Skip to content

लडाकुको देश नेपाल– विगत र अहिले

  • by


विश्वमान चित्रमा लाडाकुको देश नेपाल भनेर प्रख्यात हाम्रो मुलुक साँच्ची नै योद्धा र वीर वीराङ्गनाका शाहसीक कदम र आँट अनि बहादुरीको इतिहासले कुदेको हो । नालापानी किल्लामा नेपाली बहादुरहरूले देखाएको अदम्य साहासको बावजुद आज पनी अंग्रेजहरूले नेपालीलाई बहादुर भनी आदरका साथ नाम लिने गर्दछन् । भारतको के आँट थियो र नेपाली फौजको अगाडि ? नेपाली बहादुरहरूलाई साथ लिएर अंग्रेजलाई भारतबाट भगाउने भारतीयहरूले आजभोली नेपालीहरूलाई बहादुर भनेर बोलाएतापनि त्यो शब्दमा आदरताको भावना देखिंदैन । उनीहरू नेपालीलाई छुद्र बचनको प्रयोग मार्फत बहादुर भन्ने गर्दछन् ।

नेपालको एकीकरण गर्ने क्रममा बहादुरीका साथ लड्दै वीरगति पाउने बहादुर नेपालीहरूमा आज पनि हामी श्रद्धाका दुई थोपा आँसु चुहाएर सहिद स्वरुप सम्झँदा हामी आफैलाई एउटा नयाँ शक्तिको सञ्चार भएको अनुभुति गर्न पाउँछौं । वि.सं. १८१४ सालका काजी कालु पाण्डेले र्कीतिपुरको लडाइमा आफूलाई सहिद बनाएका थिए । त्यस्तै काजी तुलाराम पाण्डे कान्तिपुरको लडाईमा सहिद भए । काजी नयनसिंह थापा अल्मोडाको लडाइमा आफूलाई वीरगति बनाएका थिए । अल्मोडाको लडाइलाई इतिहासले अझै पनि ताजास्त राखेको पाइन्छ । यस्ता सहिदहरू जस्ले नेपाललाई एकिकरण गर्नको लागि आफूलाई युद्धको मैदानमा होमेका थिए । त्यसैले यिनीहरूलाई सहिद भन्नु गर्व नै लाग्छ ।

वि.सं. १८७१ सालमा सरदार भक्त थापाले देउथलको लडाइमा आफूलाई सहिद बनाएका थिए भने वीर अमरसिंह थापा नेपालका सबैभन्दा शक्तिशाली बहादुर भनेर चिनिन्छन् उनले अन्तिम युद्ध पलाञ्चोकसँग गरेका थिए । अंग्रेज र चीन अनी तिब्बतको सातो उडाएका अमरसिंहले एउटा सानो राज्य पलाञ्चोकसँग लडाइ लड्दा आफूलाई सहिद बनाउनु परेको थियो । सेनापति शिवरामसिंह थापाले साँगाचोक (छालिङ्ग) को लडाइमा वीरगती पाए भने वि.सं. १८७१ मै अल्मोडाको लडाइमा चौतारिया हस्तदल शाह पनि विरगतिको प्राप्त भए । त्यस्तै सतहुँमा केहरसिंह बस्नेत, समनपुरमा परशुराम थापा, तिमालको लडाईमा जयकृष्ण कुँवर, कांगडाको लडाइमा सरदार गन्धर्व राणाले वीरगति पाए । कांगडाको लडाइलाई नेपालको इतिहासले विशेष महत्वका साथ आफ्ना पानाहरूमा सुनौला अक्षरले लेखेर सुरक्षित राख्न सफल भएको छ । दिगर्चाको लडाइमा भाष्कर राणा र बलभद्रकुँवर कालापनीको युद्धपछि अफगान स्थानमा सहिद भएका थिए ।

इतिहासमा सबैभन्दा उच्च पदवीमा नाम लिन सकिने नेपाली बहादुरहरूमा वीर बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा, कालुपाण्डे, भीमसेन थापा, बहादुर शाहका साथमा श्री ५ पृथ्वीनारायण शाहलाई लिन सकिन्छ । १८औं शताब्दीका विभिन्न भागमा भएका लडाइ सबै नेपालको भूमिरक्षाका खाँतिर थिए भने साना–साना राज्यलाई एकिकरण गरी एउटा सिङ्गो देश नेपाल भनि चिनाउन संघर्षरत भएका पृथ्वीनारायण शाहलाई आज पनि नेपालीका पिता भनेर चिनिन्छ ।

देशको लागि प्राण आहुति दिएर भावि सन्तानको लागि एउटा सिंगो नेपाल बनाइ आफूलाई नेपाली भूमिमा बलिदान गराउने ति सहिदहरूको दाँजोमा आज यदाकदा घटना र दुर्घटना अनि अनावश्यकको भाइभाइमा युद्धगरि लड्नेहरूलाई पनि लैजानु कत्तिको न्याय संगत कुरा हो । नेपालमा राजतन्त्र भएमात्रै ती वीरहरूको सम्झना गर्ने परिपाटी हो भने राजतन्त्रको अन्त्यपछि नेपालका राजनीतिक दल र तिनका नेताहरूले नेपालको उन्नति र प्रगतिको लागि के गरे त्यसको खोजी गर्नु आवश्यक ठहर्छ । देशको चारकिल्लामा आफ्नो शक्तिको प्रर्दशन गरी दुस्मनहरूलाई खेद्न सफल सहिदहरूको अपमान हुनु आज पूर्ण राज्यको नै उपहास गर्नु सरह हो ।

आजका लडाकाहरूको गुन गाउने कुनै ठाउँ नै भेट्टिदैन । सबै अवगुण, तिरस्कार र अमानवीय कुकृत्यमा मुछिएको पाइन्छ । देश र जनताको सुरक्षामा खटिएकाहरूबाटै चोरी शिकारी गरिन्छ, लुटपिट गरिन्छ, गरिब र दिन दुःखीलाई पैसाको अभावमा कठोर यातना दिइन्छ । बाटोमा टायर सल्काउँदा आफै जल्न पुग्यो भने सहिदको तक्मा भिराइन्छ । नैतिकताहिन सम्झेर जेल सजायँ काटेकाहरू आपसमा लडाइ गरी मृत्युशैयामा पुगेपछि सहिद भनि इतिहासलाई नै गालि गरिन्छ । एउटा जातले अर्को जातलाई आक्रमण गर्दा मर्यो भने उसलाई वीर सहिद भन्ने मानपदावी दिइन्छ ।

हिजोदेखि आजसम्मको इतिहासमा केवल वलभद्र कुँवरको नाम अगाडि वीर भन्ने शब्द जोडिएको पाइन्छ । किनभने वलभद्रले नालापानीमा लडेको लडाइ जस्तो लडाइ सायद अरु बहादुरहरूले लडेका थिएनन् होला । इतिहासको पनि आफ्नै एउटा छुट्टै देन छ जस्ले कुनै पनि वीर बहादुर सहिदमाथी अन्याय गरेको छैन । तर आज भन्ने इतिहासका पानामा लेखिएका वीर सहिदको परिचय भावी पुस्ताले गौरवका साथ लिन सक्दैनन् । जसले नेपाललाई टुक्र्याउने, जात जातमा विभाजन ल्याउने, देशलाई अन्धकार र गरिबीमा धकेल्ने जस्ता कार्य गरेवापत सहिद भएकाछन् । एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई आक्रमण गर्दा सहिद हुन्छन् । नयाँ राजनीतिक पार्टीको स्थापना गर्दा सहिद हुन्छन् । यो देशमा अब सहिद नै बनाउने हो भने किसानका छोराहरू, पत्रकारहरू र व्यवसायीहरूलाई सहिद बनाउनु अर्थयोचित हुन आउँछ ।

आजका लडाकुहरू देशका लडाकु नभएर मानवजातीको लागी अभिश्राप बोकेर आएर लडाकु भएकाछन् । देश र राष्ट्रहितमा काम गरेको भए आजको नेपाल आाशन्ति भएर रहंदैनथ्यो । नेपालको लागि केही गर्नुपर्छ, नेपालीको लागि केही गर्नुपर्छ । देशको शासनमा औंला मात्रै चाट्ने दाउमा बसेका कुनै पनि शासक वा प्रशासकहरू इतिहासको पानामा आउँछ भने उनीहरू भावी सन्ततीको निमित्त तिरस्कृत भएर रहनेछन् । इतिहासले सहिदको भावनालाई बुझेर उसको इतिहास बनाउनु पर्दछ । एउटा मोटर वाइकमा चढेर गएको कुनै एक राजनीतिक पार्टीको मुख्य कार्यकर्ता दुर्घटनामा परेर मर्यो भने त्यसलाई नेपाली र नेपालको हितको लागि मरेको सहिद हो भनेर इतिहासमा कोरियो भने भोली इतिहास नै दुर्घटनामा पर्नसक्ने कुरालाई अग्रीम दृष्टिगोचर लगाउनु पर्ने बेला आएको छ ।

संघर्ष केका लागि ? आन्दोलन केका लागि ? लडाइ र बन्द केका लागि ? अनि प्रजातन्त्र र गणतन्त्र केका लागि ? संविधान केका लागि ? यसको सहि मूल्यांकन र सहि दिशा निर्देशन अनि लक्ष्यबोध नभइ एउटा छुर्ण र कुर्सिको लागि जनतालाई गुमराह गर्ने अहिलेको नीति बोकेको यो संघर्ष, आन्दोलन र लडाइ हो भने यो निरर्थक देखिन्छ । चार वर्षसम्म नेपालीलाई गुमराह गर्दै भएका जेजति सम्झौता र वार्ता अनि सभा, आमसभा भए ति आखिर जेठ १४ ले अनर्थ र अनावश्यक भएको जनाइ दिएको छ । महिनौं महिना नेपाल बन्द भए त्यसको परिणाम आखिर सुन्य नै भयो । सुन्यतामा रहेर जनताका आवश्यक र दैनिक दिनचर्या माथी गरिने बहुलठ्ठि बहादुरपनलाई इतिहासको पानामा लेख्नु इतिहास कै खिल्ली उडाउनु हो ।

तसर्थ बहादुर हुनु त १८औं शताब्दिको हुनु । सहिद हुनु त त्यो बेला कै सहिद हुनु जसले गर्दा नेपाली आमाको छाति गर्वले प्रफुल्लित बन्न पुग्छ । वर्तमानमा देखिएका बहादुरीपनले विश्वमा नै नेपाललाई निचोभन्दा पनि निचो देखाएको छ । शान्तिको देश नेपाल भनि चिनाउन सफल राज विरेन्द्र विरविक्रमको देनले आज विश्वले शान्तिको देश नेपाल भनि उच्च अ‍ोहदामा लिनुको सट्टा असफल राजनीतिहरूको खिंचातानीले अशान्तिको देश नेपाल भनि चिनिएको छ । जसको दोष हामी सम्पूर्ण नेपालीको शिरमा आइपरेको छ । देशको त के कुरा विदेशमा रहने नेपालीहरूलाई पनि विदेशीको अगाडी म नेपाली हुँ भन्नका १०० पटक बिचार गर्नुपर्ने स्थिति सिर्जना भएको छ । बहादुर बहादुर नै हुनुपर्छ जसको बहादुरी राष्ट्र र जनताको सुरक्षाको लागि अग्रगामी बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *