Skip to content

फूल झरेपछिको शोकसागर

  • by


शोकलाई सिर्जनामा रूपान्तरण गरेर राहतको अनुभूति गरेका धेरै सर्जकहरूको लहरमा उभिन आइपुगेका छन्–खोटाङे कवि नरेन्द्र निर्विकार । कोखको घाउमा मलम लगाउनकै लागि गजलप्रधान स्मारिका “फूल झरेपछि” नामक शोक सँगालो सार्वजनिक भएको छ । धर्मपत्नीको मृत्युमा माधव घिमिरेले “गौरी” शोककाव्य लेखेजस्तै २२ वर्षीय छोरा गौरबविक्रम राईको असामयिक निधन (भीरबाट लडेर) मा पिता नरेन्द्र निर्विकारको सम्पादन तथा परिकल्पनामा सिर्जित समीक्ष्य शोक सँगालो “फूल झरेपछि” भित्र गजल, गीत, कविता, डायरी, लेख र तस्विरजस्ता खोलाहरू मिलेर मानवअश्रुको एउटा शोकसागर बनेको छ ।

शोक सँगालोमा सङ्गृहीत पाँच स्मृतिहरू मध्ये पहिलो स्मृति “जीवनको झाँकी” मा मृत्युप्रतिका जिज्ञासा र दिग्भ्रमहरूसहितको मृतक छोरासित सम्बन्धित पारिवारिक इतिवृतान्त छ । वैयक्तिक भएर पनि नरेन्द्र निर्विकारको, मृत्युदर्शन बोकेको गतिलो निबन्ध मान्न सकिन्छ यो आलेखलाई । दोस्रो स्मृतिमा “स्मृतिमा गौरब” भित्र पिता नरेन्द्र निर्विकारको ६६ शेरको गजल, पत्नी मञ्जु र अन्य शुभेच्छुक मित्रहरूले आँसुले लेखेका गजलहरू छन् । तेस्रो “डायरीमा गौरव” मा मृतक गौरबको डायरीका सिर्जनाहरू (पत्नीलाई पत्र, ११ गजल र ३ कविताका अतिरिक्त दुई पृष्ठ हस्ताक्षर) समाहित छन् । यो तेस्रो खण्डको स्मृतिका रचनाहरूबाट मृतक गौरब एउटा उदीयमान सर्जक भएको पुष्टि हुन्छ । यसैगरी चौथो स्मृति “तस्विरमा गौरब” भित्र विभिन्न समयका (१ वर्षदेखि चिहानसम्मका) २७ थान गौरबका तस्विरहरू छन् भने पाँचौं स्मृति “सामयिक सँगालो” मा प्राज्ञ बुँद राना लगायतका २० सर्जकका गजलहरू समाहित छन् ।

उल्टो मृत्युको पीडा भोगेका, मृतक छोरा गौरबका पिता सर्जक नरेन्द्र निर्विकारले जातीय संस्कार अनुसार छोराको अन्तिम कर्म गरे र ढुङ्गा खोपेर चौतारो बनाए । मृतक छोराको वार्षिक पुण्य तिथिमा भलिबल, लोकदोहोरी, एकल नृत्य, गजल वाचन लगायतका गाविसस्तरीय प्रतियोगिताहरू गराएर विजेताहरूलाई नगद पुरस्कार वितरण गरे । छोराको स्मृतिलाई अझ जीवन्त राख्न “फूल झरेपछि” शोक सँगालो प्रकाशित गरे र कर्तव्यनिष्ठ पिताको भूमिका निर्वाह गरे । यस्तो सिर्जनात्मक कार्य समयको माग हो र एउटा प्रशंसनीय र उदाहरणीय कार्य पनि हो । गौरब स्मृति प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता कामहरू गर्दै जाओस्–धरानको विमल स्मृति प्रतिष्ठानले जस्तै । गौरब स्मृति प्रतिष्ठान छितापोखरी–८, खोटाङबाट २०६८ पुसमा प्रकाशित १२७ पृष्ठको यो शोक सँगालो “फूल झरेपछि” परिपूर्ण (समग्र पक्षको चित्रण) छ र यसको मूल्य एकसय रूपैयाँ राखिएको छ ।

रामविक्रम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *