भित्र भित्रै तिम्रो जाली खेलले पोल्यो मलाई
सोझो पनको फाइदा लुट्यौ झेलले पोल्यो मलाई ।।
समाजको मुख राख्न तिम्रो हात समाएथें
पहिलो प्यारलाई बिदा दे’को रेलले पोल्यो मलाई ।।
हेर्दा राम्रो रीति-घरान सबले तिम्रो बखान गर्थे
आलिशान महलको यो जेलले पोल्यो मलाई ।।
संस्कार भन्दै युगौं युगको स-सम्मान स्विकारेथें
बाँध्यौ पाउजु-चुराको यो नेलले पोल्यो मलाई ।।
जिन्दगीका मीठा सपना क्षण भरमै ध्वस्त पार्ने
तिम्रो आगमको तीतो मेलले पोल्यो मलाई ।।
उषा न्यौपाने
झापा, नेपाल
