बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन म
कोपिलामै झरेपछि फूल फुल्न सकिन म ।
सुकेको बोट सुकेको पात मन पनि सुकेर नै
ठिङ्ग भई उभिरहेँ अझै झुल्न सकिन म ।
वरिपरि मान्छे मान्छे भीडभित्रै भए पनि
तिमी बिना अरु कसैसँग घुल्न सकिन म ।
हिंड्न अनि रम्न खोजेँ दुनियाँ यो संसारमा
सताउँदा तिम्रै यादले कतै डुल्न सकिन म ।
आँखाबाट बररर आँशु मात्र झर्छ किन ?
रमाएर अरुसँग कहिले खुल्न सकिन म ।
