अक्करमा फुलेको गुराँस
रुखका फक्रिएको सुनगाभा
त्रिशुलीको चिसो पानी
प्रियसीको मुस्कानजस्तो
त्यो मेरो खेतका गह्राहरू
सबैसबै-
बिरानो भो मेरो लागि
जीवन के नै पो रहेछ र ?
उत्साह- रहरको
इच्छा-जिन्दगीको
दुःख- आफन्तको
अभाव-परिवारको
कहिले परिवारको मायाले
कहिले आफ्नै उदेश्यले
जीवनका बक्ररेखाहरू
समानान्तर बाटाहरूमा
भबिष्य खोज्न हिडेको
म पथहिन परदेशी ।
यथार्थ ,
खोजेभन्दा भिन्न
रोजेभन्दा फरक
सोचेभन्दा धेरै माथि
मनको थैलीमा झुण्डिदो रहेछ
सपनाका असीमित खातहरू
रहरको ओछ्यानभरि अनिँदो बन्दो रहेछ
तर कस्ले बुझ्ला र यो परदेशी पीडा ?
उधारो सपनाहरूले सिंगारिएका प्रेम
जडौरी सान्त्वनाले पोतिएको भ्रम
सुख्खा बगरको तलाउ बन्न सक्छ
बशन्तको झरी बन्न सक्छ
मेरो अलिखित जीवन इतिहास
आजभोलि जीवन
अधेरी रातको चर्खा जस्तो
औंसीको ताराहरू वरिपरी घुम्दो छ
यो समय- अचल
यो सुन्यता- अटल
यो प्रहर-अमुक
यद्यपी-
वालुवामाथि सुनगाभा फुलाउने सपना
ढाकरभरि नूनको भारी बोक्ने चाहाना
पुरा गर्नु छ मैले
बन्दकी खेतको जाली तमसुक
उध्रिएको घरको छानो
साझ बिहान अभावको जिन्दगी
यी सबैको दीर्घ उपचार गर्नु छ मैले
र नै त –
समानान्तर बाटाहरूमा
जीवनका बक्ररेखाहरू हुदै
भबिष्य खोज्न हिँडिरहेको छु
हिडिरहने छु ।
राजेश्वर ढकाल
बगुवा–६ गोरखा
हाल : कतार
