निर्वाह गर्न सक्नुपर्छ । खोक्रो आदर्श र निर्दयी कानुन बालमस्तिष्कमा पच्य हुन्न । उनीहरुको मस्तिष्कमा कठोरता जन्मन दिनुहन्न, दया, माया, करुणा, कोमलता उमार्न सक्नुपर्छ । रुखो जमिनमा विरुवा उम्रन्न, उम्रे पनि सप्रन्न । कुनै वेला ओइलिएर मर्न सक्छ । चिस्यान र उर्वरक भूमिमा विरुवा उम्रन्छ, सप्रन्छ र झ्यांगिन्छ । हो, त्यही वातावरण विद्यालय र परिवारले दिन सके मात्र भोलिका दिनमा सक्षम नागरिक राष्ट्रले पाउनुसक्छ । नत्र कथनी र करनीमा एक रुपता नभई कठोर, असन्तुलित परिस्थिति देखा परिरहन्छ ।

अतः विशेषतः साना कक्षाका विद्यार्थीका अभिभावकले मेरो नानीले कति पेज लेख्यो भनेर कापी जाँच गर्नको सट्टा उसको आचरण र बौद्धिक स्तरमा अनुकूल प्रभाव परिरहेको छ कि छैन भनेर जाँच गर्नु आवश्यक हुन्छ । पेन्सिल समात्न नसक्ने हातले कसरी राम्रा अक्षर लेख्न सक्छ ? जथाभावी रेखा तानेर, कागज च्यातेर, खेलौनाहरु उठाएर, खेलाएरमा हातका आंैलाहरुमा कसरत हुन्छ र क्रमशः क्रमशः कसरत हुँदै उनीहरुका औंला पेन्सिल पक्रन सक्षम हुन्छन् । शारीरिक र मानसिक रुपमा सक्षम नभई कुनै कठोर नियममा नराखी सुस्तसुस्त तवरले नाचगान, दौडधुप, खेल–अभिनय आदिद्वारा शिक्षा दिनु आवश्यकता छ । यसका लागि तालिम प्राप्त शिक्षक शिक्षिकाको व्यवस्था र पर्याप्त शैक्षिक सामग्री जुटाउन विद्यालयले कुनै कसर बाँकी राख्नुहुन्न । यस प्रकारको पद्धति नै मण्टेश्वरी पद्धति हो । यसलाई अपनाएर शिक्षण गरिनु अति आवश्यक देखिन्छ । यस प्रकारको शिक्षण पद्धतिबाट नै मुलुकले माँगेको जनशक्ति परिपुर्ति गर्न सकिन्छ । सबैलाई चेतना भया …।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार ः लिट्ल फ्लावर मा.वि.,
राजविराज–९, सप्तरी फोन नं ०३१५२००३८÷ ९८१४७०००९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *