Skip to content

तर्साउने कृति : ‘तन्द्रामा अमेरिका’

  • by


श्रद्वेय स्रष्टा धीरकुमार श्रेष्ठज्यू,

समाजलाई नौलो मार्ग देखाउने तपाईंका हर शब्दलाई अभिवादन !

नवीन, नवीन खबर त राजधानीलाई थाहा हुन्छ । उसैले खबर जन्माउँछ र हामीकहाँ पठाउँछ । तिनै खबर उत्पादन गर्ने सञ्चार उद्यमीद्वय जमिम शाह र अरुण सिंहानियाले ज्यान अपर्ण गर्नु परेको दुःखदायी घडीमा हामी छौँ । हुन त देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल, बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा, जगतप्रसाद पण्डित, मोहन खनाल, ईश्वर ढुङ्गाना, भीमबहादुर धर्ती, सुभाष मैनाली, कञ्चन प्रियदर्शी, शम्भु पटेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, सप्तरीका लोकेन्द्र बुढाथोकी, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठ, उमा सिंहजस्ता कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले यो लेखन पेशा पनि कत्तिको जीवनघातक माध्यम हुँदो रहेछ भन्ने पुष्टि भएको छ । जनतालाई नयाँ मार्ग देखाउन जुट्दा भौतिक लीला विसर्जनको मार्ग तयार हुँदो रहेछ । कलमले सिर्जने कुरा हर पिँढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ समाजको अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । जसले समाजका अमिल्दा पक्षप्रति खबरदारी गर्छ, उसैले समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर र चित्त बुझाउन नसकेर नौलो सृष्टि सुरु गर्छ, ऊ नै वास्तविक अर्थमा स्रष्टा हो । सञ्चार, साहित्य, कला, संस्कृति भनेपछि कुम्भकर्ण निन्द्रामा रहने संस्कार नेपालका हरेक सरकारमा छ । सञ्चार, साहित्य, कला, संस्कृतिमा लाग्नेहरूको जीवनवृत्तिको लागि सरकारी क्षेत्रबाट नै विशेष, विशेष काम पश्चिमी राष्ट्रमा हुन्छ भन्ने कुरा साहित्यकार कृष्ण धरावासी बताउनु हुन्थ्यो । जीवनवृत्तिको त कुरै छाडौँ, हामीकहाँ चाहिँ मान्छेले कलम र वाणीको पेशामा रहेर जीवन बचाउन हम्मे पर्यो, परिरहेछ ।

यी दुःखका, आक्रोशका पाटाहरू मैले तपाईंं धीरकुमार श्रेष्ठलाई सुनाउनु सरोकार छैन तर तपाईं भित्रको स्रष्टा धीरकुमार श्रेष्ठज्यूलाई सुनाउनु आवश्यक छ । किनकि स्रष्टा धीकुश्रे नेपाली साहित्य संसारको भव्य महल निर्माण गर्ने कालिगढ हो । उसको मस्तिष्कसँग शब्दरूपी प्रकाश छरेर जनतालाई नौलो मार्ग देखाउने तागत छ । हो, त्यही तागतले मन पगालेका कारण यो लामो पत्र तयार पार्न जुटेको छु । मेरो मनमा अमीट छाप राख्न सकेको उपन्यास हो– घुर । त्यसले मलाई विशेष गरेर छुनाको कारण के हो भने मधेसको मुटु राजविराज नगरीमा रहेर मधेस आन्दोलनलाई नजिकैबाट नियाल्न पाउने मध्येको म पनि एक पात्र हुँ । मजस्ताले भोगेको क्षणलाई खर्लप्प टिपेर शब्दमा उनेको कारण र मधेसको लागि महान् ठानिएको हकअधिकारको त्यो आन्दोलनको विषयलाई मूल विषयवस्तु बनाएर लेखिएको पहिलो साहित्यिक कृति भएको कारण पनि महत्व राख्दछ । व्यक्तिगत कुरा गर्दा मलाई साहित्यसंसारमा दरिलो गरी उभ्याउने माध्यम पनि त्यही उपन्यास हो । आफूलाई जेले छोयो र जसले अविश्मरणीय गुण लगायो, त्यसप्रति कृतज्ञता जाहेर नगर्नु पनि कृतघ्न ठहरिन्छ कि !

स्रष्टा धीकुश्रेज्यू, यो युग भनेको लघुयुग हो । ठूला ग्रन्थ र लामा पट्यार लाग्दा लेख पढ्ने पाठक विरलै पाइन्छन् भन्ने जान्दाजान्दै पनि म लामै गन्थन तयार पार्न बसेको छु । हाम्रा राजनीतिज्ञहरूकोजस्तो बुझपचाएर काम गर्ने बानी मेरो पनि छ । किनकि म पनि तिनीहरूले नै जन्माएको एक पात्र हुँ । पत्र लेख्दा लामो लहरो तान्ने मेरो प्रवृतिप्रति साहित्यिक मित्र इन्द्रकुमार श्रेष्ठ, रामविक्रम थापा, पुन्य कार्की, पदम ओली, केदार श्रेष्ठ ‘गगन’, अभितकुमार चौधरीहरू परिचित हुनुहुन्छ । लामा कुराले लामै आनन्द दिने बानी मेरो लामै समयदेखिको हो । पत्रकारिता क्षेत्रमा सरिक हुँदा गुरुदेव यामनाथ पौडेलले लामा कुरा नलेख्न दिएको सल्लाह म पटकपटक सम्झन्छु तर व्यवहारमा लागू गर्न कोशिस गर्दा पनि सक्तिनँ । यसबाट पर्न गएको असहज परिस्थितिप्रति क्षमा याचना गर्नुको विकल्प मसँग छैन ।

धीकुश्रेज्यू, यत्तिखेर ‘तन्द्रामा अमेरिका’ हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रह मेरो हातमा परेको छ । यस पुस्तकको अध्ययनबाट मनमा परेको प्रभावलाई एक पाठकीय हैसियतले लेख्दै छु । ‘तन्द्रामा अमेरिका’ कृतिमा—शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने विचारै विचार परोक्षरूपमा सर्वत्र पाइए । अरू पनि भन्नुपर्दा, हिजोका खुंखार अपराधीहरूलाई आज सुनपानी छर्केर चोख्याउँने राजनैतिक प्रवृतिले मन कुड्याउने काम नगरोस् । आजको राजनीतिले दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरूलाई मात्रै नजन्माओस् । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ र लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् भन्ने भावना नमरोस् । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ तर ‘तातै खाऊँ जली मरूँ’ भएर समयमा नै काम नबन्ने चलन हटोस् । विकृतिका पारखी भइएमा नाम नै गुमनाम हुने र मीठामीठा फल हातबाट उम्कने अवस्था नआओस् । कुनै प्रकारले कहरको बाटो तयार भएमा त्यसका पदयात्री सबैले हुनुपर्ने र रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्ने अवस्था नआओस् । आफ्नै कर्मले नै पश्चात्तापले जल्नु र गल्नु वा अर्को ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्माउने स्थिति नहोस् । समकालीन यथार्थका बहुल पाटालाई सार्थक र उद्देश्यमुलक ढंगले समुन्नतिमा रूपान्तरण गर्ने अवस्था जन्मियोस् । कहरको कालो रात सकिएपछि मात्र सम्मुन्नतिको उषाकाल आओस् । मुलुकको रथ हाँक्नेहरूमा बहुसंख्यक शोषितपीडितप्रति गम्भिर चासो, समाजप्रति दायित्वबोध हुन सकोस् । राजनैतिक, आर्थिक एवं सामाजिक शोषणले लाटो पारिएका जनताको मनमा आशा र भरोसाको बीजारोपण गर्न सकिने समय आओस् । भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जिरहने मौका नआओस् । आफूले पढेको, भोगेको र अनुभवले संगालेको ज्ञान व्यवहारमा लागू गर्न सकियोस् । आजको कालो वर्तमान चिरेर सच्चा राष्ट्रसेवक कहलाउन सकियोस् । हरेक अग्रगामी कार्यलाई पश्चगमनवाद वा यथास्थितिवादले नामोनिसान मेट्न खोजेका घटनाहरूका विरुद्ध शक्तिशाली विचार बोकेर हिड्नेले न्वारानदेखिको बल झिकेर लागिपर्नु पर्ने अवस्था नदेखियोस् । भ्रष्टचारको भेलले मुलुकलाई रसातलमा पुर्याएको बेला तिनै भ्रष्टखोरहरूलाई सत्तामा पुर्याई उनीहरूकै प्रभुत्वलाई स्वीकार्न नपरोस् । कालो मन भएकाहरू, ऐयासी जीवन विताइरहेकाहरू र अँध्यारो भविष्यको जग खडा गरिरहेकाहरूकै हालिमुहाली भोग्न नपरोस् । जनताको इच्छा अनुरूप, जनताको हित अनुकूल अनि जनताको सेवक हुँ भन्ने लोकतान्त्रिक मान्यता र भावना नेतानेतृहरूमा सधैँ जागोस् । युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो हुने अवस्था आओस् । स्वतन्त्रता, समानता र न्यायका सेनानी बनेर नयाँ दिनको स्वागत गर्न सकियोस् । नकाम गर्नेहरूको झाँको झार्न र अन्यायमा परेकाहरूको उद्धार गर्नमा आफ्नो श्रद्धा झल्कन पाओस् । मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इर्ष्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावना पालेर मानवता नै हराउन दिने काम नहोस् । जो जहाँ लागे पनि, जो जहाँ पुगे पनि पवित्र दिमाख खियाएर होस् वा परिश्रमी हातगोडा चलाएर होस् पेट पाल्ने विचार नमरोस् । इमानको काम गर्ने हो भने गोरु, गाई, बाख्रा र भैंसीको पुच्छर पनि समात्नुपर्ने, करेसाबारीको माटोसँग पनि लड्नु पर्ने, झरी–वर्षामा भिज्न पनि सक्नुपर्ने, हरिया पात र बिरुवासँग सिंगौरी खेल्नै पर्यो भने डोको र बञ्चरो बोकी जङ्गल पनि पस्नुपर्ने भावना सधैँ जागा रहोस् । माया न्यायमा बस्नेहरूले पाउँछन् तर प्रशासन मायाले नचलोस् । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ भन्ने कुरा सबले बुझून् । हामीलाई गरिब बनाउने मायाको प्रशासनको खोजी गर्ने चाह नहोस् । एक देशका अनेकन् जनतामा समान विचार, समान आकांक्षा र समान कार्यशैली भेट्नु ‘आकाशको फल आँखा तरी मर्’ भने सरह हुने कुरा बुझियोस् । ‘गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’ भन्ने दार्शनिक ओशोको गरिबी बारेको दृष्टिकोण बुझ्न सकियोस् । आफ्नै गाँस र वास संकटमा राखेर, रोजिरोटी गुमाएर सबैथोक नपाइने कुरा बुझेर ठीक समयमा ठीक काम गर्नमा ध्यान जाओस् ।

धीकुश्रेज्यू, निश्चय नै लेखकले राम्रो मनोकांक्षा राखेर काम गर्छ । तपाईंले पनि समसामयिक जनजीवनका यथार्थ पाटाहरूलाई रिठ्ठो नविराईकन लेख्नुभएको रहेछ । स्वार्थैस्वार्थले जेलिएकाहरूलाई त्यस जालबाट बाहिरिन आह्वान् गर्नुभएको रहेछ । समाजका नकार पाटाहरूलाई लिपिवद्ध गर्नमा शब्दहरू खर्चनुभएछ । शब्दको थुप्रो हुँदैमा साहित्य भइगयो भन्ने विचारलाई परै राख्न सक्नुभएछ । राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे रे । हामीकहाँ पनि शैक्षिक क्षेत्रमा अराजकता छ, प्रशासनिक क्षेत्रमा अराजकता छ, साहित्य क्षेत्रमा अराजकता छ, कर्मचारीतन्त्र क्षेत्रमा अराजकता छ, रोजगारी क्षेत्रमा अराजकता छ, सांस्कृतिक क्षेत्रमा अराजकता छ, बजार व्यवस्थापन क्षेत्रमा अराजकता छ, जीविकोपार्जन क्षेत्रमा अराजकता छ, परिवार, परिवारमा अराजकता छ, मान्छे, मान्छेमा अराजकता छ, समग्रमा विश्व नै अराजकतामा लिप्त छ । त्यही अराजक पाटोलाई हुबहु टिपेर समाजलाई बोध गराउनुभएछ । केही क्षण त विश्वेश्वरप्रसाद कोइरालाले स्वयम्लाई अराजक घोषणा गरेझैँ यी अराजक कार्यलाई आफ्नो ‘तन्द्रामा अमेरिका’ हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा स्थान दिएर अराजक हुने काम गर्नुभयो भन्ने आरोप लगाउन मन लाग्यो । किनभने यस कृतिमा समेटिएका सम्पूर्ण अराजक काम कुरा मेरो दिमाखमा समेटिएका थिएनन् । कृति पढेपछि पो वोध भयो । निबन्धहरू पढ्दै जाँदा परोक्षरूपमा समाज सुधारको चाह भेटेँ र ती शब्दहरूलाई अभिवादन गर्न मेरो मन वाध्य भयो । आफ्नो कलम कसरी कुद्छ त्यसको हेक्का त म राख्दै राख्दिनँ, तर अरूको कलमले समाधान सहितको साहित्य जन्माओस् भन्ने पक्षमा म छु । यस दृष्टिकोणले हेर्दा यथार्थपरक हाँस्यव्यङ्ग्य निबन्धहरूलाई बनावटी आदर्शको जलप लगाएमा कुरुपतामा परिणत हुने कुरा ठम्याउन पुगेँ । सोझो तवरले आदर्शलाई छेलोखेलो स्थान नदिएर नै सही काम भएको ठम्याउन पुगेँ । ‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’ भन्ने दार्शनिक ओशोको कथन सम्झन पुगेँ । कारण, मान्छे कर्म गर्न पछि तर फल ग्रहण गर्न अघि हुनु भनेको दुर्भाग्यको क्षण हो । त्यसै प्रसङ्गलाई यहाँ सम्बोधन गरेको भेट्टाएँ । अनुभवी व्यक्तिबाटै कुनै पनि कुरालाई सूक्ष्म तरिकाले पर्गेल्ने सीप हुन्छ, लोकतान्त्रिक मान्यताअनुसारका विचार ओकल्ने दक्षता हुन्छ । यस मानेमा तपाईंं धेरै अघि रहनुभएको फेला पारेँ । दार्शनिक ओशोले ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ भनेर भनेझैँ हामी क्रान्ति गर्न पछि छौँ । बमबन्दुक चलाउँदैमा, मान्छे भुट्दैमा क्रान्ति भइगयो भन्ने पक्षमा हुन्छौँ । धैर्यधारण सहित सबैको मन छुने गरी क्रान्ति गर्ने पक्षमा हामी विल्कुलै छैनौँ । हामीले तुरुन्तको तु.क्रान्तिको फल पाउन सक्ने अवस्था छैन । हाम्रो मन नै अँध्यारो छ । मनलाई उज्यालो बनाउन स्वयम्मा क्रान्ति आवश्यक छ । कृपालु महाराज, दार्शनिक ओशो, योगगुरु रामदेवहरूको संसारलाई मानसिक र शारीरिक विकार मुक्त पार्ने अभियान स्तुत्य छ । यसरी आफ्नो अधिकारप्रति सचेत नभइरहेको, राष्ट्रप्रेम धरासायी भइरहेको, समाजको जिम्मेवारीबाट मान्छे भागिरहेको र स्वार्थी व्यक्तिवादी चिन्तन हावी भइरहेको अवस्थालाई नाश गर्न ‘तन्द्रामा अमेरिका’मार्फत् प्रेरित गरेर नेपाली समाजलाई गुण लगाउनु भएकोमा त्यस कलमलाई मेरो साधुवाद ।

धीकुश्रेज्यू, उखानटुक्काको प्रयोगमा सचेतता, हाँस्यभन्दा व्यङ्गयप्रधान कथन, विचारलाई ठूलो स्थान दिनु, भैरव अर्यालका जस्ता छोटाछोटा कथानक प्रस्तुतीले विचारलाई पुष्टि गर्न खोज्नु, कतैकतै वर्णविन्यासमा त्रुटी हुनुजस्ता अवस्थाहरू पनि भेटिन्छन् । एउटा कुरा, आफैँले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ, त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै हिँडे भने विद्रोहका हातहरू उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरू थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । ‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परीधिमा छ ।’ भन्ने दार्शनिक ओशो कथन सम्झदै पुरुषस्त्री दुबैको देनबाट नै हामी समृद्धशाली बनेर आफ्नो गन्तब्यमा पुग्न सक्छौँ । ‘धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरूलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू, जैन, क्रिष्चियन, इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम, कृष्ण, क्राइष्ट, बुद्ध, मोहम्मदहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।’ ओशोको यस कथनलाई दृष्टि दिँदा पनि हामीले कसैको गुरु हुने धृष्टता प्रदर्शन गर्नु हुन्नुहुन्न । मान्छेले स्वविवेकपूर्ण कार्य गर्न खोज्दा अर्काको अधिकार खोस्ने काम कसैलाई पनि सुहाउन्न । संसार आलोचनायुक्त मात्र छैन, स्तुत्य पनि छ । विज्ञानले अनिष्टता मात्रै निम्त्याएको छैन, शिष्टता पनि भित्र्याएको छ । मान्छे चालक हो । कसरी रथ हाँक्ने जिम्मा उसैको काँधमा छ । हरेक व्यक्ति, व्यक्ति सप्रिए पूरै विश्व सप्रन्थ्यो । ‘राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति, राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।’ भन्ने दार्शनिक ओशोको अभिव्यक्तिले पनि सुध्र्रिनपर्छ । तर यो कुरा त्यत्तिखेर सम्भव छ, जब राजनीति समाज सुधार र समाजको सही तवरले नेतृत्व गर्न सफल हुन्छ । नत्र ‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’ भन्ने उनकै कथनले पुनः प्रश्रय नपाउला भन्न सकिन्न । मान्छेले मान्छेकै कर्म गर्नुपर्छ भन्ने चखिला भावहरू ‘तन्द्रामा अमेरिका’ हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रहले बोकेको छ किनकि बिग्रेको राजनीतिले नै ‘तन्द्रामा अमेरिका’ जन्माएको हो ।

धीकुश्रेज्यू, ‘तन्द्रामा अमेरिका’ बाट हँसाउन सक्नुभएन । थोरै हसाइँ पनि के हँसाइ ? हँसाउन खोज्दाखोज्दै कतैकतै रुवाउनुभयो । यसो भन्दाभन्दै एउटा कुरा भनिनँ भने अनर्थ होला । त्यो के भने— तपाईंले पाठकको मन जुरुक्कै उचाल्नुभयो । उदयपुरको माटोले जन्माएका स्रष्टा गम्भीरबहादुर थापाकै बाटोका अर्का अनुयायी कवि लेखबहादुर कार्की भन्थे–‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु ।’ कमजोर शरीरको बलियो मानसिक विचार कवि कार्कीको भएझैँ नजानिदो तवरले गहन विचारलाई थोरै हँसाउँदै र धेरै घोच्दै ‘तन्द्रामा अमेरिका’ मा समेट्नुभएछ । अर्को कुरा, विकसित मुलुकका विकसित मान्छेहरू ईर्ष्या–द्धेष, अहंकार–पाखण्ड आदित्यादिको त्यत्रो प्रवाह गदैनन् । त्यसो गर्नु जरुरत पनि ठान्दैनन् । श्रम नै ईश्वर हो, सुख हो, शान्ति हो, कान्ति हो र जीवनको सम्पूर्णता हो । यही र यस्तै भावनाले ओतप्रोत छन् उनीहरू । ईर्ष्या र अहंकार कुन चरीको नाम हो त्यस पुस्ताले बिर्सेको छ । हाम्रो साझा इच्छा र आकांक्षाको गन्तव्यपथ पनि त्यही हो । हामी एउटा सूर्य जन्माऔँ, जसले विश्वमा चमत्कार थपोस् । विश्व नै धन्य, धन्य बनोस् । आभार प्रकट गर्न वाध्य बनोस् । नरमुण्ड माला लगाएर सिंहनाद गरिरहेका मानवको रूपमा देखिएका दानवहरू तीनमुर्छा परून् र पुनः त्यही रूपमा कहिल्यै जागा नहून् । व्युँझाइ हुन्छ नै भने सक्कली मान्छेका रूपमा व्युँझाइ होस् । त्यस्तो इतिहास रचियोस्, जुन इतिहास आजसम्म रच्नै पाइएको छैन । त्यस्तो यात्रा बनोस्, जुन यात्रा आजसम्म कल्पनामा मात्र सीमित छ । त्यस्तो गन्तव्य बनोस्, जुन गन्तव्य यात्रा आजसम्म किटान गरिएकै छैन । त्यो सूर्यको तेजले संसारका दुष्ट्याइँ पारखीहरूका गालामा थप्पड जाओस् । इमान र जमान हुनेहरूका मनमा उत्साह र उमङ्ग अझ उम्रियोस् । विग्रेकाहरू सप्रून्, सप्रेकाहरू मौलाऊन् । निधाएकाहरू जागून्, जागेकाहरू ठम्ठम्ती प्रगतिपथमा लागून् । त्यस सूर्यले असल मनमा आश उमारोस्, कलुषित मनमा त्रास उमारोस् । एक हितपछि अर्को हित देखियोस् । एक सुख पछि अर्को सुख देखियोस् । सच्चा पाखुरीको कदर होस्, सच्चा मनलाई पक्का बनाओस् । भद्दा मनलाई उत्साहित हुने दबाई खुवाओस्, कालो मनलाई सजायको दायरामा राखोस् । सप्रने मनलाई सपारोस्, नसप्रनेलाई दवाको दवाई पारोस् । कानूनको दूरदृष्टि सर्वत्र फैलाओस् । इमान्दारी र परिश्रमी हातहरू चुमोस्, गद्दारी र अप्रिय पाइलाहरू सदाको लागि मेटाओस् । यसरी समृद्ध नेपाल बनोस् र गर्वले छाती ढक्क फुलाउँदै विश्वमा शिर उच्च पार्न पाइयोस् । म भन्ने भावना मरोस् र हामी भन्ने इच्छा जागोस् । विवेकको मद्दत र पाखुरीको सामथ्र्यले नयाँ जीवन सुरुवात गर्ने वातावरण बनोस् । यस्तै मनोकांक्षा तपाईंको ‘तन्द्रामा अमेरिका’ हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा भेटियो ।

धीकुश्रेज्यू, अन्तमा, ‘आरम्भ अर्थात् सुरुवात’ नामक कथासङ्ग्रहबाट साहित्याकाशमा इँट थप्न प्रारम्भ गरेको तपाईंको कार्य ‘तन्द्रामा अमेरिका’मा आएर नरुकोस् । व्याकरण लेखन, नेपाली पाठ्यपुस्तक लेखन तथा बालसाहित्यमार्फत् पनि साहित्यिक सेवा गर्ने अभियान सफल रहोस् । तपाईंको कलमले समाजका यस्ता विकृत पाटा खोतलखातल गर्न नपाऊन् । ‘तन्द्रामा अमेरिका’ जस्तो कृति अगाडि सार्ने मौका तपाईंलाई कदापि पुनः नमिलोस् भन्न मन लागेको छ । यसो हुनका लागि नेपाली समाजमा आमूल रूपान्तरण हुनुपर्छ । रूपान्तरित समाजमा विकृत अवस्था नै देखिन्न । अनि त विषयवस्तु भेट्नै सक्नुहुन्न । विकृत विषयवस्तु विना तपाईंको अर्को ‘तन्द्रामा अमेरिका’ जन्मनै सक्दैन । बरु, ‘सुखमा नेपाल र नेपाली’ भने अवश्यै जन्मन सक्छ । यी गन्थनहरू अघि सारेर सूर्यलाई बत्ती देखाउने धृष्टता गर्न पुगेँ । मैले जे देखेँ, त्यही लेखेँ । रूपले सानो देखिने मान्छेले पनि ठूलो कुरा गर्ने छुट साहित्यमा छ । आफ्नो विचारलाई सललल बगाउने पुरापुरी हक छ । त्यही छुट र हकको सदुपयोग गर्न खोज्दा यो पत्रले यस्तो रूप ग्रहण गर्न पुग्यो । मन कुड्याउने कुराका लागि क्षमायाचना माग्दै आगामी दिनमा नौला नौला गन्थन सहित उपस्थित हुने वाचाका साथ विदा हुन्छु, जदौ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर, मो. नं. ९८४२८२९२०६ / ९८०७७७९७६८
पत्राचार : लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी फोन नं. ०३१५२००३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *