बिहानको झण्डै ०८:३० जति भइसक्या हुँदो हो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽरबाट खालाँसीले भन्यो,
“ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।”
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा गएर हाम्फालेँ। “१ घण्टा भे पनि नाफा हुने भो!” भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले। झ्यालतिर बस्ने मन थियो, “ढिलो आउने माझमा सुत्ने” भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने अब।
गाडि हुइँकिदै गयो, म पनि हुइँकिदे गएँ। के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदा किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो।

*** *** ***

झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन बा। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लगाएर भएन। अघि गाडि भेट्न हस्याङ् फस्याङ् गर्दै दौडिँदाखेरि खसेछ क्यार!, भनेर मनै खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पठ्दै गर्या त छेउकी दिदीले, “यो चस्मा भाइको हो?” भनेर टिपेर दिइन्। तल झ-या रैछ सिटमुनि झोला छाम्दा छाम्दै।
“धन्यबाद!” भनेर भने, अनि चस्मा लगार युवामञ्चतिर आँखा गाडेँ।
एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ गाडि फेरि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै।

*** *** ***

यसो त्यसो गर्दा गर्दै पऽर डाँडाको नाक पुगिएछ, गाडि त रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे।
एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर,
“२२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त बा! कति लम्बर हो मेरो सिठ।” भनिन्। यसो हे-या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ।
अनि खलासीलाई बोलाएँ,
“ऐ! दाइ, म त टाढा जाने मान्छे सिटै, चाहिन्छ नत्र जान्न है भन्दिया छु।” भन्दिएँ घुर्की लाउनलाई।
“पख्नुस् न भाइ! सिट मिलिहाल्छ नि एकछिन पछि!” भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगार फेरि पढ्दै गरेँ।

*** *** ***

अनि यसो त्यसो गर्दा गर्दै खैरेनी आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई था लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि।
त्यहाँ पनि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ।
नयाँ हुलमा एउटी बुइनी थिइन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ, “दिदी यता बस्नुस्!” भन्या त उता पट्टी खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ।

*** *** ***

ती बुइनी त साह्रै राम्री! के भन्ने। सलक्क परेकी, बाटुलो अनूहार, थेप्चि पर्या नाक।। खै के को हो कुन्नि मगमग वासना आयो उनको शरिरबाट।

त्यो लाहुरे दाइले भने कुखुरा हातमा च्याप्या थियो, कहाँ जान लाग्या हो, कुन्नि। गाडि दौडीँदै जाँदा एउटा गहुँ गहुँले भरिएको फाँट हुँदै अगाडि बढ्दै थियो। बाँदरले गहुँ सहुँ मज्जाले खाइराहा भन्या, कस्तो मजासित। अनि त्यो लाहुरे दाइले हेर्दे भन्यो,
“ओ हो! बाँदर रे छ ल! कस्तो ठाऽऽरो भइर उब्बेको २ खुट्टाले!”, भनेर झ्यालबाट हेर्दै थियो। त्यो बुइनीले पनि हेर्छु भनेर यसो तल निहुरिएर झ्यालतिर हेर्न आँट्या त मेरो टाउकोमा पो स्पर्स दिन्छ बा, उनको वक्षस्थलले।
बुइनी त लाजले भुतुक्कै, म भने खुसिले गदगद! पहिलो अनूभव नि जिन्दगीको अब यस्तो मीठो।

*** *** ***

अनि एकछिन पछि भिनाजूले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽ र मेरो किताबतिर हेर्दै थी।
मैले पाना फर्काउन लाग्या त “पख्नुस् न!” पो भन्छे।
मैले “हेर्नुहुन्छ? मैले त हेरिसकेँ।” भनेर दी हालेँ त्यो युवामञ्च! “बसम् न मिलेर!” भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा तर्दै थिइन् तैपनि जसो तसो ३नै जना अटियो।
भर्खरकी बुइनी नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि उति बेला हुँदी १८,१९को मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि।
“बुइनीहरुपनि काठमाण्डु पुग्ने?” भनेर सोध्दिएँ,
“हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के।भिनाजु र दिदीहरु सबै मिलेर।”

मगरको छोरी कस्तो मिठो बोली। अनि सप्पै कुरा गर्दे गर्दै अगाडि बढियो।
अनि गफगाफ हुँदै गयो। उनले कहाँ पढ्नेदेखि लिएर उनको दाइ भाउजू सिन्गापुर दिदी भिनाजु हंगकगंको लाहुरे रे छन् भन्ने कुरासम्म सप्पै था भो।

*** *** ***

तर के गर्नु तिनीहरु झर्ने ठाँऊ आइहालेछ पत्तै नपाइकन। म नि काठमाण्डु साठमाण्डु नगइकन मनकामानतिरै पछि लागेर जाम् कि जस्तो भा थ्यो तर क्यार्नु भिनाजु पनि सँगै रेछ र मात्रै हो नत्र जान्या थिएँ पछि लागेर जान्थिएँ मनकामान सम्मै। फर्केर जाम् कि जस्तो पनि लाग्या थ्यो गजुरी आउने बेलासम्म त।

राती कोठाँ पुगेसी पनि आस्थाकै यादले सताइरह्यो।
*** *** ***
अनेसास जापानको प्रकाशोन्मुख “छहारी कथा संग्रह”बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “आस्था”

  1. यस्तो पनि कथा हुन्छ त? बरु
    यस्तो पनि कथा हुन्छ त? बरु यात्रा संस्मरण भनेको भए हुने। कथाको शुरुवात चै राम्रो नै हो है तर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *