ए.एन.ए. को ३० औं सम्मेलनका अवसरमा गत ३० जुन, २०१२ का दिन नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा पहिलो पटक आयोजित “नेपालबाहिरको नेपाली साहित्य प्रवासी कि आप्रवासी” विषयक गोष्ठीको आयोजना प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता र अमेरिकाका लागि नेपाली नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा सुसम्मपन्न भयो ।
कार्यक्रममा ए.एन.ए का अध्यक्ष श्री छेवाङ शेर्पा लामा र नेपालको हिमाली कलाको अध्येता तथा भर्जिनिया कमनवेल्थ विश्वविद्यालय, मिचिगन र ओहायो राज्य विश्वविद्यालयका सहप्राध्यापक र कार्यपत्र प्रस्तोता डा. डिना बाङ्देलको पनि उपस्थिति रहेका थियो । कार्यक्रममा डा. गोबिन्दराज भट्टराईले तयार गर्नु भएको कार्यपत्र “विश्व वाङ्मयमा स्थापित ‘डायास्पोरा’ पदलाई नै नेपालीमा अझै सुदृढ पारौँ”लाई श्री गोबिन्दगिरी प्रेरणाले वाचन गर्नु भएको थियो भने डा. खगेन्द्रप्रसाद लुईटेलले तयार पार्नु भएको कार्यपत्र “आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष”लाई श्री राधाकृष्ण काफ्लेले वाचन गर्नु भएको थियो । त्यस्तै अमेरिकाका साहित्यकार तथा अ.ने.सा.स. का संस्थापक अध्यक्ष होमनाथ सुवेदीको कार्यपत्र “नेपाल बाहिरको साहित्य, प्रबासी, आप्रबासी—अनेक डायस्पोरा”लाई श्रीहस्त गौतम मृदुलले वाचन गरेर सुनाउनु भएको थियो ।
डा. भट्टराईले आफ्नो कार्यपत्रमा विगत डेढ दशकदेखि नेपाली साहित्यलाई डायस्पोरा साहित्यको नामबाट चिनिदै आएकोमा यसलाई यही नामबाट निरन्तरता दिनु पर्ने भन्दै आफ्नो कृति मुग्लानलाई पहिलो डायस्पोरिक नेपाली साहित्यिक कृति र आफूलाई नेपाली डायस्पोराका प्रथम प्रयोक्ताका रुपमा चर्चा गर्नु भएका छन् । उनले नेपालबाहिरको नेपाली साहित्यलाई पहिला प्रवासी नेपाली साहित्य र पछि सात समुन्द्रपारि नेपालीहरूको बसोबास बढ्दै गएपछि आप्रवासी नेपाली र उनीहरूबाट सिर्जना भएका साहित्यलाई आप्रवासी नेपाली साहित्य भनिने गरिए तापनि विभिन्न जातिहरूको आप्रवासका उदाहरणहरू प्रस्तुत गर्दै डा. भट्टराईले डायस्पोरा शब्दमाथि बढी जोड दिएका छन् । डा. भट्टराईले पहिलो पटक नेपालीमा डायस्पोरा शब्दको प्रयोग बेलायतका माईकल हटबाट २०५५ सालमा भएको त्यसमा उनले डा. भट्टराईद्वारा लिखित मुगलान (२०३१)लाई डायस्पोरिक कृतिका रुपमा लिएको बारे उल्लेख गरेका छन् । डा भट्टराईले डायस्पोरा नेपाली साहित्यमा स्थापित भई सकेको र त्रिविवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानले पनि डायस्पोरा साहित्यको अध्ययन अध्यनपन गर्न–गराउन थालेको बारे कार्यपत्रमा उल्लेख गर्दै नेपालीबाहिरको नेपाली साहित्य अब नेपाली डायस्पोरा भई सकेको उल्लेख गरेका छन् ।
अर्का विद्वान त्रिविवि नेपाली केन्द्रीय समितिका सहप्राध्यापक डा. खगेन्द्रप्रसाद लुईटेलले नेपाली साहित्यमा डायस्पोराका बारेमा आफूले पहिलो पटक २०६४ मा अ.ने.सा.स. को कार्यक्रमका लागि डायस्पोरा साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गरेको बताउँदै उनले डायस्पोरा शब्दको थालनीको इतिहास पाँचौं शताब्दीदेखि शुरु भएको देखाउँदै डायस्पोरा शब्दको नेपालीकरण गर्दा राम्रो हुने तर्क राखेका छन् । डा. खगेन्द्रले डयस्पोराको नेपाली शब्द आप्रवासी नेपाली साहित्य वा गैरआवासीय नेपाली साहित्यका रुपमा लिन सकिने बारे चर्चा गर्दै दक्षिण एशियाली मुलुकका नेपाली साहित्यलाई प्रवासी र त्यसबाहिरका नेपाली साहित्यलाई आप्रवासी वा गैरआवासीय नेपाली साहित्य भन्दा अत्युक्ति नहुने बताएका छन् । डा. खगेन्द्रले नेपाली भाषामा आगन्तुक शब्दहरूले पनि ससम्मान स्थान पाउँदै आएकोले डायस्पोरा शब्दलाई निरन्तरता दिन सकिने तर यसलाई हचुवाको भरमा नभएर नेपालबाहिरका नेपाली सहित्यकारहरूबीच विशेष छलफल भएपछि मात्र गर्दा राम्रो हुनेबारे चर्चा गरेका छन् । उनले डा. भट्राईको भनाई “मुगलान”लाई पहिलो डायस्पोरा कृति र आफूलाई पहिलो डायस्पोराका प्रयोक्ता भन्न नमिल्नेबारे उल्लेख गर्दै नेपाली साहित्यमा नेपालबाहिरकाबारेमा लेखिएका बेनामी लेखकको “जङ्गबहादुरको बेलायत यात्रा”, महाकवि देवकोटाको “मुना मदन”, वरिष्ठ साहित्यकार तथा कला साधक लैनसिंह बाङ्गदेलको “मुलुक बाहिर” आदि धेरै नै साहित्यिक कृतिहरूमा पनि नेपालबाहिरको वर्णन भएकोले हचुवाको भरमा कुनैकुराको ठोकुवा गर्न नहुने तर्क राख्दै कस्तो साहित्यलाई डायस्पोरा वा आप्रवासी साहित्य भन्ने बारेमा पनि विशेष छलफलको आवश्यकतामाथि जोड दिएका छन् । डा. खगेन्द्रले अस्थायी रुपमा बसेका, विदेश भ्रमणमा गएकाहरूबाट वा नेपालमा बसेर सिर्जित नेपालबाहिरको परिवेश भएका साहित्यलाई यसभित्र राख्न नहुने बताउँदै लामो समयदेखि स्थाई बसोबास भएकाहरूको साहित्यलाई यसमा राखिनु पर्ने बारे आफ्नो कार्यपत्रमा उल्लेख गरेका छन् ।
अमेरिकाका साहित्यकार होमनाथ सुवेदीले आफ्नो कार्यपत्रमा डायस्पोरा साहित्यकाबारेमा चर्चा गर्दै नेपालबाहिरको नेपाली साहित्य डायस्पोरा साहित्य भई सकेकोले डायस्पोरा शब्दमाथि नै जोड दिएका छन् । उनले दक्षिण एशियाका नेपालीवासीहरू प्रवासी नेपाली र त्यसबाहेकका मुलुकमा बस्ने नेपालीहरू आप्रवासी भई सकेको बताउँदै साहित्यमा डायस्पोरा शब्दको निरन्तरता माथि जोड दिएका छन् । सुवेदीले डायस्पोरा शब्द आधुनिक भई सकेको भन्दै यसैको निरन्तरतामाथि जोड दिदै नेपालबाहिरको साहित्य डायस्पोरा साहित्य हुनु पर्ने बारे कार्यपत्रमा उल्लेख गरेका छन् ।
कार्यक्रममा अर्का कार्यपत्र प्रस्तोता डा. डीना बाङ्देलले प्रवासी हुनुको पीडाहरू आफ्ना पिता नेपालका प्रसिद्ध साहित्यकार लैनसिंह बाङ्देलका विचार र नेपाल प्रवेशअघि श्री बाङ्देललाई नेपाली साहित्यका महारथीहरू धरणीधर कोईराला, गुरुप्रसाद मैनाली आदिले लेख्नु भएका पत्रहरूको प्रसङ्गवस चर्चा गर्दै नेपाली साहित्यलाई समय र स्थानअनुसार विभाजित गर्न नहुने विचारहरू राख्नु भएकी थिईन् । डा. बाङ्देलले नेपाली साहित्य डायस्पोरा साहित्य नभएर विशुद्ध नेपाली साहित्य मात्र हो भन्नु भयो । वहाँले प्रवासी शब्द आफ्नो थातवास छाडेर विदेशिएका नेपालीहरूका लागि एक प्रकारको श्राप वा गाली जस्तै लाग्ने भएकोले साहित्यलाई देशभित्र र बाहिर भनेर छुट्याउनु नहुने विचार राख्नु भएकी थिईन् । डा. डीनाले आफूले डायस्पोरा कलाको अध्ययन अनुसन्धान गर्ने मौका पाएको प्रसङ्ग उल्लेख गर्दै डायस्पोरालाई हाईब्रिडका रुपमा लिदै यसलाई दुई पदार्थको मिश्रण र निरन्तर अगाडि बढी रहने बहाव भएको तेस्रो स्थल (थर्ड स्पेस) का रुपमा लिएको बताउनु भयो । उनले मुलुक विहिन बनेका भुटानी नेपालीहरू र तिब्बतीहरूलाई यसमा राख्न सकिने उदाहरणहरू देखाउन्दै साहित्यमा यसले भन्दा बढी महत्व प्रवासी वा आप्रवासीले राख्न सक्ने धारण व्यक्त गर्नु भयो ।
गोष्ठीका अर्का अतिथि ए.एन.ए का अध्यक्ष छेवाङ शेर्पालामाले यदि नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा साहित्य भनिनु थालियो भने नेपालबाहिरको खानालाई डायस्पोरा खाना, डायस्पोरा धर्म अझ नेपालबाहिर बिहे गरिएको स्त्रीलाई डायस्पोरा स्वास्नी भनिने चलन शुरु हुन सक्ने व्यंग्यात्मक प्रतिक्रिया राख्दै साहित्य, धर्म, संस्कृतिको कुनै सीमा नहुने भएकोले नेपालीहरू जहाँ पुगे पनि त्यहाँ लेखिएका साहित्य पनि नेपालीनै हुन्छ र त्यसमा कुनै उपसर्ग लगाउन नहुने विचार राख्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली नियोगका प्रमुख मैनालीले नामको पछाडि नलागेर कामको पछाडि लाग्दा विकास हुने बताउँदै आज नेपाली साहित्यको बजारले विश्वभरी नै स्थान पाउदै गएकोले हामी यसको सामुहिक विकासका लागि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । उनले पहिला सूचना प्रविधिको कमीले गर्दा नेपाली साहित्य नेपाल, दार्जिलिङ्ग, आसाममा आफ्नै प्रकारका साहित्य सिर्जना हुने गथ्र्यो भने अब ग्लोबलाइजेसनले साहित्य सिर्जनामा पनि एकरुपता ल्याउन थालेको छ । त्यसैले विश्वको जुन स्थानबाट नेपाली साहित्य लेखिए पनि त्यो नेपाली साहित्यमात्र हुनु पर्ने बताएका छन् ।
कार्यक्रममा साहित्यकार गोबिन्द गिरी प्रेरणाले हामीलाई जसरी आप्रवासी लेखक (इमिग्रान्ट राईटर) भनिन्छ त्यो हिसाबले डायस्पोरा भन्दा आप्रवासी शब्द बढी नजिक रहे तापनि नेपालबाहिर वा भित्र जहाँ लेखिए पनि त्यसलाई नेपाली जगतको साहित्य भन्दा बढी उपर्युक्त हुने विचार राख्नु भएको थियो ।
साहित्यकार सीता पाण्डेद्वारा संचालित कार्यक्रमको प्रारम्भमा स्वागत मनतब्य दिदै डायस्पोरा गोष्ठी संयोजक डा. गोबिन्दसिंह रावतले अहिले नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा शब्दले बढी सम्बोधन गरिन थालिएको र नेपालका साहित्यकारका रचना⁄कृतिहरूलाई पनि डायस्पोरा साहित्यबाट सम्बोधन गरिन थालिएकोले यस विषयमा विशेष अध्ययन अनुसन्धानको महशुस गरेर नेपालबाहिरको नेपाली साहित्यलाई प्रवासी वा आप्रवासी अथवा कुन नामबाट सम्बोधन गर्नु पर्ने र डायस्पोरा साहित्य भनिए पनि यसको सीमारेखा पनि कोरिनु पर्ने जानकारी दिनु भउको थियो । वहाँले डायस्पोरा शब्दको विकल्प नभए सही तरिकाबाट यसको उच्चारण र अध्ययन अनुसन्धान गरिनु पर्ने बताउँदै २०६६ मा डा. तारानाथ शर्माको प्रधान संपादनमा नेपाल साहित्य प्रतिष्ठानबाट प्रकाशित डायस्पारिक विषयवस्तुमा आधारित डायस्पोराको भूमीकासहीत रहेको “उत्तरअमेरिकाका कवि र कविता” का बारेमा डायस्पोरा लेखनमा आफूलाई सक्रिय बताउनेहरूबाट यस कृतिका बारेमा उल्लेख पनि नगरिनु डायस्पोरा साहित्यको संरक्षण गर्ने ठेक्का लिएका संस्थाहरूबाट पनि यसबारे उल्लेख नहुनु सोचनीय कुरा भएको बताउनु भएको थियो । डा. रावतले नेपाली साहित्यमा प्रारम्भदेखिनै नेपालबाहिरको चर्चा परिचर्चा भएका कृतिहरू प्रकाशित हुँदै आएको र डायस्पोराको सही र वैज्ञानिक तरिकाबाट परिभाषित हुन नसक्दा हचुवाको भरमा डायस्पोरा साहित्य भनिन थालेकोले यस तर्फ प्रतिष्ठानले कदम चाल्नु परेको र गोष्ठीका अन्य वक्ताहरूको प्रतिक्रिया लिएपछि त्यसलाई अमेरिकाबाहेक अन्य मुलुकमा रहेका नेपाली साहित्यका संस्थाहरूलाई जानकारीका लागि पठाउने र त्यहाँबाट प्राप्त रिपोर्टआदिपछि नेपालमा यस बारे वृहत गोष्ठीको आयोजना गरी साहित्य प्रतिष्ठानले सामुहिक घोषणापत्र जारी गर्ने प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्नु भएको थिया ।
त्यस्तै गोष्ठीको सभापति तथा प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले यसबारे अझ गहन छलफल हुनु पर्ने र उत्तर अमेरिकाबाहेक अन्य मुलुकमा रहेका साहित्यिक संघसंस्थनासँग पनि यसबारे छलफल गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै ए.एन.ए. को आयोजनामा साहित्य प्रतिष्ठानले आउँदो वर्ष तीन दिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने जानकारी गराउँदै यसका लागि प्रतिष्ठानका कार्यकारिणी सदस्य सुन्दर जोशीले चाडै कार्य शुरु गर्ने बारे जानकारी गराउनु भएको थियो । उक्त सम्मेलनमा पनि नेपालबाहिरको नेपाली साहित्यका बारेमा छलफल गरिने बताउनु भयो ।
डा. गोबिन्दसिंह रावत
