हुर्याउँदै वटुवा बनी
रन्थनिएको मन लिएर
श्राप हो या अभिश्राप
चेतनाले ठम्याउनै गाह्रो
घरि लुकाउन खोज्छ
घरि देखाउन खोज्छ
मानवताको खोल फालेर
नङ्ग्याउँछ अस्मिता ।

कहीँ कालो कोठीमा
लिलामी र लाज भित्र
जानेर फैलाउँछ कहीँ
अन्जानमै लछारिन्छ कहीँ
रगताम्य डामहरूको भार
जिन्दगीको कटु सत्य बन्छ
पैसाले पुर्दै छोप्छन् कोही
नङग्याई देखाउँछ आस्मिता ।

पिचासु मनका लठ्ठाहरू
तन्कन्छन् उतै रबर झैं गरी
निचोर्छन् चिथोर्छन्
अस्मिताका तस्विरहरू
कोक्याउने जिन्दगी छिः
घिन्याउने गन्ध सुँघ्दै हिंड्छ
लठ्ठिई रहन्छ ब्वाँसो बनी
न त आफ्नो पराईको ज्ञान
स्वार्थले लुछिरहन्छ अस्मिता ।

मानवताको सुन्दर संसारमा
न त लाजको डर
न त फुँकारको डर
पश्चिमलाई जित्दै
पहिर्याउँछ वस्त्र छोट्याउँदै
गर्ल्याम्म चढाई चिथोरिन्छ
भुल्दै आफ्नो यथार्थलाई
पैसामा बेचिन्छ अस्मिता ।

–सुरज गिरी हुमा
शिवमन्दिर, नवलपरासी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *