लाग्ने गर्छ
मेरा पनि अघि-पछि कोही त रुने हुन्
हजारौँ-हजार मलामी हुन्
तर
कहिलेकाहीँ लाग्ने गर्छ
ए भगवान् !
म गल्लीको कुकुर झैँ मर्न पाऊँ
त्यो बेबारिसे लासमाथि रुने कोही नहोस्
म मरेको चिन्ने कोहीलाई थाहा नहोस्
किनकि किनकि
मैले यो जीवनमा कसैलाई
न त खुसी दिन सके
न त कसैको हुन सके
त मेरो मृत्युमा किन ?
कसैको आशु मेरो लागि ऋण बनोस
यही हो भोगेको जिन्दगी
खुसीको हाँसोमा इर्ष्या गर्छन
दुखमा आशु झार्दा हेला गर्छन
अनि मरेपछिको औपचारिकताको के अर्थ ?
हो यस्तै लाग्छ कहिलेकाहीँ
मनभरि असन्तोषको पहाड बोकेर
खुसी खोज्न भाग्दा-भाग्दै
समयले कोल्टे फेरेको पत्तो कसलाई
पहाड फोर्छु भन्दा भन्दै
आँगन परदेश हुन् थाल्छ
मेरा र आफन्तको के कुरा ?
छालाले हड्डीको साथ छोडी दिन्छ
सम्पतिले घरभित्र सम्म
आफन्त घाटसम्म
त्यसैले
एउटा मृत्यु यस्तो होस्
आफन्त भन्ने कसैको लागि भार नबनोस
त्यही मृत्यु आनन्द हुन्छ
बेवारिसे एउटा …. त्यो लास माथि
रुने जब कोही नहोस् ।
शेखर ढुंगेल
