कसैले कस्तो देख्लान
कसैले बेग्लै देख्लान
र कसैले रुँदै गरेको देख्लान
तर म देख्ने गर्छु
मेरो देश सदा सुन्दर र
बसन्तको नयाँ पालुवा झैं
मुस्कुराई रहेकी छिन
आफ्नो लाली फिजाउदै
हिमाली फेटा बाँधी
कोमल नयनबाट
झर्नारुपी हर्षको आँशु बगाउदै छिन
कसैले कुरूप देख्लान आफूलाई क्यालिफोर्निया
र पेरिसको सिटि सेन्टर निर उभ्याएर
तर म देख्ने गर्छु, सोच्ने गर्छु
मेरो देश कुनै शहरसँग तुलना गर्न सुहाउदैन
जुन शहर कृतिम छ
मानवनिर्मित छ
म मरुभूमिको उजाड बालुवामाथि उभिंदा होस् या
सयौं तल बुर्जा टावरमाथि टेक्दा होस्
मेरो देश कुनै चित्रकारले क्यानभासमा
पोतिएका रंगहरूको सुन्दर बिम्बभन्दा कम देख्दिन
ति आकासमा उड्दै गरेको बादलुमा
हो म मध्यपुर्वीया मृत सागरमा तैरिदै गर्दा
पर-पर सूर्य जन्मने दिशा निर सुस्त सुस्त
माथि बग्दै गरेको बादलुमाथि म देख्ने गर्छु मेरो रातो माट्टे
बारीका गह्राहरू
अनि देख्ने गर्छु खडेरीमा डढेका सल्लेरी बन पाखा
तर पनि कति सुन्दर देख्छु र कति रमणीय देख्छु
त्यो बन पाखा जहाँ
न्याउली कोईली गाउने गर्छन
कयौं अनिदो रातहरू
हङ्कङ शहर र युकेका ब्रिज वार-पार गर्दै
पीडित मन लिई सुसाएको थिएँ
तिनै मेरा देशको सुन्दर बिम्ब आँखा सामु राखी
आफूबिरुद्ध दुस्मनले छेंडने भयले कयौं देशहरूले
बाँध र पर्खालहरू
ठड्याउँदै गर्दा मलाई लाग्छ मेरा थुम्काहरू त्यो चाल पाएर
हातले ओंठ छोप्दै खित्का छाडी हाँसी रहेका छन्
अरबभूमिका सडक किनार-किनारको कुरा छाडौं
युरोपका सडक किनार-किनारमा
अनाथ रुख र फूलका बिरुवाहरू
सार्दै गरेको खबरले
मेरा देशका भिर फूलहरू र
चारकोशे झाडीहरू दयाले मौन छन्
दैवि प्रकोपमा सुनामीको तीरले
समुन्द्रका पर्दाहरू एना सरि चर्किंदै
पोखिंदै गर्दा
मेरो देशको नदीहरू त्यही सागरको अस्तित्व
जोगाउन आतुरले उर्लेर भाग्ने गर्छन
हो, यसैले त मलाई लाग्ने गर्छ
मेरो देश सु-सम्पन्न र सुन्दर छे
र त म घरदेश छाडी परदेशको कुनै कुनामा
कुनै छेउमा आशु पिउदै पसिना र रगत बगाउदै
गर्दा उसले जस्तो, त्यसले जस्तो
मेरो देशलाई दोषी ठहराईन
बरु मेरो सृजनसिल शक्ति र कर्म गर्ने पाखुरी
बोधो सम्झी तिखारिरहें
न त कुनै बेला घाम जून झैं चम्की रहने
शहरको बीच भागमा आफू आसिन हुँदा
चिलो मिठोमा भुलेर मेरो देशलाई भुलें
त्यसैले म गर्व गर्ने गर्छु
मेरो देश ….
मेरो देश सुन्दर छे र सु-सम्पन्न छे ।
-राजेश रुम्बा लामा ‘अतृप्त’
