Skip to content

असार लाग्यो

  • by


असार लाग्यो हलो बोकी बेँसीतिर झर्न पाए
आँधीखोला हात समाई उनीसँगै तर्न पाए

सिम्सिम् पानी ओरालीमा हुन्थिन् होला उनी सँगै
जानाजान चिप्लिएर त्यो काखमा पर्न पाए

एकै छिनमा पुग्थ्यौँ खेतमा रोप्न थाल्थिन् छुपुछुपु
हिलो छ्याप्दै लुसुलुसु उनकै छेउ सर्न पाए

हाम्रो कुरा गर्थे पक्कै खेतालाले हाकाहाकी
भित्रभित्रै मख्ख परी लजाए झै गर्न पाए

दिनैभरि काम गर्थ्यौँ समीपमै रमाएर
हेर्दै हेर्दै आपसमा सारा खुसी भर्न पाए

पक्कै साँझ पर्थ्यो होला उकालीमा उक्लिँदा त
अर्को साल फल्नेगारी यौटा बिउँ छर्न पाए

घर पुगी सपनीमा उनकै याद आउथ्योँ होला
सोच्थेँ उनीसँगै बाँची सँग-सँगै मर्न पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *